१७ मंसिर २०७९ शनिबार
विचार

पाकिस्तानी बाढीको भीषण वितण्डाका लागि को जिम्मेवार?

धेरै सुनेको एउटा कथा हामीलाई सावधान गराउनेखालको छ। जब मानिसले पहिलोपटक पृथ्वीमा पाइला टेक्यो, त्यसपछि सबै पखँेटा भएका प्राणी आकाशमा उडे र माछा समुन्द्रका गहिराइतर्फ लागे। पृथ्वीको विनाशक आइपुगेकाले उनीहरू तितरवितर भएका थिए।

यो कुनै किम्वदन्ती नभै भविष्यवाणी थियो त? अहिले पाकिस्तानको एकतिहाइ भूभाग जलमग्न छ। पछिल्ला साताहरूमा भएका भीषण वर्षाका कारण आएको बाढी इन्दुज नदीमा मिसिँदा पानीको त्यो मात्रालाई इन्दु नदीको किनारले थेग्न सकेको छैन। जलवायुविज्ञका अनुसार पृथ्वीको तापमान बढेका कारण तीव्र हिसाबले हिमनदी पग्लँदा बढेका नदीका कारण भयानक बाढी आएको हो।  

यो विपद्का कारण सात पाकिस्तानीमध्ये एकजना प्रभावित भएका छन् र बासस्थानसमेत उठीबास भएका कारण कैयन् मानिस खुला आकाशमुनि सुत्न बाध्य छन्। कुल ९ लाख बाढीमा चौपाया हराएका छन् भने २० लाख एकड भूमि र ९० प्रतिशत बालीनाली नष्ट भएको छ। केही प्रान्तमा, कपास, धान र उखुखेती सम्पूर्णरूपमा नष्ट भएको छ भने आधाजसो प्याज, खुर्सानी र गोलभेडा नष्ट भएका छन्। अहिलेसम्म कुल १३ सय ५० जनाको मृत्यु भैसकेको छ र ३ करोड ३० लाख मानिस विस्थापित भैसकेका छन्। यो संख्या ५ करोड रहेको अनौपचारिक आकलन छ। भीषण वर्षाका लागि जलवायु परिवर्तनको भूमिका रहेको हुन सक्छ तर हिमनदी पग्लनुमा पनि जलवायु परिवर्तनले पक्कै महत्वपूर्ण भूमिका खेलेको छ। यस्तो अवस्थामा यी विस्थापित सर्वसाधारणलाई जलवायु शरणार्थी भन्न सकिन्छ। यो शव्दावलीको हेक्का राख्नुहोस् किनभने तपाईँको देशमा पनि जलवायु शरणार्थी हुने पक्का छ।  

सबैभन्दा बढी प्रभावित दक्षिणमा रहेको सिन्ध प्रान्त बनेको छ। विपद्को तयारीका लागि यो प्रान्तसँग कुनै योजना थिएन न त पानीजन्य संरचना र ढल प्रणालीलाई संकट थेग्न सकिने बनाइएको थियो। यो विपद्बाट बाँच्न सफल भएका अधिकांश गरिबहरू हाल भोकमरी र रोगको जोखिममा छन्। अझै धेरै वर्षा हुने अनुमान गरिएको छ। सिन्ध प्रान्तका अधिकांश स्थान समुन्द्र सतहसँग नजिक भएकाले उत्तरतर्फबाट आएको भीषण बाढीले निरन्तर यसलाई थप चाप दिने प्रष्ट छ।  

पाकिस्तानका योजना तथा विकास मन्त्री अहसन इकवालले पाकिस्तान जलवायु परिवर्तनको सिकार भएको र यसका लागि विकसित देश जिम्मेवार रहेको बताएका छन्। विश्वको कुल जनसंख्याको २.६ प्रतिशत हिस्सा रहेको पाकिस्तानको विश्वका कुल कार्बन उत्सर्जनमा १ प्रतिशत भन्दा कम हिस्सा छ। तर त्यसो हुँदाहँुदै पनि पाकिस्तानले सबैभन्दा चर्काे मूल्य तिर्नुपरेको छ। तुलनात्मकरूपमा हेर्ने हो भने विश्व जनसंख्यामा अमेरिकाको हिस्सा ४ प्रतिशत छ तर विश्वव्यापी कार्बन उत्सर्जनमा अमेरिकाको हिस्सा झण्डै १३ प्रतिशत छ। सन् २०१९ मा संयुक्त राष्ट्र संघका गरिबी तथा मानव अधिकार विषयका स्पेसल ¥यापोर्टियर फिलिप एल्सटनले विश्वव्यापी तापमान वृद्धिले सर्वसाधारणको खानेपानी, खाद्य तथा बासस्थान जस्ता आधारभूत अधिकारबाट वञ्चित पार्ने चेतावनी दिएका थिए। उनले धनी राष्ट्रले यसप्रकारको असहज परिस्थितिलाई सामना गर्न सके पनि अधिकांश विश्व यसबाट प्रताडित हुने बताएका थिए।  

खनिज इन्धनका कारण हुने उत्र्सजनका लागि धनी राष्ट्र अधिक जिम्मेवार छन्। त्यसैले ग्लोबल नर्थले ग्लोबल साउथमा भएका जलवायुजन्य हानि÷नोक्सानीको जिम्मा लिन आवश्यक छ। दशकौँसम्म खनिज इन्धनको उच्च प्रयोगका कारण सिर्जित तापमान वृद्धिले गरिबहरू बढी मात्रा प्रभावित भएका छन् र ग्लोबल नर्थ यो जिम्मेवारीबाट भाग्न सक्दैन।

सन् २०१० मा पनि पाकिस्तानमा सरदर भन्दा ७० देखि १०२ प्रतिशत अधिक वर्षा भएको थियो। पन्जावको कानपुर सहरमा सरदर भन्दा १४८३ प्रतिशत बढी पानी परेको थियो। नदीहरूको बहाव अत्यधिक बढेको थियो। इन्दु नदी र सहायक नदीमा आएको बाढी थेगिनसक्नु थियो। नदीमा बाँधिएको बाँध फुट्दा बाढीले ठूलो तालसमेत बनेको थियो। अमेरिकी सहयोग नियोग–युएसएडका अनुसार १७ लाख घर नष्ट भएका थिए भने २ करोड मानिस प्रभावित बनेका थिए। आर्थिकरूपमा ११ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको थियो। त्यतिबेला पाकिस्तानको ५ भागको १ भाग जलमग्न हुन पुगेको थियो। अहिले आएको बाढी त्यो भन्दा पनि बढी विनाशक बनेको छ। सिन्ध प्रान्तको एक स्थानमा सरदर भन्दा ५०८ प्रतिशत बढी वर्षा भएको थियो।  

अन्तर्राष्ट्रिय मुद्रा कोषले पाकिस्तानको आर्थिक पुनर्उत्थान प्याकेजका लागि १.१७ अर्ब अमेरिकी डलर उपलब्ध गराएको छ। उता, संयुक्त राष्ट्र संघले आफ्ना सदस्य राष्ट्रलाई पाकिस्तानलाई १६ करोड अमेरिकी डलर सहयोग गर्न आह्वान गरेको छ। तर मुद्रा कोषले दिने सहयोगमा कडा सर्त जोडिने गरेका छन्। प्राकृतिक विपद् रोक्न र पाकिस्तानको पुनर्निर्माणका लािग यो रकम यथेष्ट पनि छैन। यो जलवायु परिवर्तनजन्य समस्या हो। यो लगातार भैरहेको छ र उग्ररूपमा भैरहेको छ। यो झन् बढ्न सक्ने देखिएको छ।  

यसो हुँदाहुँदै पनि पाकिस्तानप्रति विश्व समुदायको ध्यान आकृष्ट नहुनु हृदयविदारक कुरा हो। विश्वका थोरै व्यक्तिले यो संकटको बारेमा बोलेका छन्। यो नश्लवादको एक उदाहरण हो। पाकिस्तानमा भयानक घटना हुँदा पनि ऊप्रति करुणाभाव प्रदर्शन नहुनु दुःखद हो।  

तर पाकिस्तानको यो घटनाले हामीले कथामा सुनेजस्तै विश्वलाई गंभीर संकेत गरेको छ। त्यसैले धनी राष्ट्रले यो विषयमा ध्यान दिनैपर्छ। जुन त्रासदी अहिले पाकिस्तानले भोगिरहेको छ, त्यो कुनैबेला अन्यत्र पनि दोहोरिन सक्छ।  

(भुट्टो पाकिस्तानी लेखक हुन्। उनले रनवेयज नामक उपन्यास लेखेकी छन्। न्युयोर्क टाइम्सबाट)

प्रकाशित: २३ भाद्र २०७९ ०६:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App