७ वैशाख २०८१ शुक्रबार
विचार

शिवत्व बुझ्न साक्षित्व बोध

धर्मकर्म, पूजा आराधना, साधना, ध्यान पनि जीवनमा आवश्यक छ भन्ने लाग्छ मनुष्यलाई। त्यसैले उसले अनेक पर्व र बहानामै किन नहोस् थोरै भए पनि आध्यात्मिक खोजीमा रुचि लिन्छ। सुख आउँदा सबै खुसी हुन्छन्, जब दुःख महसुस हुन्छ त्यतिबेला मानिसलाई लाग्छ कि मेरो कुरा अब भगवानले मात्र सुन्न सक्छन्। उसलाई थाहा छ कि भगवान मन्दिर र मूर्तिमै हुन्छन्। सुन्न त व्यक्तिको खुसी र उमंग पनि भगवानले देख्छन् र सुन्छन् तर त्यतिबेला उसलाई भगवानको वास्ता हुँदैन। यो खुसी र सफलता मेरो कारण मैले पाएको हो भन्ने ठान्छ व्यक्ति। जब दुःख महसुस हुन्छ अनि ठान्छ भगवानले मलाई हेरेनन्। भगवानको कृपादृष्टि ममा परेन। सर्वज्ञाता भगवानलाई व्यक्तिको कुन पक्ष थाहा हुन्न होला र? तर मानिस चतुर छ, अलिकति गल्ती, अन्याय, पाप गर्‍यो, फूलपाती लिएर मन्दिर पुग्नासाथ समाजको नजरमा ऊ धर्मात्मी बनिहाल्यो।  

परिआए भगवानलाई नै झुक्क्याउन खोज्ने साहस छ मानिसमा। मानिस आफूलाई सधैँ व्यस्त र अस्तव्यस्त देखाउन मरिमेट्छ। अनि लाग्छ कम्तीमा साउन महिनामा भने पनि नियमित शिव मन्दिर जाउँ र शिवको आराधनामार्फत आफ्ना दुःख मेटाउँ। सबैमा यस्तो नहोला, धेरै आध्यात्मिक विकासमा आफूलाई समर्पित गर्नेहरूका लागि पनि साउन महिना र भगवान शिवको आराधना त्यत्तिकै महŒवपूर्ण छ जबकि कुनै विशेष महिना र बारमात्र होइन, भगवान आफैँभित्र सदा विराजमान हुनुहुन्छ। शरीररूपी मन्दिर र भावरूपी आराधनाबाट पनि यसलाई अनुभूति गर्न सकिन्छ। यसका लागि आफ्नो दैनिक क्रियाकलाप, सोचाइ, भावदशा र दृष्टिप्रति साक्षी हुने कला आवश्यक पर्छ। दुःख आयो कहाँबाट आयो खोज्ने, गहिराइसम्म पुग्ने, सुख महसुस भयो कहाँ भयो त्यो पनि खोज्ने, चञ्चलता, धैर्य, स्नेह, करुणा, द्वेष जे पनि भाव आउँछन् कहाँबाट आयो र किन खोज्ने अनि आफ्नो स्थिरता र चञ्चलता पनि महसुस गर्न सक्नु साक्षीमा रहनु हो।

शिवत्व, शास्वत्व र मूल्य

शिवत्व र शास्वत्वलाई जान्दै जीवनको मूल्य थाहा पाउन विचार र सोचका पत्र–पत्र थाहा पाउनुपर्छ। सकारात्मक, नकारात्मक, इष्र्या, लोभ, द्वेष, अपेक्षा हरेक पत्रलाई खोतल्दै, किन र कहाँबाट ती विचार आएका छन् र प्रभावित भएका छन्? तिनको परिणाम के भएको छ जीवनमा? आजसम्म जीवनको पुरुषार्थले बाहिरी सफलता प्रशस्त हासिल भयो होला तर भित्रको शान्ति र आनन्द? त्यसलाई खोज्नु नै अध्यात्मको खोज हो। जबसम्म भित्रको शान्ति र आनन्द भेटिन्न तबसम्म शिवत्व, शास्वत्व र यसको मूल्य अनुभूति गर्न सम्भव छैन। बाहिरको कर्मकाण्ड बाहिरी पत्रसम्म मात्रै काम आउँछ। भित्र जानका लागि पत्र–पत्र खोल्दै, आफूलाई पवित्र बनाउँदै, विचारलाई पवित्र बनाउँदै, त्यसको परिणाम कर्म र परिणाममा पनि शुद्धता, पवित्रता र सत्यता झल्किने हुनुपर्दछ।  

ढुंगा पनि पत्थर, हीरा पनि पत्थर नै हो तर ढुंगालाई जति सफा गरे पनि चम्किन्न अनि हीरा हिलोमै पुरिएको भए पनि चम्कन्छ। सांसारिक हिलोमा डुबेर पनि आन्तरिक सत्य खोज्न सक्नेले नै शास्वतता र शिवत्वको अनुभूति गर्न सक्छ। सामान्य पत्थर भन्दा हीराको मूल्य किन बढी भएको? किनकि जस्तोसुकै फोहोरमा पुरियोस् आफ्नो शास्वतता र स्वभावबाट डग्मगाएको हुन्न, स्थिर हुन्छ। सन्तहरू भन्नुहुन्छ– एक साधे, सब सधे। त्यो एक चिज हो सत्यता। व्यवहारमा, विचारमा, जीवनशैलीमा, कर्म र कर्मको परिणाममा पनि। बाहिर त्यो जरुरी छ तर भित्रैबाट त्यसलाई साधनामा ल्याउनु जरुरी हुन्छ। आफ्नो सांसारिक कर्म, धर्मकर्म, साधना, ध्यान, निधिध्यासन जे पनि गरिएको छ त्यसको प्रभाव कस्तो परेको छ मूल्यांकन आफैँले गर्नु जरुरी हुन्छ। देखावटीको व्यवहार र कर्मले आन्तरिक सत्यतालाई उजागर हुन दिँदैन।  

विचारको परिणाम  

मुल्ला नसरुद्दिनका मित्रले उनको घरको हालखबर सोधे। मुल्लानसरुद्दिनले खुसी हुँदै आफ्ना मित्रलाई सुनाए– मेरी छोरीको त ठूलो डाक्टरसँग बिहे भयो नि! साथीलाई विश्वास लागेन, तिम्रो कुरूप छोरीको बिहे हुन त कठिन कुरो, त्यसमा पनि ठूलो डाक्टरले तिम्री छोरीसँग बिहे गर्‍यो? अहं, यो विश्वसनीय कुरा होइन। मुल्ला नसरुद्दिनले भने– ठीक छ, तिमीले पत्याएनौ तर ऊ मेरा लागि डाक्टर नै हो किनकि छोरीको बिहे हुन नसकेको कारण जति मेरो टाउको दुखेको थियो, ऊ घरबाट भागेको दिनदेखि अब मेरो टाउको हल्काफुल्का भएको छ। त्यो व्यक्ति जोसुकै होस्, मेरा लागि डाक्टर नै हो जसले वर्षौँदेखि दुखिरहेको मेरो टाउको ठीक पारिदिएको छ। भनिन्छ, जसले दुखेको मस्तिष्कलाई ठीक गर्न सक्यो ऊ डाक्टर र जसले मस्तिष्कलाई नै ठीक गर्न सक्छ त्यो हो आराधना र साधना। सबै विचारको कारण मस्तिष्क हो, मस्तिष्कबाट हृदयमा उत्रिन सकेको क्षण मात्र विचारका उहापोहबाट मुक्त हुन सकिन्छ। मस्तिष्कबाट हृदयमा स्थित हुने माध्यम ध्यान हो र ध्यानको परिणाम हो शास्वतता, करुणा र प्रेम। शरीर र विचार भन्दा भित्रको आन्तरिक पत्र शान्ति र आनन्दमा स्थित हुन सक्नु साधनाको परिणाम हो। अब ख्याल गरौँ, हाम्रो साधना, आराधना र कर्म काण्डहरूप्रति।

हलचल मन र शान्तिको क्षण  

मनको चञ्चलता सबैलाई थाहा छ तर जहाँ खालीपन, शान्त मन बाँकी रहन्छ त्यो नै परमात्माको अनुभूति र उपस्थितिको क्षण हो। मन्दिर जाँदा पनि मन चञ्चल नै रह्यो भने परमात्माको अनुभूति सम्भव छैन। एक्लो पनको आनन्द, विचारहरूबाट खाली हुन सक्ने कला, शान्त र सन्नाटामा बस्न र रमाउन सक्ने खुबी नै परमात्माको अनुभूतिको क्षण हो। शून्यता र सन्नाटाले नै भित्रको खोजीमा मद्दत गर्दछ। राम राम, हरि हरि, ओम, ओम जे जपे पनि त्यो शब्दको निरन्तरता बनिरहोस् र मन अन्यत्र जान नपाओस् यही नै मन्त्रोच्चारणको उद्देश्य हो। तर मानिसलाई लाग्छ, यो मन्त्रोच्चारणले मलाई पापबाट धर्मतिर लैजान्छ। जबसम्म मनको चञ्चलता, व्यवहारमा अस्थिरता र मस्तिष्कमा द्वेष भाव बाँकी रहन्छ तबसम्म उच्चारित मन्त्र र शब्द केवल बाहिरी तलमा काम आउला अन्तरहृदयसम्म पुग्न सक्दैन। पूजा, आराधना र अनुष्ठानले जीवनमा धैर्य, सहजता र प्रेमल भावदशा विकसित हुन सक्यो कि सकेन त्यो नै मापनको आधार हो। सन्तहरू भन्नुहुन्छ– तिम्रो दायाँ हातले दिएको दान बायाँ हातले थाहा नपाओस्। तर हाम्रो कर्मकाण्ड, विधि प्रक्रिया सबै अरूलाई देखाउनका निम्ति भइरहेको हुन्छ। आफ्नो र अर्काकोमा भेद हुन्छ।  

एउटा घरमा आगो लागिरहेको थियो, घरका मालिक बाहिर थिए, कसैले सुनाइदियो तपाईँको घर त जलिरहेको छ। उनी छाती पिटीपिटी रुन थाले। मेरो जीवनभरको कमाइ र दुःख खेर गयो भन्दै रूवाबासी गर्दै घरतिर दौडिँदै थिए तब एकजना छिमेकीले भने– बेक्कारमा किन रोएको तिम्रो घर त हिजो नै छोराले अर्कोलाई बेच्ने भनेर बैना गरिसके। त्यसपछि ति व्यक्ति रुन छाडे। जसले घर किन्ने बैना गरेको थियो अब ऊ रुन थाल्यो, जुन घर किन्न पैसा दिएको थिएँ, त्यो घर नै जलेपछि कहाँ गएर बस्ने र मेरो पैसा कसले फिर्ता दिन्छ? घर जल्नु भन्दा पनि मनमा उठेको तरंग, परिवर्तन भएको भावदशा र तुरुन्तै बनेको सुख दुःखको भाव नै मानिसलाई दुःखी बनाउने कारण हुन्। जति नै धर्मकर्मले पनि मानिसको मन परिवर्तन हुन सकेन र मन स्थिर हुन सकेन भने परिणाम जीवनभर उस्तै नै हुन्छ।  

प्रकाशित: १६ श्रावण २०७९ ००:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App