१६ वैशाख २०८१ आइतबार
image/svg+xml
विचार

रुस–युक्रेन युद्धले खाद्य संकट

समकालीन विश्वव्यापी स्थिति 

आज विश्वले विभिन्न चुनौती सामना गरिरहेको छ। जलवायु परिवर्तन, कोभिड–१९ महामारी, भूराजनीतिक द्वन्द्व र बढ्दो मुद्रास्फीतिका बीच विश्व खाद्य सङ्कट प्रमुख चुनौतीका रूपमा देखिएको छ जसलाई छिटै सम्बोधन नगरेमा आप्रबास /बसाइँ–सराइ, अन्तरिक र मुलुक–मुलुकबीचको द्वन्द्व आदि भयावह हुने देखिन्छ। रुस र युक्रेनबीचको द्वन्द्वले त संसारलाई नै भयभित पारेको छ। यसरी भयभित हुनुपर्नाका कारणमध्ये रुस र युक्रेनमा उत्पादन हुने खाद्य उत्पादनमा ह्रास आउनुका साथै उत्पादित खाद्यान्न सर्वसाधारणसम्म पु र्‍याउन असमर्थ हुने स्थिति सिर्जना हुनु नै हो।  

दुई ठूला खाद्य आपूर्तिकर्ताबीचको लडाइँ

विश्व बजारमा रुस र युक्रेन प्रमुख खाद्य आपूर्तिकर्ता हुन्। रुस विश्वमा प्रचुर मात्रामा हाइड्रोकार्बन ऊर्जा र प्राकृतिक ग्यास भएको देश हो। कृषि उत्पादन बढाउन ऊर्जा चाहिन्छ। रुस–युक्रेन युद्धअघि युक्रेनले पनि रुसबाट हाइड्रोकार्बन ऊर्जा र प्राकृतिक ग्यास लिने गथ्र्यो। रुसले युक्रेनमा आक्रमण सुरु गर्नुअघि, युक्रेन विश्वको सबैभन्दा  महत्वपूर्ण कृषि उत्पादक र निर्यातकर्तामध्येको एक मुलुक थियो। युक्रेन विश्वव्यापीरूपमा गहुँ निर्यातमा पाँचौँ, जौ र मकै निर्यातमा तेस्रो, र खाने तेल निर्यातमा पहिलो स्थानमा थियो। सन् २०१६ देखि २०२० को बीचमा युक्रेन र रसियाले संयुक्तरूपमा विश्वभर व्यापार हुने गहुँको लगभग २५ प्रतिशत, मकैको १५ प्रतिशत, र खाने तेल (खासगरी सूर्यमुखी) को ६० प्रतिशत आपूर्ति गरेका थिए।  

संयुक्त राष्ट्रसंघका अनुसार कम्तीमा ३६ विकासशील राष्ट्रले अधिकांश गहुँ, मकै, र खाने तेल युक्रेनबाट आयात गर्थे। रुसले युक्रेनमा आक्रमण गरेपछि यी मुख्य वस्तुहरूको निर्यात ठप्पप्रायः भएको छ र मूल्य उच्च विन्दुमा पुगेको छ। जसको कारण विश्वभर खाद्य पदार्थ, ऊर्जा, र वित्तीय संकट देखा परेको छ भने गत वर्षको तुलनामा खाद्यान्नको मूल्य ३४ प्रतिशतले र कच्चा हाइड्रोकार्बन, तेल र प्राकृतिक ग्याँसको मूल्य ६० प्रतिशतले बढेको छ। खासगरी गरिब मुलुकहरू यसको मारमा परेका छन्।  

