केही वर्षयता बलात्कार, हत्या (वा दुवै), आत्महत्याका घटना तीनगुनाले बढेको तथ्याङ्क हालै प्रहरीले सार्वजनिक गर्यो। लैंगिक आधारमा हुने गरेका निकृष्ट प्रकारका हिंसाहरू दक्षिण एसियामा धेरै भइरहन्छ, जो लैंगिक हिंसाको मामिलामा संसारको सबभन्दा संवेदनहीन क्षेत्रका रूपमा परिचित छ, जहाँ नेपाल पनि छ।
नेपाली महिला पुरुषभन्दा मेहनती, उत्पादनशील, जोहोकारी र सामाजिक योगदानमा अग्रणी रहेको यसै प्रष्ट छ। पठित महिलाले परिवारको हेरविचार पुर्याउन गृहिणी हुने कि कर्मचारी भन्ने छनोटमा जागिरलाई तिलाञ्जली दिएका उदाहरण प्रशस्त छन्। मिर्गौला दान गर्नमा नेपाली महिला ८० प्रतिशत हुँदा पुरुष २० प्रतिशत मात्र छन्। रक्तदानमा पनि महिलाको संख्या अग्रणी छ। तर पनि हिंसाको मार खेप्नेमा महिला अत्यधिक छन्।
कुटपिट, अंगभंग, शारीरिक चोट, थुन्नु, जलाउनु, मार्नु, बलपूर्ण गर्भपतन शारीरिक हिंसाका घटना भए। डरधाक, धम्की, त्रासपूर्ण दुव्र्यवहार, गालीगलौज, झुटा आरोप, बेइज्जत, भेदभाव मानसिक हिंसाका रूप हुन्। बलात्कार, यौनजन्य
दुव्र्यवहार, यौन यातना तथा शोषण, हाडनाता करणी, वैवाहिक बलात्कार, यौन सम्पर्कद्वारा सरेर आएको एचआइभी/एड्स लगायतका भयानक रोगको सिकार, मानव बेचबिखन तथा ओसारपसार यौनजन्य हिंसा हुन्। बालविवाह, बहुविवाह, अनमेल विवाह, घरेलु हिंसा, दाइजोसम्बन्धी हिंसा सामाजिक अपराधका रूपमा आउँछन्।
आर्थिक साधन-स्रोतबाट वञ्चिति, सम्पत्तिको दुरूपयोग, श्रम, रोजगारी वा आयआर्जनका अवसरमा महिला भएकै कारणले ठगिनु आर्थिक हिंसा हो। बोक्सीको आरोपमा यातना तथा बेइज्जति, देउकी, वादी, झुमा, छाउपडी, छुवाछूत आदि रुढीवादी हिंसा पनि अत्यधिक संख्यामा विद्यमान छ। यस्ता सबै अपराध महिलामाथि हुँदैआएको छ। महिला हक-हितको क्षेत्रमा काम गर्ने उद्देश्यले स्थापित गैरसरकारी संस्थाहरू (आठ प्रतिशत) दशौँ हजारको संख्यामा छन्। तर समाजमा महिलाविरुद्धका अपराध बढिरहेका छन्। साँझको खानाबाट वञ्चित भई भोकै सुत्ने समुदायको संख्या बीसौँ लाख छ। यसमा पनि महिलाको संख्या सर्वाधिक छ।
माओवादीको दस वर्षे सशस्त्र हिंसाको क्रममा करिब नौ हजार महिला विधवा र २५ हजारको हाराहारीमा बालबालिका टुहुरा भए। तर द्वन्द्वकालमा १५०३ जना नागरिक बेपत्ता भएको र तिनको अवस्था अझै अज्ञात रहेको पृष्ठभूमिमा बेपत्ता बनाइने गरेको अवस्थामा शान्ति सम्झौतापछि पनि कम भएको देखिन्न। अझ संवेदनशील पक्ष त बेपत्ता हुनेमा सबभन्दा बढी महिला नै छन्।
भेरी, सेती, कर्णाली र महाकाली अञ्चलका २० वटा जिल्लामा मासिक रजश्वला भएका महिलालाई घरभित्र बस्न, दही-दूध तथा फलफूल खान, पानी छुन नदिएर, पाँच दिनसम्म हावा र प्रकाश पनि अप्राप्य अत्यन्त अस्वस्थकर सानो र अँध्यारो झुपडीमा राखिन्छ, जसलाई ‘छाउपडी’ वा ‘छुइनेरी’ भनिन्छ। सात दिनसम्म अत्यन्त अस्वस्थकर र असुरक्षित बसोबासका रूपमा ‘छाउपडी बस्ने’ महिलाले पौष्टिक खाना नपाउने र सर्प आदिले टोकेका कारण छाउपडीमै मृत्यु भएका घटना भइरहन्छन्।
यस सन्दर्भमा मैले यता संयुक्त राज्य अमेरिकाको घरेलु हिंसा स्थितिलाई ध्यान दिएँ। बन्दूके परम्पराका साथै अपराध भइरहने अमेरिकी समाजमा हिंसा र हत्याका आपराधिक घटना अन्य विकसित मुलुकको भन्दा धेरै हुने गर्दोरहेछ। हरेक वर्ष एक करोडभन्दा धेरै घरेलु हिंसाका घटना हुन्छन्, जसमध्ये करिब १० लाखदेखि ३० लाख उजुरीमात्र प्रहरीकहाँ दर्ता हुने गर्छन्। नेभादा, दक्षिण क्यारोलाइना, टेनेसी, लुजियाना, भर्जिनिया, टेक्सास, न्यु मेक्सिको, हवाइ, एरिजोना र जर्जिया १० राज्यमा घरेलु र महिला हिंसा अन्य राज्यभन्दा बढी हुने रहेछ।
नेभादा त सबभन्दा धेरै घरेलु हिंसा हुने पहिलो अमेरिकी राज्य रहेछ। आर्थिक र सामाजिक अवस्थामा कमजोर अमेरिकी समुदायमा त झन् धेरै घरेलु हिंसाका घटना हुँदारहेछन्। अझ अनौठो के छ भने नागरिक समुदायमा भन्दा प्रहरीहरूका परिवारभित्रै हिंसाका घटना बढी हुने गरेको तथ्याङ्क देखियो। सन् २०२० मा मात्र अमेरिकामा आत्महत्याको संख्या ४५ हजार ८०० रहेछ जुन विकसित मुलुकहरूको तुलनामा सबभन्दा धेरै मानिन्छ।
महिलाउपर हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने र समानताको अधिकार स्थापना गर्ने १९९० को राष्ट्रसंघ महासन्धीको नेपाल पक्ष-राष्ट्र हो। भारतका रेडलाइट एरियादेखि सर्कस कम्पनीसम्म, चीन वा दक्षिण कोरियाका वृद्धसँग विवाह गरेका युवतीदेखि, मलेसिया वा खाडी मुलुकका घरेलु कामदार हुँदाका यौनशोषण, शारीरिक यातना वा हिंसा भोग्ने युवतीसम्म, महिलाविरूद्ध हिंसाको दायरा घरेलु हिंसाको दायराभन्दा बहुराष्ट्रिय रूपमा फराकिलो छ।
वैध वा अवैध तरिकाले स्वदेशको विमानस्थलबाटै विदेशमा काम गर्न गएका नेपाली महिलाको संख्या करिब सात लाख रहेछ। वैदेशिक रोजगारीमा गएका नेपालीमध्ये पनि हिंसाको चपेटामा पर्ने महिलाको संख्या नै बढी छ। नेपालमा बहुविवाह गैरकानुनी छ। तर आधिकारिक अध्ययनहरूको निष्कर्ष अनुसार विवाहित महिलामध्ये ४.५ प्रतिशत बहुविवाह र सौतासहितको जीवनयापन गर्न विवश छन्।
अधिकांश ग्रामीण क्षेत्रका नेपाली महिला धुवाँको रापसँगै भान्साको काम गर्न बाध्य हुनाले उनीहरूमा आँखाका रोग, खोकी, दम वा स्वास-प्रश्वाससम्बन्धी रोग धेरै देखिन्छ। खानेपानीमा महिलाको सहज पहुँच नहुनु र खानेपानी ओसार्न श्रम र समयको ठूलो हिस्सा खर्च हुनु नेपाली महिलाले भोग्दै आएका श्रममाथि सास्तीका रूप हुन्।
