५ माघ २०८२ सोमबार
image/svg+xml
विचार

रावण महिमाको सार्थकता

सामाजिक, सांस्कृतिक र प्राकृतिक सम्बन्धलाई राजनीतिक सम्बन्धले खण्डित गर्न सक्दैन। यदाकदा त्यसले असर भने गर्न सक्छ। भारतीय नाकाबन्दी र मधेस विद्रोहबीच जनकपुरमा यसपालि विवाह पञ्चमीमा भएको झडपले यही साबित गर्छ।राष्ट्रपति विद्या भण्डारीको आगमनमा मधेसवादी आन्दोलनकारीले अवरोध गरे पनि विवाहमेला रोकिएन। काठमाडौँ, अयोध्या र आसपासबाट यसपालि विगतमा जस्तो ठूलो संख्यामा जन्ती सहभागी हुन भने पाएनन्। स्थानीय युवाको पहलमा ढिलै भए पनि जानकीको डोला जनकचोक, शिवमार्ग, कर्मचोक, तिरहुतिया गाछी, जानकीनगर हुँदै बाह्रबिघामा पुर्याभइयो। भक्तजनले जानकीको पतिव्रत, सहनशीलता, त्याग र बलिदानको गाथा गाउँदै यसपालिको विवाह पञ्चमी सकियो।

रामायणको पुनर्पाठ
रामायणको प्रसंग उठ्नेबित्तिकै मलाई भारतीय निर्देशक मणिरत्नमको सिनेमा 'रावण' को सम्झना हुन्छ। यसले वाल्मीकि र तुलसीदासकृत रामायणप्रतिको प्रचलित अवधारणालाई पूरै भत्काइदिन्छ। अभिषेक बच्चन, ऐश्वर्या राय, गोविन्दाले अभिनय गरेको रावणमा रामायणसँग मिल्दोजुल्दो आधुनिक कथा छ। यसमा राम होइन, रावण नायक छ। सीता कमजोर पात्र छैनन्। आफ्नो अनुपम प्रेमको प्रतिदानमा रामबाट क्रूरतापूर्ण आशंकापछि उनी आत्महत्या गर्दिनन्, बरू रावणकहाँ फर्केर जान्छिन्।

वाल्मीकि रामायण कथाअनुसार रावणले त्यसै सीताहरण गरेका थिएनन्। रावणकी बहिनी शुपर्णखाले रामसँग मोहित भएर विवाहको प्रस्ताव राखिन्। रामले आफू विवाहित भएकाले लक्ष्मणलाई देखाइदिए। उनी लक्ष्मणकहाँ गइन्। लक्ष्मण पनि उर्मिलासँग विवाहित थिए। रिसाहा लक्ष्मणले नाक, कान, चुल्ठो काटेर फर्काइदिए। रावणले यसकै प्रतिशोध लिन सीताहरण गरे। अपहरण गरे पनि सीताप्रति उनले बिहेको आग्रहबाहेक कुनै जबर्जस्ती गरेनन्। सीतालाई सीधै अन्तःपुर नलगी अशोकवाटिकामा राख्नु र उनको इच्छाविरुद्ध कुनै काम नगर्नु रावणको उच्च नैतिक व्यवहार थियो। रावणकै भाइ विभीषणको सहारा लिएर रामले रावणवध र सीतालाई मुक्त गराए। रावणको दरबारमा त्यत्रो समय बसेकी सीताप्रति रामलाई शंका थियो। 'कुनै तुच्छ नारीका लागि नभई शत्रुसँग बदला लिन' लंका आक्रमण गरेको भन्दै रामले सीतावरण गर्न अस्वीकार गरे। आखिर सीताले अग्निपरीक्षा दिनुपर्योई। उनी सफल भइन्। पछि फेरि एउटा धोबीको आक्षेपलाई निहुँ बनाउँदै गर्भवती सीतालाई उनले बाघभालुको दयामा घना जंगलमा छाडिदिए। अन्ततः सीताले आत्महत्या गर्नुपर्योँ।