विगतका वर्षहरूमा युक्रेन एक्लैले विश्वका झण्डै ४० करोड मानिसलाई पुग्ने खाद्यान्न आपूर्ति गर्दै आइरहेको थियो। गहुँ र सूर्यमुखीको मुख्य उत्पादन हुने युक्रेनका दक्षिणपूर्व, मध्य, दक्षिण र पश्चिमी भागहरूमा हाल लडाइँ चर्किरहेको छ। युक्रेनको खेतीयोग्य जमिनको झण्डै एकतिहाइ भाग या त रुसी सेनाको कब्जामा छ या बम बिष्फोटले ध्वस्त भएको छ अथवा त्यो क्षेत्र अब खेतीका लागि उपयुक्त मानिएको छैन।  

मध्यपूर्व र अफ्रिकामा युद्धको प्रभाव

एक तथ्यांकआनुसार हाल विश्वको लगभग ११ प्रतिशत वा ८२ करोड जनसंख्याले खाद्य संकट भोगीरहेका छन् भने ५३ देशका ४ करोड भन्दा धेरै मानिस चरम खाद्य अभावबाट पीडित छन्। एसिया र अफ्रिकाका धेरै भागमा बसोबास गर्ने लाखौँ जनसंख्या सूक्ष्म पोषक तŒवको कमीबाट ग्रस्त छ। कोभिडका कारण २०२२ को अन्त्यसम्ममा करिब एक अर्बभन्दा बढी मानिस गरिबीको चरम तहमा पुग्न सक्ने तथ्यांक सार्वजनिक भैरहेका बेला हालैका दिनहरूमा खाद्य पदार्थको मूल्यमा आएको अप्रत्याशित वृद्धिले उक्त आंकलन अझै भयाबह हुने देखिन्छ। खाद्य तथा कृषि सङ्गठनलगायत संयुक्त राष्ट्र संघका विभिन्न संघ /संस्था खाद्यान्न अभावका कारण गम्भीर परिणामहरू जस्तो आप्रबासदेखि गृह युद्धसम्म हुनसक्ने चेतावनी दिँदै आइरहेका छन्।  

रुस र युक्रेनले मध्य पूर्व, उत्तर अफ्रिका र पूर्वी अफ्रिकाका देशहरूमा खाद्यान्न निर्यात गर्दछन् जहाँको मौसम अधिक सुक्खा र जमिन प्रायः अनुत्पादक छ। खेतीयोग्य जमिन थोरै भएको इजिप्ट युक्रेनी गहुँको प्रमुख आयातकर्ता हो। इजिप्टमा दश करोड भन्दा बढी मानिसलाई खुवाउन प्रतिवर्ष दुई करोड टन गहुँ प्रयोग हुन्छ। यहाँका धेरै मानिस नाएल नदीको २० किलोमिटरको आसपासमा बस्छन्। जनसंख्याको अत्याधिक दबाबका कारण, यी क्षेत्रहरू भन्दा केही बाहिर बस्ने मानिसले बर्सेनि गम्भीर खाद्य संकट सामना गर्छन् किनभने त्यहाँको जमिन र हावापानी कृषि उत्पादनका लागि अनुकूल छैन। बार्षिक आवश्यक पर्ने दुई करोड टन गहुँमध्ये ६२ प्रतिशत विदेशबाट आयात गरिन्छ र त्यो आयातित गहुँको लगभग ८२ प्रतिशत युक्रेन र रुसबाट आउने गर्दथ्यो। इजिप्टले जस्तै लेबनानले कुल आवश्कताको ८१ प्रतिशत, टर्कीले ७९ प्रतिशत गहुँ आयात गर्छ र त्यसको मुख्य निर्यातकर्ता युक्रेन र रुस थिए। हुन त पश्चिम युरोपका देशहरू क्यानडा, संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत र चीनले ठूलो मात्रामा गहुँ उत्पादन गर्दछन् तर यी देशहरू मध्यपूर्व वा उत्तर अफ्रिकाबाट टाढा भएकाले युक्रेन र रुसमा उत्पादित गहुँ नै उनीहरूका लागि पहुँचयोग्य हुने गरेको थियो।  

निर्यातमा कमजोर हुँदै गएको युक्रेन

युद्धले युक्रेनको बाली उत्पादन र निर्यात गर्ने क्षमतालाई पूर्णतया निस्तेज बनाएको छ। उदाहरणका लागि, जाडो यामको गहुँ युक्रेनको मुख्य बाली हो जुन अघिल्लो वर्षको सेप्टेम्बर र नोभेम्बरको बीचमा रोपिन्छ र यस वर्षको जुन र जुलाइमा काटिन्छ। यस हिसाबले गत वर्ष रोपिएको गहुँ अहिले कटानी भइरहेको मानिन्छ तर आधा भन्दा बढी गहुँ खेतहरू त हाल रुसी सैन्य कब्जामा छन्।  

युक्रेनका किसानले यस वर्ष आफ्ना सबै बाली काट्न सक्षम भैहाले पनि उनीहरूसँग यसलाई भण्डारण गर्ने क्षमता देखिँदैन किनभने युक्रेनको सबै अनाज भण्डारहरू गत वर्षकै अनाजले प्रायः भरिएको मानिन्छ। अघिल्लो वर्षको सञ्चित भनिएको साढे दुई करोड टन भन्दा बढी अनाज सडेका पनि हुन सक्छन् किनभने धेरै भण्डार गृहहरूमा रुसी मिसाइलहरूले आक्रमण गरिसकेका छन्। गत वर्षको अधिकांश मकै अझै पनि दक्षिण पश्चिम युक्रेनको प्राथमिक निर्यात केन्द्र ओडेसा बन्दरगाहको वरिपरि रोकिएको छ।  

युक्रेनको दक्षिणपूर्व र मध्य दक्षिणका धेरै कृषि भूमिमा हाल लडाइँ भैरहेको छ र रुसी नौसेनाले ओडेसामा रहेका सबै  महत्वपूर्ण बन्दरगाहहरूलाई अवरुद्ध गरिरहेको छ। रुसीहरूले अहिले कुनै पनि खाद्य उत्पादन युक्रेनबाट बाहिर जान दिइरहेका छैनन्। युक्रेनले पनि रुसीहरूलाई रोक्नका लागि ओडेसा र वरपरको क्षेत्रमा ठूलो मात्रामा बिष्फोटक पदार्थसहितका नौसेनाहरू तैनाथ गरेको छ। युद्ध अर्को ३–४ महिनासम्म पनि जारी रह्यो भने, विश्वमा खाद्यान्न निर्यातको हिसाबले पाँचौँ स्थानमा रहेको युक्रेन शून्य निर्यातमा झर्न सक्ने सम्भावना छ। स्थिति अझै प्रतिकूल बन्दै गएमा युक्रेन सन् २०२२ को अन्त्यसम्ममा खाद्यान्नको आयातकर्ता बन्न बाध्य हुन सक्छ।  

विश्वव्यापी खाद्य आपूर्तिमा आउने संकटले संसारभरि विनाशकारी नतिजाहरू ल्याउनेमात्र होइन, मध्य पूर्व, उत्तर अफ्रिका र पूर्वी अफ्रिका जस्ता युक्रेनको उत्पादनमा भर पर्ने मुलुकहरूमा गम्भीर संकट आइपर्ने सम्भावना छ। खाद्य संकट थप गहिरिँदै गएमा सन् २०१० /२०११ मा ट्युनिसियाको ट्युनिस सहरबाट सुरु भएको अरब स्प्रिंग जस्तै अर्को जनआन्दोलन मध्यपूर्व र उत्तरी–पूर्वी अफ्रिकामा पनि नहोला भन्न सकिँदैन।  

