१४ चैत्र २०८२ शनिबार
image/svg+xml
विचार

बाह्र वर्गका आआफ्नै चरित्र

नेपालका तामाङ समुदायले मंगलबार सोनाम ल्होछार मनाउँदैछन्। तामाङ भाषामा 'ल्हो' भन्नाले वर्ष र 'छार' भन्नाले नयाँ भन्ने बुझिन्छ। त्यसैले ल्होछार तामाङहरूको नयाँ वर्ष हो। मंगलबारदेखि बाँदर वर्ष सुरु भएको छ। संयोगबस यसपालि चिनियाँ नयाँ वर्ष पनि मंगलबार नै परेको छ। चिनियाँले पनि बाँदर वर्षलाई धुमधामसँग स्वागत गरेका छन्। त्यसो त नेपालका गुरुङ समुदायले गत पुस १५ मै बाँदर वर्ष सुरु गर्दै ल्होछार मनाइसकेका छन्।बाह्रवटा जीवजन्तुको चक्रमा आधारित वर्ष परम्परा 'बाह्र ल्हो'लाई तामाङ, गुरुङ, शेर्पा, ह्योल्मो, थकालीलगायत नेपालका बौद्ध सम्प्रदायका हिमाली भोटबर्मेली जातिमात्र होइन चीन, भारत, भुटान, थाइल्यान्ड, भियतनाम, हङकङ, जापान, कोरिया, मंगोलिया, लाओसलगायत देशमा समेत मान्ने गरिन्छ।

'बाह्र ल्हो'मध्ये बाँदर नवौँ ल्हो हो। मुसाबाट सुरु हुने बाह्र ल्हो गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर हुँदै बँदेलमा आएर टुंगिन्छ। कसैकसैले खरायोको सट्टा बिरालो, ड्रागनको सट्टा गरुड र बँदेलको सट्टा सुंगुर ल्हो गन्ती गरेका छन्। गुरुङ समुदायले ड्रागनको स्थानमा गिद्ध र बँदेलको स्थानमा मृग मान्दै आएका छन्।

गौतम बुद्धले दर्शनका लागि जीवजन्तुलाई आग्रह गर्दा सबैभन्दा पहिले मुसा आइपुगेकोले मुसाबाट गणना सुरु भएको विश्वास गरिन्छ। बुद्धको दर्शन गर्न मुसापछि जुन जन्तु जुन क्रममा गएको थियो, तिनलाई त्यही क्रमानुसार गणना गरिएको हो। सबैभन्दा अन्तिममा बँदेल पुगेको थियो।

भर्खरै भेडा वर्ष (सन् २०१५) बिदा भएको छ। अब अर्को भेडा वर्ष सन् २०२७ मा आउँछ। अर्थात् हरेक १२ वर्षमा एउटा जनावर घुमिरहन्छ। चिनियाँ वर्ष भनेर विश्वमा चिनिए पनि कहिलेकाहीँ यो 'बाह्र ल्हो'लाई विश्वले नै मनाउँदै आएको छ। जस्तै, सन् २०१० बाघ वर्ष थियो। सोही अवसर पारेर उक्त वर्ष थाइल्यान्ड, रुसलगायत अरु देशमा बाघ संरक्षणका लागि विभिन्न सम्मेलन भएका थिए। सम्मेलनमा सहभागी मुलुकहरूले अर्को बाघ वर्ष अर्थात् सन् २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने प्रण गरेका थिए।

जो जुन जनावरको वर्षमा जन्मेको हुन्छ, उसको ल्हो वा वर्ग त्यही जनावरको मानिन्छ। बाँदर वर्षमा जन्मेकाको ल्हो वा वर्ग 'बाँदर' नै हुन्छ। एक नम्बरको मुसा वर्षमा जन्मेकाहरू नवौँ नम्बरको बाँदर ल्होमा जन्मेकाभन्दा आठ वा २० (८±१२) वा ३२ (८±१२±१२) वर्षले जेठा हुन्छन्। इस्वी संवत् र विक्रम संवत् नबु‰ने पुस्ताले आफ्नो उमेर पनि यही 'बाह्र ल्हो'बाट गन्छन्। बाँदर वर्षमा जन्मेकाहरू यसपालि १२, २४, ३६, ४८, ६०, ७२ वा ८४ वर्ष पुग्छन्।

तिब्बती ज्योतिषशास्त्रअनुसार हरेक 'ल्हो' वा वर्गका व्यक्तिको चरित्र र स्वभाव सम्बन्धित जनावरसँग मेल खाने हुन्छ। बाँदर वर्षमा जन्मेका मानिसका लागि आदर्श जनावर बाँदर नै हुन्छ। उनीहरूमा बाँदरका सकारात्मक र नकारात्मक दुवैखाले गुण पाइन्छन्। नकारात्मक गुण त्याग्दै सकारात्मक गुणलाई अँगाल्दै अगाडि बढ्दा उनीहरूको जीवन सफल हुने विश्वास छ।

कुन वर्गका मानिस कस्तो?