महिलाबिरूद्ध भइआएका हिंसा, भेदभाव, यातना र शोषणका घटनामा पुरुष मात्र संलग्न छैनन्, कतिपय घटनामा महिलाविरूद्ध महिलाले नै अपराध गरे/गराएका छन्। महिलाबाट पीडित पुरुष वा पत्नीपीडित पतिको संख्या कम छैन। कतिपय घरपरिवारमा महिलाकै कारणले झैझगडा, भाँडभैलो, पारिवारिक विखण्डनका घटनाहरूलाई पनि कम मान्न र उपेक्षा गर्न मिल्दैन। महिला बेचबिखनमा महिला नै मुख्य अपराधीका रूपमा फेला पर्ने गरेका छन्। महिला अपराधीको संख्या र अपराधमा क्रूरताको मात्रा पनि त्यही अनुपातमा बढेको देखिन्छ। वैदेशिक रोजगारीको दुष्प्रभावका रूपमा पारिवारिक विखण्डन गम्भीर रूपमा विद्यमान छ।
विगतमा अदालतमा विचाराधीन मुद्दा फिर्ता लिने अघोषित परम्परा नै बसिसकेको र दण्डहीनताले प्रश्रय पाएको अवस्था हेर्दा शासकीय विकृति र अपराधमैत्री राजनीतिक आचरणको सोझो वा सबभन्दा ठूलो मार कमजोर वर्ग वा समुदाय र नेपाली महिलामाथि पर्ने गरेको छ। कञ्चनपुरकी बालिका निर्मला पन्तजस्ता बलात्कारपछि मारिने तर अपराधीलाई कानुनको दायरामा नल्याइएका संख्या अनगिन्ती छ। ‘पहुँचवालाले जे गरे पनि हुन्छ’ भन्ने धारणा र भोट बैंक बढाउने लालसाले गर्दा घरेलु हिंसा वा लैंगिक हिंसामा जबरजस्ती मिलापत्र वा न्याय नपाइ टुङ्ग्याइदिनेसम्मका हर्कत हुनपुगेका छन्। त्यसैले हिंसामा संलग्न पीडकले उन्मुक्ति पाउने पीडितले सहनुपर्ने बिवशता खडा गरिएको छ।
सबैजसो महिला हिंसा, यातना, अधिकार तथा नीतिगत विषयहरूमा ‘महिलाको कुनै गल्ती वा कसुर हुुँदैन, केवल पुरुषप्रधान समाजको अभयदानमा पुरुषबाट मात्र महिलाविरोधी गतिविधि हुन्छन्’ भन्ने मान्यताको गन्ध पाइन्छ। यसले समस्याको सही पहिचान र समाधानको अचुक उपाय पहिल्याउन मद्दत गर्दैन। महिलाबिरूद्ध हिंसा अन्त्यको अर्थ महिलालाई उन्मुक्ति भन्ने किमार्थ होइन।
एकातिर हालै सबै पार्टीका महिला सांसदहरूले आगामी निर्वाचनमा महिला उम्मेद्वार संख्या ५० प्रतिशत पुर्याउनुपर्ने एक मुखले आवाज उठाए। अर्कातिर बढ्दो घरेलु हिंसा वा महिलाविरुद्धको हिंसाका मुद्दामा उनीहरूको आवाज मलिन वा औपचारिकता पुर्याउने खालको मात्र हुने गरेको देखिन्छ, किन? महिला जनप्रतिनिधिबाट महिलाका साझा मुद्दा बोक्ने जिम्मेवारी कुशलता र दक्षतापूर्वक हुनसकेको देखिन्न। महिला हिंसालाई रोक्ने कार्यमा महिला जनप्रतिनिधि, महिला लक्षित अधिकारवादी तथा गैरसरकारी संस्था सबैको एकीकृत तथा समन्वयात्मक निरन्तर प्रयत्नको विशेष खाँचो बढेर आएको छ। नजिक आइरहेको नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको सन्दर्भमा उपरोक्त विकृति तथा विसंगतिमा सुधारका लागि सामाजिक तथा पारिवारिक पद्धतिको स्वच्छ विकासका लागि महिला र पुरुष काँधमा काँध मिलाएर जाने संकल्पको पर्व बनोस्। यही नै तीजको शुभकामना छ।
प्रकाशित: २ भाद्र २०७९ ००:४० बिहीबार