यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारतः।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्।।
यो ब्रह्माण्डमा जब धर्म नै संकटमा पर्दछ र पाप बढ्न थाल्दछ तब म धर्म स्थापनाका लागि प्रकट हुनेछु। जो पाप कर्ममा अग्रसर हुन्छ देवताले उसको नाश गर्छन्। त्यसैले धार्मिकताका लागि सही आचरणमा रहनुको विकल्प छैन। भगवान श्रीकृष्णको उद्गार हो यो। धर्म के हो त? आफ्नो स्वभावमा स्थित हुनु धर्म हो। आफ्नो स्वभाव के हो? प्रेम, करुणा, दया, आन्तरिक चेतना, दिव्यतामा स्थित हुनु आफ्नो स्वभावमा स्थित हुनु हो। आचरण के त? यही धर्म र स्वभावमा चञ्चलता र अराजकता आउन नदिनु नै आचरणमा रहनु हो।
मनको चञ्चलता, मनको खेल, नकारात्मक सोच र ईर्ष्या, द्वेष भावना मनमा आउन दिनु र त्यस्ता कर्ममा उत्प्रेरित हुनु नै आचरण बाहिर जानु हो। जब भित्रबाट प्रेम, करुणा, दया, आन्तरिक चेतना र अन्तरजागरणको बोध हुन थाल्छ तब जीवनमा बाहिर पनि दिव्यता महसुस हुन थाल्छ। किन कृष्ण ब्रह्माण्डमा पाप फैलिरहेको देख्नुहुन्छ? किनकि मानिस बाहिर भागेको छ, भित्र जागेको छैन। मानिस बाहिरको इष्र्या र द्वेषमा उद्यत छ भित्रको प्रेम र उमंग अर्थात् आफ्नो स्वभाव बिर्सेको छ।
आफ्नो घर जाने बाटो भुल्यो भने के हुन्छ? हराउँछ। मानिस अन्यत्र पुग्छ। त्यसैगरी आफ्नो घर अर्थात अन्तरचेतनालाई बोध गर्न भुल्यो भने मानिस लडाइँ, झगडा र युद्धमा प्रेरित हुन्छ। यही नै पापको परिणाम हो जसले आफूलाई त विनास गर्छ नै अरूलाई पनि सुख दिन सक्दैन। युद्धको कारण संसार होइन, संसार त भगवानको सुन्दर रचना युद्धभूमि कसरी हुन सक्छ र? युद्धको कारण हो–मानिसको मन, मनको खेल, सही संस्कारको अभाव, ईर्ष्या र द्वेष अनि आफैँलाई चिन्न नसक्नुको परिणाम। व्यक्तिको मनको अराजकता र अहंकार नै बाहिर संसारमा युद्ध र कलह बनेर आउँछ। अनि यस्तो अहंकार केही नजानेको बुद्धुमा भन्दा तथाकथित ज्ञानी र आफूलाई जान्ने छु भन्नेमा बढी देखापर्छ। नजान्ने व्यक्ति सिक्न लालायित हुन्छ, पुण्यको चाहना हुन्छ।
जब मूढ, ज्ञानीको संज्ञा आफैँलाई दिन पुगेको हुन्छ ऊ अब अरूलाई सिकाउने नाममा आफू अहंकारको घेरामा बाँधिइसकेको हुन्छ। अब उसलाई बचाउन गाह्रो हुन्छ। जब अहंकार भरिन्छ तब उमंग गायब। उमंगविनाको अहंकारले सही मार्ग असम्भव। यही हालत तथाकथित ज्ञानीमा विकास हुँदै जानु नै सहजता, सरलता र प्रेम हराउंदै गएको छ, यही नै हो पाप बढ्दै जानुको संकेत। यही नै हो समाजका हरेक क्षेत्रमा अपवित्र मानिसको भिड बढ्नुको परिणाम। मानिसका यही कर्म र परिणाम महसुस गरेर नै भगवान श्रीकृष्णले धर्म रक्षाका निम्ति म अर्थात् कृष्णत्व जरुरी छ भन्ने उद्घोष गर्नुभयो जुन आजको समयमा अरू सान्दर्भिक र जरुरी छ।
प्रत्येक वर्ष कृष्णजन्माष्टमी आउँछ, हिन्दु धर्ममा आस्था हुनेहरू र कृष्ण भक्तजनहरूका लागि यो विशेष पर्व रहन्छ तर कृष्णको कृष्णत्व समझ र बुझाइभन्दा बाहिर देखिन्छ। किनकि धर्म, आस्था, भक्ति, सन्तत्व भन्नासाथ उदास, गम्भीर, संसारबाट भागेको जस्तो, संसारसंग हारेको जस्तो प्रतीत हुन्छ। तर कृष्ण र कृष्णलीला भनेर जसरी मानव जीवनमा प्रसंग जोडिएर आउँछ त्यसो अर्थ नै आस्था, धर्म, धार्मिकता र जीवनशैली उमंगमय, हाँसोखेल, ध्यान, नृत्य, योगमार्फत स्वस्थ र पवित्र हुनुपर्छ भन्ने सन्देश कृष्णको जीवनशैलीले बताउँछ।
विरह, उदासीपनले हृदयको झंकार फैलिन सक्दैन। जति हृदय फैलिन सक्यो त्यति अकारण प्रेमको नाता मनुष्य जातिमा विकास हुँदै जान्छ। सामान्य मानिसलाई त उदासी, रुन्चे, गम्भीर, भित्र के छ थाहा नभएको स्वभाव छ भने मन पर्दैन भने जीवनभर आस्था र प्रेममा बाँधेर राख्ने धर्म र परम्परा अनि भक्ति उमंगमय भएन भने जीवनका अनुभूति कसरी रसमय र अमृतमय बन्छन् र?