वैकल्पिक निर्यात मार्गको सम्भावना  

हाल ओडेसाबाट युक्रेनको कृषि उत्पादनहरू रेल र ट्रकमार्फत युरोपको रोमानिया, बुल्गेरिया, पोल्यान्ड वा बाल्टिक राज्यहरूमा रहेका सामुद्रिक बन्दरगाहहरूमा ढुवानी गर्नका लागि केही प्रस्तावहरू गरिएका छन् तर त्यो खासै सहज छैन। सबैभन्दा पहिले, अधिकांश युरोपेली संघका देशहरू र युक्रेनले आफ्नो रेलमार्गका लागि विभिन्न रेल गेजहरू प्रयोग गर्छन् जसले युक्रेनी र इयु सीमामा मानव निर्मित चोकपोइन्ट सिर्जना गर्दछन्। अर्कोतर्फ, दशकौँदेखि युक्रेनको सम्पूर्ण पूर्वाधार कृष्ण सागरको बन्दरगाहहरूबाट कन्टेनर जहाजमार्फत समान बाहिर पठाउने गरी निर्माण गरिएका थिए। त्यसैले जमिनबाट माल सामान र खाद्यान्न ढुवानी गर्नु त्यति प्रभावकारी वा छिटोछरितो नहुन सक्छ। अर्थात्, युक्रेनीहरूलाई आफ्नो कुल अन्न निर्यातको २० प्रतिशत मात्र पनि रेल र ट्रकहरू प्रयोग गरेर जमिनबाट युरोपियन मुलुकहरूमा पु र्‍याउन गाह्रो हुन सक्छ।  

रुसी नौसेनाले युक्रेनको तटीय भागहरूमा नाकाबन्दी गरेको अहिलेको अवस्थामा एकमात्र सम्भावित बाटो बाल्टिक सामुन्द्रिक तटीमा अवस्थित लिथुआनियामार्फत छ। लिथुआनिया नाटो र युरोपेली संघको सदस्य भएकाले सैद्धान्तिकरूपमा यस मार्गबाट व्यापार सम्भव हुन सक्छ तर त्यो धेरै जोखिमपूर्ण पनि छ। किनभने लिथुआनिया भूतपूर्व सोभियत संघको संघीय राज्य भएकाले रुसलाई यहाँका सबै मार्गबारे राम्रो जानकारी छ र रुसले समान बोकेका नौसेनाका जहाजहरूलाई सजिलैसँग क्षति पु र्‍याउन सक्छ।  

अर्को विकल्प भनेको सबै  महत्वपूर्ण अन्न बोकेका युक्रेनी व्यापारी जहाजहरूलाई सुरक्षितरूपमा सशस्त्र जहाजहरूमार्फत पठाउनु हो। यो विधि पनि जोखिमपूर्ण हुन सक्छ किनभने रुसले सन् १९८० को दशकमा इरान–इराक युद्धमा एकपटक यो मार्ग प्रयोग गरिसकेको छ। ओडेसाको मार्ग सुरक्षित बनाउनका लागि युक्रेनी र रुसी दुवैले बोस्पोरसको जलडमरू (साँघुरो जलमार्ग) को बाटो गरेर आजियन समुन्द्र हुँदै भूमध्य सागर पार गरेर उच्च समुन्द्रको जलमार्ग हुँदै बाहिरी संसारमा अन्न निर्यात गर्दा सुरक्षाको ग्यारेन्टी गर्न सहमत हुनुपर्छ। यद्यपि, युक्रेन र रुस दुवै युद्धविरामका लागि सहमत नभएको हालको अवस्थामा यो सम्भावना कम छ।  

युरोपमा मानवीय प्रकोपको त्रासदी

युद्धरत पक्षहरू, खासगरी रसियाले चाँडै नै मानवीय कल्याणमा आधारित सिद्धान्तलाई अंगालेर खाद्यान्न अभावको जोखिममा पर्न सक्ने लाखौँ मानिसलाई जोगाउन इच्छुक हुनुपर्छ। युक्रेनले पुटिन एक व्यक्ति भएको र एक व्यक्तिको अडिग व्यवहारले लाखौँको ज्यान गुमाउन नहुने भनी जोड दिएको छ। युक्रेनले थप तर्क गर्छ कि टर्कीले मोन्ट्रियल सम्मेलनको धारा १९ लाई बलपूर्वक लागु गर्नैपर्छ जसले सबै युद्धरत रुसी युद्धपोतहरूलाई टर्कीको बोस्पोरसको जलडमरू पार गर्नबाट रोक्न सक्नेछ। तर टर्की नाटोको एक सदस्य राष्ट्र र ओटोम्यान साम्राज्यको समयदेखि टर्की–रसियाको कट्टर प्रतिद्वन्द्वी भए तापनि वर्तमानमा दुईतिहाइ वार्षिक पर्यटकहरू, कच्चा पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास र हतियारहरू रुसबाट लिने गरेकोले टर्की तुरुन्तै रुसको विरुद्धमा लागिहाल्ने सम्भावना कम छ। टर्कीको वर्तमान संकटको बेला कुन दिशामा जान्छ भनेर भविष्यवाणी गर्न सजिलो छैन किनभने टर्कीको पश्चिमी देश युक्रेन र रसियासँगको व्यवहार खासै स्पष्ट छैन। टर्कीले एकतर्फ रुसविरुद्धको लडाइँमा युक्रेनी सेनालाई आफ्ना दर्जनौँ उच्च प्रभावकारी युद्ध ड्रोन बेचेको छ भने अर्कोतर्फ पश्चिमा मुलुकहरूको आग्रहमा रुसमाथि कुनै पनि आर्थिक प्रतिबन्ध लगाउन अस्वीकार गरेको छ। समग्रमा, टर्की नाटोको सदस्य भए पनि सिद्धान्तहरूको पालना गर्नुको सट्टा आफूलाई फाइदा हुने जुनसुकै नीतिलाई पछ्याउँदै आइरहेको छ।  

पछिल्ला दिनहरूमा रुस र पश्चिमी देशहरू रुस–युक्रेन युद्ध किन भयो भनी एकअर्कालाई दोषारोपण गरिरहेका छन्। मस्कोले पश्चिमी देशहरूले आफूमाथिको आर्थिक नाकाबन्दी हटाएमा मात्र युक्रेनी खाद्यान्न ढुवानी हुन दिने प्रस्ताव गरेको छ। पश्चिमी देशहरूले रुसको उक्त प्रस्तावलाई विश्वास गर्ने सम्भावना कम छ।  

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले पनि पश्चिमी देशहरूले रुसमाथि लगाएका केही प्रतिबन्धहरू हटाउने र बदलामा रुसले युक्रेनी खाद्यान्न निर्यातमा लगाइएको नाकाबन्दी हटाउन सहमत हुनुपर्ने सुझाव दिएका छन्। महासचिव गुटेर्रेसका अनुसार बेलारुसबाट मलहरू पनि अन्तर्राष्ट्रिय बजारहरूमा आउन अनुमति दिनुपर्छ। तर यो प्रायः असम्भव देखिन्छ किनभने रुसी सेनाले युक्रेनमा संघर्ष जारी राखेको छ र युक्रेनी युद्धभूमिमा चाहेको सफलता हासिल गर्न असफल भएको छ। रुसका लागि युक्रेनी अनाजहरू अवरुद्ध गर्नु युक्रेनी अर्थतन्त्रलाई आफ्नो अधीनमा राख्ने प्रमुख रणनीति हुन सक्छ। तर यो नीतिले मध्यपूर्व, उत्तर अफ्रिका र पूर्वी अफ्रिकामा भोकमरीका कारण लाखौँ मानिसको मृत्यु हुने आवस्था नआउला भन्न सकिन्न।  

रुसले आफ्नो सफलताका लागि खाद्य रोकावट गर्नुपर्छ भन्ने सोच्छ भने यो केवल एउटा ठूलो मानव त्रासदी हुनेछ। निरन्तरको युद्ध, खाद्यान्न रोकावट र भोकमरीले ठूलो स्तरको अस्थिरता निम्त्याउने छ जसले बसाइँ–सराइलाई बढावा दिन सक्छ। यो पलायनले युरोपेली संघलाई सन् २०१५ मा मध्य पूर्वी र पूर्वी युरोपेली मुलुकहरूबाट अनियन्त्रित आप्रबास भएको स्थितिमा पु र्‍याउने छ जहाँ युरोपले लाखौँ शरणार्थीलाई मानवीय आधारमा स्वीकार गर्न बाध्य भएको थियो। हाल युरोपमा झण्डै ८० लाख युक्रेनी शरणार्थी थपिँदा युरोपेली देशहरूमा असहनीय बोझ थपिएको छ। मध्य पूर्व र उत्तर अफ्रिकाबाट हुन सक्ने थप आप्रबासनले युरोपमा २१औँ शताब्दीकै ठूलो मानवीय प्रकोप सिर्जना गर्नेछ।  

मल र इन्धनको पनि अभाव  

हाल विश्वभर रासायनिक मलको ठूलो अभाव छ। रुस र बेलारुसले विश्वको रासायनिक मलको लगभग २० प्रतिशत निर्यात गर्छन् र हाल तिनीहरूको मूल्य गत वर्षको तुलनामा दोब्बर भन्दा बढी भएको छ गत वर्ष आँधीका कारण अमेरिकामा पनि मल उत्पादन अवरुद्ध भएको थियो। विश्वको तेस्रो ठूलो युरिया मलको निर्यातकर्ता चीनले गत डिसेम्बरमा शून्य कोभिड लकडाउन नीतिका कारण नाइट्रोजन मलको उत्पादन घटेपछि यसको निर्यातमा प्रतिबन्ध लगाएको थियो। युक्रेनमा आक्रमण गरेपछि रुसमाथि लगाइएका पश्चिमी प्रतिबन्धहरूको बदलामा मस्कोले आफ्नो सबै मल निर्यात रोक्ने निर्णय ग र्‍यो। यसले विश्वव्यापीरूपमा मलको अभाव भएको छ। रसिया औद्योगिक मल उत्पादन तथा निर्यातमा विश्वमा तेस्रो स्थानमा छ। विश्वका २१ देशले आफ्नो मलको ३० प्रतिशतभन्दा बढी मल रुसबाट आयात गर्ने भए पनि अब रुसबाट मल नलिने भएका छन्। यसले गर्दा विश्वभर मलको मूल्य आकाशिएको छ। परिणामस्वरूप, विश्वमै सबै प्रकारका बालीको उत्पादनमा कमी आउन सक्नेछ। उत्पादनमा आउने कमीले भोकमरी मात्र नभई इन्धनको मूल्यमा पनि चर्को वृद्धि हुनेछ किनभने विश्वव्यापी अन्नको १० प्रतिशत जैविक इन्धन उत्पादनमा प्रयोग गरिन्छ। त्यस्तैगरी विश्वमा उत्पादन हुने करिब ४० प्रतिशत अन्न पशुहरूलाई खुवाउन प्रयोग गरिन्छ। जब अन्न उत्पादनमा कमी हुन्छ, यसले मासु र दुग्धजन्य पदार्थको उत्पादन घटाउँछ र तिनीहरूको मूल्य पनि तीव्ररूपमा बढ्ने हुन्छ।  

