८ वैशाख २०८१ शनिबार
विचार

गठबन्धनको राग र राप

सरकारले आमनिर्वाचन घोषणा गरेसँगै राजनीतिक ध्रुवीकरणका प्रयत्न सुरु भएका छन्। नेकपा एकीकृत समाजवादीको पार्टी अस्तित्व नै स्वीकार नगर्ने नेकपा एमालेले अब नेकपा माओवादी र एकीकृत समाजवादीलाई गठबन्धनको निम्तो दिन थालेको छ। एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आगामी चुनावमा वाम गठबन्धनको ढोका बन्द नभएको बताएका छन्। वाम गठबन्धनका लागि माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कांग्रेससँगको गठबन्धन छाडेर आउनुपर्ने ज्ञवालीको सर्त छ। एमाले गठबन्धनविना पनि चुनाव लड्न सक्षम छ भनेर घुर्की लगाउँदा लगाउँदै पनि उनले वाम गठबन्धन गर्ने हो भने माओवादी र एकीकृत समाजवादीले कांग्रेससँगको गठबन्धन छाड्नुपर्ने सर्त दोहोर्‍याएका छन्।  

गृह प्रदेश लुम्विनीको बुटवल पुगेर प्रदीप ज्ञवालीले यो बताइरहँदा नेकपा एमालेका सचिव योगेश भट्टराई पनि काठमाडौँमा उही भाषा दोहोर्‍याउँदै थिए– नेपाली कांग्रेसको गठबन्धन त्यागेर एकतामा आउन नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई आग्रह गर्दछु। उनले एमालेसँगको गठबन्धन स्वर्ग हुने र कांग्रेससँगको गठजोड नर्ककुण्ड भएको बताउँदै दुवै पार्टीका नेतालाई पुरानै बाटोमा फर्कन अनुनय÷विनयसमेत गरे।  

गठबन्धनमा सत्ता साझेदारी गर्दै आएका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल भने गठबन्धनका बारेमा अझै अन्योलमै छन्। निर्वाचन घोषणा भएर गठबन्धन दलहरूबीच निर्वाचनमा सँगै जाने निर्णय गरेका नेता नेपाल दुई दिनअघिसम्म स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर बस्दा पार्टी कमजोर भएको बताएका थिए। उनको ठम्याइ थियो– गठबन्धनको धेरै भरोसा छैन। गठबन्धनको भर परेपछि अरूको सहारामा बाँच्नुपर्दो रहेछ। अरूको भरमा बाँच्ने मान्छेले केही गर्न सक्दैन। आफ्नै शक्तिमा भरोसा गर्ने, आफ्नै तागतमा जित्छु भन्ने भरोसा भएकाहरूले पार्टीको पनि विश्वास जित्न सक्दा रहेछन्। उनी यो निष्कर्षमा पुग्दै गर्दा सम्भवतः स्थानीय तहमा एमालेले पाएको हैसियतलाई लक्ष्य गर्दै थिए। उनी माओवादीलाई समेत अविश्वास गर्दै भन्दै थिए– आफूभन्दा समाजवादी ठूलो हुन्छ कि भनेर कतिपय दलहरूको निदहराम भएको थियो।

नेपाली राजनीतिमा सहजै र छिटै ‘यु टर्न’ लिन सक्ने नेता कोही छ भने त्यो नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल नै हुन्। स्थानीय निर्वाचन परिणामपछि केही बिच्केका जस्ता देखिएका उनले आउँदो संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने र हालको गठबन्धन निरन्तर जाने बताउन थालेका छन्। निर्वाचन घोषणाको तयारी बैठकमा जानु केहीअघि बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा उनले यो घोषणामात्रै गरेनन्, वर्तमान राजनीतिक परिस्थितिबारे ‘ब्रिफिङ’ गर्दै प्रचण्डले एमालेसँग भने सहकार्य सम्भव नै नभएको बताएका थिए। बैठकमा प्रचण्डको प्रष्ट भनाइ थियो– कांग्रेससँग नै सहकार्य गर्ने हो, अब दायाँ–बायाँ सोच्नुहुन्न, एमालेसँग सहकार्य सम्भव छैन।

एमाले अहिलेको गठबन्धन आगामी निर्वाचनमा कायम रहने कुरासँग यसकारण तर्सिएको हुनुपर्छ कि स्थानीय निर्वाचन जस्तो जटिल यो निर्वाचन हुँदैन। न त निर्वाचन आयोगले स्थानीय निर्वाचनमा जस्तो चुनाव चिह्नमा धेरै चलखेल गर्न नै पाउँछ। त्यसैले एमाले यतिबेला चुनावचिह्न नै एउटै बनाएर, घुक्र्याएर, तर्साएर, लोभ्याएर जसरी हुन्छ, फेरि पुरानै गठबन्धन गर्न लालायित देखिएको छ। गठबन्धनको लोभ एमालेमा मात्र होइन, कांग्रेसमा पनि कम देखिँदैन। काँग्रेसका नेता रामचन्द्र पौडेल पनि कांग्रेसविरुद्ध कम्युनिस्टहरूको महागठबन्धन बन्ने खतरा देख्दैछन् र त्यसलाई रोक्न गठबन्धन गर्नुपरेको बताउँदै छन्।

प्रमुख दलका नेताहरूका यी अभिव्यक्तिले मुलुक चुनावतर्फ होमिएको सन्देश दिएको छ। सबै दलका नेताहरू आफैँ चुनाव लड्ने र भावी प्रधानमन्त्रीका रूपमा आफूलाई उभ्याउने कोसिसमा देखिन्छन्। अघिल्लो निर्वाचनमा अब यसपछि चुनाव नलड्ने घोषणा गरेका नेकपा एमाले अध्यक्ष केपी ओलीमा पनि चुनाव लड्नै पर्छ भन्ने भाव जागेको देखिन्छ। उनी अघिल्लो हप्ता झापामा बिताएर फर्किएका छन्। उनी चुनाव नलड्नु भनेको एमाले मियोविनाको दाइँ गर्नुझैँ हुने निश्चित छ।  

यता गठबन्धन दलमध्येका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले त ७० वर्षपछि चुनावमा उम्मेदवार नबन्ने मनसाय बनाए पनि एकपटक मैदानमा उत्रनुपर्ने परिस्थिति बनेको बताइसकेका छन्। माओवादी अध्यक्ष प्रचण्डलाई एकपटक प्रधानमन्त्री भएर मुलुकले नबिर्सने गरी काम गर्ने इच्छा जागृत भइसकेको छ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा भर्खर पाँचपटक प्रधानमन्त्री भएका छन् र सातपटक प्रधानमन्त्री बन्ने योग रहेका उनी चुनाव नलड्ने प्रश्नै भएन। उपप्रधानमन्त्री भइसकेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव कुन कित्तामा उभिए सजिलै चुनाव जित्न सकिएला भन्ने च्याँखे दाउ हेरिरहेका देखिन्छ। उनको बालकोट र बालुवाटारको यात्रा जारी छ।  

यी सबै घटनाक्रम हेर्दा सबै राजनीतिक दल आमनिर्वाचनमा जाँदै छैनन्, सत्ता राजनीतिलाई केन्द्रमा राखेर गठजोडको हिसाबकिताबमा छन्। संसदीय राजनीतिको भासमा परेका कम्युनिस्टहरूको माक्र्सवाद, लेनिनवादले चुनावमा काम गर्ने सम्भावना छैन। एकदलीय कम्युनिस्ट शासनको सपना समाप्त हुँदै गर्दा माओवादी पार्टीको नेतृत्व गर्दै गर्नु प्रचण्डको बाध्यता मात्र भएको सबैले बुझेका छन्। नेपाली काँग्रेसको बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद विश्व उदारीकरणको लहरमा उहिल्यै उडिसकेको छ। त्यसैले अबका चुनाव सत्ता प्राप्तिका खेलमात्र हुन्। सबैका लागि यसपटक पनि राजनीतिक दलहरूबीच ध्रुवीकरण र गठबन्धन बन्ने प्रष्ट संकेत देखिएको छ। मंसिर ४ मा चुनाव गर्ने सहमति हुँदै गर्दा नै सत्तारुढ गठबन्धनका नेताहरूबीच गठबन्धनको निरन्तरताबारेसहमति बनेकै छ र भदौको पहिलो सातासम्म गठबन्धनको मोडालिटी टुंग्याउन कम्तीमा पाँच दल सहमत भइसकेका छन्।  