मणिरत्नमको सिनेमामा भने रावणको भूमिकामा आदिवासी विद्रोही युवक वीरा छ। सिनेमामा आदिवासी रहनसहन, विद्रोहको तयारी, छापामार युद्धको अभ्यासको अत्यन्त मोहक चित्रण छ। प्रहरीद्वारा आफ्नी बहिनीमाथि बलात्कारको बदला लिन ऊ प्रहरी अधिकारी देवकी सुन्दरी पत्नी रागिनीलाई अपहरण गर्छ। अपहरितलाई ऊ अत्यन्त मानवीय व्यवहार गर्छ। १४ घन्टाभित्र हत्या गर्ने घोषणालाई रद्द गर्छ। थाहै नपाई ऊ रागिनीसँग प्रेम गर्न थाल्छ र बिहेको प्रस्ताव राख्छ। अस्वीकृति र तिरस्कारलाई स्वाभाविक मान्दै ऊ रागिनीको अस्मिताको सम्मान गर्छ। शान्ति सम्झौता गर्न गएको उसको भाइ देवलाई प्रहरी अधिकारीले गोलीले उडाइदिन्छ। 'लंका' जलाउन आएको 'हनुमान'लाई भने पक्राउ गरे पनि ऊ मार्दैन। देवलाई जिउँदै छाडिदिने सर्तमा रागिनी वीरासँग बस्न राजी छु भन्छे। रागिनीको असीम प्रेम देखेर देवलाई ऊ जिउँदै छाडिदिन्छ र रागिनीलाई मुक्त गर्छ। तर, देव रागिनीलाई बिटुलिइसकेकी आरोप लगाउँदै अस्वीकार गर्छ। निराश 'सीता' रावणकहाँ फर्कन्छे। प्रहरी अधिकारी सशस्त्र फौजसहित निहत्था र एक्लो विद्रोहीमाथि आक्रमण गर्छ। ढाल बनेर उभिएकी 'सीता'लाई पन्छाउँदै 'रावण' वीरतापूर्वक मृत्युवरण गर्छ। इतिहास वा पुराणमा वर्णन गरिएजस्तै के सबै विजेता सही र सत्यको प्रतीक हुन्छन्? एउटा गम्भीर प्रश्न दर्शकलाई छाडेर चलचित्र सकिन्छ।

आत्मबलिदानी सीता
सीतालाई नेपालभूमिकी विभूति मानिन्छ। विभूति भनेपछि पक्कै ती प्रेरणादायी पात्र हुनुपर्छ। तपाईं–हामीले सानैदेखि आदर्श नारीका रूपमा सीताको जीवनी पढ्दै आएका हौँ। हलो जोत्दा प्राप्त भएकी वाल्मीकि रामायणको कल्पनाशील कथालाई थाँती राख्ने हो भने अनुमानित ६ हजार वर्षअघि तत्कालीन मिथिलाका राजा शीरध्वज जनक र रानी सुनयना सीताका मातापिता थिए। सीता अत्यन्त सुन्दरी, सुशीला, मातापिता र ईश्वरप्रति भक्तिभाव राख्ने युवती थिइन्। उमेर पुगेपछि राजा जनकले सीताको भव्य सार्वजनिक स्वयम्बर आयोजना गरे। युवतीले योग्य र वीर पति रोज्ने यो गज्जबको तरिका थियो। दरबारमा रहेको शिवधनु खैँचेर तोड्न सक्ने पुरुषसँग सीताको विवाह हुने भयो। कसैले गर्न नसकेको यो काम अयोध्याका राजा दशरथका छोरा रामले सजिलै गरिदिए र सीताजस्ती सुन्दरी पत्नी पाए।

वीर क्षत्रीय पुरुषलाई पति पाउनु सीताका लागि सौभाग्य हुँदो हो। तर, त्यसपछि नै उनको दुःखका दिन सुरु भएका हुन्। सौतेली सासू कैकेयीको इच्छा र ससुरा दशरथको आज्ञा शिरोपर गर्दै पति र देवरसँगै उनी १४ वर्ष वनवास गइन्। दण्डकारण्य वनमा कुटी बनाएर बस्दा उनले अभाव र कष्टका अनेक किस्सा झेल्नुपरेको हुँदो हो। त्यसै क्रममा लंकापति रावणले उनलाई अपहरण गरे। बिहेको प्रस्तावबाहेक उनले कुनै जबर्जस्ती गरेनन्। किष्किन्धाका सुग्रिब र हनुमानको नेतृत्वमा रहेका बानर जाति अनि रावणकै भाइ विभीषणको गोप्य सहयोगमा रामले रावणको बध गरे।