सन् २०२१ मा चीनले आफ्ना पशु, खासगरी सुँगुरहरूलाई खुवाउन झण्डै ३ करोड टन मकै आयात ग र्‍यो जुन युक्रेनले सामान्यतया एक वर्षमा निर्यात गर्ने भन्दा बढी हो। अमेरिकामा मकैको कुल उत्पादनको एकतिहाइ र युरोपेली देशहरूमा लगभग ४० प्रतिशत अन्न पशुहरूलाई खुवाउन प्रयोग गरिन्छ। जब अन्न उत्पादनको कमी हुन्छ, यसले मासु र दुग्धजन्य पदार्थको उत्पादन घटाउँछ। यसको मतलब खाद्यान्न उत्पादनमा आएको गिरावटसँगै मासु र दुग्धजन्य पदार्थको मूल्य पनि तीव्ररूपमा बढ्ने हुन्छ। यी कारणले गर्दा मानव कुपोषणमा पनि वृद्धि भै औषधि उपचारमा अत्यधिक बजेटको जोहो गर्नुपर्नेछ। कुपोषणबाट हुन सक्ने बहुआयामिक प्रभावहरू, जस्तै– अक्षम कार्य प्रदर्शनको त वर्णन गरिनसक्नु हुन्छ।

अन्त्यमा,

विश्वले जलवायु परिवर्तन, कोभिड–१९, आन्तरिक र बाह्य राजनीतिक द्वन्द्व, र बढ्दो मुद्रास्फीतिमाझ खाद्य ऊर्जा र मलको अभाव अथवा मूल्य वृद्धि भोगिरहेको छ। रुस–युक्रेन युद्धले यसमा ऊर्जा थपेको छ। संयुक्त राष्ट्रसंघको प्रतिवेदनले पछिल्लो दुई वर्षमा पूर्णरूपमा खाद्य असुरक्षित व्यक्तिको संख्या दोब्बर भएको देखाएको छ। यस वर्ष देखिएको खाद्य संकट अर्को वर्ष झनै विकराल हुने सम्भावना छ। त्यसकारण अन्तर्राष्ट्रिय समुदायले अहिले भैरहेको रुस–युक्रेन युद्धलाई जति सक्दो चाँडो अन्त्य गराउन, युक्रेनको खाद्य उत्पादन र रसियाको खाद्यान्न र मल विश्व बजारमा सुचारुरूपमा पठाउन पहल गर्नु जरुरी छ। रुस–युक्रेन युद्धको विश्वव्यापी असरले नेपाललगायत दक्षिण एसियाका मुलुकहरूलाई पनि कुनै न कुनै तवरबाट प्रभाव परेको छ। इन्धनको मूल्य बढेसँगै यातायात, खाद्य पदार्थलगायत सबैखाले सामग्रीको मूल्य वृद्धि भएको छ। रासायनिक मलको अभाव चर्किएको छ। गहुँको मूल्य आकासिएसँगै विश्वको दशौँ गहुँ निर्यातक भारतले निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ। भारतसँग अन्य खाद्यान्नको पनि अभाव भयो र निर्यात गर्न रोक्यो भने त्यसको प्रत्यक्ष असर नेपालमा पर्नेछ। विभिन्न निकायमार्फत नियमित बजारको अनुगमन गर्ने, उत्पादक र उपभोक्ताबीचको दूरी कम गर्ने, उत्पादकमुखी कार्यक्रमहरू लागु गर्ने, युवाहरूलाई उत्पादन र बजार व्यवस्थापनमा प्रोत्साहन गर्ने, आवश्यकतामा आधारित ऋण प्रवाह गर्ने आदि आजको आवश्यकता हो। तसर्थ नेपाल जस्ता कृषिमा आधारित अर्थतन्त्र भएका मुलुकले खाद्य तथा वित्तीय संकट कम गर्न र सामाजिक सुरक्षा बढाउन सबै सम्भावित स्रोतहरूको तत्काल परिचालन गर्नुपर्दछ र वास्तविक किसान पहिचान गरी उत्पादन र बजार व्यवस्थापनमा राज्यले विशेष सहयोग गर्नुपर्दछ।

(भट्टराई– प्राध्यापक, भूगोल /थापा– सहायक प्राध्यापक, कृषि विज्ञान। युनिभर्सिटी अफ सेन्ट्रल मिसौरी, वारेन्सबर्ग, मिसौरी, अमेरिका)

प्रकाशित: ९ श्रावण २०७९ ०१:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App