मृत्योर्मा अमृतम गमयःको बोधका लागि हाँस्य, उमंग, प्रेम, करुणा र दिव्यताविना सम्भव नै हुँदैन। महावीर, बुद्धलगायतका सन्तले जीवनपछिको मोक्षलाई जोड दिनु र कृष्णले वर्तमान जीवनमा उमंगले बाँच्ने प्रेरणा दिइरहँदा मनुष्य जातिले अनुभूति गर्नुपर्ने कुरा भनेको जीवनका बहुआयाममा सन्तुलन भएन भने जीवन सहजतामा बाँच्न सकिन्न। जीवनमा मोक्ष आवश्यक छ तर त्योभन्दा पहिले उमंग र प्रेमपूर्ण जीवन बाँच्नु पनि जरुरी छ।
वर्तमानको जीवनशैली र कर्मको परिणाम नै परमार्थको मार्ग बन्ने हुँदा अहिले र यहीँजीवनलाई उपहार मानेर जिउने प्रेरणा भगवान कृष्णबाट लिन सक्नुपर्छ। वर्तमानलाई आत्मसात गर्दै वर्तमानबाट शिक्षा लिन सक्नु नै सही अर्थमा ज्ञान प्राप्त गर्नु हो। भविष्यको लोभ र वर्तमानको कथा अनि सिकायतले मनुष्य जातिलाई रोगी र भोगी मात्र बनाएको छ। जब जीवनका बहुआयाममा सजगता, संयमता, सदाचार र सद्व्यवहारको विकास हुन थाल्छ तब जीवन योगमय बन्दछ किनकि सबैको जोड नै योग हो। एकातिर पायो अर्कोतिर छुटयो भने त्यो वियोग बन्न पुग्छ। अधिकांशको अवस्था यस्तै नै देखिन्छ। जीवनमा जीवन्तता छैन, निराशा र तनाव मात्रै बाँकी छ। निराशा र तनावको स्थितिमा भक्तिभाव कसरी प्रष्फुटन हुन्छ?
स्वीकारको प्रतीक कृष्ण
कृष्णको जीवनशैली र धार्मिकता उमंगमा रहनुको कारण उनले हरेक परिस्थिति र गुनासालाई परम स्वीकारमा परिणत गरे। बाहिरका हरेक कुरालाई आत्मसात गरे अनि बोध गरे मेरो धार्मिकता अन्तरचेतनामा स्थित भएको हुनाले मरुभूमिमा पनि प्रेमको फूल फुलाउनु मेरो कर्तव्य हो। दुःखी, निराश, उदास चरित्रलाई उनले हाँसोमजाक र आत्मिकतामा जोडेर मानव जातिलाई भक्तिको मार्गमा जिउने प्रेरणा दिन सफल भए।
कृष्णप्रेममयी राधा राधाप्रेममयो हरिः।
जीवनेन धने नित्यं राधाकृष्णगतिर्मम।।
कृष्णको प्रेम राधाको प्रतीक हो र राधाको प्रेम कृष्णको प्रेरणा हो। प्रेमरूपी जीवन दर्शन नै कृष्णरूपी भगवानको दर्शन हुनु हो। राधा रानी अर्थात् प्रकृति र पुरुषको संयोग र सहयोग नै जीवनमा प्रेम र आनन्द प्रदान गर्ने माध्यम हो। जो अनादिदेखि छ र अनन्तसम्म रहनेछ, जो सत्य छ, शाश्वत छ, जीवन्त छ, त्यो नै प्रकृति हो। जसमा कर्तव्य र कर्मबोध छ त्यो नै पुरुष हो। सत्यता र कर्तव्यपराणयता दुवै मानिसका स्वभाव हुन्, त्यसैले त भनिन्छ–एकको विना दोस्रो अपूर्ण रहन्छ।
यसको संकेत आजका मानिस पनि अपूर्णताको जीवन बाँच्नु, युद्ध, कलह र वैमनस्यतामा उद्यत हुनुको कारण उसको जीवनशैली नै प्राकृतिक हुन सकेको छैन। एकातिर सत्य र शाश्वतता आफूबाट छुट्दैछ अर्कोतिर कर्तव्यपराणयता र इमान्दारिता बिर्सिँदै गएको छ। त्यसैको कारण त पाप बढ्दैछ र धर्मको नाश हुँदैछ भन्ने उद्घोष भएको छ। त्यसैले कृष्णत्व भनेकै संसारको परम स्वीकार र आन्तरिक परम चेतनाको अनुभूतिमा जिउनु हो। भक्तिभाव, पूजाअर्चना यी सब साधन हुन् कृष्णत्वको बोधसम्म पुग्न। जो अनादिदेखि छ, अनन्तसम्म रहनेछ, त्यसलाई अनुभूतिमा उतार्नु कृष्णको सन्देश हो।
कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन।
मा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।।
मनुष्यको अधिकार कर्ममा छ परिणाममा छैन। त्यसैले कर्म गर, कर्म जस्तो गर्छौ परिणाम त्यस्तै आइनै हाल्छ। परिणामको चिन्ता होइन, कस्तो कर्म मैले गर्दैछु त्यसमा ध्यान देऊ। कृष्णको सत्य कर्मप्रतिको देशना मात्रै पनि जीवनमा उतार्न सके त्यो भन्दा उच्च कोटिको कृष्ण भक्ति अरू के होला?
प्रकाशित: २ भाद्र २०७९ २३:५९ बिहीबार