२३ मंसिर २०७९ शुक्रबार
विचार

नेता बदलिएनन्, जनता बदलिऔँ

राजनीतिमा परिवर्तन खोज्नेहरूले क्रान्ति आह्वान गर्छन्। परिवर्तनकै लागि समय–समयमा क्रान्ति भइराख्छन्। नेपालमा पनि धेरैवटा परिवर्तनकामी राजनीतिक क्रान्ति भएका छन्। पछिल्लो पुस्ताले देखेको र भोगेको क्रान्ति भनेको २०४६ र २०६२/६३ सालको जनआन्दोलन हो। यी दुई जनआन्दोलनले मुलुकमा व्यवस्था परिवर्तन गरेको अभिलेख हाम्रोसामु छ।

हो, मुलुकमा व्यवस्था बदलियो। तर व्यवस्था चलाउने व्यक्ति बदलिएनन् अथवा बदलिन चाहेनन्। व्यवस्था बदलिँदा पनि व्यवस्था चलाउनेहरू नबदलिँदा आमजनताको आशा र अपेक्षामाथि कुठाराघात हुँदै आयो। हिजो पञ्चायतकालमा पनि राजनीतिको नेतृत्वमा उही नेताहरू थिए। प्रजातन्त्रकालमा पनि उही नेताहरू नेतृत्वमा रहे।

अहिले संघीय लोकतान्त्रिक गणतन्त्रमा पनि उनै नेताहरू नेतृत्वमा छन् र अझै पनि नेतृत्वमा रहिरहन लालायित छन्। राजनीतिको नेतृत्व अथवा पदमा रहँदा प्राप्त हुने शक्ति र त्यसकै आधारमा प्राप्त हुने शान, मान र ऐश्वर्यले गर्दा नेतृत्वमा रहने नेताहरूले शक्तिमा रहने लालसालाई त्याग्न चाहेनन् र आफू र आफ्नो सोच बदल्न पनि चाहेनन्। त्यसको परिणामस्वरूप विशेषगरी भुइँमान्छेले लोकतन्त्र र गणतन्त्रको अनुभूति नै गर्न पाएनन्।

राणाकालमा जनताले लामो समयसम्म अन्याय, अत्याचार, गरिबी, अभाव, पछौटेपन र चरम निरंकुशता भोगे। पञ्चायतकामा पनि त्यही अवस्था भोगे। प्रजातन्त्रकालमा पनि भोगे र अहिले लोकतान्त्रिक गणतन्त्रको कालमा पनि त्यही दुरवस्था र त्यही दुर्भाग्य भोग्न नेपाली जनता अभिशप्त छन्। जनताले खोजेको र जनताले चाहेको लोकतान्त्रिक गणतन्त्र आएपछि सुख र समृद्धि आउने अपेक्षा गरेका जनताले फेरि पनि उही गरिबी, अभाव, बेरोजगारी र बेथिति भोग्नुप¥यो। नेताहरू व्यक्तिगत र दलगत स्वार्थमा लिप्त भइरहे। जनताको पिरमर्का, दुख, वेदनाप्रति तिनीहरू कहिल्यै गम्भीर बनेनन्। जनताको आशा र अपेक्षाप्रति पनि गम्भीर र जिम्मेवार बनेनन्। परिणामतः राजनीतिक दल र दलका नेताप्रति जनतामा वितृष्णा बढ्दै गयो।

तैपनि नेताहरू बदलिने आशामा तिनै नेतालाई चुनावमा आफ्नो अमूल्य मत दिएर जिताउन जनता अभिप्रेरित भइरहे। एकातिर अलिअलि राजनीतिक दलप्रतिको आस्था, अर्कोतिर सुख र समृद्धि पाउने केही आशाले हरेक निर्वाचनलाई जनताले सहर्ष स्वीकारिरहे। तर नेताहरू बदलिएनन्। उनीहरूको सोच बदलिएन। आशैआशमा बाँचेका जनतालाई तिनले हरेकपटक निराशामात्रै दिइरहे। जनताको जीवन यापन सहज बनाउनेभन्दा सत्तारोहणको यात्रालाई सहज बनाउने कुरामा मात्रै ध्यान दिने नेताका कारण जनताले कष्टसाध्य जीवन जिउनु परिरहेछ।

अहिलेका नेताहरू जनताको मुद्दाको होइन, नातावाद, कृपावाद र फरियावादको नेतृत्व गरिरहेछन्। लोकतन्त्रको नाम जप्दै लुटतन्त्र मच्चाइरहेछन्। मिलीजुली खाने र तैँ चूप, मैँ चूप भएर बस्ने सिद्धान्त अहिलेका नेताहरूले अपनाएका छन्। केवल सत्तास्वार्थका लागि गठबन्धन गर्छन्। स्वार्थ मिलुन्जेल सँगै हिँड्छन्। स्वार्थ बाझिएपछि सत्तोसराप गर्छन्। नेताहरूको यस्तै द्वैध चरित्रले गर्दा जनसरोकारका मुद्दा सधैँ ओझेलमा पर्दै आएको छ। हरेक दृष्टिकोणले असफल भइसकेका नेताहरू पनि सत्ता र शक्तिमा रहिरहन खोज्ने लालसाभित्र लोकतन्त्रको नाम जप्दै लुटतन्त्र मच्चाइरहन पाइन्छ भन्ने अभीप्सा लुकेको छ।  

अहिलेको राजनीतिक परिदृश्यलाई हेर्दा न नेता बदलिने छाँट छ न त नेतृत्व बदलिने छाँट नै देखिन्छ। आगामी मङ्सिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा भएसँगै फेरि पनि अहिलेकै नेताहरू सत्ता र शक्तिमा पुग्ने र पुर्‍याउने लक्षण देखिएको छ। कुशासन, नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिएर जनतालाई दुःख र हैरानी मात्र दिएका केही ठूला राजनीतिक दलका उनै ठूला नेताहरूले फेरि पनि सत्तामा पुग्ने सपना देख्न थालेका छन्। अनि त्यही सपना पूरा गर्ने पृष्ठभूमि निर्माणमा जुटेका छन्। अवकाश जीवन जिउनुपर्ने अथवा वृद्ध भत्ता खाएर बस्नुपर्ने नेताहरूको यो महान् लालसाले नेपाली जनता र देशको भविष्यलाई अन्धकारतर्फ धकेल्ने निश्चित छ।

त्यसैले आगामी मङ्सिर ४ गते हुने निर्वाचनबाट यी र यस्ता नेताहरूलाई सधैँका लागि राजनीतिबाटै बिदा दिनुपर्ने अवस्था आइपरेको छ।  

देशमा धेरैथरी समस्या छन्। देशको समस्या समाधान गर्ने नेता स्वयं अहिले देशका लागि ठूलो समस्या भएका छन्। देशको बोझ उठाउनुपर्ने राजनीतिक नेतृत्व नै देशका लागि बोझ भएको छ। देशको यो समस्या समाधान गर्ने र यो बोझ हटाउने अवसर हो आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन। अब हामीले निर्णय गर्नु छ यथास्थितिलाई नै निरन्तरता दिने कि राज्य सञ्चालनमा नयाँ परिवर्तन खोज्ने भनेर।

नेता बन्न र नेतृत्व सम्हाल्न नभइनहुने उच्च नैतिक छवि, अद्यावधिक ज्ञान र बौद्धिक क्षमतामध्ये कुनै पनि गुण नभएका नेताहरूलाई पाखा लगाउनकै लागि अब स्वयं सचेत नेपाली जनता नै बदलिनुपर्ने खाँचो छ। खालि गाली र तालीको आकांक्षी नेताहरूको अक्षमताले देशमा विकास नभएको, राजनीतिक बेथिति र भ्रष्टाचार बढेको र त्यसले जनतामा निराशा पैदा गरेको छ। 

