२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
विचार

गान्धी-मोदी डक्ट्रिन

अन्ततः साठीको दशकमा इन्दिरा गान्धीबाट प्रतिपादित डक्ट्रिन नरेन्द्र मोदीकालमा आएर कार्यान्वयन हुने स्थिति छ। यसका प्राप्तिका लागि मधेसी मोर्चामार्फत् उपयोग गरिएका आतंक देशभरका जनताले भोगे। अर्थतन्त्र तहसनहस भयो।आममधेसीको त अर्को १० वर्ष उठ्नै नसक्नेगरी रिढको हड्डी नै तोडे राजेन्द्र, महन्थ र उपेन्द्रहरूले। अहिलेको आन्दोलनमा आममधेसीको मनोविज्ञानको राजनीतिक लाभार्थ धुर्ततापूर्वक उपयोग गर्न नेता गण सफल भए पनि यो आन्दोलन तराईका जनताका लागि फलिफाप भएन। बरु आजसम्म असफल भइरहेको इन्दिरा डक्ट्रिनलाई सफल बनाउने माध्यम बन्यो। तीतो भए पनि यो सवाल उठ्छ। खासमा के हो त इन्दिरा डक्ट्रिन? इन्दिरा डक्ट्रिन बुझ्नुअघि नेहरु डक्ट्रिन के हो भनी छलफल आवश्यक हुन्छ।

पंक्तिकारले सन् १९८२मा युएसएमा नेहरुको बफर जोनको शृंखलाको रणनीति (चेन अफ बफर जोन स्ट्राटेजी)को अनुसन्धान गरेको थियो। नेपालीलाई भ्रम छ कि ब्रिटिस साम्राज्यअन्तर्गत नरहेको तथा नेहरुको दयामायाले गर्दा भारतीय युनियनमा नेपाल मिसिनु परेन। तथ्य त्यसो होइन। माने पनि नमाने पनि व्यावहारिकरूपमा नेपाल ब्रिटिस साम्राज्यकै छत्रछायाँ, तर अन्य भारतीय राज्यभन्दा बढी स्वायत्त प्राप्त राज्य थियो। ब्रिटिस इन्डियाअन्तर्गत नरहेका ५६२ ठूला मझौला राज्य(नेटिभ स्टेट्स)लाई इन्डियन युनियन तथा पाकिस्तानमा मिसिन माउन्ट ब्याटनले राजाहरूलाई सहमत गराइ दस्तखत गराएपछि नै युनियन अफ इन्डिया र पाकिस्तानको जन्म भएको हो। ब्रिटिसले छाड्दा स्वतन्त्र राज्यकै रूपमा कायम छाडिएको हैदरावाद राज्यमाथि भारतीय थलसेनाले आक्रमण गरेर पछि युनियनमा मिलाइएको हो। त्यही शैलीमा पाकिस्तानी सेनाले स्वतन्त्र कस्मिरमाथि आक्रमण गरेपछि मात्र कस्मिरी राजाले भारतीय युनियनमा मिसिन तयार भएको पत्रमा हस्ताक्षर गरेर युनियनमा मिसिएको थियो। गोवा, पंचिम सब सैनिक आक्रमणबाटै दशकपछि युनियनमा मिसाइएको हो। अर्थात्, भारतले चाहेको भए सहमतिमा या सैनिक कारबाहीबाट नेपाल सहजरूपले भारतीय युनियनमा मिसिइने थियो। नेपाल स्वतन्त्र भएको कारण भन्ने तर्क दिने हो भने सवाल उठ्छ, त्यसै लछारिन सकिने सिक्किम र भुटानलाई पनि किन स्वतन्त्र राखियो त? वास्तवमा नेहरु डक्ट्रिनकै कारण उनको आफ्नै पुर्ख्यौली थलो भए पनि कस्मिर, नेपाल, सिक्किम र भुटानलाई स्वतन्त्र बन्न दिइएको हो। पाकिस्तानी सेनाले कस्मिर कब्जा गर्न नछिरेको भए कस्मिर आजसम्म स्वतन्त्र राज्य नै रहन्थ्यो, नेपाल र भुटानजस्तै। नेहरुभन्दा बढी शक्तिशाली उग्र विचार तथा बल प्रयोगमा विश्वास राख्ने बल्लभभाइ पटेल नेपाललगायत यी पहाडी राज्यलाई पनि युनियनमा मिसाउनुपर्ने अडानमा थिए। परन्तु नेहरु डक्ट्रिनका कारण यी मुलुक स्वतन्त्र रहेका हुन्। पटेलको चाँडै नै निधन नहुँदो हो त ५०कै दशकमा यी राज्यहरू युनियनमा वलपूर्वक मिसाइने थियो। वर्तमान मोदीजस्तै पटेलको गुजराती अराजक शैलीका कारण स्वयं नेहरु राजिनामा दिने मनस्थितिमा पुगिसकेका थिए। हुन त गुजरातीले नेपाल, बिहार र युपीलाई बुझ्दैनन् भन्ने तथ्य मोदीको व्यवहारबाट प्रष्ट हुन्छ।

चीन अप्रत्यक्षरूपमा सयौँ वर्षदेखि तिब्बतमा संरक्षकका रूपमा रहिआएको थियो। चीनले तिब्बत कब्जा गरिसकेको अवस्थामा नेहरुले चीन र भारतबीच आफ्नो मित्रशक्ति या हैकममा रहने मित्र शक्ति (फ्रेन्ड्ली फोर्स)देशहरूको एक पर्खालको स्थापना गर्नुपर्ने आवश्यकता महसुस गरेका थिए। भर्खर बनेको भारतीय सेना पनि चीनसँग भयभित भएकै कारण यसमा सेनाको पनि राय उही थियो। त्यसैले भारतले तत्कालै नेपाली सेनाको पुनर्गठनका नाममा भारतीय मिसनको प्रवेश र राजाका भारतीय सल्लाहकार नियुक्ति तथा क्याबिनेटमा प्रतिनिधिको रोहबरजस्ता कार्य भुटान र सिक्किमसमेतमा सुरु गरेको थियो। बफर जोन होस्टाइल बनाउनु हुन्न र आफूमा निर्भर हुने स्थितिमा राखिनुपर्छ भन्ने कार्यनीति बनेका बारे हामीलाई नै ज्ञात छ। नेहरु वास्तवमै माओत्सेतुङको छिमेकीमाथिको साम्राज्यवादी सोचबाट सशंकित थिए। किनभने चीनले कस्मिर, नेपाल, सिक्किम, भुटान, वर्तमान नेफा र अरुणाचललाई स्वतन्त्र गर्न बाँकी रहेको मातृभूमि भनेर १९४७मै दस्तावेज प्रकाशित गरिसकेको थियो। सैनिक भाषाको बफर जोन अर्थात् कुसन क्षेत्रको अवधारणामा नेहरुले उक्त पर्खालको शृंखलाको स्थापना गरी चेन अफ बफर जोन स्ट्राटेजी कायम गरेका थिए। नेहरु पञ्चशील प्रिय थिएनन्, न त चीनसँग घनिष्टता राख्ने मनस्थितिका थिए। परन्तु सम्भावित शत्रुलाई मित्र बनाएर 'थ्रेट' कम गराउने रणनीतिअनुरूप नै भारत–चीन भाइभाइ र पञ्चशीलका पूजारी बनेका हुन्। यो वास्तवमा चीनको भयबाट सिर्जित आत्मरक्षार्थ 'डिफेन्सिभ' रणनीतिका कार्यनिति हुन्। चीनको यही भयबाट युनियनमा नमिसिएको हो नेपाल। हामी सदा स्वतन्त्र, शक्तिशाली आदिइत्यादि भएका कारणले कदाचित होइन।

इन्दिरा डक्ट्रिन के हो त? इन्दिरा देशभित्र शक्तिशाली बन्दै निरंकुश साम्राज्यवादी शासकमा विकसित भएपछि दक्षिण एसियामै हैकमवाद लादन्े मनस्थितिमा पुगिन्। नेहरुकालदेखि नै राजा महेन्द्र अटेरी हुन थालिसकेका र नेपालमा एक अलग राष्ट्रवादको मनोविज्ञान फैलिँदै गएको थियो। इन्दिराका लागि यी बफर जोन नै सरदर्द (इन्दिराकै भाषामा) भएकाले यिनको 'एलिमिनेसन' गरी युनियनमा मिसाएर सीधै चीनसँग आमनेसामने हुने रणनीति नै इन्दिरा डक्ट्रिन हो। खगेन्द्रजंग गुरुङले खुलासा गरेका छन्– उनलाई इन्दिरा स्वयंले बोलाएर दुईवटा 'टास्क' दिएकी थिइन्। (१) नेपाली सेनाभित्रका मतवाली जातका जवानलाई 'मोटिभेट' गरी सेनामा अधिकृत र जवानबीच फाटो उत्पन्न गराइ सैनिक विद्रोहका लागि तयार पार्ने। त्यसो गर्न सकिएन र राजा महेन्द्रको निधनपछि प्रोजेक्ट स्थगित भयो (स्रोतः जनआस्था साप्ताहिक) (२) राजनीतिक क्षेत्रमा पनि राजाविरुद्ध मोर्चा तयार पार्ने र क्रान्तिको स्थिति सृजना गर्ने। कति सत्य कति असत्य? परन्तु इन्दिराको मनस्थितिको झलक देखाउन सन्दर्भ ल्याएको हुँ। सन् १९७१ मा पाकिस्तानको ढाड भाँचेर बंगलादेश स्थापना तथा १९७५मा सिक्किमको विलय यही डक्ट्रिनअन्तर्गत हुन्। नेपालले शक्तिराष्ट्रहरूसँग राखेको सम्बन्ध र सैनिक मिसन तथा पोस्टहरूको भारत वापसी र हरेक कुरामा भारतबाट स्वतन्त्र हुँदै गएका कारण सिक्किमको जस्तो हुन नसक्ने बोध भयो। तसर्थ, 'डिभाइड एन्ड विकेन'को रणनीतिअनुरूप पहाड र मधेसलाई भौतिक, आर्थिक, सामाजिक तथा मानसिकरूपमा विभाजन गरेर आन्तरिकरूपमै अस्थिर र कमजोर बनाएर राजनीतिकरूपले दिल्ली दरवारमा शरणागत हुन विवश बनाउने योजना बन्यो। सोही कारण व्यवस्थाबाट टाढिएका र राजा तथा बहुदलीय र गणतान्त्रिक सरकारविरुद्ध समेत उठ्ने हरेक 'मुभमेन्ट'मा विरोधी राजनीतिक शक्तिलाई पाँचतारे सुविधा दिँदै आइएको सोही इन्दिरा डक्ट्रिनका कारण हुन्। डेमोक्रेटिकमात्र होइन उग्र कम्युनिस्ट माओवाद विद्रोहसमेतलाई समान भीआईपी सुविधा दिइआएकै हो। वर्तमान मधेसी आन्दोलनमा तीन करोडको दानापानी बन्दको नाकाबन्दीको हदसम्मको नेतालाई प्राप्त सुविधा पनि त्यही निरन्तरता हो। राजनारायणले भनेजस्तो एक करोड भारतीयका लागि हैन।

इन्दिराको असामयिक निधनपछि राजीवको श्रीलंका एडभेन्चर आदिका नकारात्मक नतिजापश्चात् उत्पन्न गुजराल डक्ट्रिन इन्दिरा डक्ट्रिनको ठीक विपरीत थियो। नेहरु डक्ट्रिनजस्तो रणनीतिका रूपमा नलिइ छिमेकीसँग अत्यन्त घनिष्ट सम्बन्ध राख्नेमात्र हैन, ठूलो देशले लिने होइन दिने नीति अपनाउनुपर्छ भन्ने थियो। यसैक्रममा क्रिस्चियानिटीका लागि नेपाली जातीय एकता तोड्नैपर्ने भेटिकनको अवधारणालाई माओवादीले मलजल दिएर जनआन्दोलन सफल हुनासाथ सुसुप्त इन्दिरा डक्ट्रिन पहिलो मधेस आन्दोलनबाट स्वतः जीवित हुन पुग्यो। संजोग कि प्रायोजित? संघीयताको आवरणमा एक मधेसको अवधारणाले समतल भाग सबैलाई पहाडबाट छुटाउने मनोभावनाले व्यापकता पायो। विज्ञहरूका आयोगबाट तयार भई जनभावनाअनुकूल संविधान सदनमा पेश हुनुपर्नेमा केही ठालुको मनोगत लहडबाट बन्न पुगेको संविधान जारी हुनुअघि नै आलु खान पुग्यो! अप्राकृतिक गर्भबाट हुने जन्म अपांग हुनुमा के अचम्म?

स्थिति हाम्रासामु छ, सम्पूर्ण समथर भागलाई पहाडबाट छुट्याउनैपर्ने स्थितिमा भारतीय नाकाबन्दीले पुर्याइसकेको छ। मोदीको अहम्का कारण उनी स्वयं इन्दिरा डक्ट्रिन पूर्ण गर्ने कारक बन्न पुगेका छन्। अझै बाँकी छ, राजधानीहरूको निर्धारण र प्राकृतिक स्रोत तथा राजस्वलगायत आयका माध्यमको बाँडफाँट। भोजपुरी वीरगन्ज या मैथली जनकपुरको शासन विराटनगरले मान्ला? नेपालगन्जको शासन चितवनले? कति मर्ने हुन् यस विवादमा? मधेसले भौगोलिक विभाजन र थारुले जातीय राज्य पाएपछि अरु जाती मुखमा ताल्चा मारेर बस्लान्? पहाडको अशान्तिले भलै मधेसलाई प्रभाव नपार्ला, परन्तु इन्दिरा डक्ट्रिनलाई भने लाभदायक हुनेछ। तर, मधेसको राज्य निर्माणसँगै नेपालभित्रै जन्मिने र आपसमा द्वन्द्व हुने मैथली अहम्वाद, भोजपुरीवाद तथा अवधिवादले सीमावर्ती बिहार र युपीमा पनि ग्रेटर मिथिला, ग्रेटर भोजपुरा तथा ग्रेटर अवधको आगो बाल्नेछ भनेर दिल्लीवाला सुरक्षाविज्ञले सोचेका छन्? झारखन्डेहरू किन बिहारबाट अलग्गिए? आफ्नो घर काँच (सिसा)को हुनेले अर्काको घरमा पत्थर फाल्दैनन्। विवादित स्थानमा किन जनमत गरेर भारतको मुख थुन्ने उपाय अवलम्बन गर्ने बुद्धि आउँदैन तीन दललाई? पहाडबाट समथर छुट्याइनु भनेको भारतका लागि सुरक्षा रणनीतिअन्तर्गतको पहिलो सफलता हो भने नेपालका लागिचाहिँ सुरक्षा रणनीतिको अन्तिम हार। तसर्थ, पहाड र समथर अलगाव राजनीतिक या जातिवादी विषय होइन, देशको प्रतिरक्षा तथा सुरक्षाको विषय हो।

प्रकाशित: ४ वैशाख २०७३ २३:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App