१५ चैत्र २०८० बिहीबार
विचार

क्रान्तिले जन्माएका तानाशाह

 अमेरिकाको ‘बाल्टिमोर सन’ पत्रिकामा छापिएको एउटा खबर रमाइलो थियो–सहरमा दूधको मूल्य घट्यो। अब लाखौँ गाई बेरोजगार बन्छन्। “सन् २०४० सम्ममा जनसंख्या दोब्बर बन्दा, दोषी ठहरिने भए नवजात शिशुहरू।”

यस्तै अप्रिल फुल (मूर्ख दिवस) मनाउन अघिल्लो दिन (बिहीबार) नै हजारौँ होटल ‘बुक’ हुन लागेको खबर सुनेर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पात्रोबाटै ‘बिहीबार’ हटाउनु भनेर आदेश दिएको खबर ठट्टा बनेर फैलियो। यस्ता घटना र प्रहसनका सम्वाद राजनीतिमा पनि बारम्बार सुनिन्छ।

उपेन्द्रपुरुष ढकाल पद्मशमशेर र मोहनशमशेर जस्ता राणा प्रधानमन्त्रीका प्रिय थिए। यसको चर्चा दमनराज तुलाधरको पुस्तकमा पनि छ। २००७ सालदेखि नै पत्रकार बनेका साहित्यकार श्यामदास वैष्णवले उनकै निवास (ज्ञानेश्वर) मा सुनाएका थिए–श्री ३ मोहनको प्रमुख गुप्तचरले राजा त्रिभुवन गुप्तरूपमा सपरिवार दिल्ली जान लागेको सूचना दिएछन्।

यो २००७ साल कात्तिकको कुरा हो। प्रधानमन्त्री मोहनशमशेर गम्भीर भए। यत्तिकैमा छेउमा बसेका उपेन्द्रपुरुषले भनेछन्– प्रभु, हजुर साक्षात भगवान होइबक्सन्छ। कुनै अप्रिय कुरा हुँदैछ भने सपनामा संकेत पाइन्छ। त्यस्तो सपना देखिबक्सेको छ र! मोहनशमशेरले त्यस्तो सपना नदेखेको बताएपछि उपेन्द्र बोले–गुप्तचरको हावादारी रिपोर्ट पत्याउनुपर्ने कुरै छैन।

केही दिनपछि राजा त्रिभुवन नागार्जुन दरवार गएर आराम गर्ने भन्दै छोरा महेन्द्र, नाति वीरेन्द्रलगायत परिवारका सदस्यहरूलाई लिएर नारायणहिटी दरवारबाट बाहिर निस्के। हाल राष्ट्रपति भवन रहेको शितल निवास दरवारमा गाडी प्रवेश गर्यो। ऊबेला त्यहाँ भारतीय दूतावास थियो। त्रिभुवनलाई फर्काउन उनका भिनाजु सिंहशमशेर (रमाका पति) र अर्जुनशमशेर शितल निवास पुगे।

उनीहरूलाई राजासँग भेट गर्न नदिइएको कुरा राजा त्रिभुवनका सवारी चालक मरीचमान नकर्मीले ठँहिटीस्थित उनको निवासमा पंक्तिकारलाई सुनाएका थिए। ऊबेला मामाघरमा छुटेका थिए, त्रिभुवनका नाति ज्ञानेन्द्र। राजगद्दी खाली राख्न नहुने भएकाले उनैलाई राजा बनाइयो। वि.सं. १९६८ मा राजा भएका त्रिभुवन पाँच वर्षका ‘बेबी किङ’ थिए। २०११ सालमा स्विट्जरल्यान्डमा उनको निधन भयो।

राणा शासनबाट मुक्त भएपछि उनले चार वर्ष जति मात्र शासन गरे। जनताको अधिकारका लागि राजाले राजगद्दी र प्राणको बाजी राखेको घटना विश्वमै अनुपम भएको इतिहासकारहरूले लेखेका छन्। इन्जिनियर जोगलाल स्थापितले ‘राजपुताना शैली’ अध्ययन गरेर चारबुर्जा दरवार बनाए जसलाई रुद्रशमशेरले बनाउन लगाएका थिए। श्री ३ जुद्धले त्यो खोसेर छोरा बहादुर शमशेरलाई दिए र दरवारको नाममा राखियो, बहादुर भवन।

हाल सो भवनमा निर्वाचन आयोगको कार्यालय छ। रुद्रशमशेरको हीरा–पन्ना जडित मुकुट, पिता वीरशमशेरबाट पाएको सुनचाँदीका भाँडाहरू, डेढ सय रोपनी जग्गामा बनेको दरवार सबै खोसेर जुद्धले अन्याय गरेको लेखका छन्, प्रमोदशमशेरले। ‘राणा शासनको वृत्तान्त’ पढ्दा दक्षिण एसियाका धनाढ्य शासकमध्ये राणाहरू पनि रहेछन् भन्ने बुझिन्छ। स्वयम्भुको डाँडाबाट हेर्दा राणाका दरवारहरू प्रष्ट देखिन्थ्यो भन्छन्, बूढापाकाहरू।

‘रिडी र राँची रुँदै-हाँस्दै’ तथा ‘रामकृष्ण कुँवर’ जस्ता ग्रन्थका लेखक टुकराज मिश्रले २०५१ सालतिर धोवीधारा (काठमाडौँ) निवासमा पंक्तिकारलाई डायरी पल्टाउँदै भनेका थिए-“कुरिया गाउँको बबरमहल २५३ रोपनीमा फैलिएको थियो। ललिता निवास (बालुवाटार) २९९ रोपनीमा थियो। भीमशमशेरकी ल्याइते रानी सीताको नाममा नक्सालमा बनेको सीता महल (हाल बालमन्दिर) ११९ रोपनीमा थियो। यस्तै हरिहर भवन (२४० रोपनी) आदि टाढैबाट देखिन्थे। ‘पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले डिल्लीबजारको गुरुज्यूको दरवारमा आफूले बाल्यकालमा खेलेको सम्झना गर्दै भनेका थिए-“यो दरवार मेरो मामाघर हो।” हाल सो दरवार पर्यटन व्यवसायी भरत बस्नेतका नाममा छ।

बुर्तिवाङ, बागलुङ, बुटवल, गलकोट, भीरकोट, प्युठान, पोखरा र भैरहवा सबैतिर घुमेर २००७ सालको क्रान्तिको तयारी गरेका पुरुषोत्तमलगायतका धेरैको तर्क छ-१९९० सालमा राणालाई तीन वर्गमा विभक्त गरेर जुद्धशमशेरले राणा शासनको बलियो जरा काट्ने भूल गरे। ‘अल द शाहज् मेन’ (सबै राजाका मान्छे) ग्रन्थमा अमेरिकी पत्रकार स्टेफन किन्जरले इरानमा राजा रेजा पहलवीविरुद्ध अमेरिकी गुप्तचर संस्था ‘सीआइए’ सक्रिय भएर राजतन्त्र निर्मूल गरेको लेखेका छन्। पेट्रोलियम पदार्थको धनी इरानमा तेलको खेलमा राजतन्त्र चिप्लियो। आफूलाई ‘राजाका मान्छे’ भन्नेहरू रातारात विदेशी धनमा बिके।

अर्थतन्त्र, उद्योग, व्यापार, सामाजिक सुरक्षा र सेनाको सुदृढीकरण गर्ने राजाका सत्कर्म बिर्सिए जनताले। जब कट्टरपन्थीहरूले हजारौँ निर्दोषलाई मारे, तब सम्झना गर्न थाले, राजाको।

आर्यहरूका ज्योति अर्थात ‘आर्य मेहर’ भनिन्थ्यो, इरानका राजालाई। अर्थतन्त्र, उद्योग, व्यापार, सामाजिक सुरक्षा र सेनाको सुदृढीकरण गर्ने राजाका सत्कर्म बिर्सिए जनताले। जब कट्टरपन्थीहरूले हजारौँ निर्दोषलाई मारे, तब सम्झना गर्न थाले, राजाको। दरवारहरू इतिहासका साक्षी हुन्।

फ्रान्सको भर्साइ (भर्साइल होइन), ब्रिटेनको बकिङघम, रसियाको पिटरहफ, थाइल्यान्डको ग्य्रान्ड प्यालेस, राजस्थान (भारत) को हावा महल, ल्हासा (तिब्बत) स्थित पोताला दरवार, बर्माको म्यान्डाले दरवार, इरानको गोलस्टन दरवार, टर्की इस्तानबुलको तोकापी दरवार, कम्बोडियाको राजदरवार, जापान सम्राटको दरवार आदि मात्र होइन, इथियोपियाको दरवार आज पनि लाखौँ पर्यटकको आकर्षणको केन्द्र बनेको छ।

मेनगिस्तु मरिअम जस्ता अवसरवादी कम्युनिस्टलाई पश्चिमा शक्तिले प्रयोग गरेर सन् १९७४ देखि १९९१ सम्म इथियोपियाको राष्ट्राध्यक्ष बनाए। राजतन्त्रबाट विदेशीको स्वार्थ पूरा नभएपछि राजा हेली सेलासीलाई अपदस्थ गर्न सेनाका प्रमुख सेनानी मेनगिस्तुलाई हतियारका रूपमा प्रयोग गरियो। विदेशीका आज्ञाकारीहरूलाई द्रव्यमोहमा पारेर प्रयोग गर्न सजिलो छ। किनभने उनीहरू धनका लागि आत्मा, स्वाभिमान, इज्जत मात्र होइन, देश बेच्न पनि तयार हुन्छन्।

दोस्रो महायुद्धपछि जापानको संविधान लेखिदियो, अमेरिकाले। आफ्ना सैनिकहरू राख्यो। मस्कोका शासकले पूर्वी युरोपका सातवटा राष्ट्रमा ‘क्रान्तिकारी’ कठपुतली सरकार बनाए। उनीहरू नै तानाशाह भएर निस्किए। पूर्वी जर्मनी, पोल्यान्ड, हंगेरी, रुमेनिया, चेकोस्लोभाकिया,अल्वानियादेखि कैयन् राष्ट्रमा साम्यवादी नेताको भेषमा क्रेमलिनका कमाराहरू हुर्काइयो।

हाइटी, डोमिनिकन रिपक्लिक, निकारागुवा, पनामा, होन्डुरस आदि राज्यसत्ता परिवर्तन गरेर तानाशाह जन्माउन वासिङ्टनमा गृहकार्य गरिएको कूटनीतिका ज्ञाताहरूको तर्क छ। यस्तै, मस्कोका शासकले तयार गरेको ‘इस्टब्लक’ भनिने कठपुतली गुटबाट कम्युनिस्ट राष्ट्रहरूको सुदृढीकरण गर्ने प्रयत्न गरियो। कतै धर्मगुरुहरूलाई, कतै कम्युनिस्टलाई, कतै कम्युनिस्ट विरोधीलाई अघि सारेर स्वार्थ पूरा गरिएका धेरै उदाहरण छन्।

मार्सल ब्रज टिटोले एकताबद्ध राखेको युगोस्लाभियाले उनको मृत्युपछि ठूलो दुर्भाग्य बेहोर्नुपर्यो। राष्ट्र टुक्रा-टुक्रा भयो। सन् १९९१ देखि दश वर्ष चलेको जातीय हिंसामा लाखौँ मानिसले प्राण गुमाए। क्रोसिया, बोस्निया, स्लोभेनिया, कोसोभो, मेसेडोनिया आदि राज्य बनाउन क्रिस्चियन र मुसलमान राष्ट्रहरूको हस्तक्षेप भयो। युद्ध साम्य गर्न संयुक्त राष्ट्रसंघले त्यहाँ केही वर्ष शान्ति सेना पठायो। त्यसका कमान्डर नेपाली थिए।

झण्डै २३ वर्षअघि पंक्तिकारलाई दिएको अन्तर्वार्तामा फोर्स कमान्डर कृष्णनारायणसिंह थापाले भनेका थिए–“जातीय, धार्मिक र साम्प्रदायिक मतभेद बढ्दै जाँदा गृहयुद्ध हुन्छ।” बाल्कन क्षेत्रमा त्यही भयो। ऊबेला त्यहाँका सबै सेनाका अधिपति थिए थापा। प्रशासन हेर्थे, थापाका मित्र कोफी अन्नानले, जो पछि गएर राष्ट्रसंघको महासचिव भए।

धेरैले चौधौँ दलाई लामालाई ‘अमेरिकाको मान्छे’ भन्ने गरेका छन् तर चीनलाई अस्थिर बनाउने कृत्य राम्रो होइन भनेका छन्, उनले। सन् १९९१ मा प्रकाशित उनको आत्मवृत्तान्त ‘फ्रिडम इन एक्जायल’ (निर्वासनमा स्वतन्त्रता) पुस्तकमा अमेरिकी गुप्तचर संस्था सिआइएले तिब्बतीको चिन्ता गर्छ भनेर मात्र बुझ्नु उचित हुँदैन भन्दै उसले संसारमा अस्थिरता फैलाइरहेकोतर्फ सचेत गराएका छन्।

यस्तै सिआइएको ‘तिब्बत कार्यक्रम’ घातक छ भन्दै उनले सन् १९९९ मा विरोध गरे। यसरी हेर्दा, अमेरिकी स्वार्थ तिब्बतीको हितमा होइन, चीनविरुद्ध केन्द्रित छ भन्ने दलाइ लामाको आलोचनात्मक टिप्पणीको अन्तर्य बुझ्न सकिन्छ। नेपालमा सतहमै देखिएका शक्तिराष्ट्रहरूको प्रतिस्पर्धा नेपाल र नेपालीको हितमा होइन, ती राष्ट्रको स्वार्थमा केन्द्रित रहेको पाइन्छ।

चीन र अमेरिका मात्र होइन, भारत र इयुको हकवाला, वारेस वा प्रवक्ता बनेर विदेशी स्वार्थको वकालत गर्नेहरूले आकर्षक तलवभत्ता, सुविधा पाउलान् तर नेपाली जनताको विश्वास र माया पाउँदैनन्। विदेशीको गोटी बनेकाहरूको आचरण र आवरण फरक हुन्छ। त्यसैले, उनीहरूले शब्द–शब्द विचार गरेर मालिक रिझाउने प्रयत्न गर्छन्।

उनीहरू राष्ट्र सर्वोच्च हुन्छ भन्दैनन्, बरु राष्ट्रवादको काम छैन भन्छन्। त्यसो भए धनी हुन आमा, बहिनी, छोरी सबै बेच्ने? राष्ट्रको सार्वभौमसत्ता धरौटी राख्ने? राष्ट्रिय एकता टुक्रा-टुक्रा पार्ने? धन आउँछ भनेर जे पनि सम्झौता गर्ने? के भनेको लेन्डुपका झड्केला सन्तानहरूले? 

प्रकाशित: २० श्रावण २०७९ ००:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App