प्रायः पश्चिमा विश्लेषकहरू चीनले आफूलाई विश्वमा प्रभावकारी शक्तिका रूपमा विकास गर्छ कि, त्यसले पश्चिमाको प्रभुत्वमाथि चुनौती देला कि भन्ने कोणबाट चासो राखिरहेका हुन्छन् । एकातिर यिनीहरू चीन पनि पश्चिमा राजनीतिक प्रणालीमा समाहित होओस्, पश्चिमा औद्योगिकरणका सिद्धान्तहरूबाट निर्देशित होओस् भन्ने चाहन्छन् । अर्कातिर त्यसरी पनि चीनले विकास ग¥यो भने पश्चिमलाई दबाब दिन्छ भन्नेमा चिन्तित देखिन्छन् । यस्तो चिन्ता चीनको विकास रणनीतिका रूपमा चर्चित 'एउटा पाटो, एउटा बाटो'को सन्दर्भमा पनि देखिएको छ ।
पश्चिमाहरूको यस्तो परम्परागत चिन्तालाई प्रष्ट्याउनका लागि दुई आलेख ज्यादै महŒवपूर्ण छन् । जुन आआफ्ना समयका पश्चिमा प्रणालीका पक्षमा वकालत गर्ने प्रख्यात विश्लेषकहरूका हुन् । एकजना एल्लिन आयरल्यान्ड (१८७१–१९५१) बीसौँ शताब्दीको प्रारम्भका हुन् । जसले आजभन्दा करिब १ सय १४ वर्षअघि (सन् १९०२ मा) लेखेको 'चीन र शक्तिशाली मुलुकहरू' (चाइना एन्ड पावर्स) नामक पुस्तक अभैm पनि पश्चिमाहरूका लागि मार्गनिर्देशक जस्तै छ । यो पुस्तक पश्चिमा र चिनियाँ मामला बुझ्नका लागि जोसुकैका निम्ति महŒवपूर्ण छ । अर्का हुन् फ्रान्सिस फुकुयामा । उनलाई एक्काइसाँै शताब्दीको आरम्भका भन्न सकिन्छ । म यहाँ उनको 'प्रोजेन्ट–सिन्डिकेट डट ओआरजी' अनलाइनमा जनवरी १२, २०१६ मा पोस्ट गरिएको 'चिनियाँ मोडेलको निर्यात' (एक्स्पोर्टिङ दि चाइनिज मोडल) नामक लेखको सन्दर्भ उठाउन चाहन्छु । फुकुयामाका बारेमा प्रबुद्ध पाठकलाई जानकारी नै छ, उनी 'इन्ड अफ हिस्ट्री एन्ड द लास्ट म्यान' नामक पुस्तक लेखेपछि सन् १९९० को दशकदेखि चर्चामा छन् । तर, एल्लिन आयरल्यान्ड र उनको पुस्तकबारे केही पाठकलाई मात्र जानकारी होला । उनको सोे पुस्तक सन् १९०२ मा तोकिएका सीमित व्यक्तिले मात्र पढ्न पाउने गरी जम्मा १५० प्रति प्रकाशित गरिएको थियो । यस पुस्तकको प्रकाशनपछि प्रकाशक र लेखकबीचको सर्तअनुसार प्लेटहरू नष्ट गरिएका थिए । लेखकबारे विस्तृत जानकारी विभिन्न वेबपृष्ठबाट लिन सकिन्छ ।
एल्लिन बेलायती साम्राज्यका उपनिवेश र चीन मामलाका विज्ञ थिए । ती मामलाहरूमा उनका सोच, विश्लेषण र निष्कर्ष पश्चिमा मुलुकहरूका लागि असाध्यै महŒवपूर्ण हुन्थे । हाल पनि पश्चिमा विश्लेषकहरू चिनियाँ मामलामा उनकै सोचको अनुयायी हुन् भन्न सकिन्छ । यसमध्ये एक्काइसौँ शताब्दीका फुकुयामाले पनि बीसौँ शताब्दीका एल्लिनको सोचलाई नै निरन्तरता दिएको प्रष्ट हुन्छ । पश्चिमाहरू तथा चीनको सभ्यता र विकास रणनीतिबीच अभैm अन्तरविरोधी प्रतिस्पर्धा भइरहेका छन् । यस्तो प्रतिस्पर्धाबारे कौतूहलता जगाउन मैले ती दुई शताब्दीका दुई विश्लेषकका उल्लिखित दुई आलेखका केही सन्दर्भलाई यहाँ प्रस्तुत गरेको छु ।
पश्चिमाहरू 'हामी' भन्नाले 'मुख्यरूपमा अमेरिकी वा बेलायती पाठकलाई सम्बोधन' गर्छन् । फुकुयामाले पनि 'हामी' भनेर यी दुवै मुलुकप्रति इंगित गरेका छन् । एल्लिनले रुसी, जर्मन वा फ्रेन्चलाई 'हामी' भनेका छैनन्, तर तिनीहरूलाई चिनियाँभन्दा नजिकका ठानेका छन् । हाल पनि 'हामी' पश्चिमा भन्नेहरूले रुसी, जर्मन वा फ्रेन्चलाई दूरीमै राखेको बुझ्न सकिन्छ । यी मुलुकहरूसँग 'पश्चिमा' हरूको सहकार्य त छ, तर सतर्कताका साथ ।
एल्लिनले केही उदाहरणसहित चिनियाँलाई ज्यादै मेहनती, ज्याद्रा र चलाख भएको पुष्टि गरेका छन् । चिनियाँहरूलाई आगोको भुुंग्रोमा परेर पनि बाँच्न सक्ने सलामन्दार जातको छेपारो र अत्यन्त चिसो सहन सक्ने हिउँभालुसँग तुलना गरेका छन् । उनीहरू गलगिद्ध खाएर वा एक कचौरामात्र भात खाएर पनि बाँच्न सक्ने भनी उल्लेख गरेका छन् । उनी भन्छन्, 'चिनियाँलाई भारतीय र निग्रो जातिसँग तुलना गर्ने भूल पश्चिमाहरूले गर्नु हुँदैन ।' फुकुयामाको सार पनि यस्तै देखिन्छ, तर उनको आलेख अति नै संक्षिप्त भएकाले यसको व्याख्या गर्ने उनलाई सुविधा भएन । फुकुयामाले 'एउटा पाटो, एउटा बाटो' परियोजना सम्पन्न गर्न प्रस्तावित एसियाली पूर्वाधार लगानी बैंकको लगानीले सम्भव नहुने कुरा छ्वास्स छोएका छन् । तर, स्रोतको अभाव नहुने कुरामा पनि स्पष्ट छन् । एल्लिनले चीनको अपार स्रोतको उल्लेख गरेका छन् । चीनका बारेमा उनले उदाहरण दिएका छन् 'हरेक प्रान्तहरूको माटो मलिलो छ र खनिजस्रोतमा विविधता छ । अनि अरु कुनै पनि मुलुकमा भएको खनिजस्रोतको तुलनामा चीनमा सबैभन्दा बढी कोइला र फलामको भण्डार छ । जर्मन भूगर्भशास्त्री फोन रिख्त ओफनको आकलनअनुसार, एक्लो सान्सी प्रान्तले, वर्तमान खपत दरमा, सारा विश्वको कोइला र फलामको आवश्यकता तीन हजार वर्षसम्म पूर्ति गर्न सक्छ ।'
एल्लिनले 'चिनियाँहरू पश्चिमा औद्योगिकरणका सिद्धान्तबाट नियन्त्रित तथा निर्देशित भएका खण्डमा, चीनको अतुलनीय श्रम आपूर्ति हुने र यसले हरेक क्षेत्रमा उत्पादनमूल्यलाई न्यून गर्नेे' आकलन गरेका छन् । यसो भनिरहँदा एल्लिनले चिनियाँ जनशक्तिको विस्तार वा निर्यातको कुरा गर्दै थिए भने हाल फुकुयामाले चिनियाँ विकासको मोडेलको निर्यातको कुरा गर्दैछन् । हाल चिनियाँ जनशक्तिको विस्तारले उत्पादनमूल्य न्यून भएकोमा पश्चिमाहरू गम्भीर भइसकेका छन् ।
एल्लिनको चिनियाँ जनशक्तिको निर्यात र फुकुयामाको विकासको मोडेलको निर्यातको परिणामबारे एकैनासका चिन्ताहरू छन् । एल्लिनले 'चीनका अनगिन्ती जनसमुदाय बाँकी सारा संसारसँग स्वतन्त्र औद्योगिक प्रतिस्पर्धा गर्न थाले भने त्यसको प्रभावले युरोप र अमेरिकाका श्रमिकहरूको जीवनस्तरमा उल्लेखनीय गिरावट हुने' कुरा व्यक्त गरेका छन् । फुकुयामाले 'युरेसिया र मध्यएसियाको वातावरणीय क्षति, सुरक्षा तथा श्रमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्ड तोडिने' आशंका गरेका छन् । उनी अमेरिका एसियाली पूर्वाधार लगानी बैंकको संस्थापक सदस्य नबनेकोमा चिन्तित छन् र उसलाई सहभागी हुन सुझाव दिन्छन् । र, यसमा 'अमेरिकाको सहभागिताले चीनलाई वातावरणीय, सुरक्षा तथा श्रमसम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डलाई अनुसरण गर्न दबाब दिन सकिने' पक्षमा देखिन्छन् ।
एल्लिन चीनले स्वतन्त्ररूपमा विकास गर्न सक्छ भन्नेमा विश्वास गर्थे । तर, उनी 'सेता जातिलाई बेफाइदाजनक स्थितिमा पु¥याउनेगरी हुने चीनको विस्तारलाई शक्तिशाली राष्ट्रहरूले एकीकृत प्रयासबाट अवरुद्ध' गर्ने कुरामा पनि विश्वस्त थिए । फुकुयामाको आग्रह छ कि विकासशील मुलुकहरूमा मात्र होइन, आफ्नै मुलुकमा पनि पूर्वाधारको निर्माण गर्न किन यति कठिन भयो भन्ने प्रश्न हामीले आपैmलाई सोध्नुपर्छ । 'हामीले यसो गरेनौ भने, चीन र यसको विकासको मोडेलसामु युरेसिया र संसारका अरु महŒवपूर्ण भागहरूलाई सुपुर्दगी गर्नुपर्ने खतरामा पर्नुपर्नेछ भन्ने उनको निष्कर्ष छ ।
के पश्चिमाका यस्तो निष्कर्ष चिन्ताजनक हुन् ? या पश्चिमाहरूको चीनप्रतिको दुराग्रहमात्र हुन् ? यसबारे हामीले चासो राख्नैपर्ने र स्पष्ट हुनैपर्ने अवस्था तथा अवस्थितिमा छौँ । किनकि, हामी (नेपाली) पनि 'एउटा पाटो, एउटा बाटो'मा प्रत्यक्ष या अप्रत्यक्ष खडा हुन आइपुगेका छौँ । खासगरी, हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा व्यक्त गरिएका सन्दर्भले सो परियोजनामा नेपाल संलग्न हुने प्रतिबद्धता जाहेर भएको छ । गैरसरकारी पक्षबाट समेत 'एउटा पाटो, एउटा बाटो' ले नेपालको भविष्यलाई पार्ने प्रभावबारे अध्ययन हुँदैछ । यसबारे सञ्चार माध्यमको सकारात्मक प्रचारले नेपाली जनता यस परियोजनाबाट आफ्नो र आफ्ना सन्ततिको उत्थान हुने सपनामा रमाउन थालेका र आशाका साथ प्रतीक्षारत छन् । तर, हिजोका एल्लिन आयरल्यान्डजस्ता र आजका फ्रान्सिस फुकुयामाजस्ता पश्चिमा रणनीतिक विश्लेषकको यस परियोजनामाथिको चासोलाई नियाल्ने हो । नेपाल तथा अरु विकासशील मुलुकहरूको संलग्नता र ती मुलुकका जनसमुदायको सपना साकार हुने कुरा त्यति सरल तथा सहज देखिँदैन ।
प्रकाशित: १६ चैत्र २०७२ २१:५४ मंगलबार

