१५ पुस २०८२ मंगलबार
image/svg+xml
विचार

नेपालको समृद्धि कहिले हुन्छ?

भोको पेटले भजन त गाउन सकिन्न भने ज्ञान उत्पादन कसरी गर्न सकिन्छ?

राजनीतिक दलभित्रका आपसी खिचातानी, आरोप/प्रत्यारोप, दिनानुदिन बढ्दो भ्रष्टाचार र बेथितिका समाचारहरूले सर्वसाधारणका मनमा एकातिर प्रश्नहरूका तगारो बढ्दैछ भने अर्कोतर्फ अन्धभक्तिबाट निस्की सुसूचित हुँदै राजनीतिक दलप्रतिको अन्ध आस्था भन्दा माथि उठी सोच्नलाई समेत प्रेरित गर्दैछ। यसकै पछिल्लो प्रभाव हो स्थानीय तहको निर्वाचनमा राजनीतिक दल भन्दा स्वतन्त्र व्यक्तिलाई छान्ने रुचिमा वृद्धि। हुन त उक्त निर्वाचनमा निर्वाचित स्वतन्त्र व्यक्तिहरूलाई असफल बनाउन लागेका घामडहरू आ–आफ्ना वाक्पटुताले नकारात्मक व्याख्या र विश्लेषण गर्नुका साथसाथै सकेको असहयोग गर्न अग्रसर रहेको एकातर्फ छ भने अर्कोतर्फ समाजको अपेक्षा बुझ्नुपर्ने सचेतना समाजमा बढ्दो क्रममा छ।  

सरकार र समाजबीच विश्वासको अटुट सम्बन्ध र सम्मानबिना नेपालको समृद्धि सम्भव छ? यो प्रश्न कुनै खास व्यक्तिहरूको मात्रै अब रहेन अर्थात् सार्वजनिक चासोको विषयमा परिणत हुँदैछ किनकि देश प्रेम नभई समृद्धिको कल्पनासमेत गर्न सकिन्न भन्ने महसुस बढ्दो छ। जन्मबाट भन्दा पनि दैनिकीको भोगाइ र अनुभूतिहरूबाट जन्मिने कुरा जसमा मुख्य भूमिका सरकारकै हुन्छ। पछिल्लो समयमा राज्यले आफ्ना सम्बन्धित निकायहरूको कार्यकौशलता र समाजप्रतिको संवेदनशीलता बढाउन नसक्दा र राजनीतिक दलहरूले छलफलमा सर्वसाधारण नागरिकका सकसहरूलाई प्राथमिकतामा राख्न नसक्दा वा भनौँ समाजसँग संवेदनशील हुन नसकेकै कारण आज लामो इतिहास बोकेका राजनीतिक दलहरूको हविगत सबैसामु छर्लंग छ। र, पनि अटुट अहंकारको छनकमा कुनै कमी देखिँदैन। बेलाबखत कहिले ट्विटमा दोहोरी खेल्ने त कहिले मिडियासामु औँला ठड्याउँदै आफ्नो ज्ञान प्रदर्शन गर्दा प्रयोग गरिने शब्द चयनले तिनलाई समाजसँगको सम्बन्धलाई कसरी खोक्रो पार्दै लगेको छ त्यसको अनुभूति सम्बन्धित राजनीतिक दलले गर्न सकेको बुझिँदैन।  

एउटा सर्वसाधारण नागरिक जो पत्रिका पढ्दा, टि.भी. खोल्दा वा सामाजिक सञ्जालभित्र छिर्दा जताततै राज्यको असंवेदनशीलता देख्छ। त्यस्तोमा नेपाल समृद्ध बन्न उसको भूमिका कता खोज्ने भन्ने विषय गहु्रंगो भएर आउँछ। कुनै व्यक्ति, निकाय वा तिनमा आबद्ध रहेकाहरूको भाषा जे÷जस्तो मिलाए पनि एक सामान्य नागरिकले उसको समाजमा हुने हरेक गतिविधिलाई बडो सूक्ष्म किसिमले नियालिरहेको हुन्छ। चाहे त्यो बाहिर प्रस्तुत गरोस् वा नगरोस् तर त्यस्ता घटनाका आधारमा राज्यसँगको विश्वास कसिने वा खुकुलिने आधारहरू निर्माण भैरहेको हुन्छ।  

