७ माघ २०८२ बुधबार
image/svg+xml
विचार

हामी, छिमेकी र हाम्रा बुद्ध

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणपछि देखिएका, देखिइनसकेका र अनुमानित परिणामसँगै एउटा नौलो तरंग सृजना भएको छ। दैनिक जीवनको साविक संघर्षमा जुधेरै समय बिताउन बाध्य जनताका निम्ति त यो पनि अरु कुनै औसत घटना–परिघटनाजस्तै होला। तर, 'बौद्धिक' भनिनेजति सबैलाई भने यो तरंगले मजैले तरंगित पारेको छ।भारतबाट लगातार हेपिएको, चेपिएको अनुभवका कारण, उत्तरको बाटो पनि खुल्ने सम्भावना देख्नेबित्तिकै बाँकी विश्वसँग सम्बन्ध बढाउन ह्वांगै ‰याल–ढोका खुले भनेर खुसी हुनु अस्वाभाविक लाग्दैन। हिजो हिमालपारिको स्थिति आजजस्तो थिएन। अहिले देखापरेका सम्भावना चिनियाँहरूकै निम्ति पनि सुदूर भविष्यको कल्पनामात्रै थिए। खारिएका कूटनीतिज्ञ र अर्थविद् भेषबहादुर थापाले एकचोटी सुनाउनु भएको थियो, उहिल्यै माओले उहाँलाई भेट दिएका बेला भनेका थिए रे– 'नेपालले भारतसँग राम्रो सम्बन्ध राख्नैपर्छ। भौगोलिक विकटताका कारण चीनसँग आउन–जान सहज छैन। चीन अहिले गरिब छ। नेपालसँग जोडिएको तिब्बतमा रेल पुग्न अझै ३० वर्ष लाग्ला। समृद्धि पुग्न पनि त्यति नै लाग्ला। त्यसपछिको भूराजनीतिक तस्बिर फेरिन सक्छ। तर, अहिले त भारतसँगको सम्बन्ध जतिससक्यो राम्रो पार्नुमा नेपालको भलाइ छ।'

तिब्बतसम्म रेल पुग्न माओले भनेभन्दा अलि धेरै समय लाग्यो होला। तर, अहिले हाम्रो त्यो उत्तरी सीमापारिको स्थिति साँच्चै नै फेरिएको छ। चीन विश्वकै आर्थिक शक्तिका रूपमा स्थापित भइसकेको छ। हामीले बुद्धि पुर्यासउने हो भने नयाँ सम्भावनाका ढोकाहरू पक्कै खुल्नेछन्। यस्तो स्थितिमा खुसी हुनु स्वाभिवक हो। तर, अर्कोतिरबाट हेर्दा एक्काइसौँ शताब्दीमा ठूलो र धनी छिमेकी भएको एउटा सानो भूपरिवेष्टित देशले बाटो पाउनु त्यस्तो अचम्मै मान्नुपर्ने कुरा त थिएन! यो त स्वाभाविकरूपमै हुनुपर्ने कुरा थियो! यसरी हेर्दा भने हामी कतिसम्म अर्को छिमेकीको त्रासमा बाँचेका रहेछौँ भन्ने लज्जास्पद स्थिति पनि देखाउँछ।

भारतसँगको हाम्रो सम्बन्धको विशिष्टताबारे उहिल्यैदेखि चर्चा हुने गरेको छ। इतिहास भनेकै अटूट परिवर्तनको अभिलेख हो। त्यसका पानैपिच्छे दृश्य परिवर्तित भइरहन्छन्। कलम कसको हातमा छ भन्ने कुराले पनि इतिहासमा के कुरालाई कसरी लेखिएको छ भन्ने कुरा निर्धारण गर्छ। पढ्नेले पनि आफ्ना आवश्यकताअनुसारका पाना पल्टाउँछन्। राम्रो सम्बन्ध भएका बेला कुनै पनि दुई देशका नेताहरू इतिहासका पानाबाट खोजीखोजी राम्रा कुरा निकाल्छन् र आफ्नो भाषणमा अझै फूलबुट्टा हालेर तिनको वाचन गर्छन्। सम्बन्ध बिग्रेका बेला एकले अर्कालाई सराप्न पनि तिनै इतिहासका पाना पल्टाउँछन् र खोजीखोजी नराम्रा कुरा निकाल्छन्। अनि धारे हात लगाउँदै एकअर्काको दानवीकरण गर्छन्। इतिहास निर्माण त जुनसुकै क्षणमा पनि जारी रहन्छ। र, इतिहासका पाना पल्टाएर टिपेका विशिष्ट सम्बन्धहरू सधैँ यथावत् रहिरहँदैनन्। पुराना विशिष्ट सम्बन्धका ठाउँमा नितान्त फरक नयाँ सम्बन्ध निर्माण हुन सक्छन्। र, यस्ता सम्बन्ध वर्तमानमा निर्माण हुन्छन्।

