२३ श्रावण २०७९ सोमबार
विचार

शिक्षण सिकाइमा विद्यार्थीको भविष्य

शिक्षाले विद्यार्थीमा आत्मनिर्भरता र सिर्जनात्मक प्रतिभा प्रष्फुटन गराउँछ। असल शिक्षकले विद्यार्थीमा जिज्ञासा, नैतिक तथा ज्ञानको भोक जगाउँछ। आजभोलि शिक्षक आदर्शमाथि नै कुठाराघात हुने घटना भएका छन्। जबसम्म शिक्षक कर्मठ, इमान्दार, लगनशील र परहितमा समर्पित हुँदैनन्, तबसम्म शिक्षकले हाम्रो परम्परागत गुरुकूल शिक्षाको आदर्श पालना गर्न सक्दैनन्।

शिक्षक आफ्नो उन्नति भन्दा अरूको खुसी र प्रगतिमा रमाउँछ। बाबु आमा आफ्ना सन्तान पास भएकामा खुसी हुन्छन्। शिक्षक आफ्ना विद्यार्थीको प्रगति र उन्नतिमा खुसी हुन्छ। शिक्षकसँग विद्यार्थी समाज र राष्ट्रले ठूलो आशा र भरोसा लिएको हुन्छ। त्यसैले ऊ क्षमतावान, मेहनती र उत्प्रेरक बन्नुपर्छ। शिक्षकको गुणस्तर मापन उसले सिकाएको विधि र प्रविधिबाट विद्यार्थीमा पर्न गएको प्रभाव हो। अझै पनि हाम्रो समाजमा शिक्षकप्रतिको विश्वसनीयता बढी छ। सहरमा भन्दा शिक्षकको गाउँघरमा बढी महत्व हुन्छ। कोही बिरामी पर्दा जरो नाप्नेदेखि सामान्य औषधिसमेत हेल्थपोस्टका हेल्थ असिस्टेन्ट शिक्षकले भनेपछि विश्वास हुन्छ। खेतीपातीमा पनि जेटिए भन्दा शिक्षकले भनेका कुरा बढी खान्छन्। बालबालिकालाई शिक्षक वा शिक्षिकाले कुनै गलत सिकाएकामा यो ठीक होइन, यसो हो भन्दा हाम्रो सरले हाम्रो मिसले भनेको नै ठीक हो भन्ने गर्छन्। यसरी शिक्षकलाई हरकुरामा हर्ताकर्ता अगुवा ठान्छन्। यसर्थ शिक्षकमा हमेशा सकारात्मक सोच चाहिन्छ।

शिक्षक लगनशील मेहनती भएमा मात्र विद्यार्थीको सिकाइ प्रभावकारी हुन्छ। हाम्रा शिक्षकको ज्ञान र सिपको खोट लगाउन सकिँदैन। तर सन् २०२१ पछि महामारीका रूपमा देखापरेको कोभिड–१९ ले ल्याएको शैक्षिक अवरोध र लकडाउन जस्तो परिस्थितिमा अनलाइनसम्बन्धी जानकारी भने उपेक्षितरूपमा पाइँदैन। यसका लागि नवीनतम प्रविधि प्रयोग गर्न जान्ने इमान्दार, सहयोगी, लगनशील र कर्तव्यनिष्ठ शिक्षक ठानिन्छ।

शिक्षकको सम्मान र कदर पूर्वीय वाङ्मयमा मात्र होइन, आधुनिक विकसित देशहरू पनि शिक्षकको कदर अन्य पेसाकर्मी भन्दा उच्च मानिन्छ। अमेरिकामा सबै भन्दा बढी वैज्ञानिक र शिक्षकलाई मानिन्छ। यसैगरी फ्रान्स, जापान, कोरिया आदि देशले शिक्षकलाई उच्च स्थान प्रदान गरेका छन्। यसरी इज्जत शिक्षकले पाउनुको अर्थ हुन्छ उसले गल्ती गर्दैन। सबको विश्वास जित्न सक्छ। शिक्षक विद्यार्थीको भाग्य निर्माता र सबैको सहयोगकर्ता हो।

यस्तो समाजको आदर्श शिक्षकमाथि नैतिक प्रश्न उठ्नु राम्रो हँुदै होइन। कुनै एक दुई शिक्षकले गलत काम गरे भन्दैमा सबैमाथि आक्षेप लगाउन मिल्दैन। शिक्षा क्षेत्रमा तमाम राजनीतीकरणको आरोप छ। प्रायः शिक्षक राजनीतिक नेताका झोले बन्न गएको आरोप छ। तर रामाजमा हेर्दा राजनीतिककर्मीहरू भन्दा शिक्षकको इज्जत बढी मानिन्छ। तथापि आफ्नो विश्वसनीयताप्रतिको अवोधता प्रदर्शन गर्दै राजनीतिककर्मीको झोले बन्नुचाहिँ गलत हो। आजको बौद्धिक चिन्ताको विषयचाहिँ यत्रो समाजले दिएको विश्वासमाथि खेलवाड गर्दै झोले बन्न जानु कदापि हँुदैन।

संविधानले प्रत्येक नागरिकलाई राजनीतिक स्वतन्त्रता प्रदान गरेको छ। शिक्षकलाई पनि स्वतन्त्रता छ। उसले कुनै राजनीतिक दललाई भोट दिन सक्छ। यसमा कुनै रोकटोक हुँदैन। तर आफ्नो पेसाको मर्यादालाई ख्याल नराखी राजनीति गर्नेसँग कदापि पदीय मर्यादा, दायित्व र नैतिकता हुँदैन। कुनै शिक्षकलाई राजनीति गर्ने इच्छा छ भने शिक्षक पदबाट राजीनामा दिएर आउनुपर्छ। शिक्षकले परापूर्वकालदेखि पाएको मर्यादालाई गुमाउनुहँुदैन। विगतका गुरुहरूले गर्दै आएको त्याग र कर्तव्य परायणताको परिणाम आज गुमिनसकेको हुँदा अब संरक्षण गर्ने पालो आजका शिक्षक/शिक्षिकाको हो।

बदलिँदो समयसँगै शिक्षण विधि र सिकाइका तरिकाहरूमा परिवर्तन हुँदै आएका छन्। यसमा हाम्रा शिक्षकहरूले पनि ज्ञान र सिप तद्नुरूप हासिल गरेको हुनुपर्छ। गुणस्तरीय शिक्षण सिकाइका लागि शिक्षकलाई समय समयमा पुनर्ताजगी तालिम देश विदेशको शैक्षणिक क्रियाकलापको अवलोकन अन्तरदेशीय शैक्षिक गुणस्तर हासिल गरिरहेका विद्यालयको शिक्षकहरूको कक्षा अवलोकन आदिको पनि उपयोगी हुन्छन्। हामीकहाँ शिक्षकको सिर्जनशीलता अभिवृद्धि गर्ने र शिक्षण सिकाइ क्षमता बढाउन समय समयमा पुनर्ताजगी तालिम अन्य छोटो लामो अवधिको दिलाउने छुट्टै एउटा संयन्त्रको विकास पनि जरुरी छ।

एक हातले ताली बज्दैन भने जस्तै एकातर्फ शिक्षक प्रविधिमैत्री, दक्ष र मेहनती हुनुपर्छ भने अर्कातर्फ विद्यार्थी लगनशील र इमान्दार पनि हुनु जरुरी छ। आज कोभिड–१९ जस्तो महामारीको परिस्थिति आइलाग्दाको अवस्थामा विद्यालय कक्षामा विद्यार्थीलाई उपस्थित संभव हुँदैन। यस्तो स्थितिमा अनलाइन प्रविधिमार्फत शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्दा शिक्षक यस विषयमा पूर्ण दक्ष हुनु जरुरी छ। साविकको शिक्षण सिकाइ भन्दा अनलाइन शिक्षण सिकाइका लागि शिक्षक तालिम प्राप्त हुनु जरुरी छ। शिक्षकले अनलाइन शिक्षण सिकाइमा पनि विभिन्न प्रकारका समस्याका लागि क्विज प्रश्न उत्तर अनुसन्धान मिलाउन सक्ने हुनुपर्छ। अनलाइन पठनपाठन इन्टरनेटका साथै ल्यापटप, कम्प्युटर आदिको आवश्यकता पर्छ। हाम्रो समाजका धेरै परिवारमा यस्ता सामग्री जुटाउन सक्ने क्षमता देखिँदैन। यस्ता परिवारका होनहार विद्यार्थी अनलाइन शिक्षण सिकाइबाट विमुख हुने संभावना बढी हुन्छ।