तिब्बती तथा चिनियाँ मान्यताअनुसार 'ल्हो' वा वर्गअनुसार मानिसका चरित्र निर्धारण हुन्छन्। विभिन्न पुस्तक, इन्टरनेट तथा लेखका आधारमा कुन वर्गका मानिस कस्ता हुन्छन्? यहाँ प्रस्तुत गरिएको छ। ('बाह्र ल्हो' चन्द्र पात्रोअनुसार निर्धारण हुने हुनाले सूर्य पात्रोअनुसारको इस्वी संवत्सँग ठ्याक्कै मिल्दैन।)

मुसा (सन् १९३६, १९४८, १९६०, १९७२, १९८४, १९९६, २००८)ः मुसा वर्षमा जन्मेका मानिस तुरुन्त निर्णय गर्न सक्ने र विविधतायुक्त हुन्छन्। नयाँ परिवेशमा सजिलै घुलमिल भइहाल्छन्। उनीहरू रमाइला, तिखो दिमागका, जिज्ञासु र असल मित्र हुन्छन्। साहसको अभावका कारण उनीहरू नेतृत्व लिने स्वभावका नहुन सक्छन्।

गोरु (सन् १९३७, १९४९, १९६१, १९७३,१९८५, १९९७, २००९)ः गोरु वर्षमा जन्मेकाहरू बलिया, गम्भीर र मेहनती हुन्छन्। साथीभाइ र परिवारसँग मिल्ने, भरोसालायक र सुरक्षा दिने स्वभाव तिनको हुन्छ। स्वस्थ र दीर्घ जीवनको अनुभव उनीहरूले हासिल गर्छन्। उनीहरू अन्तर्त्रि्कयामा कमजोर हुने हुनाले समाजदेखि एक्लै बस्न रूचाउने खालका हुन्छन्।

बाघ (सन् १९३८, १९५०, १९६२, १९७४, १९८६, १९९८,२०१०)ः बाघजस्तै बहादुर, जुझारु, स्वतन्त्र र परिश्रमी हुन्छन् बाघ वर्गका मानिस। उनीहरू आफ्नो गन्तव्यप्रति दृढ रहन्छन्। साहसी र महŒवाकांक्षी पनि हुन्छन्। आफ्नो तनावलाई सन्तुलितरूपमा व्यवस्थित गर्न भने उनीहरू सक्दैनन्। उनीहरू रिसाउँदा बेफाइदा हुन्छ।

खरायो (सन् १९३९, १९५१, १९६३, १९७५, १९८७, १९९९, २०११)ः खरायो वर्गका मानिस मायालु, सामाजिक र संवेदनशील हुन्छन्। उनीहरू लोकप्रिय, आज्ञाकारी र नम्र स्वभावका हुन्छन्। बौद्धिकताका कारण अरुले उनीहरूको कदर गर्छन्। विलासिता, अजिज्ञासु र सुविधाभोगी हुनु पनि उनीहरूको पहिचान हुन्छ।

ड्रागन (सन् १९४०, १९५२, १९६४, १९७६, १९८८, २०००, २०१२)ः साहसी, आत्मविश्वासी र इमानदारी ड्रागन वर्गका मानिसका विशेषता हुन्। त्यस्तै सतही, अधैर्य र अहम् स्वभाव यो वर्गका दुर्गुण मानिन्छन्। तर, काल्पनिक जनावर ड्रागन जति चमत्कारी छ, मानिस पनि त्यस्तै चमत्कारी हुन सक्छ। अति रिसालु भए पनि अरुलाई तुरुन्तै क्षमा दिने सामर्थ्यका हुन्छन्।

सर्प (सन् १९४१, १९५३, १९६५, १९७७, १९८९, २००१, २०१३)ः सामान्यतया सर्प वर्गका मानिसलाई धनसम्पत्तिको चिन्ता हुँदैन। बाठो र बौद्धिकताको प्रतीक मानिन्छ सर्पलाई। यो वर्गका मानिस कम बोल्छन्, तैपनि जनसम्पर्कमा निपुण हुन्छन्। स्वार्थी, कन्जुस र अल्छी हुनु नकारात्मक पक्ष मानिन्छ।

घोडा (सन् १९४२, १९५४, १९६६, १९७८, १९९०, २००२, २०१४)ः घोडा वर्गका मानिस लोकप्रिय हुन्छन्। रचनात्मकता, लचकता, खुला विचार, सक्रियता र शक्तिशाली उनीहरूका गुण हुन्। खेलकुद, कलात्मक गतिविधि र बैठकमा उनीहरू अब्बल ठहरिन्छन्। तर अधैर्य, अस्थिर र आत्मविश्वासको कमीले उनीहरू पिरोलिन्छन्।

भेडा (सन् १९४३, १९५५, १९६७, १९७९, १९९१, २००३, २०१५)ः भेडा वर्गका मानिस भट्ट हेर्दा आकर्षक हुन्छन्। लजालु, भलाद्मी, दयालु र कलात्मक स्वभाव उनीहरूमा पाइन्छ। परनिर्भरता, फजुल खर्च र अव्यावहारिकजस्तो अवगुण पनि उनीहरूमा हुन्छन्।

बाँदर (सन् १९४४, १९५६, १९६८, १९८०, १९९२, २००४, २०१६)ः चुम्बकीय व्यक्तित्व, चलाख र बौद्धिक चरित्रका हुने बाँदर वर्गका मानिसमा छिटो सिक्ने खुबी हुन्छ। ठट्टा गरिरहने आदत भए पनि अरुलाई नोक्सानी पुर्याुउँदैनन् उनीहरू। अवसरवादी, स्वार्थी र आफ्नो प्रतिभालाई सही तरिकाले प्रदर्शन गर्न नसक्ने कमजोरी उनीहरूमा पाइन्छ।

चरा (सन् १९४५, १९५७, १९६९, १९८१, १९९३, २००५, २०१७)ः प्रतिभावान् र क्षमतावान् हुन्छन्। चरा वर्गका मानिस मेहनती, आत्मविश्वासी, फरासिलो र इमानदार मानिन्छन्। अरुबाट घेरिँदा उनीहरू आनन्दित हुन्छन्। आत्मरतिमा रमाउने, जुक्तिविहीन र अरुलाई दिक्क बनाउने स्वभाव उनीहरूका नकारात्मक पक्ष हुन्।

कुकुर (सन् १९४६, १९५८, १९७०, १९८२, १९९४, २००६, २०१८)ः कुकुर वर्गका मानिस निकै भरोसालायक हुन्छन्। उनीहरूले आफ्नो परिवार र साथीभाइलाई कहिल्यै छाड्दैनन्। मानवीयता, न्यायप्रेमी, समर्पण र सहयोगी हुन्छन्। तर निराशावादी, शंकालु र साँघुरो मानसिकताले उनीहरूलाई बेफाइदा गरिरहन्छ।

बँदेल (सन् १९४७, १९५९, १९७१, १९८३, १९९५, २००७, २०१९)ः जीवनप्रति बफादार, नयाँ साथीहरू बनाउन चाहने र भित्रीरूपमा शक्तिशाली हुन्छन् बँदेल वा सुंगुर वर्षमा जन्मेका मानिस। अरुप्रति संवेदनशील, मायालु, स्वस्थ र सरल छवि उनीहरूको हुन्छ। लोभ, रिस र विलासिता खोज्ने व्यवहार उनीहरूका दुर्गुण हुन्।

पाँच तत्वअनुसार फरक चरित्र

उल्लिखित बाह्र वर्गका मानिसको चरित्रमा थप सूक्ष्म भिन्नता पाइन्छ। 'बाह्र ल्हो'का प्रत्येक जनावरलाई पाँच तŒवका आधारमा छुट्याइएको छ। ती पाँच तŒवमा काठ, आगो, माटो, फलाम र पानी पर्छन्। यी तत्वहरूलाई क्रमशः वृहस्पति, मंगल, शनि, शुक्र र बुध ग्रहसँग तुलना गरिन्छ।

यो वर्ष 'आगो बाँदर' हो। अबको १२ वर्षपछि अर्थात् २०२८ मा माटो बाँदर, त्यसको १२ वर्षपछि फलाम बाँदर, त्यसपछि पानी बाँदर र काठ बाँदर हुँदै फेरि आगो बाँदर फर्किन्छ। उही तŒवको जनावर दोहोरिन ६० वर्षको चक्र पूरा गर्नुपर्छ।

सन् २०१४ काठ घोडा र २०१५ काठ भेडा वर्ष थियो। सन् २०१६ आगो बाँदर र सन् २०१७ आगो चरा, सन् २०१८ माटो कुकुर र सन् २०१९ माटो बँदेल वर्ष हुनेछन्। सन् २०२० फलाम मुसा र २०२१ फलाम गोरु, सन् २०२२ पानी बाघ र सन् २०२३ पानी खरायो वर्ष हुनेछन्। अर्थात् हरेक दुई वर्षमा एउटा तŒव फेरिन्छ।

एउटै जनावर भए पनि फरक तŒवका परेमा उनीहरूका चरित्र एकआपसमा मिल्दैन। जस्तै, काठ घोडाको चरित्र आगो घोडासँग मेल खाँदैन। त्यस्तै, माटो घोडाको चरित्रभन्दा फलाम घोडा फरक हुन्छ।

वर्षको पनि आफ्नै चरित्र

'बाह्र ल्हो'का पनि पनि आआफ्नै चरित्र हुन्छन्। अहिले 'आगो बाँदर' वर्ष सुरु भएको छ। त्यसैले यो वर्ष चुनौतीपूर्ण, आविष्कारी र आत्मविश्वासी हुने अनुमान गरिएको छ।

त्यस्तै, कुन वर्गका मानिसलाई कुन वर्ष फाप्ने वा नफाप्ने भन्ने पनि हुन्छ। बाँदर वर्गका मानिसलाई यसपालिको बाँदर वर्ष नफाप्ने बताइएको छ। उनीहरूका लागि यो अभागी वर्ष साबित हुनसक्ने सम्भावना छ।

प्रकाशित: २५ माघ २०७२ २१:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %