१५ चैत्र २०८२ आइतबार
image/svg+xml
विचार

भूकम्प र हाम्रो मनोदशा

'काठमाडौंमा अब फेरि ठूलो भूकम्प आउँछ रे हो म्याम ?' भयग्रस्त अनुहार लिएर एउटी विद्यार्थीले उत्तर पाउने आशामा मेरो मुहारतिर पुलुपुलु हेरिन् । केही दिनअघि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा एएफपीले 'नेचर जिओसाइन्स' नामको अमेरिकी जर्नलमा प्रकाशित एक महत्वपूर्ण रिपोर्टलाई आधार मानेर काठमाडौं उपत्यकामुनिको चट्टान अझै पनि स्थिर नभइसकेकाले काठमाडौँ उपत्यकामा ठूलो भूकम्पको जोखिम कायम रहेको बताएको थियो।नेचर जिओसाइन्स विश्वसनीय जर्नल मानिने भएकाले पनि सबैको मन डराएको हुनुपर्छ । यही समाचारलाई आधार बनाउँदै, अब साँच्चै नै ठूलो भूकम्प आउने भयो, वैशाख १२ र २९ को भूकम्पमा त बाँचियो अब के गरिएला भनेर यतिबेला सबैको मुहार हतास देखिएको छ । वास्तवमा यसरी हतास मनस्थितिमा रहनु भनेको आफँैले आफैलाई अविश्वास गर्नु हो । आत्मबलको कमी हुनु हो ।

बालक हुन् वा वृद्ध दुई साथी भेट हुँदा होस् वा सामाजिक सञ्जालका भित्ताहरु हुन्, यिनै चर्चा÷परिचर्चाले रंगिएका छन् । २०७२ वैशाखयता दश महिनाको अवधिमा सयौँ पराकम्पनको धङधङी लिँदै बाँच्नुपरेको स्थिति जगजाहेर हुँदाहुँदै पनि पुनः भूकम्प आउने हल्लामा विचलित बन्नु पक्कै पनि बुद्धिमानी होइन । भूकम्प स्वयं मान्छे मार्न र संरचना भत्काउन आउने होइन । हाम्रै असावधानीले गर्दा हामी भूकम्पबाट प्रभावित हुनुपरेको हो भन्ने कुराको अनुभव पनि हामीलाई वैशाखको भूकम्पले गराइसकेको छ । विश्वमा सबभन्दा बढी भूकम्प जाने देश जापान हो । यहाँ दैनिक जसो नै साना ठूला भूकम्प गइ नै रहन्छन् । सात आठ रेक्टरका भूकम्प आउँदा पनि मानिस तथा भौतिक संरचना हताहत भएको समाचार हामी सुन्न पाउँदैनौ । जनता पनि भूकम्पको त्रासमा विचलित देखिँदैनन् । उनीहरुकोे विद्यालयमा विद्यार्र्थीलाई सानैदेखि भूकम्पबाट कसरी जोगिने भनेर प्रशस्त अभ्यास गराइन्छ । आआफना क्षेत्रमा सबैले पूर्वतयारी अपनाएका हुन्छन् । म आफैँ पनि जापान भ्रमणमा जाँदा भूकम्प आउँदा कसरी संयमी बन्ने भन्नेबारे विश्वविद्यालयले आयोजना गरेको तालिममा भाग लिने सौभाग्य पाएकी थिएँ ।

पाँच रेक्टर स्केलदेखि माथिका भूकम्पका झड्का कस्ता हुन्छन्, यो आउँदा पृथ्वी कसरी कम्पायमान हुन्छ र हामी कसरी सुरक्षितरूपमा खुला स्थानमा जाने वा कोठाभित्र सुरक्षित हिसाबले बस्ने भन्ने कुरा तालिममा सिकाइएको थियो । अब हामी नेपालीले पनि वैशाखको भूकम्पको अनुभवलाई हृदयंगम गर्दै आफ्नो कमजोर घरलाई रेट्रोफिट गरेर कसरी बलियो बनाउने, नयाँ संरचना बनाउँदा भूकम्प प्रतिरोधी बनाउनेतर्फ जुट्नु आवश्यक भएको छ । भूकम्पसँग डराउनुभन्दा योसँग जुध्नुबाहेक हामीसँग अर्को विकल्प छैन ।

भूकम्पीय जोखिममा विश्वको ११ औँ मुलुकमा परेको हाम्रो देश नेपाल र अझ काठमाडौँ उपत्यकाको कमजोर भू धरातलको संवेदनशीलताप्रति हामी सबै परिचित छँदै छाँै । यही वास्तविकतालाई बुझेर भूकम्प सामना गर्न सक्ने आँट र पूर्वतयारी नै हामी सबैको एक मात्र विकल्प हुन सक्छ । यो तयारी सरकारबाट र स्वयं जनताबाट हुनु नितान्त आवश्यक छ ।

वैशाखको शक्तिशाली भूकम्प र त्यसपछिका पराकम्पनले हल्लाएका काठमाडौँ उपत्यकाकै नरदेवी, असन, इन्द्रचोक त्रिपुरेश्वरलगायत कतिपय ठाउँमा ढल्न लागेका घरलाइै ठूलाठूला फलामका टेकाहरुले मात्र अड्याएको देखिन्छ । वास्तवमा भूकम्प गएको दश–दश महिनासम्म धराप स्थितिमा राख्नु पक्कै पनि बुद्धिमानी होइन । बरु बेलैमा भत्काएर भूकम्प प्रतिरोधी संरचना बनाउन सके धनजनको क्षति हुने थिएन । घर बनाउँदा ठूलै राशी गरेर खर्च गर्नुपर्छ भन्ने छैन । बजेटको राम्रो व्यवस्थापन नभइन्जेल एक दुई तलाको साधारण घर बनाएर पनि भूकम्पीय जोखिमबाट बच्न सकिन्छ ।

हाम्रा छरछिमेकमा विगतका कहालीलाग्दो भूकम्पको भोगाइ बिर्सेर फेरि पाँच छ तले घरहरु निर्माण भइरहेका छन् । वैशाखको भूकम्पमा पालमुनि बसेर, 'लौन कसले भत्काइदिन्छ मेरो घर, मान्छे पाए पाँच तलाको मेरो घरलाई केक काटेझै दुई तला निकाल्ने थिएँ' भन्नेहरु अहिले निर्धक्क देखिन्छन् । उतिबेलै दबेको घरलाई रेट्रोफिट गर्नसमेत हेलचक्रयाई गरिरहेका छन् । कतिले बन्दाबन्दैको घरलाई उतिबेला धेरै तला थप्दिनँ भन्नेहरु पनि भाडा खाने लोभमा घरका तलाहरु बढाइरहेका छन् । मान्छेले विगतलाई बिर्सने रहेछ भन्ने यो एउटा उदाहरण पनि भएको छ ।

अर्कोतिर एउटा उल्लेख गर्नुपर्ने कुरा के छ भने वैशाख १२ को भूकम्प सम्झाउने गरी सरकारले भत्किएको कुनै डरलाग्दा संरचना संरक्षण गरेर यथावत् राख्नुपथ्र्याे किनकि भावी सन्ततिलाई देखाउन र भूकम्प प्रतिरोधी संरचना बनाउने कुरामा झक्झकाउन पनि यो आवश्यक थियो । बालाजुको माछापोखरी, गोगंबु र सीतापाइलामा डरलाग्दो गरी भत्किएका केही घर जस्ताको तस्तै राख्न बुद्धिमानी हुने थियो । मानिसले त्यो दृश्यलाई देख्नासाथ विगतको कहालिलाग्दो दिन स्मरण गरी भावी दिनमा भूकम्पबाट जोगिन मद्दत पुग्ने थियो ।

सन् १९४५ मा जापानको हिरोसिमामा अमेरिकाले प्रहार गरेको बमले उछिट्टयाएको छाना र दुई वटा क्षतिग्रस्त घरलाई जसरी सुरक्षित राखिएको छ त्यसैगरी २०७२ वैशाखको भूकम्पलाई पनि स्मरण गराउने कुनै न कुनै एक संरचना जोगाउनु भावी पुस्ताका लािग समेत अध्ययनको विषय बन्न सक्थ्यो ।

रातको समयमा आफ्नो सिरानी नजिक टर्चलाइट, मोबाइल, लुगा अथवा औषधिसहितको 'इमर्जेन्सी ब्याग' राखेर सुत्ने र बालक र वृद्ध हुने घरमा भूकम्प आइहालेमा को कसरी कहाँबाट निस्कने भन्नेबारेमा पहिल्यै छलफल गरी बस्नु राम्रो हुन्छ ।

सरकारले पनि पाल, कम्बल, प्राथमिक उपचारका सामग्रीलगायत आवश्यक खाद्यसामग्रीको जोहो गर्न बिर्सन हँुदैन भन्ने कुरा विगतको कमजोरीबाट सिक्न जरुरी छ । क्षतिग्रस्त भवनलाई रेट्रोफिट गरेर मजबुत भए/नभएको अनुगमन गर्न, अग्ला अग्ला संरचना बनाउन नदिन, बालबालिका, विद्यार्थी र वृद्धजनहरुलाई समयमै काउन्सिलिङ गरेर भूकम्प आइहालेमा हतास नभई उच्च मनोबल कायम राख्नुपर्छ भन्ने खालका टिप्सहरु पनि परिवारका जिम्मेवार सदस्यले समयमै दिन सक्ने हो भने परि आउने प्राकृतिक विपत्तिबाट जोगिन सजिलो हुनेछ ।

प्रकाशित: ५ माघ २०७२ २१:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %