३ पुस २०८१ बुधबार
image/svg+xml
विचार

दुराचारको दहमा देश

नेपाल ऋषिमुनिहरूको तपोभूमि र देवभूमि हो। यो देश हिमाल, पहाड, तराई, टार, बेंसी, उपत्यका, खोँच, दून, चुरे मिलेर बनेको छ। सानो देश भए पनि अनुपम भौगोलिक विविधताका कारण फरक फरक गुण र क्षमता भएको यहाँको अमूल्य माटोमा संसारैभरि पाइने विभिन्न प्रकारका जडीबुटी अन्नबाली, तरकारी, फलफूल उब्जिन्छन्। असल नेतृत्वका साथ यो सम्पूर्ण माटोमा पसिना पोखेर यसको सदुपयोग गर्ने वातावरण बन्ने हो भने यो देश धेरै वर्षपहिले नै संसारकै सुन्दर र सम्पन्न बन्न सक्थ्यो। अझै पनि यस्तो सम्भावना सुरक्षित छँदै छ।

कुनै बेला नेपालमा उत्पादित कतिपय वस्तुहरू विश्वमै प्रसिद्ध थिए। अझै पनि गोल्डस्टार जुत्ता, नेपाली गलैँचा, पस्मिना, मूर्ति, माटाका भाँडाकुँडा, हस्तकलाका सामान, वाइवाइ चाउचाउ, हिमालयन जाभाको कफी, लोगो फेसन इन्डस्ट्रिज (भक्तपुर)द्वारा उत्पादित कपडा, कोबोल्ड वाच कम्पनीले निर्माण गरेको कोबोल्ड हिमालयन घडी, रसुवामा रहेको हिमालयन स्प्रिङ वाटरले उत्पादन गरेको हिमालयज अनटप मिनरल वाटरले नाम कमाएका छन्। यीबाहेक नेपालमा उत्पादित अन्य कतिपय वस्तु विश्वबजारमा खपत भइरहेको भए पनि ब्रान्डिङ अभावका कारण तिनले नेपाली चिनारी पाउन सकेका छैनन्।

नेपालको ऊन विश्वमै प्रसिद्ध छ भनिन्छ। अग्र्यानिक र गुणस्तरीय चिया, बेसार, अदुवा उत्पादका लागि हाम्रै भूमि उपयुक्त छ। कृषि र पशुपालन हाम्रो सुहाउँदो र मौलिक पेसा नै भएको हुँदा यसलाई बढावा दिन सके कृषिजन्य र पशुजन्य वस्तु निर्यात नै गर्न सकिन्थ्यो। त्यो गर्न नसकेर आयात गर्नमात्रै नपरे पनि लाख हुन्थ्यो। यतिमात्र होइन, सरकारले प्रोत्साहन दिने र जनताले पनि जाँगर चलाउने हो भने च्याउ, अलैंचीलगायत अनेक जातका नगदे बाली, फलफूल र अमृतसरहको महले पनि राम्रो बजार पाउने थिए। यहाँ रेसम खेती जति पनि गर्न सकिन्छ। कपास खेतीका लागि उपयुक्त हाम्रा सयौं पहाडी पाखा खोरियाहरू त्यत्तिकै बसिरहेका छन्। यहाँका हिमाली÷पहाडी वनजङ्गलमा खेर गइरहेका थुप्रै जातका जडीबुटीहरूलाई सङ्कलन गरेर औषधि उत्पादन गर्ने ठूला उद्योगहरू प्रदेशैपिच्छे स्थापना गर्नु त कहिले हो कहिले! यद्यपि १ सय ६२ प्रकारका जडीबुटीचाहिँ निर्यात गर्ने गरेको बताइन्छ। तर हामी जडीबुटी सस्तोमा बेचेर महँगोमा औषधि किन्न वाध्य छौँ।  

