वास्तवमा पहिले पहिले तीज नजिकिनुको अर्थ नै विवाहित महिलाका लागि नयाँ सारी चोलीको अपेक्षा हुन्थ्यो। चेली माइत आउने भनेर माइती पक्षले चेलीबेटीलाई आफ्नो गच्छेअनुसारको सारी चोली किनेर राखेका हुन्थे। रातो पहिरन हिन्दु महिलाको सौभाग्यको परिचय त्यसैले पनि आफ्नी चेलीको सौभाग्य अटल रहोस्, श्रीमान् श्रीमतीबीचको सुन्दरता र प्रेम जीवित रहोस् भन्ने भावले तीजका गीत पनि त्यस्तै भावपूर्ण रचिएका हुन्थे।
रातो चुरा रातो सारी रातै टीका लाएर
चिटिक्कै परेकी म उनकै लागि हो
के वास्तवमै अब नेपालीहरू आर्थिक रूपमा सम्पन्न र विकसित भएकै कारण आफ्नो पारिवारिक भावना र प्रेमभन्दा देखासिकी र प्रविधिमैत्री बनेका हुन् त ? त्यसकै परिणाम तीजे भाका, तीजका पहिरन र स्वरूप फेरिएर नृत्य र गीतको मौलिकता टिकटकतिर रूपान्तरण भएको हो त ?
चाहिन्न मलाई हङकङको सारी
चाहिन्न मलाई जापानको सारी
एउटा मोबाइल किन्देऊ बुढा
टिकटक बनाउँछु
हिन्दु धर्मको प्रचलन र आस्थाअनुसार तीजको व्रत एवम् उपासना गर्नु श्रीमतीले श्रीमान्प्रति दर्शाउने प्रेमको अभिव्यक्ति पनि हो। श्रीमान्को दीर्घायुको कामना गर्नु नराम्रो कसरी हुन्छ र ? हामी जे सोच्छौं, त्यही हुन्छ। त्यसैले शुभ भाव, प्रेम भाव र आस्थाका भावना तीजे गीत र भाकामा छचल्किन्छन्। टिकटक अकाउन्ट नै नभएका हामीजस्ता र आमाहरूका लागि त तीज त्यत्तिकै आफ्नो श्रद्धा र पारिवारिक पर्व नै हो। तीजको ट्रेन्ड टिकटकमा नभेट्नेहरूका लागि पनि तीजको मौलिकता उति नै प्रिय छ।
तीजको व्रत बस्छु म त खान्न पानी पनि
बर माग्छु स्वामीज्यूलाई केही नहोस् भनी
मै राम्री भएको तिम्रै लागि हो
मै मन्दिर गएको तिम्रै लागि हो...
भक्तिभाव र ऋतुअनुसारको पर्व
नेपाली संस्कारमा मनाइने हरेक पर्व ऋतु र मौसमअनुसार आफ्नै सन्देश बोकेर आएका हुन्छन्। हिन्दु नारीहरूको एक महŒवपूर्ण पर्वका रूपमा चिनिने तीज पर्व बिल्कुल पारिवारिक पर्व हो। नेपाल कृषिप्रधान देश हो। हाम्रो जीवनयापनको माध्यम नै कृषि थियो र अहिले पनि छ। सहरी क्षेत्रमा बस्ने केही प्रतिशत व्यापारी र नोकरीमा लागेका जनसङ्ख्यालाई मात्र हेरेर हामी पूर्णतया परिवर्तन भएका छौं भन्न मिल्दैन। वर्षा ऋतुमा पर्ने यो पर्व वर्षे खेतीपाती विशेषगरी धान रोप्ने, गोडमेल गर्ने काम सकेर थोरै फुर्सदको अनुभूति गरी बिहे गरेर कर्मघर गएका चेली माइतीघर फर्की आराम गर्ने एउटा अवसर पनि हो तीज। धार्मिक पुराण र किंवदन्तीमा शिव पार्वतीको प्रसङ्गलाई उल्लेख गरेर पार्वतीले शिवको आराधना गरेको प्रसङ्ग पनि प्रेम र परिवारसँग नै जोडेर हेर्न सकिन्छ। अहिले आधुनिकता र सम्पन्नताका आधारमा तीजको लवाइखुवाइमा परिवर्तन आएको भए पनि यसको मौलिकता आफ्नै छ।
वर्षा ऋतुमा प्राप्त तरकारी, फलफूलको प्रयोग गर्ने र महिलाहरू आफ्नो सौभाग्यमा सजिएर प्रसन्नता र प्रफुल्लता अभिव्यक्त गर्ने एवम् पारिवारिक जमघट गर्ने एउटा महŒवपूर्ण अवसरको पर्व हो। वर्षाभरि पानीमा भिजेर खेतीपातीमा लगाएको शरीरलाई चिसोबाट मुक्त गर्न अनदीको चामललाई घ्युमा फुराएर खाजा अर्थात् चाम्रे भात र साथमा कर्कलो, करेला, भिन्डी, घिरांैलाजस्ता मौसमी तरकारी र वर्षाको समय दुध पनि प्रशस्त उपलब्ध हुने हुँदा खिरको परिकार बनाएर खाने प्रचलन यसको मौलिकता हो। खेतीपाती गर्दा सफा र नयाँ कपडा अवश्य लगाइँदैन। त्यसैले साँचेर राखेको रातो सारी, पोते, चुरा, सिन्दुर लगाएर पर्वोत्सव मनाउने गरेका हुन् हाम्रा हजुरआमा, आमाहरूले। गहना र कपडाको देखासिकी र बढीबढाउ नगरीकन पनि हाम्रा हजुरआमा, आमाहरूले पर्वको महŒवलाई कायम राखेका थिए। श्रीमान्को नाममा व्रत बस्नु प्रेमको अभिव्यक्ति हो, मन्दिर जानु श्रद्धा र भक्तिको परिचय हो भने उपवास वैज्ञानिक हिसाबले शरीरलाई सफा राख्ने एउटा अवसर हो। पर्वलाई तोडमोड गरेर जति तडकभडक बनाए पनि भित्रबाट मन प्रसन्न र प्रफुल्ल छैन भने बाहिरी शृङ्गार र देखावटी केही दिनको क्षणिक अभिव्यक्ति मात्र बन्न जान्छ। पहिरनले कसैको परिचय झल्किँदैन।
वास्तविक परिचय त व्यक्तिको प्रेमिल, करुणादायी भावना, निष्कपट, स्वच्छ मन, सहयोगी भावना र आफैमा सुखी अनि आनन्दित रहने गुणबाट प्रस्टिन्छ। तीजको अर्को मौलिकता भनेको वर्षभरि साँचेर राखेका, हृदयबाट सृजित भएका भावनाहरूलाई तीजे लोकभाकाको माध्यमबाट प्रस्तुत गरी लोक नृत्यको माध्यमबाट आफूभित्र रहेका कुण्ठालाई छताछुल्ल पारी खाली हुनु हो। जसरी भाँडामा रहेको पुरानो चिजलाई नफ्याकी नयाँ सामान राख्न योग्य हुँदैन, त्यसैगरी मनरूपी भाँडोभित्र रहेका पुराना कुण्ठालाई नफ्याकी नयाँ शुद्ध विचार आउने अवसर रहँदैन। भावनात्मक अभिव्यक्ति तीजे गीतका मौलिकता हुन्। जसमा परिवारका गुनासा, खुसी, दिदीबहिनीको प्रेम, आमाबुबा र दाजुभाइको महŒवलाई आफ्नै रचनाबाट प्रस्तुत गरिन्छ। यी रचना हृदयबाट प्रस्फुटन हुन्छन्। निर्मल, कोमल, स्वच्छ, नैतिकवान् र पारिवारिक परिवेशमा समेत सुन्न सकिने र सुन्दा हृदयको झङ्कार र आँखाबाट आसु झर्ने खालका हुन्छन्। के आजकल प्रस्तुत हुने तीजे गीतले यस्तो महŒवलाई समेट्न सकेका छन् त ? के आजकल मनाइने तीजको दर÷खानपान र लवजले हाम्रो संस्कृति र मौलिकतालाई जीवन्त राखेका छन् त ?