पतिले आफूलाई मुक्त गरेको खबर पाउँदा अपहरित पत्नीलाई कति खुसी लाग्दो हो! सीतालाई भने यो कुरा ठ्याक्कै उल्टो भयो, जब रामले उनको सतित्व र चरित्रमाथि शंका गरे। रामायणको युद्धकाण्डअनुसार 'सीतालाई देखेर रामको क्रोध त्यसैगरी बढ्यो जसरी घिउको आहुति पाउँदा आगो भर्भराउँछ।' राम भन्छन्, 'मैले यो युद्ध तिम्रो मुक्तिका लागि होइन, आफ्नो दुःख दूर गर्न, लोकनिन्दाबाट बच्न र कुलमा कलंक लाग्न नदिन लडेको हुँ। यति लामो समय रावणकहाँ रहेकीले मलाई तिम्रो चरित्रमा सन्देह छ। तिमीलाई देख्दा दुःखेको आँखालाई बत्तीले जस्तै मलाई कष्ट हुन्छ। जहाँ मन लाग्छ जाऊ, म तिमीसँग कुनै सम्बन्ध राख्न चाहन्नँ।' लगत्तै उनी सीतालाई 'भरत, लक्ष्मण, सुग्रिब जससँग मन लाग्छ बसे हुन्छ' भन्छन्। अन्ततः सीताले अपमानको आगो निल्दै सबैका सामु सतित्वको परीक्षा दिनुपर्योछ जसमा उनी सफल भइन्। पौराणिक साहित्यकी ज्ञाता डा. वीणा पौडेल आफ्नो पुस्तक 'वेद पुराणका केही रत्नहरू' मा प्रश्न गर्छिन्, 'अग्निपरीक्षा आवश्यक भए राम, सीता दुवैको हुनुपर्थ्यो। तर, सीताले यो माग गरिनन्।' पछि फेरि लोकनिन्दाबाट बच्ने निहुँमा रामले गर्भवती सीतालाई दरबारबाट निष्काशित गरी जंगलमा छाडिदिए। अन्ततः आफ्ना दुई छोरा लव र कुशलाई बाबुको जिम्मा लगाएर सीताले आत्महत्या गर्नुपरेको प्रसंग हृदयविदारक छ।

आदर्श नारी
सीताको सौन्दर्य, सुशीलता, सहनशीलता, पतिव्रत, कमनीयता अनुकरणीय भए पनि संघर्षहीनताले उनको नारित्व अपूर्ण लाग्छ। उनी आत्मसमर्पण र पलायनकी पनि पर्याय लाग्छिन्। 'रामायणः एक अध्ययन' का लेखक भारतीय समाजशास्त्री प. ह. गुप्ताले भनेजस्तै उनका यी 'गुण'लाई धार्मिक आस्थामा सीमित राख्नु जरुरी छ। सीताकै उत्तरदान धानेर नेपाल र भारतका हाम्रा दिदीबहिनी अहिले पनि ज्युँदै जलिरहेका छन्। विवाह पञ्चमीमा संलग्न धर्मभीरु जनताले यो कुरा कति महसुस गरेका होलान्? धर्मभीरु आँखाले हेर्नु बेग्लै कुरा, नत्र नेपालभूमिकी छोरी र क्षत्रीय वीर रामकी पत्नी हुनुमात्र उनको महानता होइन। सौन्दर्य, पतिव्रत र समर्पणभावले मात्र आधुनिक युगमा प्रेरणा दिँदैनन्। मानव र नारी जातिको उत्थानमा सीताको योगदान के हो? उनलाई विभूति वा आदर्श नारी मान्दा अब यो प्रश्न उठाउनु जरुरी छ। अनि हाम्रा धर्मभीरु नारीवादीहरू? के ती पनि सीतालाई विभूति मानेर चुपचाप बसिरहेका होलान्?

प्रकाशित: २ पुस २०७२ २२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App