१९ मंसिर २०७९ सोमबार
विचार

क्यान्सरजन्य मृत्यु आधा घटाउने उपाय

अर्बुद रोगका कारण आर्थिक तथा मानसिकरूपमा थिलथिलो नभएको परिवार भेट्न कठिन छ। अन्य रोगका बिरामी केही समयको इलाज र परहेजपछि पूर्वावस्थामा फर्कन्छन् भने लक्षण देखिनेबित्तिकै अर्बुद रोगीको जीवनचक्र फेरिन्छ। लामो उपचारपछि समेत रोगबाट मुक्ति नपाउनु, रोगबाट छुटकारा पाए पनि पूर्ण जीवन व्यतित गर्न चुनौतीपूर्ण हुनु, क्यान्सर मुक्त भएपछि फेरि त्यसको लक्षण देखिने हो कि भन्ने चिन्ताले आजन्म सताउने भएकाले यो महारोगलाई स्वास्थ्योपचार प्रणालीको सुनामी मानिन्छ।  

सन् १८४५ मा क्यान्सर सेल (कोस) पत्ता लाग्यो। अणुवांशिक पदार्थ डिएनएमा आउने खराबीका कारण क्यान्सर रोग लाग्छ भन्ने थाहा पाएको पनि धरै वर्ष भयो। दशकौँदेखि बर्सेनि खरबौँ अमेरिकी डलर खर्चेर हजारौँ वैज्ञानिकहरू अहोरात्र खट्दासमेत क्यान्सरको गतिलो ओखती पत्ता लाग्न सकेको छैन। एक सय भन्दा धेरै संख्यामा रहेका क्यान्सरमध्ये प्रारम्भिक चरणमै पत्ता लगाई इलाज गर्न सके एक दुई किसिमका महारोगको इलाज संभव देखियो। रोग लागेपछि ठूलो धनराशि खर्चिएर बिरामीको जीवन केही लम्ब्याउन सकिए पनि अधिकांश अवस्थामा रोगीले क्वालिटी लाइफ बिताउन सकेको देखिन्न। हालसम्म उपलब्ध उपचार विधिले क्यान्सर निको पार्न नसक्ने भएकाले अर्बुद रोग लाग्नबाट कसरी बच्ने बचाउने भन्ने दिशामा ध्यान दिनुपर्ने भयो। त्यसै प्रश्नको उत्तर दिने दिशामा संयुक्त राज्य अमेरिकाको सियाटलस्थित युनिभर्सिटी अफ् वासिंगटनका प्राध्यापक क्रिस्टफर मुर्रे नेतृत्वको अन्वेषण समूहले संसारभरको मृत्यु र रोगको आकडा संकलन गरी आयुर्विज्ञान क्षेत्रको प्रतिष्ठित जर्नल द ल्यान्सेटमा गत महिना एउटा अनुसन्धानात्मक लेख प्रकाशित गरे। संसारभरको मृत्यु, रोगको वितरण, खानपिन ढाँचालगायतका सामाजिक तथा आर्थिक पक्ष समेटिएको उक्त रिसर्च आर्टिकलले केबल खानपिन तथा आदतमा मात्र पनि संयमता अपनाउन सक्ने हो भने अर्बुद रोगका कारण हुने मृतकको संख्या आधा घटाउन सकिने भन्छ। अर्बुद रोग लाग्नै नदिन पालन गर्नुपर्ने परहेजका संबन्धमा हालै प्रकाशित भएका विविध अनुसन्धानका नतिजा पस्कनु यो लेखको लक्ष्य रह्यो।  

संसारका दर्जनौँ अन्वेषणकर्ताहरूको सहभागितामा सन् २०१० देखि २०१९ सम्म विश्वका २०० भन्दा अधिक देश तथा भैगोलिक क्षेत्रमा देखिएका रोग, अपांगता तथा मृत्यु विवरण संकलन गरी विश्व स्वास्थ क्षेत्रलाई निर्देशन गर्न सहायक सिद्ध होस् भन्ने उद्देश्यले द ग्लोबल बर्डेन अफ् डिजिज २०१९ प्रकाशित गरे। संसार नै समेटेर तयार गरिएको उक्त स्वेतपत्रका नतिजालाई प्रशोधन गरी डा. मुर्रेले खानपिनलाई परिमार्जन मात्र पनि गर्न सक्ने हो भने क्यान्सरजन्य मृत्यु आघा घटाउन सकिन्छ भन्ने निष्कर्ष निकाले। अनि उक्त नतिजा द ल्यान्सेटमा छापियो।  

प्रकाशित तथ्यांकअनुसार सन् २०१९ मा क्यान्सरका कारण झण्डै २९ लाख पुरुष अनि करिब १६ लाख महिलाको मृत्यु भएको थियो। आखिर क्यान्सरका कारण महिला भन्दा पुरुष किन बढी मरे? संसारभरको तथ्यांकले छोरा मानिस आमा समूह भन्दा अत्यधिक मदिरा अनि चुरोट÷बिँढी पिउने गरेको देखियो। साथै, विश्वमा अर्बुद रोगको वितरण हेर्दा फोक्सो तथा स्वास प्रस्वास प्रणालीमा लाग्ने क्यान्सरको बाहुल्यता देखियो। अर्बुद रोगका कारण हुने कुल मृत्युको झण्डै ३७ प्रतिशत स्वास प्रस्वास प्रणालीसँग संबन्धित क्यान्सर देखियो अनि दोस्रो स्थानमा रहेको कोलोरेक्टल क्यान्सरका कारण झण्डै १४ प्रतिशत मानिस मरेको पाइयो। अन्य प्रकृतिका क्यान्सरको योगदान एक अंकमा खुम्चिएको भन्यो आकडाले। त्यसैले क्यान्सर सिर्जित मृत्युको संख्यामा गिराबट ल्याउन मुख्य त स्वास प्रस्वाससम्बन्धी क्यान्सरमा प्रहार गर्न आवश्यक देखियो। ल्याब परीक्षण र क्लिनिकल तथ्यांकले चुरोट÷बिँडीको सेवन अनि गरिब मुलुकमा खाना पकाउँदा उत्पादन हुने धुवाँका कारण फोक्सोको क्यान्सर हुने पुष्टि मात्र गरेन बरु धुवाँले अन्य दर्जनौँ किसिमका अर्बुद रोगलाई उकास्ने पुष्टि गर्‍यो। चुरोटमा सयौँ किसिमका रसायनिक पदार्थ रहने र त्यसमध्ये झण्डै ७० वटा केमिकल क्यान्सरका कारक देखिए। चुरोटमा पाइने बेन्जिन, एमिन, ब्युटाडाइन जस्ता क्यान्सरजन्य रासायनिक पदार्थहरूले आणुवांशिक पदार्थ डिएनएलाई अपरिवर्तनीयरूपले क्षति पुर्‍याउने भएकाले फोक्सोलगायत विभिन्न किसिमका क्यान्सरको कारक देखियो धूमपान।  

क्यान्सरका कारण हुने मृत्युका लागि धुवाँ सबैभन्दा बढी जवाफदेही भए पनि द ग्लोबल बर्डेन अफ् डिजिज २०१९ ले रक्सी सेवन गर्ने मानिसमा समेत विभिन्न किसिमका क्यान्सरले बढी सताएको देख्यो। जंक फुडले मानिसको तौल बढ्ने अनि मोटो मानिसलाई क्यान्सरले बढी सताउनेसमेत भन्न भ्यायो २०१९ को स्वेतपत्रले। तसर्थ, गत अगस्त २० तारिखमा द ल्यान्सेटमा प्रकाशित अन्वेषणले केबल चुरोट, रक्सी र जंक फुडमा मात्र पनि बन्देज लगाउन सक्ने हो भने क्यान्सरका कारण हुने मृतकको संख्या तुरुन्त ५० प्रतिशत घट्ने भन्छ। त्यस्तै अमेरिकाको हार्वार्ड विश्वविद्यालयका अनुसन्धान समूहले ४६ हजार पुरुषको धूमपान, मद्यपान, मोटोपन तथा शारीरिक व्यायाम गर्ने आदतलाई २६ वर्षसम्म अनुगमन गरी सन् २०१६ मा एउटा अनुसन्धानात्मक लेख प्रकाशित गर्‍यो। विपरित समूहसँग तुलना गर्दा धूमपान र मद्यपान नगर्ने अनि अल्पभोजन र व्यायाममार्फत ठिक्क वजन बनाउने समूहमा क्यान्सरका कारण हुने मृत्यु ६७ प्रतिशत कम हुने देख्यो।  

मासु पोलेर खाने चलन नयाँ भएन। मीठो स्वादका कारण सेकुवा पसलहरू बढ्दा छन्। बाह्य रासायनिक पदार्थ सेवन नगरी हुर्काइएका जनावरको मासुमा कार्सिनोजेनिक रासायनिक पदार्थ हुँदैन। तर मासुलाई उच्च तापक्रममा सेक्दा मासुको बोसो त्यहाँ रहेको रासायनिक पदार्थसँग रियाक्सन गरी पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्बन तथा हेटिरोसाइक्लिक एमिन समूहका कार्सिनोजेनिक केमिकल बन्छन्। पोल्दा उत्पादन भएका ती नवीन केमिकलका कारण ग्रिल गरेको मासु स्वादिष्ट त हुन्छन् तर सेवनकर्तामा भने फोक्सो, प्रोस्टेट तथा आमासयको क्यान्सर हुने संभाव्यता अत्यधिक देखियो। उच्च तापक्रममा मासु पोल्दा खराब केमिकल उत्पादन हुने भएकाले धेरै सेकुवा नखान र भरिसक्य कम तापक्रममा लामो समय लगाएर पकाएको मासु खान उचित देखियो। त्यस्तै कुखुराको मासुको तुलनामा खसीको रेड मिट निकै खराब मान्छन् अनुसन्धानमा संलग्न वैज्ञानिकहरू। 