सरकार बलियो हुनुको अर्थ उसको समाजसँगको सम्बन्ध बलियो हुनु हो। समाजको पिँधमा रहेका एउटा यस्तो बहुसंख्यक समूह जसका मतले राजनीतिक दलको भविष्य निर्धारण गर्छ र सरकार बन्ने र नबन्नेमा अहम् भूमिका खेल्छ। वास्तवमा तिनलाई नै हो सरकारसँग बढी आश, विश्वास र स्याबास चाहिएको किनकि ती हातहरू नै हुन् नेपाललाई स्वनिर्भर बनाउँदै समृद्धितर्फ डोर्‍याउन सक्ने, आफू मात्रै होइन, आफ्ना सन्तान दरसन्तानलाई समेत देश निर्माणमा लगाउने पनि तिनै हुन्। तर विडम्बना बहुसंख्यक भए पनि तिनका बाहुल्यता नीति निर्माण तहमा वा कार्यान्वयनमा नेतृत्वदायी भूमिका हुँदैन। योजना निर्माण, निर्णय प्रक्रिया, कार्यान्वयन र मूल्यांकन कतै पनि तिनका भाव समेटिएको देखिन्न। जसका कारण सामाजिक स्वीकारोक्तिको अभावमा कार्यक्रमहरूको प्रभावकारिता घटेको पाइन्छ। समाजका ती तप्काहरूप्रति सरकार कहिले पनि संवेदनशील हुन् सकेको देखिन्न। तिनका अवस्था र विवशताले राज्यलाई छुन सकेको अनुभूति गराउन सकेको देखिँदैन।  

यसलाई अझै स्पष्टरूपले बुझ्न तिनका जीवनका केही प्रक्रिया तथा भोगाइलाई नियालेर हेर्दा के देखिन्छ भने आफ्ना आवश्यकता घटाई अनेक अभाव झेल्दै सन्तानलाई गच्छेअनुसारको शिक्षा दिन्छन् तर गुणात्मक शिक्षा, सिप र आर्थिक पुँजीको अभावका कारण तिनकै सन्तान प्रायः मलेसिया, दुबई र कतारमा जोखिमपूर्ण काम गर्न सस्तोमा आफ्नो श्रम बेच्न पुग्छन् जसले अनेक प्रतिकूलताका बाबजुद रगत पसिना बगाइ विदेशी मुद्रा भित्र्याउँछ जसले गर्दा देशलाई विदेशी मुद्राको अभाव हुनबाट जोगाउँछ नत्र भने अल्प निर्यात रहेको व्यापारमा नेपालसँग विदेशी मुद्राको चरम अभाव हुन सक्थ्यो। यति मात्रै होइन, ती तप्काका युवाहरू ढिलो वा चाँडो आफ्नै देशमा फर्कन्छन्, केही गर्न खोज्छन्। विदेशी माटोमा बस्ने चाहना राख्दैनन् तर पनि राज्यले तिनको सहजताअनुरूप प्रणाली र प्रक्रियाहरूलाई परिमार्जन वा बिस्थापन गर्नेतर्फ चासो नदिएको देख्दा त्यही प्रश्न पुन उब्जिन्छ– के नेपालको समृद्धि सम्भव छ?  

गफको हावा महलबाहेक अन्य जुनसुकै महल निर्माणका लागि आधारशीला चाहिन्छ जसमाथि ठूला वा साना विभिन्न प्रारूपका संरचनाहरू निर्माण गर्न सकियोस्। राजनीतिक दलहरू सत्तामा आएदेखि अत्यधिक प्रयोग गर्ने दुईवटा शब्द ‘सुखी’ र ‘समृद्धि’ प्रायः नेपालीलाई कण्ठ भैसक्यो। यसलाई वाक्यमा प्रयोग गर्न जोसुकैले पनि सक्छ तर यी शब्दलाई आफ्नो जीवनमा अनुभूति गर्न एक सर्वसाधारणले सकेका छन् कि छैनन्? त्यो हो मूल प्रश्न।  

समृद्धि भनेको के भौतिक संरचना र आर्थिक वृद्धि मात्रै हो? त्यसले मात्रै सुखी र खुसीको ग्यारेन्टी गर्न सक्छ? यदि सक्दैन भने हाम्रो विकास मोडेल ठीक छ? दगुर्नलाई पहिला बलियो गरी उभिन सक्नुपर्छ। त्यसका लागि खुट्टा दरो बनाउन आवश्यक छ। आफ्नो अवस्थाअनुसारको व्यवस्था गर्न सकिएन भने पछाडिने निश्चित हुन्छ। हाम्रा योजना, कार्यक्रम र प्रक्रियाहरूले के संकेत गर्दैछ?  

समृद्धिका लागि उत्पादनको निकै ठूलो महत्वहुन्छ। चाहे त्यो ज्ञान उत्पादनको विषय होस् अथवा वस्तु उत्पादनको, इमानदारिता, गम्भीरता र संवेदनशीलता दुवैमा चाहिन्छ। व्यवस्थापनको सिद्धान्तले भन्छ– गुणात्मक उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र प्रविधिमा पनि गुणात्मकता हुनु अनिवार्य सर्त हो। र, हरेक कार्यको थालनी योजनाबाट गरिनुपर्छ किनकि योजना जति प्रभावकारी भयो परिणाम त्यति नै सबल हुन्छ।

विश्व परिपाटी हेर्ने हो भने मुख्यतः ज्ञान उत्पादनमा विश्वविद्यालयहरू सक्रिय रहेका हुन्छन्। अनि उत्पादित ज्ञानको सही सदुपयोग गर्दै राज्यले समाजलाई दीर्घकालीन हित हुने कार्यहरू गर्छ। त्यसैले उत्पादित ज्ञान सही भयो भने त्यसलाई वितरण गर्ने र उपयोग गर्ने सबै लाभान्वित हुन्छन् र सम्पूर्णरूपमा त्यसको फाइदा देशलाई हँुदै विश्वसम्म पुग्छ। त्यसैले ज्ञान उत्पादनमा संलग्न सम्पूर्ण प्रक्रिया, प्रविधि र पात्र सही हुनु अनिवार्य छ। नेपालको सन्दर्भमा हेर्ने हो भने लामो इतिहास बोकेको त्रिभुवन विश्वविद्यालयलाई राज्यले ज्ञान उत्पादनको प्रमुख स्रोतका रूपमा स्थापित गर्न सकेको छ? ज्ञान उत्पादनमा संलग्न प्रक्रिया, प्रविधि र पात्र सही चयन भएका छन्? राजनीतिक भागबन्डाको अखडा नबनाउँदो हो भने त्यहाँ उत्पादित ज्ञानले कुनै व्यक्ति वा राजनीतिक दल मात्रै होइन, सम्पूर्ण देश नै लाभान्वित हुन सक्थ्यो तर विद्यमान अवस्थाले नेपालको समृद्धितर्फको यात्रालाई सहयोग पुग्छ?  

जापानसँग खासै साधनस्रोत नहुँदा पनि ज्ञान र देश प्रेमको समिश्रणले विश्वमा यस्तो दरिलो पकड जमाउन सफल भयो। चालीस वर्षभित्रमा चीनले आफ्नो अवस्था कहाँबाट कहाँ पुर्‍यायो। साठी वर्षअगाडि लगभग उस्तै अवस्थामा रहेका नेपाल र कोरियाको वर्तमान अवस्थाबीच आज जमिन आसमानको फरक छ। सुन र हिरा खानी रहेका कतिपय अफ्रिकी मुलुकको जर्जर अवस्था विश्वसामु छ। योजनाबिनाको कार्यक्रम र कार्यक्रमबिनाको प्रतिफल पाउन सकिन्न जसको पछिल्लो उदाहरण प्रधानमन्त्री रोजगार कार्यक्रमलाई लिन सकिन्छ। त्यसैले साँच्चैको नेपालको समृद्धि चाहने हो भने प्रथमतः ज्ञान उत्पादनका प्रक्रिया, प्रविधि र पात्र पूर्णरूपले राजनीतिक हस्तक्षेपरहित बनाइनुपर्छ जहाँ आश र त्रास दुवै नहोस्। सिर्फ ज्ञान उत्पादन होस्।  

दोस्रो भनेको वस्तु उत्पादन हो। अहिलेको विश्वव्यापीकरण भएको अवस्थामा वस्तु उत्पादन मुख्यतः दुईटा उद्देश्यले गर्ने गरिन्छ– आत्मनिर्भरता र विश्व बजार प्रवेश। नेपालको सन्दर्भमा हेर्दा दुवै पक्ष कमजोर देखिन्छ। उत्पादनमा आत्मनिर्भरताको कुरा गर्ने हो भने दिनानुदिन दैनिक उपभोग्य कृषि उत्पादनको आयात बढ्दो छ। कृषि क्रान्ति कागजसम्म मात्रै सीमित भैदिँदा कृषि औद्योगिकीकरण किसानउन्मुख प्रभावकारी कार्यक्रमहरूको अभावले कृषक आफ्नो पेसादेखि विरक्तिन थालेका छन्। अझै पनि किसान आकासे पानी, कर्मचारीको मेहेरबानी र मल–बिउबिजन अभाव झेल्दै उत्पादित वस्तु लिइ बिचौलियासामु निरीह बन्नुपर्ने अवस्था छ। नेपालको कुनै पनि समाजले सम्पन्न किसानका रूपमा पर्याप्त उदाहरणहरू दिन सकेको भेटिँदैन। अभाव, अपमान र कठिन परिश्रमका बाबजुद पनि आफ्ना आवश्यकताहरू पूरा गर्न नसकेको अवस्थाका कारण यो पेसाको हर्षित हस्तान्तरण भएको पाइन्न। विश्व बजार प्रवेशको कुरा गर्ने हो भने कच्चा पदार्थको परिपूर्तिबाहेक केही गर्न सकेको छैन। एकातिर कच्चा पदार्थ र अर्कोतिर युवा श्रम दुवै विश्व बजारलाई पूर्ति गर्ने नेपाल, एकदिन त कच्चा पदार्थ पनि सकिएला र युवा पनि सधँै युवा नभइराख्लान्, अनि के गर्ने? त्यतातर्फ ध्यान पुर्‍याउन सकेको देखिन्न। के यही तरिकाले नेपालको समृद्धि सम्भव छ?