व्यावहारिक र सहज पर्व बनाउनुपर्छ तीजलाई
हाम्रा पर्व र तिनलाई मनाउने तरिका सामाजिक, आर्थिक, भावनात्मक र पारिवारिक रूपमै व्यावहारिकता झल्किने खालको हुनुपर्दछ। तीजलाई कहाँ र कसरी मनाउने भन्ने मुद्दामा अल्झिनुभन्दा पनि यो प्रत्येक घरको पारिवारिक पर्व भएकाले आफूले कसरी यसलाई सरल, सहज र नैतिकवान् भएर महŒवका साथ मनाउन सकिन्छ, त्यसमा ध्यान दिनु उपयुक्त हुन्छ। हाम्रा पर्वले सहरमा बस्नेहरूको मात्र प्रतिनिधित्व गर्दैनन्। हाम्रो गाउँ, हाम्रो ठाउँ, हाम्रो पहिचान के हो भन्ने कुरालाई आजै भुलिहाल्न सकिने अवस्था छैन। सहर पस्नु रहर नभएर बाध्यता भएकाहरूले आफ्नो वास्तविकतालाई भुल्नु व्यावहारिक र दीर्घकालीन समाधान पक्कै होइन। ऋतु, मौसम, प्राकृतिक सुन्दरता र स्वभावलाई सम्झाउन आउने पर्वहरूलाई अप्राकृतिक तरिकाले मनाउन थाल्यौँ भने हाम्रो संस्कार कु–संस्कारमा धकेलिन सक्छ। नजानिँदो तरिकाले हामीले नै अप्राकृतिक जीवनशैली र तडकभडकलाई प्रश्रय दिइरहेका छौँ र जसको सिकार हामी आफै पनि भएका छौँ।
जीवनशैली र संस्कारको परिचय बन्नुपर्छ तीज
आफ्नो जीवन बाँच्ने तरिका र शैली आफ्नै स्वतन्त्रतामा हुन्छ। तर, जब सामाजिक पर्व, पारिवारिक पर्व र पारिवारिक महत्व सँगै जोडिएर आउँछन् भने त्यसको संस्कार कायम राख्न हाम्रो पहिरन, लवाइखुवाइ र जीवनशैलीले अरूलाई सकारात्मक प्रभाव पार्न सकोस् र सही सन्देश दिन सकोस्। त्यता पनि ध्यान दिन सक्यौँ भने असल संस्कारको परिचय दिन सक्छौँ। कस्तो खाने, कस्तो लगाउने, कस्तो जीवनशैली अरूका सामु प्रस्तुत गर्ने र यसले हाम्रो स्वास्थ्य, मनस्थिति र परिस्थितिलाई कतातिर लैजान्छ भन्नेसमेत थाहा पाउदैनौँ भने हामीले खोज्ने समृद्धि कस्तो खालको होला ? अधिकार र स्वतन्त्रताको नाममा आफ्नो मौलिकता नै गुम्छ कि भनेर ख्याल गर्नुपर्ने समय आएको छ। विकासको परिचय त आफ्नो आत्मविकासमा खोज्नुपर्दछ। दुईचार पैसा कमाउन सक्ने भयौँ भन्दैमा त्यसको दुरूपयोग किन गर्नुप¥यो र ? ‘साग र सिस्नु खाएको बेस आनन्दी मनले’ भनेझैँ हामीले कति आर्जन गरेका छौँ, भौतिक रूपमा कति सम्पन्न छौँ भन्ने कुरालाई हामी भित्रबाट शान्त, प्रसन्न, आनन्दित छौँ कि छैनौँ भन्ने कुराले मापन गर्छ। सहजता, सरलता, प्रसन्नता, करुणाजस्ता बिनामूल्य प्राप्त भएका हाम्रा अमूल्य गहनाको जतन गर्न जान्यौँ र तिनै गहनाले सिँगारिन जान्यौँ भने हाम्रो मौलिक परिचय झल्किने छ।
प्रकाशित: ११ भाद्र २०७९ ०२:०५ शनिबार