१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

सफा नियत अपेक्षित

मिथिलाको जनकपुरमा राम मन्दिर र जानकी मन्दिर प्रसिद्ध छन्। वि.सं. १८१९ सम्म कमला–नारायणीबीचको तराई मकवानपुर राज्यअन्तर्गत थियो। गोरखालीको विजयपछि त्यस क्षेत्रको तैनाथी पाएका बूढा काजी अमरसिंह थापाले राममन्दिरको जीर्णोद्धार गराएका थिए।जानकी मन्दिरचाहिँ पछि भारतीय राजा वृषभानुकी महारानीले धार्मिक भावनाले प्रेरित भएर वि. सं. १९६७ मा बनाउन लाएकी थिइन्। अहिले त्यस मन्दिर परिसरमा सीता रामको विवाह मण्डप बनाई सीता रामसम्बन्धी सिंहमरमरका मूर्ति सजाएर रमणीय स्थल बनाइएको छ। मार्ग शुल्क पञ्चमीका दिन सीता विवाह भएको भनिन्छ। प्रत्येक वर्ष अयोध्याबाट विवाहका लागि यहाँ वरियात नै आउँछन् र यस दिन सीता रामको धूमधामसँग विवाह गरिन्छ। जहाँ ठूलो मेला लाग्छ। यो मेला भर्न टाढा टाढादेखिका धार्मिक तीर्थालु आउँछन्, विशेष गरेर भारतीयहरुको पनि आगमन हुन्छ। जनकपुरको आकर्षण नै विवाह पञ्चमी मेला, मिथिला परिक्रमा नै हुन्। यी मुख्य मिथिला संस्कृति बनेर परम्परादेखि चलिआएका छन्।

गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादव मिथिला क्षेत्रकै बासिन्दा हुन्। उनी पनि रामजानकी मन्दिरको दर्शन गर्न मिथिला गएका थिए। उनी गए/आए, केही त्यस्तो सुनिएन। अहिले देशमा राष्ट्रपति महिला भएकी छन्। राष्ट्राध्यक्ष महिला, सभामुख पनि महिला र केही समयपछि सर्वोच्च्ा अदालतको नेतृत्व पनि महिला प्रधान न्यायाधीशले गर्ने अवस्था भएकाले महिला वर्गमा एउटा उत्साह आएको छ। यस्तैमा अहिले विवाह पञ्चमी पर्वका दिन पुस १ गते राष्ट्राध्यक्षको हैसियतले राष्ट्रपति महोदया रामजानकीको दर्शनार्थ मिथिला क्षेत्रको जनकपुर जाँदा तराईमा पहाडेविरुद्ध उपद्रो मच्चाइरहेका मधेसी मोर्चाका नेताको निर्देशनमा देशको राष्ट्रपतिमाथि अत्यन्त असभ्य र अभद्र व्यवहार प्रकट भयो। विधवा एकल महिला मन्दिरभित्र पसेर रामजानकीको दर्शन गर्नुहँुदैनथ्यो, मन्दिर मूर्ति नै अपवित्र भयो भनेर मधेसी आन्दोलनकारीले हुलदङ्गा उठाए। ढुंगामुढा हान्दै मन्दिर परिसरमा पेट्रोल बमसमेत प्रहार गरेको देखियोे। कतिपयले राष्ट्रपति किन जानुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत् वाग्वाण बर्साएका छन्। लौ मन्दिर अपवित्र भो भनेर गङ्गाजल छर्कंदै बाल्टीका बाल्टी पानीले धोएर चोख्याएको पनि देखियो। राष्ट्रपति महिला हुनु, विधवा हुनु नै दोष हो? विधवाले देवताको दर्शन गर्न नहुने वा नपाइने कुन शास्त्रमा लेखेको छ? विधवा महिलाले छुँदा मन्दिर मूर्ति अपवित्र हुने कहिल्यै सुनिएको पनि छैन।

यसमा महिला संघ र महिला अधिकारकर्मीले पनि विरोधका आवाज उठाए। अकर्तव्य गरेको र स्त्रीउपर अपहेलना गरेकामा मधेसी नेताले क्षमा माग्नुपर्छ, दोषीलाई सजाय दिनुपर्छ भनेर विज्ञप्ति पनि निकालियो। सबैतिरबाट विरोध हँुदा पनि माफी माग्ने कुरा त परै, जुत्ता लाएर सुरक्षाकर्मी पसेकामा पो चोख्याएको भनेर जोगिने प्रयत्न गरिरहेका छन्। यस घटनामा सत्यतथ्य पत्ता लाएर दोषीलाई कारबाही गर्न जाँच समिति गठन गरिएको छ, जे ठहर्छ, त्यसको तहकिकात होला नै।

जे भने पनि महिलामाथि दुर्व्यवहार गरिएको हँुदै हो। सर्वोच्च ओहदामा पुगेका महिलामाथि त यस्तो अपमान हुन्छ भने साधारण गृहस्थ महिला, त्यसमा पनि विधवाको हालत के होला? सहरमा महिलाउपर हेर्ने दृष्टिमा केही सुधार देखिए पनि गाउँघरमा फरक आएकै छैन। तराईमा त दाइजो प्रथाले छोरी बुहारीले अत्यन्त ठूलो पीडा खेप्नुपर्छ, छोरी बिहे गर्न प्रायः ज्वाइँ नकिनी हुन्न कि तिलक दिनुपर्छ कि दाइजो प्रशस्त। दाइजो नल्याउने बुहारीलेे झन् कहिनसक्नु कहालीलाग्दो पीडा खेप्नुपर्छ। यसरी नै दाइजो नल्याउने बुहारी प्रताडना सहन नसकेर कति आत्महत्या गर्न बाध्य हुन्छन् भने कति घरैमा सुटुक्क मारिन्छन्। विशेष गरेर तराईमा एकल महिला वा विधवा महिलाको पीडा त झन् दुर्दान्त देखिन्छ। कतिलाई त बोक्सीको अपराधको आरोपमा घर निकाला गर्ने र कुटेर मर्लान्त पार्ने, बिष्टासमेत खुवाउने वीभत्स करतुत पनि सुनिन्छ।

महिला राष्ट्रपतिले जानकी मन्दिर प्रवेश गरेर दर्शन गरेकामा आन्दोलनकारी मधेसी नेताले गरेको अभद्र व्यवहारका सन्दर्भमा अलिकति इतिहास सिंहावलोकन गर्नु प्रासङ्गिक होला। हाम्रो देशको धर्म संस्कृति परम्परा बचाइराख्नमा महिलाकै ठूलो देन छ भने यसमा पनि विधवा महिलाको अतिशय ठूलो योगदान देखिन्छ। नेपालको इतिहास अभिलेखद्वारा प्रमाणित लिच्छविकालदेखि मात्र पाइन्छ। प्रथमतः लिच्छविको चार पुस्ताको बयान भएको चाँगुनारायणको वि.सं. ५२२ को गरुडस्तम्भ लेख नै हो। सो स्तम्भ लेख धर्मदेवकी विधवा महारानी राज्यवतीले नै धर्मकर्म पूजाआजा गरी नारायणलाई गुठी राखी आफ्नो छोरा मानदेवको अवदानको कथा कुदाएर राखिएको हो। अर्को त्यस्तै हाँडीगाउँ नारायण मन्दिरको गरुड स्तम्भलेख छ। यो अभिलेख वि. सं. ५६२ सालतिरको मानिन्छ। सो अभिलेख नेपालका प्रथम प्रकाण्ड विद्वान् ब्रह्मसूत्रका व्याख्याता अनुपरमको हो। उनले पत्नी पुत्रसहित भएरै यो मन्दिर मूर्ति स्थापना गरी यो गरुड स्तम्भलेख कुदाएको बुझिन्छ। पछि पति बितेपछि विधवा आभीरी गोमिनीले वि. सं. ५९७ सालमा आफ्नो स्वर्गबासी पति अनुपरमको पुण्य बढोस् र छोरा भौमगुप्तहरुको आयुआरोग्य ऐश्वर्यको समृद्धि बढिरहोस् भनेर पशुपतिमा शिवमन्दिर स्थापना गरी यसको स्थायित्वका लागि सुनचाँदीको अक्षयकोष र जगाजमिन पनि गुठी राखेकी थिइन्। यस्तै लिच्छवि वंशका अन्तिम प्रमाणित राजा जयदेवकी विधवा माता वत्सदेवीले पुत्रसहित भएर पशुपतिलाई वि. सं. ७९० मा आठ पाते चाँदीका कमल चढाएको इतिहास पाइन्छ। यसरी प्राचीनकालमा सबैखाले धर्मकर्मका नेतृत्वकर्तामा विधवाकै नाम प्रमुख देखिन्छ।

त्यस्तै मध्यकालमा पनि विधवाको धर्मकर्ममा मात्र होइन, राजकाजमा पनि प्रमुख भूमिका देखिन्छ। बाराको सिम्रौनगढ बाह्रौँ शताब्दीमा एक राज्यका रूपमा स्थापना भएको थियो। त्यस राज्यका अन्तिम राजा हरसिंहदेव थिए। वि.सं. १३८१ मा गयासुद्दिन तुगलकको गढ मुस्लिम सैन्यहरुले आक्रमण गरेर ध्वस्त पारे। राजा सपरिवार भागेर पहाडको बर्खे किल्ला तीनपाटनमा सरी बसे। वर्ष दिनपछि त्यहीँ उनको देहान्त भयो। विधवा महारानी देवलदेवी बेसहारा भइन् र आफ्नो छोरा र केही भारदारसाथ माइती घर नेपालदूनमा शरण परेर बसिन्। त्यसबेला उनका दाजु रुद्र मल्ल जल्दाबल्दा शासक थिए। देवलदेवीले विस्तारै त्यस बेलाको राजकाजमा दख्खल जमाउन थालिन्। रुद्रमल्लका छोरी मात्र हँुदा सिंहासनमा बस्ने छोरीकै अधिकार भयो र नायक देवी रानी बनिन्। रानीको पति हुनलाई यहाँका धेरै कुमार केटा जमजमाए। तर देवलदेवीकै तत्परतामा काशी नरेश वंशज कुमार केटा डोला झिकाइन्। नायक देवीको विवाह हरिश्चन्दसँग भयो। तर राजसत्ताको लुछाचुँडीमा उनी यहाँ सुरक्षित टिक्न सकेनन्। मारिए। विधवा रानी पाउन फेरि धेरै राजकाजी केटा लालायित थिए तापनि देवलदेवीका अगाडि अरुको लागदावी हुन सकेन। उनले यी विधवा रानीसँग आफ्नै छोरो जगतसिंह कुमारको बिहे गराइदिइन्। यिनकै छोरी राजल्लदेवी भइन्, छोरी पाउनासाथ रानी नायक देवी परलोक भइन्। हरसिंहकी विधवा देवलदेवीकै हकडक चल्न लाग्यो। जगतसिंह पनि यस प्रपञ्चमा टिक्न सकेनन्। नातिनीको सुरक्षामात्र होइन, हक अधिकार रक्षा गर्ने अभिभारा पनि पितामही यिनै देवलदेवीको काँधमा आयो। उनले हत्तपत्त तराईतिरबाट योग्य वरका रूपमा स्थिति मल्ललाई ल्याएर राजल्लदेवीको सानैमा जोडी बाँधिदिइहालिन्। स्थिति मल्ल राजल्लदेवीको जोडी साँच्चिकै जमामर्दको भयो। द्वैराज्यप्रथा खत्तम पारेर एकराजतन्त्र स्थापित गरे। पछि मल्ल राज्य विभाजित हँुदै आएर पनि यी तीन मल्ल राज्य चार सय वर्ष जति नेपालको केन्द्रमा शासन चलाउन समर्थ भए। बालाचतुर्दशीमा सद्विज छर्न पशुपति आएकी मिथिला क्षेत्रकी मिश्र बाहुनकी विधवा छोरी कान्तवतीउपर रमिता हेर्न गएका पृथ्वीनारायणका नाति राजा रणबहादुरका आँखा परेछन्। त्यसपछि उनले आफ्ना मान्छेद्वारा दरबार ल्याएर फकाउन लाए। कति गर्दा पनि फकिइनन्। आखिर दुई सर्त राखिन्– 'यदि मैले राजासँग पुनर्विवाह गर्नुपर्छ भने मै पटरानी हुन पाउनुपर्छ र मेरा छोराले राजगद्दी पाउनुपर्छ, होइन भने हुन्न।' रणबहादुरले सर्त माने। त्यसपछि वि. सं. १८५७ तिर उनै विधवा बाहुनी कान्तवतीसँग विवाह गरे। अनि उनीबाटै जन्मेको डेढ वर्ष नपुग्दैको शिशु गीर्वाणयुद्ध विक्रमलाई सिंहासनमा राखेर कान्तवतीको सर्त पूरा गरे। विधवा कान्तवतीकै सन्तान गिर्वाणदेखि ज्ञानेन्द्रसम्म सात जना राज्य गर्ने भए, तीन जना युवराज। यसरी इतिहास स्पष्ट गर्छ कि सधवा हुन् वा विधवा, महिला आफ्नो धर्मकर्ममा सदाचारमा व्यवहारमा सक्रिय रहन्छन्। आफ्ना घरगृहस्थी चलाउनमा मात्र होइन, परिआए राजकाज चलाउन पनि त्यत्तिकै दक्ष तकिल भएका हुन्छन्।

अहिले हाम्रो देशमा पनि सुशीला कोइराला, मङ्गलादेवी सिंह, सहाना प्रधान, शैलजा आचार्यलगायत महिलाले राजकाजमा नाम राखे। अहिलेकी राष्ट्रपति विद्या भण्डारी जस्ता नेतृ पनि प्रशस्तै छन्। त्यसैले चाहे पहाडे हुन् वा मधेसी महिला, उनीहरुलाई हेर्ने दृष्टिमा आमूल परिवर्तन आवश्यक छ। त्यसमाथि पनि विधवा महिलालाई त झन् बढी सम्मान दिनैपर्छ उनीहरुको योगदानका लागि।

नेपालमा मात्र किन? भारतमा इन्दिरा गान्धीले हुकुमी हैकमै चलाइन्। अहिले अखिल भारतीय राष्ट्रिय कंाग्रेसकी अध्यक्ष सोनिया गान्धी छन्। शीला दीक्षित, सुषमा स्वराज, मायावती, ममता वनर्जी आदि कति छन् कति। पाकिस्तानमा बेनजिर भुट्टो, श्रीलंकामा भण्डारा नायके आदि प्रसिद्ध महिला नेतृ थिए। बङ्गलादेशमा पालैपालो महिलाकै राज छ । यीमध्ये धेरै त विधवा नै छन्। त्यसैले विधवा राष्ट्रपति भएकामा वा पूजा गरेकामा मधेसी नेतालाई आपत्ति हुनुपर्ने कारण छैन।

प्रसङ्गमा आएको जानकी मन्दिरकै कुरा गर्ने हो भने पनि सय वर्ष जति पहिले यो महारानी (महिला) ले नै बनाएको हो। महिलाले नै बनाएको मन्दिरमा कसरी स्त्रीलाई नै दर्शन पूजन गर्न प्रवेश निषेध हुन सक्छ? विधवा महिलालाई निषेध गरेको हो भनौं भने त्यो झन् अनर्थकारी भावना भो। किनभने नेपालमा २ करोड ६५ लाख जनसंख्यामा आधाभन्दा पनि बढी महिला छन्। त्यसमा तीन भागमा एक भाग एकल महिला छन्। तिनलाई मन्दिर पसेर पूजाआजा गर्न नदिने हो भने मन्दिरको के महत्व? धर्मकर्म गर्ने भावभक्ति पूजन अर्चन गर्ने बढी तिनै हुन्छन्, छिमेकबाट आउने महिला दर्शनार्थी पनि बढी त्यस्तै हुन्छन्। त्यसकारण महिला मात्रलाई चाहे उपल्लो चाहे तल्लो वर्गका चाहे सधवा चाहे विधवा सबैलाई समान सम्मान गर्न सिक्नुपर्छ। 'घरवाली महिला नभएको घर घर हुँदैन। घरवाली नै घर हो।' 'नगृहं गृहमित्याहुः गृहिणी गृहमुच्यते।' साँच्चै नारी गृहलक्ष्मी हुन्। 'यत्र नार्यस्तु पूज्यन्ते रमन्ते देवताः' जहाँ नारीको पूजा–सम्मान हुन्छ, देवता त्यहीँ रमाउँछन्, खुसी हुन्छन्' मनुको यो उक्ति अति सार्थक छ।

मधेसी नेताले महिला अथवा विधवा भनेर मात्र राष्ट्रपतिलाई अभद्र व्यवहार गरेका हुन् भन्दा पनि उनीहरुको आक्रोश पहाडे खस महिला राष्ट्रपति भएको भन्नेमा नै हो। हुँदै नभएको पहाडे मधेसी जस्ता शब्द खडा गरेर विभेदको भावना उचालिएको छ। त्यसैले यो सोध्नै मन लाग्छ कि मधेसी पहाडेबाट कसरी उपेक्षित छ? अनि सत्य भन्नै कर लाग्छ– नेपालको राजवंशको रगत त मधेसी पनि थियो नि, पहाडे खसमात्र थियो र? लिच्छवि मल्ल राजवंश मधेसी नै थिए। बारा सिम्रौनगढका अन्तिम राजा हरसिंहदेव रानी देवलदेवीकै नातिनी राजल्लदेवी तराईकै भइन्, डोला उतैबाट ल्याएका स्थिति मल्लसँग विवाह भएको थियो। तिनकै सन्तानले चार सय वर्ष जति केन्द्रमा शासन गरे। तिनको रीतिरिवाज संस्कृति दक्षिण प्रभावित थियो। भजनकीर्तन पनि मैथिली हुन्थे, बिहाबारी पनि तिनको प्रायः मधेसतिरै हुन्थ्यो। शाह राज्यमा पनि तेह्रोते सुन्दरी कान्तवती मिश्रकै छोरीको रजोवीर्य मिसिएको थियो। शाह लगायत अरु शासक वर्गको पनि बिहावारी मधेस वा भारततिरै हुन्थ्यो। यसरी हेर्दा नेपालमा ऐतिहासिकरूपमा पहाडेले मात्र शासन गरेका थिए भन्ने कुरा तथ्यसंगत छैन। १५ सय वर्षदेखि नेपालको केन्द्रीय सत्ता पहाडे तथा तराई मधेसका शासकहरुको संयोजनबाट सञ्चालन हुँदै आएको तथ्य छ। अन्य क्षेत्रमा पनि उनीहरुको उपस्थिति राम्रै छ। नियत सफा नभए सबै धमिलै देखिन्छ। यस कारण पहाडे मधेसीको विभेदकारी आक्षेप लाउन आवश्यक छैन। नियत सफा राखे आगत पक्कै उज्यालो होला।

प्रकाशित: २० पुस २०७२ २१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App