सरकारले अनलाइनको पहुँच सबै बालबालिकासम्म पुर्‍याउनका लागि इन्टरनेट सुविधा प्रदान गर्नुका साथै ल्यापटपको सुविधा पनि दिनुपर्छ। तर हरेक विद्यार्थीका हातहातै ल्यापटप र इन्टरनेटको पहुँचले बालबालिकाको मनस्थितिमा पर्ने प्रतिकूल प्रभावप्रति पनि सजग रहनु जरुरी छ। बालबालिकालाई नैतिक शिक्षाका साथै इन्टरनेटबाट उब्जिने विकृतिबाट बच्न सिकाउनुपर्छ। लामो अवधिसम्म कम्प्युटरमा बस्नुपर्ने हँुदा विद्यार्थी शिक्षक दुवैले त्यसबाट आउने विकिरणबाट आँखालगायत अन्य असरबाट बच्न पनि जान्नुपर्दछ। शिक्षण सिकाइको उद्देश्य विद्यार्थीमा सुधार ल्याउनु नै हो। शिक्षकको सिकाइबाट आउने सुधारले विद्यार्थीको बानी बेहोरामा परिवर्तन आउँछ। शिक्षकले सिकाएको सिकाइबाट कुनै परिवर्तन र सुधार आउँदैन भने शिक्षकले राम्रोसँग पढाएन भन्ने बुझ्नुपर्दछ। विद्यार्थीको पढाइ सिकाइसँग विद्यार्थी स्वयं, घर÷परिवार तथा समुदाय, वातावरण, विद्यालय, पाठ्यक्रम शिक्षण सिकाइ विधि र मूल्याङ्कन परिपाटीलगायत हरपक्ष जोडिएका हुन्छन्। यी सबैबाट सकरात्मक र रचनात्मक सहयोग जुटन सकेमा मात्र विद्यार्थीको पठनपाठनमा सुधार आउन सक्छ। विद्यार्थीमा ज्ञान, सिप, कला, मूल्य÷मान्यता सचेतनाबाट मानव समाज सिकारी युगबाट आजको वैज्ञानिक रोबट युगसम्म आइपुगेको छ। शिक्षाले मानव जीवनमा के÷कस्तो प्रभाव पार्दै आएको छ भन्ने कुरा विभिन्न कालखण्डमा विभिन्न अवसरहरू निर्माण गर्दै आजको अवस्थामा आएको छ। आधुनिक शिक्षकले पठनपाठनको सवालमा विद्यालय कक्षामा भौतिक उपस्थितिमा आफ्नो शिक्षण सिकाइलाई नयाँ विधि र प्रविधिबाट सिकाइ प्रक्रिया अनलाइन तथा दूरशिक्षण प्रविधिले विद्यार्थीमा पूर्ण जागरण ल्याउन प्रभावकारी शिक्षण सिकाइ गर्ने शिक्षक नै दक्ष शिक्षक हो।

शिक्षण सिकाइको वातावरण निर्माणमा सबभन्दा बढी भूमिका विद्यालयका प्रधानाध्यापकको हुन्छ। उसकै सबल नेतृत्वमा विद्यालयले गति लिन्छ। तर दुर्भाग्यवस हाम्रा केही सीमित विद्यालयबाहेक धेरैजसो विद्यालयमा कमजोर नेतृत्व नै रहेका छन्। यस्ता विद्यालयको वातावरण अव्यवस्थित हुनुमा सिकाइ उपलब्धि न्यून हँुदै जानु, शैक्षिक स्तर खस्कँदै जानु, आर्थिक अनियमितता बढ्दै जानु आदि जिम्मेवार छन्। अतः विद्यालय शिक्षाको गुणस्तर वृद्धिका लागि सम्बन्धित शिक्षक, प्रधानाध्यापक, विद्यालय व्यवस्थापन, सरकारी सुशासन आदि सजग नहुन्जेल विद्यालयको प्रगति संभव हुँदैन। शिक्षण सिकाइ कार्यलाई आवश्यकतानुसार अनलाइन शिक्षासम्बन्धी जानकारी नभएका शिक्षक तथा कर्मचारीबाट आधुनिक शिक्षण सिकाइको अपेक्षा गर्न सकिँदैन। यो समयमा अधिकतम प्रविधिमैत्री हुन नसके प्रभावकारी शिक्षण सिकाइ कार्यलाई आत्मसात गर्न नसक्ने हुन्छ। अबका शिक्षक भरपुर प्रविधि प्रयोग गर्न सक्ने कर्तव्यनिष्ठ, सहयोगी र मिलनसार हुनु जरुरी छ।

प्रकाशित: १८ श्रावण २०७९ ०६:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App