न्यासनल क्यान्सर इन्स्टिच्युट, मिलन इटलीको प्राध्यापक सुविना सिरीको समूहले युरोपका २० देखि ७० वर्ष समूहका झण्डै ४ लाख महिलाको खानपिन ढाँचाको अध्ययन गर्दा अत्यधिकस्याचुरेटेड फ्याट खाने महिलालाई विभिन्न किसिमको स्तन क्यान्सरले सताएको देखियो। स्याटुरेटेड फ्याटले महिलामा रहने एस्ट्रोजिन रिसेप्टर लाई प्रभावित पारी एस्ट्रोजिनको रासायनिक प्रक्रियालाई अनियन्त्रित बनाउने हुँदा स्तन क्यान्सर लागेको ठहर गरियो। विभिन्न किसिमको फ्याटले एस्ट्रोजिन रिसेप्टरलाई पृथक ढंगले निर्देशित गर्ने भएकाले घिउ, बोसो जस्तो फरक फरक किसिमको स्याटुरेटेड फ्याट उपभोग गर्ने महिलालाई भिन्नभिन्न किसिमको स्तन क्यान्सर भएको देखियो। नेपालको परिवेशमा भन्नुपर्दा घिउको बदला तेल सेवन गर्न हौस्याउन सके स्तन क्यान्सर धेरै घटाउन सकिने देखियो।  

शाकाहारी र मांसाहारी मानिसको तुलनात्मक अध्ययन गर्दा मासु खाने मानिसमा क्यान्सरको प्रकोप अत्यधिक देखियो भने सागपात तथा अन्नबाली खाने मानिस तुलनात्मकरूपले धेरै स्वस्थ पाइयो। सागपातमा रहेको रेशाले हाम्रो आन्द्रामा रहेका गट ब्याक्टेरियाको सन्तुलन अनुकूल धारमा लान्छ। गट ब्याक्टेरियाले मानिसको पाचन प्रणालीलाई मात्र स्वस्थ नराख्ने बरु शरीरको प्रतिरक्षा प्रणालीलाई समेत मजबुत राख्छ। प्रतिरक्षा प्रणाली मजबुत भएपछि क्यान्सरको प्रकोप कम हुनु अस्वाभाविक भएन।  

त्यसैले सागपातजन्य खान्की क्यान्सर भगाउने महत्वपूर्ण हतियार मान्छन् बल्र्ड क्यान्सर रिसर्च फन्ड र अमेरिकी क्यान्सर इन्स्टिच्युटका अनुसन्धानकर्ताहरू। मासुको बदला खागपात तथा अन्नबाली खाने आदत बनाउने हो भने क्यान्सरलाई पछि धकेल्न सकिने देखियो।  

बजारमा बिक्री हुने अधिकांश प्रशोधित खानामा पाइने रासायनिक पदार्थले विभिन्न किसिमको क्यान्सरलाई प्रोत्साहन गर्ने भएकाले बट्टामा प्याक भएका कुनै पनि किसिमको चलानी खानेकुरा नखान सल्लाह दिन्छन् डब्लुएचओअन्तर्गतको क्यान्सर एजेन्सीका प्रमुख क्रिस्टफर बाइल्ड। संसारका धेरै देशमा बिक्री हुने प्रशोधित खानेकुराको ल्याब परीक्षण गर्दा कार्सिनोजेनिक केमिकल पाइएकोले क्यान्सरको महामारीबाट बच्न संसारका सबै देशले प्रशोधित खानाको विकल्प खोज्नुपर्ने बताउँछन् डा बाइल्ड।  

क्यान्सर र खानाको अन्तरसंबन्ध स्थापितका खातिर गरिएका अन्वेषणले रक्सी, बिँडी÷चुरोट, पोलेको मासु, बोसो, जंक फुडलगायतका धेरै किसिमका खानालाई खोटो देख्यो। तर क्यान्सरका कारण हुने मृत्युमा चुरोट, मदिरा र जंक फुडको अत्यधिक योगदान भएकाले नीति मिर्माणमार्पmत नै बिँडी, रक्सी र प्रशोधित खान्कीमा रोक लगाउन सके अर्बुद रोगका कारण हुने मृत्यु आधा घटाउन सकिने भएकाले त्यता ध्यान दिन आवश्यक देखियो। एक्कासि प्रतिबन्ध लगाउन कठिन हुने भएकाले पहिलो चरणमा रक्सी, चुरोट र प्रशोधित खान्कीमा करको मात्रा अत्यधिक वृद्धि गर्दा महँगीका कारण पनि खराब वस्तुको उपभोग कम हुन्छ। धेरै मानिस जनचेतनाको अभावमा समेत मदिरा चुरोटको अम्मलमा पर्ने भएकाले जनहितकारी सूचना संप्रेषणले समेत अर्बुद रोगीको संख्या घटाउन मद्दत गर्छ।

प्रकाशित: २१ भाद्र २०७९ ०६:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App