जस्तोरूपको भारत भए पनि विकल्प भारत नै थियो, छ र रहने छ। यो निर्विकल्प भारतबाट नेपालले आफूलाई समृद्धशाली उच्चस्तरीय जीवनपद्धतिको राष्ट्रमा परिणत गर्ने कि निर्धन न्यूनस्तरको राज्यकै वर्तमान रूप कायम राख्नेमा मात्र भने हामीसित विकल्प छ। विभिन्न अपरिवर्तनीय कारणले विश्वशक्ति बन्दै गरेको भारत र हामी नेपाल, बराबर त हुँदै होइनौ। भारतको विविध संवेदनशीलताप्रति गम्भीर भएर तथा आफ्नै मानसम्मानको लक्ष्मणरेखासमेत किटान गरेर पनि हामी बराबरीको हैसियत तथा सम्मान भारतबाटै लिन सक्छौँ। कूटनीति भनेको यसैका लागि हो। यद्यपि, कूटनीतिमाथि राजनीति र राजनीतिमाथि सत्तानीति हावी भएकाले नै समस्याहरू उत्पन्न भएका हुन्। मेरा यी भनाइले कति राष्ट्रवादीहरूका कन्सिरीका रौँ उत्तेजित होलान्! तर, ती रौँ नामक पुर्जा उत्तेजित हुनका लागि आवश्यक ऊर्जा पनि भारतमै भर पर्नुपर्छ।
सत्यतथ्य यही हो। हाम्रो राष्टरूवाद– भित्र खोक्रो, बाहिर बोक्रो, खाली धोक्रो! प्रगति केन्द्रित छैन राष्ट्रवाद, राष्ट्रकेन्द्रित पनि छैन राष्ट्रवाद, भारतकेन्द्रित छ नेपाली राष्ट्रवाद। जबजब भारतले केही नराम्रो गर्छ या कुनै भारतीयले बुद्ध भारतमा जन्मिएको भन्छ या जलस्रोतलगायतका स्रोतसाधनका विषयमा भारतको सहभागिताको चर्चा चल्छ या पुरानो सीमा समस्याको चर्चा चल्छ, अचानक हाम्रो खोक्रो राष्ट्रवादमा गुदी भरिन्छ र हामी राष्ट्रवादी बनेर आपसमा कराउन, चिथोर्न थाल्छौँ। आफ्नै गाडी जलाउँछौं, बार तोड्छौँ, निर्दोष मान्छे माछर्ौं, आफैले सहिद घोषणा गर्दै १० लाख माग्छौँ। अनि सेलाउँछ हाम्रो राष्ट्रवाद– अर्को कुनै भारत विषय प्रसंगले कन्सिरीका रौँ फेरि उत्तेजित नभएसम्मका लागि। तर, सत्य यही हो यो असारे राष्ट्रवादको च्याउ उमार्न पनि भारत तŒवमात्रै हुन पुग्छ, एकमात्र विकल्प। विश्वले मानिसकेको सत्यका रूपमा लुम्बिनी यथास्थानमा हुँदा पनि हाम्रा चिन्ताग्रस्त राष्ट्रवादले निश्चिन्तता पायो मोदीले बुद्धबारे घोषणा गरेपछि मात्र! अर्थात् बुद्धको नागरिकतामा मोदीको दस्तखत भेटेपछि या लुम्बिनीको लालपुर्जा मोदीले दिएपछि मात्र। बुद्धको बारे चिन्ता र निश्चिन्तताका तŒवको विकल्प पनि भारतै रहेछ हाम्रो मनमस्तिष्कमा! विश्वले सम्पदा (हेरिटेज) मान्दा पनि हामी विश्वस्त बन्न नसक्नुको हीनताबोध नै हाम्रो मानसिकतामा भारतीय निर्विकल्पताको स्थापित एक अकाट्य सबुत हो।
भारतको निर्विकल्पता पछाडि धेरै कारण यहाँ उतार्न सकिन्छ। आर्थिक, सामाजिक, राजनीतिक, ऐतिहासिक, सामरिक, भौगोलिक इत्यादि। आर्थिक, सामाजिक तथा राजनीतिक कारणमा परिवर्तन ल्याउन नेपाललाई कठिन भए पनि असम्भव छैन। हुन त त्यसका लागि पनि भारतकै सद्भाव निर्विकल्प छ। सामरिक परिस्थिति र सामरिक चासोका तŒवहरू पनि समयकालमा स्वतः परिवर्तन हुन सक्छ। शत्रु राष्ट्र मित्र बन्छन्। भारतको जमिन चिनियाँ कब्जामा रहँदारहँदै पनि भारत र चीनका बहुआयामिक सम्बन्धको विकास तथा भारतलाई दक्षिण एसियाको विषालु कन्टक ठान्ने अमेरिकाले भारतीय आँखाले नेपाललगायत दक्षिण एसियालाई हेर्न पुगेका घटनाजस्ता अनेक तथ्यले सामरिक कारणमा परिवर्तन आउँछ भन्ने प्रष्ट हुन्छ। आमजनताको जनजीवनमा अमानवीय व्यवहार हुँदा पनि अमेरिका र चीन मौन रहनु यही सामरिक कारणको परिवर्तनको संकेत हो। कोही बोलिरहेछ अहिले? युएन प्रवक्ताले समेत संविधान विषय भारतको फोटोकपी किन जारी गर्योन? १९६२ मा चिनियाँ रक्षा मन्त्रीले 'नेपालमाथिको हस्तक्षेप(आक्रमण) चीनमाथिको हस्तक्षेप सम्भि्कइनेछ' भनेका थिए। त्यसबेलाको सामरिक कारण बेग्लै थियो। त्यही सम्झेर हामी आजसम्म पनि भारतको विकल्प चीन भन्दै हावादारी आत्मरतिमा राहत खोज्छौँ! परन्तु, अचेल भारतसित बढी सम्बन्ध राख भनेर चीन आफै सुझाव दिन्छ। चीनका लागि सामरिक तŒवमा नेपाल अपरिहार्य प्राथमिक राष्ट्र हुन सक्दैन। कथंकदाचित हो नै रहेछ भने पनि भूगोलले अर्थात् भौगोलिक कारण भारतको विकल्प चीन बन्नै सक्दैन।