आधुनिक प्राविधिक वस्तु, यातायातका साधन, सोका पार्टपुर्जा, इन्धनका लागि त हामी विदेशी उत्पादनमै निर्भर नरही धरै छैन। विडम्बनाको कुरो–तीबाहेक यहीँ प्रशस्त उत्पादन भएर निर्यात गर्न सकिने अपार सम्भावना हुँदाहुँदै पनि केही दशकयता हामी कृषिजन्य, फलफूलजन्य, मसलाजन्य, आयुर्वेदिक औषधिजन्य वस्तुमा पनि विदेशमै निर्भर रहन थालेका छौं। जलस्रोतमा विश्वकै दोस्रो धनी देशमा पानीसमेत करोडौँको आयात गर्ने गरिएको कुरा समाचारमा पढिएको हो। पढिएको मात्र होइन, मूलको पानी जताततै भएको गाउँमै पनि कुनै सरकारी÷गैरसरकारी संस्थाले ‘भिआइपीहरू’ सहितको कुनै भव्य कार्यक्रम आयोजना गर्दा, टाढाको सहरदेखि नै गाडीमा ‘मिनेरल वाटर’का बोतलहरू ल्याएर पिएको÷दिएको समेत देखिएको छ। यस्तो फजुलखर्ची र कहीँ नभएको ‘इज्जतिलो आधुनिक व्यवहार’ले हामीकहाँ कसरी र कहिले समृद्धि ल्याउला।

द गर्नुसैं आए भेडाच्याङ्ग्रा आयात गर्नुपर्ने, तिहार आए फूल, रङ, पटका आयात पर्ने, साउन लागे हरिया चुरा, सारी, टीका आयात गर्नुपर्ने, जनैपूर्णिमा आए जनै आयात गर्नुपर्ने, गुन्द्रुक, दाँत÷नाक कोट्याउने सिन्का, बियर, लत्ताकपडा पनि सधैँ आयातै गर्नुपर्ने! यस्तो पाराले देश कुन जुगमा आत्मनिर्भर हुन्छ?

हाम्रा जङ्गलमा फलेर पाकेका थुप्रै आँप बाँदरले खान्छन् वा कुहेर जान्छन्। त्यस्तै, कुनै पनि पशुपन्छीले फोरेर खान नसक्ने हुँदा पाकेका बेल जङ्गलभरि बग्रेल्ती थुप्रिएका देखिन्छन्। ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात!’ भन्ने उखान त्यसैले चलेको होला। आँप, बेल त उदाहरण मात्र हुन्। हाम्रा पहाडी र चुरे क्षेत्रमा पाइने हर्रो, बर्रो, अमला, रिट्ठा, सिन्कौलेजस्ता सयौं उपयोगी र मृतसञ्जीवनी वनस्पतिहरू त्यत्तिकै खेर गइरहेका छन्। हिमाली क्षेत्रमा पाइने यार्सागुम्बाबाहेक अन्य जडीबुटीको कुनै खोजखबर नै छैन। कुन जडीबुटीको के औषधि हुन्छ भन्ने कुरा बताउने स्थानीय विज्ञहरू पनि अब त पाउन गाह्रो भैसक्यो।

थाहा भएकै कुरा हो– हाम्रा भान्साका लागि चाहिने सबैजसो वस्तुका लागि दिनहुँ हाम्रो पैसा खुतुखुतु विदेशतिर गइरहेकै छ। सतहत्तरै जिल्लामा फल्ने र नखाँदा पनि हुने प्याज, कहिलेकाहीँ छिमेकी देशबाट आउन रोकिँदा यहाँ हाहाकार हुन्छ। एउटा सहरिया सामान्य परिवारका लागि गमलामै रोपेर पनि वर्षभरि पुर्‍याउन सकिने लसुनका लागि उस्तै हाहाकार हुन्छ। तिनको खेती गर्नेतर्फ सरकारी नीति नै बन्दा पनि, किनेर खाने बानी, जागरुक जनशक्तिको अभाव तथा बजारमा लाँदा मिहिनेतअनुसारको प्रतिफल पाउने कुरामा विश्वस्त हुन नसकेर त्यसको कार्यान्वयन भइरहेको छैन।

त्यसो त विगतमा हामीकहाँ पनि थुप्रै उद्योगधन्दाहरू सञ्चालनमा रहेका हुन्। भृकुटी कागज कारखानाबाट उत्पादित कागज भारत, चीन र भुटानसम्म निर्यात हुन्थ्यो। हामीकहाँ उत्पादित खाद्यान्न कोरिया पठाएर सहयोग गरिएको थियो। वीरगन्ज कृषि औजारद्वारा उत्पादित कृषि औजार जापानसम्म पुग्थ्यो। विराटनगर जुट मिल, हेटौँडा सिमेन्ट उद्योग, हेटौँडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना, गोरखकाली टायर उद्योग, अन्तर्राष्ट्रिय स्तरमा नाम चलेका उद्योगहरू थिए। एभरेडी ब्याट्री, एभरेस्ट टुथ पेस्ट, नेबिको बिस्कुटजस्ता उद्योगहरू पनि लोकप्रिय थिए। रेडियो नेपालमा यी सामानहरूको विज्ञापनै बज्थ्यो। सानो दुरीमा भए पनि ट्रली बस थियो। रोप वे थियो। मानिसहरू कृषि पेसामा रमाउँथे। कलकारखाना प्रशस्त भएको हुँदा धेरै युवावर्गले यहीँ काम पाएका थिए। देशको रकम आजजसरी विदेश जान पाउँदैनथ्यो र आर्थिक अवस्था बलियो थियो। विदेशमा काम गर्न जान अनुमति नै थिएन। आत्मनिर्भरता र स्वाभिमानको त्यो पाठ अब इतिहासमा मात्र सीमित रहेको छ।