त्यसैले साँच्चै नेपालको समृद्धि चाहने हो भने ज्ञान उत्पादनको क्षेत्रलाई दोषमुक्त गरिनुपर्छ जसले गर्दा क्षमतावानहरू आशाका झिल्काहरू देख्न थालून् र कृपा पात्रहरू छेउ लागून्। बौद्धिकता पलायन हुनबाट रोक्न आवश्यक छ। भोको पेटले भजन त गाउन सकिन्न भने ज्ञान उत्पादन कसरी गर्न सकिन्छ? जहाँसम्म बेरोजगार कार्यकर्ताको सवाल छ तिनलाई सही व्यवस्थापन गर्न तिनका क्षमता, सम्भावित क्षेत्र र उपलब्ध स्रोत÷साधनको सही पहिचान गर्दै आर्थिक उपार्जनमा संलग्न गराइनुपर्छ किनकि मानवीय आवश्यकतालाई नकार्न सकिन्न तर त्यसको आडमा गरिने दुष्कर्मलाई ढाकछोप गरिँदै जाने हो भने अवस्थित राजनीतिक संस्कारकै निरन्तरता हुँदै जान्छ र यसले नेपालको समृद्धिलाई कुनै पनि रूपले सघाउँदैन।  

अन्तमा, दिवसमा रमाएर समृद्धि आउँदैन। त्यसका लागि उचित कर्म गर्नुपर्छ। उदाहरणका लागि हरेक वर्ष मनाइने धान दिवस मनाउनुको उद्देश्य धान उत्पादनमा संलग्न प्रक्रिया, प्रविधि र पात्रलाई प्राथमिकतामा राखिनुपर्छ। उक्त पेसाको प्रक्रियालाई प्रविधिको सहायताले त्यसमा संलग्न पात्रलाई सहजता, सम्पन्नता र सम्मान दिलाउन सकिन्न भने यो दिवस मनाउनुको के अर्थ? धान उत्पादनमा प्रभावकारी भूमिका खेल्ने क्षेत्र मधेस र प्रत्यक्ष संलग्न हुने भनेको किसान हो। त्यसैले धान दिवस तिनका लागि सम्मानको अनुभूति गराउने दिवसका रूपमा मनाइनुपर्छ नकि तिनलाई गिज्याउने र लज्जित तुल्याउने किसिमले। धान उत्पादनमा रहेका समस्याहरू जस्तो कि सिँचाइ, आधुनिकीकरणको अभाव, भण्डारणको व्यवस्था जस्ता कुरालाई प्राथमिकतामा राखी यो दिवस मनाउनुपर्ने हो नकि बिउको माला र खेतबाट किसानलाई बोलाइ काम रोकी भाषण सुन्न लगाउने परिपाटी। यो त एउटा प्रतिनिधि उदाहरण मात्रै हुन्। यस्ता अनेक छन्, हरेक क्षेत्रमा।  

अझै पनि पूर्णरूपमा बिग्रिसकेको छैन। दाताहरूका उद्देश्यअनुरूप नगरी, धेरै विषयमा नअल्मलिइ, सिर्फ कृषि उत्पादन र ज्ञान उत्पादनलाई केन्द्रमा राखी योजना बनाइ प्रभावकारी अनुगमन गर्दै आगामी केही वर्ष खर्चने हो भने व्यर्थ जाँदैन। अरू भन्दा भिन्न देखिन अलग विशिष्ट किसिमको पोशाक, आसन र घोचपेचपूर्ण तर्क÷वितर्क भन्दा पनि फरक किसिमको कार्य सम्पादनले विशिष्टता झल्काउँछ। त्यसैले यो एक अवसर पनि हो नेपाललाई समृद्धितर्फ डोर्‍याइ इतिहासमै अलग किसिमको चित्र कोर्न किनकि समाजको अपेक्षा र सचेतना दुवै फेरिँदैछ। जसका लागि दुई मुख्य विषय कृषि र विद्यालय शिक्षा जसको जरा समाजको पिँधसँग जोडिएको छ। त्यसलाई बलियो बनाउनुको विकल्प छैन साँच्चै नेपालको समृद्धि चाहने हो भने।  

(समाजशास्त्री)

प्रकाशित: १६ श्रावण २०७९ ०२:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App