चीनको राष्ट्रवादको आफ्नो विशिष्टता छ। त्यो चर्को छ, सम्झौताविहीन छ र व्यवहारवादी (प्राग्म्याटिक) छ। राष्ट्रिय स्वार्थका अघि कुनै पनि सिद्धान्त गौण हुने गरेका छन् चीनका निम्ति। भारतको राष्ट्रवाद अर्कै प्रकृतिको छ, उत्तिकै चर्को छ, मिचाहा प्रकृतिको छ। यी बलिया हुँदै गएका प्रतिस्पर्धीबीचमा च्यापिएको सानो देशका हामी आफू कसरी बलियो, चनाखो र कूटनीतिकुशल भएर देशलाई अघि बढाउने भनेर चिन्तित हुने युवा बुद्धिजीविको संख्या भने विस्तारै मात्रै बढ्दैछ। चीन वा भारतसित 'विशिष्ट' सम्बन्धको चाह राख्नेभन्दा पनि आफ्नो वर्तमानमा नै अवस्थित भएर आफ्नो, छिमेकीहरूको र सम्पूर्ण विश्वको यथार्थलाई वस्तुगत किसिमले हेर्दै, सबै सकारात्मक सम्भावनालाई उपयोग गर्दै अघि बढ्नुपर्छ भन्ने युवा पुस्ताको चिन्तनले जतिजति मूर्तता प्राप्त गर्दै जान्छ, देशको भविष्य पनि उति नै उज्यालो हुँदै जानेछ।

बुद्ध नेपालमा जन्मेका हुन् भनेर हामी गर्व गर्छौं। तर, अढाइ हजार वर्षपछिको आजको विश्वमा पनि उनका शिक्षा उत्तिकै सान्दर्भिक र उपयोगीमात्रै हैन झन्झन् महत्वपूर्ण हुँदैछन् भन्ने कुराको भने हामी हेक्का राख्दैनौँ। सम्भावनाको खोजी नै गर्ने हो भने बुद्ध कुनै न कुनै किसिमले हाम्रा तिनै देशका निम्ति बाटो देखाउने प्रकाश बन्न सक्छन्। त्यो खोजीको नेतृत्व हामीले गरेमात्र 'बुद्ध नेपालमा जन्मिएका थिए' भनेर गर्व गर्न पनि मिल्ला। जसले आग्रह–पूर्वाग्रह राख्ने हैन, राग द्वेषरहित भएर समानताको खोजी गर्न सिकाए, तिनै बुद्धको नाममा घृणाको खेती गरिरहेने हो वा 'विशेष सम्बन्ध'को मोह राखिरहने हो भने बुद्ध कसरी हाम्रा हुन्छन्?

उनले भनेका थिए– पूर्वाग्रहग्रस्त भएर कसैलाई नहेर। हामीले त्यो सिक्नै सकेनौँ। भारतसँग कुनै पनि सन्धि–सम्झौताको कुरा आउँदा नेपालीमा सामन्यतया दुई किसिमको सोच आउँछ– एक, भारतजस्तो शक्तिशाली देशले भनेको नमानी हामीलाई सुखै छैन, हामी ऊमाथि आश्रित नभएर के गर्ने! दुई, भारतीयहरू छट्टु हुन्छन्, तिनले त कतै न कतै फँसाइहाल्छन्, तिनीहरूसँग कुरै गर्नु हुन्न, सन्धि–सम्झौता त झन् गर्नै हुन्न।

अनि चीनको बारेमा कुरा चल्दा पनि कि त भारतीय हेपाइका विरुद्ध हाम्रो भरपर्दो मित्रका रूपमा चीनलाई हेर्ने गरिन्छ, कि भने चीनलाई पुरानै ढर्राको कम्युनिस्टको रूपमा चित्रित गर्ने र पूर्वाग्रह राख्ने वा भारतसँगको 'विशेष सम्बन्ध'का निम्ति खतरा देखेर आत्तिने गरिन्छ।

बुद्धले भनेको मान्ने हो भने, यी दुवै छिमेकीप्रति आग्रह–पूर्वाग्रह, अपेक्षा केही नराखी त्यहीरूपमा हेर्नु आवश्यक छ– यथाभूत ज्ञान दर्शन! र, अहिलेको 'यथाभूत' हो– हामी एक्काइसौँ शताब्दीमा छौँ। एकातिर विश्वले अनेक कठिनाइ झेलिरहेको छ, अर्कोतिर भौतिक विकासका हिसाबले मानिस अघि बढिरहेकै पनि छ। विज्ञान प्रविधिका कारण धेरैको जीवन पहिलेभन्दा सजिलो भएको छ। तर, मानिसको लोभ, आपसी घृणाजस्ता हानीकारक सोच भने बहुलट्ठीपूर्ण युद्धका रूपमा जताततै विष्फोट भइरहेका छन्। राष्ट्रहरूबीच समान हितको खोजी गर्दा सहकार्यका अनगिन्ति सम्भावना देखिन्छन्। तर, हामी यो यथार्थमा भन्दा आपसी घृणा, गुटबन्दीजस्ता कुरामा व्यस्त छौँ। र, यो बहुलठ्ठीका बीच मनपरी प्राकृतिक स्रोतको दोहन गर्ने क्रममा पृथिवीलाई नै मानिस बस्न असम्भव ग्रह बनाउन लागिपरेका छौँ। हाम्रा दुवै छिमेकी यो काममा कोहीभन्दा कोही कम छैनन्। सँगै हामीसमेत उनीहरूभन्दा अव्यवस्थित र पाखे तालले भए पनि प्रकृति दोहनमा व्यस्त छौँ। अत्यन्त छिटो प्रगति भइरहेका दुई शक्तिशाली देशको बीचमा अवस्थित हाम्रो देश अझै अविकसित, गरिब, विज्ञान प्रविधिका उपलब्धिबाट विमुख र सुसंस्कृत हुन नसकेका मानिसको देशको रूपमा चिनिएको छ।

अब पनि यी दुवैमध्ये कसैसँग 'विशिष्ट सम्बन्ध'को तृष्णा नराखी, कसैप्रति पूर्वाग्रह नराखी आफ्ना एजेन्डामा उनीहरूलाई राजी गराएर अघि नबढ्ने हो भने, हाम्रो हातमा विनाशसिवाय अरु केही पर्ने छैन। जेमा पनि हतार लाग्छ हामीलाई। अधैर्य हुन्छौँ सजिलै। जे पनि छिटो चाहिएको छ। तर, एकैछिन पनि भोक नसहेर पराइसँग भिक्षा माग्ने अनि 'तुरुन्तै दे, मीठो दे, राम्रो दे, नत्र सराप्छु' भनेर थर्काउनु निश्चय नै असुन्दर कुरा हो। बुद्धले हामीलाई सिकाएका छन्– वर्तमानमा अवस्थित भएर सुकर्म गर, त्यसको फल स्वाभाविकरूपमा प्राप्त हुन्छ। वर्तमानमा अवस्थित भएर कसैप्रतिको मिथ्या धारणाबाट मुक्त भएर, यथार्थलाई जस्ताको त्यस्तै स्वीकार गरेर सुकर्म गर्दामात्र धैर्य गर्न सम्भव हुन्छ।

आफैभित्रको असल सम्भावनाहरू देखिरहेका हुन्नौँ हामी। आफूभित्र लुकेको उज्यालोका बीउ देखिरहेका हुन्नौँ हामी। त्यसैले अन्धकार देख्छौँ जताततै। बुद्धले त मानिस जति खराब देखिए पनि भित्र कतै सानो भए पनि मनुष्यत्वको बीज हुन्छ र त्यसलाई हुर्काउन सम्भव हुन्छ भनेका थिए। लुकेका यी झिल्कालाई, उज्यालाका यी बीउलाई टिप्न सकौँ, सृजनशील देशप्रेम बोक्न सकौँ। मंगल होस!

प्रकाशित: १८ चैत्र २०७२ २१:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App