बहुदलीय व्यवस्था आएपछि नेपालमा फरक खालको ‘विकास’ हुन थाल्यो। उल्लिखित उद्योगधन्दाहरू धमाधम बन्द हुन थाले। कथित् ‘जनयुद्धकाल’मा, सबैलाई काम लाग्ने पुल, भवन, सम्पदास्थलसमेत ध्वस्त पारियो। संघीयता लागु भएपछि नेतृत्व वर्गमा, समाज र देशका लागि राम्रो काम गर्न होइन, सरकार र शक्तिमा गएर कसरी कमाउने र लुट्ने भन्ने खालको प्रवृत्ति देखिएको छ। ‘जनतालाई सुविधा दिने’ नाममा ह्वात्तै बढाइएका जनप्रतिनिधिहरूले जसरी भए पनि लुट्नमात्रै जानेका छन्। जोश जाँगर र क्षमता भएका युवाजति विदेश जाने र प्रायः अल्छी, अशिक्षित, लुटाहा, धुताहा, ठगाहा, मिचाहा र फटाहाजति चाहिँ राजनीतिमा लागेर जसरी पनि पद हत्याई सुविधा र मोजमज्जा गर्ने प्रवृत्ति बढ्दा देशको अवस्था ज्यादै दयनीय छ।

वैदेशिक ऋण र व्यापार घाटाले देश टाट पल्टिँदै छ र पनि नेतागण पालिनका लागि अन्धाधुन्ध ऋण लिइँदै छ। उनीहरूकै सुविधा बढाइँदै छ। एउटा चुनाव सकियो। अझै दुईथरी चुनाव गराउने ‘ठूलो काम’को कुरा चल्दै छ। विदेशीसँग ऋण मागेर वा अनुदान पाएर अनि त्यसबाट आफूले कमिसन खाएर, भ्रष्टाचार गरेर÷गराएर भएका विकासलाई हाम्रा अगुवाहरू सबै आफ्नै खर्च र आफ्नै पसिनाले गरेकोजस्तो गरी व्याख्या गर्दै छन्। त्यसमध्ये पनि कतिपय विकास त अनावश्यक, आँखामा छारो हाल्ने र झारा टार्ने हिसाबले मात्र भएका देखिन्छन्।

विश्वको सर्वोच्च शिखर भएको यो देशमा सयौँ अग्लाअग्ला र सुन्दर ‘न्याचुरल टावर’ छन्। हिमाल पहाड तराईका बीच पहाडका ठाउँठाउँमा उभिएर हेर्दा उत्तरदक्षिणका हिमाल तराई नै देखिन्छन्। तर यस्तो हुँदाहुँदै पनि यहाँ अरबौँ खर्च गरेर दर्जनौँ ‘भ्यु टावर’ बनाइएको छ। कृषिप्रधान देशमा पशुपालन र कृषि उत्पादनमा जोड दिई यसमै जनशक्ति टिकाउने खालको कार्यक्रमलाई व्यापकता दिनुको साटो करोडौं खर्च गरेर ठाउँठाउँमा अनेक थरी पशु र फलफूलका कन्क्रिट मूर्तिहरू बनाएर सजाइएका छन्। व्यापार घाटा चुलिएको देश वैदेशिक ऋणले डल्लिएको छ। भ्रष्टाचारमा डुबेको छ। अराजकतामा नाँचेको छ। अनेक काण्डमा नाम कमाएको छ। अपचलनमा रमाएको छ। अन्यायका बलमा टिकेको छ। एकअर्कालाई अपराध सुद्याइँमा सक्रिय छ। यस्ता दर्जनौँ दुराचारको दहबाट कहिले उक्सिने होला यो देश!

प्रकाशित: २५ भाद्र २०७९ ०२:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App