यद्यपि, पछिल्लो समय एमाले नेताहरूको गठबन्धनको अनुनय÷विनय पाँचदलीय गठबन्धन भत्काउनका लागि हो। काँग्रेसका नेताहरूको गठबन्धनप्रतिको मोह पनि कम्युनिस्ट एकता हुन नदिने रणनीति हो। नेता रामचन्द्र पौडेलले महगठबन्धन भनेर अघिल्लो झण्डै दुईतिहाइ बहुमत ल्याउने गठबन्धन हुन नदिन काँग्रेसले पनि गठबन्धन गर्नुपरेको बताएका हुन्। जुन उद्देश्यले यो गठबन्धन बनेको हो, त्यहीअनुसार स्थानीय चुनाव भइसकेको छ। आगामीचुनावको नतिजा पनि त्यसैअनुसार ल्याउनपाँच दलसँग गठबन्धनलाई निरन्तरता दिनुको तत्काल अर्को विकल्प छैन।

निर्वाचन घोषणा हुँदासम्म गठबन्धनले निरन्तरता नपाउने अपेक्षा एमालेले गरेको थियो। त्यसैले स्थानीय तहमा पाएको मत नै आगामी प्रतिस्पर्धामा जाने आधार भएको मन्त्र एमाले अध्यक्ष ओलीले तल्ला तहका नेता÷कार्यकर्तालाई दिएका थिए। उनै प्रदीप ज्ञवाली दुई दिनअघिसम्म ‘स्थानीय चुनावमा घेराबन्दीका बीचमा पनि एमालेलाई पपुलर मत प्राप्त भएको छ। जनताको चाहना त्यही हो। एमाले अबको चुनावमा पनि बहुमतसहित पहिलो शक्ति बन्छ’ भन्दै थिए। तर दुई दिनमा उनको ‘टोन डाउन’ मात्र भएको छैन, अस्तित्व नै स्वीकार नगरेको एकीकृत समाजवादीसमेतको नामै लिएर उनले काँग्रेससँगको गठबन्धन तोडेर आउन अनुनय गरिसकेका छन्।  

एमालेबाहेकका कम्युनिस्टको एकता हुने र तीन पक्ष चुनावमा जाने तयारीमा हुन्थे भने नेपाली काँँग्रेस र एमालेलाई एक्लै चुनावमा जान आपत्ति हुने थिएन। सम्भवतः उनीहरू योखालको गठबन्धनका लागि मरिमेट्ने पनि थिएनन्। तर काँग्रेसलाई एमालेसँग अरू कम्युनिस्ट मिल्लान् भन्ने त्रास छ भने यसको एउटै कारण एमालेले गठबन्धन तोड्न गरेको प्रयास नै हो। कम्युनिस्ट एकताका नाममा अघिल्लो निर्वाचनमा भोग्नुपरेको पराजयप्रति काँग्रेस सजग छ। अरू दल बहुमत वा सत्तासीन पार्टी बन्ने खेलमा लागिरहँदा मधेसी दलहरू भने अस्तित्व रक्षाको लडाइँमा छन्। कोसँग उभिँदै गर्दा अस्तित्व बचाउन सकिन्छ भन्नेबाहेक सबको साँचो बन्न सक्ने सम्भावना उनीहरू आफैँले देखेका छैनन्।  

सामान्यतः स्थानीय निर्वाचनकै गठबन्धनको निरन्तरताको सम्भावना बढी देखिन्छ। तथापि एमालेबाहेक माओवादी केन्द्र र एकीकृत समाजवादीभित्र पनि वाम शक्तिहरू मिल्नुपर्ने तर्क बलियो छ। त्यसले पनि आगामी राजनीतिक कोर्स अहिले नै यही होला भन्ने अनुमान गर्न सहज छैन।

प्रकाशित: २४ श्रावण २०७९ ००:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App