दशकौँदेखि नेताहरू बदलिएलान्, नेतृत्व बदलिएला भनेर हामीले प्रतीक्षा गरिरह्यौँ। तर समयमात्रै धेरै बदलियो हाम्रा नेताहरू बदलिएनन् र उनीहरूको सोच र कार्यशैली कहिल्यै बदलिएन। नेता र नेतृत्व नबदलिएपछि अब हामी आफैँ बदलिनुपर्ने भएको छ।  

हामी बदलिनु भनेको अहिले सत्ता र शक्तिमा बसेर हामी जनतामाथि शासन गर्ने नेता र नेतृत्वलाई अवसरबाट वञ्चित गर्नु हो। वर्षौँदेखि नबदलिएका र बदलिने सोच पनि नबनाएका नेता र नेतृत्वलाई सदाका लागि बिदा गर्नका लागि हामी आफैँ बदलिने बेला आएको छ। 

कुनै राजनीतिक वाद, कुनै राजनीतिक दल र कुनै राजनीतिक दलप्रतिको आस्थामा विभाजित नभई सबै जनताले विवेकपूर्ण निर्णय गरेर अविवेकी नेता र नेतृत्वलाई परास्त गर्न अथवा अवसरबाट वञ्चित गर्न सक्यौँ र योग्य, सक्षम, क्षमतावान, ऊर्जावान युवालाई आफ्नो प्रतिनिधि छनोट गर्न सक्यौँ भने मात्रै हामीले चाहेको ‘सुखी नेपाली समृद्ध नेपाल’ को सपना साकार हुनेछ।

देशमा अर्को एउटा महत्वपूर्ण परिवर्तन ल्याउने महान् अवसर हो आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन। यसै निर्वाचनबाट हामीले गन्धे बूढा नेताहरूलाई पाखा लगाउँदै विवेकशील एवम् ऊर्जावान युवा पुस्तालाई नेतृत्वको अवसर दिन सक्यौँ भने देशले एकपटक फेरि अर्थपूर्ण परिवर्तन महसुस गर्नेछ।

त्यो परिवर्तन सुखद हुनेछ र देशका लागि शुभ हुनेछ। त्यो परिवर्तनले देशमा शुभ दिन ल्याउनेछ। स्थानीय तह निर्वाचनमा विजयी बालेन शाह, हर्क साम्पाङ प्रवृति युवाले यही सङ्केत गरेका छन्।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १६५ जना, समानुपातिकतर्फ ११० जना र प्रदेशसभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिकतर्फ २२० गरी कुल ८२५ जना जनप्रतिनिधि छनोट गर्ने अवसर करिब पाँच वर्षप्छि फेरि प्राप्त भएको छ। यो अवसर हाम्रा लागि चुनौती पनि हो। चुनौती यस अर्थमा कि असल जनप्रतिनिधि छनोट गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ र यो निकै चुनौतीपूर्ण पनि छ। असल जनप्रतिनिधि छनोट गर्न नसक्दाको परिणाम हामीले धेरैचोटि भोगिसक्यौँ।

अबचाहिँ साँच्चै योग्य, सक्षम, क्षमतावान र ऊर्जावान जनप्रतिनिधि छनोट गर्ने चुनौती हाम्रासामु तेर्सिएको छ। कुनै लोभलालच र डर/धम्कीमा नपरी स्वविवेकले असल जनप्रतिनिधि छनोट गर्नसक्यौँ भने फेरि अर्को पाँच वर्ष हामीले पछुताउनुपर्ने छैन।

हामी जनता बदलिनु भनेको पनि राजनीतिक कित्तामा विभाजित नभई स्वतन्त्र नागरिकको हैसियतले स्वविवेकले नालायक, अयोग्य र अक्षम नेतालाई पाखा लगाएर योग्य, सक्षम, क्षमतावान र ऊर्जावान जनप्रतिनिधि छनोट गर्नु हो। 

प्रकाशित: २२ भाद्र २०७९ ०६:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App