यही भौगोलिक कारणले गर्दा नै जसरी चीन नेपालका लागि कुनै पनि विषयमा कहिले पनि विकल्प हुन सक्दैन, त्यसरी नै हाम्रा लागि निर्विकल्प भारत हुनुको अपरिवर्तिनीय कारण नै हो भूगोल अर्थात् भौगोलिक कारण। स्विजरल्यान्डसरह विकसित भयौँ भने पनि यही भौगोलिक कारणले नेपालका लागि भारत एकमात्र निर्विकल्प सत्य रहिरहने तथ्य हो। प्रष्ट भन्दा, भौगोलिक कारण हाम्रा लागि प्राकृतिक अभिशाप हो। यसलाई हामीले भौगोलिक भूल अर्थात् 'जोग्राफिकल ब्लन्डर' भन्न सक्छौँ। यही जोग्राफिकल ब्लन्डरले भारत हाम्रा लागि निर्विकल्प बनेको हो। हुन त भारतका लागि पनि यही भौगोलिक कारणले नेपाल पनि कतिपय हदसम्म निर्विकल्प हो पनि। पहाडबाट मधेस छुट्याउने इन्दिरा डक्ट्रिनको जन्म र आजसम्म त्यो कायम हुनु तथा मोदीलगायतबाट पनि सोही डक्ट्रिनलाई कार्यान्वयन गर्न प्रत्यक्ष हस्तक्षेप गर्नुको मूल कारण नेपालको जोग्राफिकल ब्लन्डर नै हो।
यसको अर्थ भारतीय हैकममा बस्नु नै हो त? राजाहरूले राष्ट्रवादको परिभाषा 'भारतविरोध' बनाए। परिवर्तनपछि नेताहरूले सत्ताका लागि भारतीय शक्तिकेन्द्रलाई नै भारत भन्ने सम्झे। मित्रलाई मालिक बनाएपछि हैसियत बराबरीको हुँदैन। दिने र लिनेको सम्बन्धले दिनेमा हैकमवाद तथा प्रभुताको बोध अर्थात् मालिक हुनुको अहंकार र शक्ति स्वतः उत्पन्न हुन्छ। यी दुवै तरिकाले नेपालको विकासका लागि भन्दा विनाशका लागि भारतीय निर्विकल्पता हर क्षेत्रमा उपयोग हुँदै गयो। राष्ट्र झन्झन् निरीह बन्दै गयो। गिरिजाप्रसाद कोइरालाले आफूलाई राष्ट्रपति बनाउन प्रचण्डलाई सम्झाइदिन भारत गुहार्नु, बर्खास्त सेनापति रुक्मांगद कटवालले सरकारको निर्णय खारेज गर्न दिल्लीमा बिन्ती गर्नु र भारतीय निर्देशन राष्ट्रपतिले मान्नु तथा मधेसी दलले नाकाबन्दी गर्न मोदी गुहार्नुजस्ता कार्य समान निरीहताका लक्षण हुन्। अहिले मधेसी नेतालाई मात्र केको भारतीय दलालीको आरोप? नटेरे बापत् बालकझैँ उहिले राजीव गान्धीले र अहिले मोदीले कानसमातेर उठबसको दण्ड दिने स्थिति नेताहरूको दासमनोवृत्तिले नै निम्त्याएको हो। भारतमाथि औँला ठड्याउनु बेकार! आफ्नै छोरी नखरमाउली गाउँका ठिटाहरूलाई केे दोष भनेझैँ हो यो!
यही भारतीय परानिर्भरतालाई हाम्रो शक्ति बनाएर आर्थिक उन्नति गर्न उताको वर्तमान विकसित संरचना र स्रोत तथा विज्ञानबाट अधिकतम लाभ लिनुको विकल्प छैन। परन्तु, हाम्रो सचेतता प्रष्ट रहनुपर्छ कि– भाइचारा सम्बन्ध र समझदारीको सही उपयोगबाट पूर्णतया निर्भर भारतसितको सम्बन्धलाई सार्वभौमिकताको दृष्टिकोणले बराबरीको हैसियतमा पुर्यापउने। यही जोग्राफिकल ब्लन्डरलाई जोग्राफिकल बुन बनाउन सकिन्छ, किनभने भारत स्वयं नेपालको यही जोग्राफिकल ब्लन्डरका कारण कतिपय विषयमा नेपालनिर्भर छ।
अन्त्यमा, चीन–नेपालबीच धेरै नाका खुल्नु, ब्यापार बढाउनु लाभदायक हो, परन्तु भारतको विकल्प चीन भन्ने सोच्नु नेपालको जोग्राफिकल ब्लन्डरबारे पटक्कै नबुझ्नु हो। तर पनि आत्मनिर्भर बन्न सकेको अवस्थामा तथा भारतलाई आवश्यक बत्तीको रिमोट स्विच हामीसित हुन सकेको अवस्थामा भने अहिलेजस्तो कान समातेर उठबस गराउने सपना पनि देख्ने छैनन् भविष्यका मोदीहरूले।
प्रकाशित: १९ मंसिर २०७२ २०:३६ शनिबार