त्रिविको एकचालीसौँ दीक्षान्त समारोह आज दशरथ रंगशालामा सम्पन्न हुँदै छ । अर्थात् हजारौँ विद्यार्थी त्रिविको अघोषित अलुम्नाइ बन्दैछन् । दीक्षान्त समारोहको महŒव विद्यार्थीका लागि कति धेरै हुन्छ भनेर कसैले भनिरहनु पर्दैन । अध्ययन पूरा गरेपछि विशेष समारोहमा ससम्मान सर्टिफिकेट प्राप्त गर्ने हरेक विद्यार्थीको सपना हुन्छ । यही भएर विश्वभर दीक्षान्त समारोहमा आफ्ना आदरणीय बुवा–आमा, अग्रज वा अभिभावकलाई पनि सरिक गराइन्छ । विशेष पोसाकमा सजिएका विद्यार्थी, विशेषज्ञ तथा आमन्त्रित विशिष्ट व्यक्तित्वको समारोहमा जमघट हुन्छ । दीक्षान्त समारोहबाट सर्टिफिकेटसहित सम्मानित विद्यार्थी थप आत्मविश्वासका साथ विश्वविद्यालय वा क्याम्पसबाट बाहिरिन्छन् । नयाँ अध्ययन–अनुसन्धान वा पेशागत कार्यमा संलग्न हुन्छन् । व्यावसायिक ज्ञानले थप परिष्कृत बन्छन् । आर्थिक उन्नतिका साथै मानसम्मान र इजजत–प्रतिष्ठा कमाउँछन् । भूतपूर्व विद्यार्थीको विज्ञतालाई विश्वविद्यालयको दीर्घकालीन हितमा प्रयोग गर्न विश्वका प्रायः क्याम्पस वा विश्वविद्यालयले आफ्नो संस्थाबाट दीक्षित विद्यार्थीलाई अलुम्नाइ एसोसिएसनमार्फत् सम्पर्कमा राख्ने गरेको पाइन्छ ।
दीक्षान्त समारोहबाट प्रमाणपत्र प्राप्त गरेपछि दीक्षित क्याम्पस वा विश्वविद्यालयको विद्यार्थी भूतपूर्व बन्छन् । त्रिविको भूतपूर्व विद्यार्थी अर्थात् अलुम्नाई प्रति वर्ष हजारौँको संख्यामा बढ्दैछन् । विद्यार्थीको भारवहन तथा विशालताको हिसाबले त्रिवि विश्वकै 'उत्कृष्ट १०' विश्वविद्यालयमा पर्छ । बहुविश्वविद्यालय अस्तित्वमा आइसकेका भए पनि अझै त्रिविले झन्डै ९० प्रतिशत उच्च शिक्षाको भारवहन गरिरहेको देखिन्छ । सन् २०१४–२०१५ मा त्रिविमा ४ लाख ५ हजार ३ सय ४१ विद्यार्थी विभिन्न विषयमा भर्ना भएका छन् । त्रिविमा अहिले ७ हजार ९ सय ६६ शिक्षक र ७ हजार २ सय ३० कर्मचारी कार्यरत छन् । आफ्नो ५६ वर्षे इतिहासमा एकचालीसौँ पटक दीक्षान्त समारोहको आयोजना गरिसकेको त्रिविले आजसम्म कति लाख विद्यार्थी उत्पादन गरिसक्यो त्यसको लेखाजोखा छैन ।
हुनत विश्वविद्यालयको प्रमुख काम विद्यार्थीलाई अध्यन–अध्यापन गराउने, अनुसन्धान गर्न अभिप्रेरित गर्ने, आफ्नो क्षेत्रमा विज्ञता हासिल गराउने र अन्त्यमा सक्षम नागरिक उत्पादन गरेर मुलुक तथा विश्वलाई योगदान गर्न सक्ने जनशक्ति निर्माण गर्ने हो । विश्वविद्यालयले अध्ययन पूरा गरिसकेपछि रोजगारीको निश्चितता गर्ने होइन । सबै जनशक्तिले जागिरै खानुपर्छ भन्ने मान्यताले पनि विश्वविद्यालयले विज्ञ जनशक्ति उत्पादन गरेको हुँदैन । आफ्ना क्षमता, विज्ञता तथा चाहनाअनुरूप उद्योग, व्यवसाय र आवश्यक क्षेत्रमा विभिन्न नयाँ कुराको आविष्कार गर्ने जनशक्तिको उत्पादन कुनै पनि विश्वविद्यालयको बढी प्राथमिकताको कुरा हो । हाम्रो मुलुकमा अध्ययन पूरा गरिसकेपछि जागिरै खानुपर्छ भन्ने मान्यता छ । जागिरको खोजी गर्ने विज्ञभन्दा रोजगारी सिर्जना गर्ने अन्वेषक उद्यमीलाई बढी प्रोत्साहन गर्ने अवस्था तयार भएको छैन ।
त्रिविले आजसम्म कति लाख जनशक्ति उत्पादन गरिसक्यो र तिनको अवस्था कस्तो छ भन्ने विषयमा अब गम्भीर बहस थाल्नु आवश्यक छ । कतिपय अति आवश्यक क्षेत्रमा जनशक्ति अझै न्यून छन् । कतिपय क्षेत्रमा भने विद्यार्थी अति नै बढी छन् । कुन क्षेत्रमा कति विद्यार्थी मुलुकलाई आवश्यक छ र कुन विभागमा आवश्यकता भन्दा बढी उत्पादन भइरहेको छ भन्नेबारेमा वस्तुपरक ढंगले अनुसन्धान भइरहेको छैन । शिक्षा, वाणिज्य र मानविकी तथा समाज शास्त्रमा जति जनशक्ति उत्पादन भइरहेको छ त्यो अनुपातमा विज्ञान र प्रविधिमा किन न्युन छ भन्ने विषयमा गहन बहस भएकै छैन । विद्यार्थी संख्याका हिसाबले भारवहन धेरै हुँदैमा गुणस्तरमा ह्रास हुन्छ नै भन्ने मान्यता कति सही वा गलत हो भन्ने विषयमा पनि खासै छलफल भइरहेको छैन । विद्यार्थी संख्या बढी हुँदैमा गुणस्तरमा ह्रास आउछ भन्ने कुरा सत्य नहुन पनि सक्छ । अहिले त्रिवि केन्द्रीय विभागहरूमा सेमेस्टर प्रणाली लागु गरिएपछि अधिकांश विभागमा विद्यार्थी सिला खोज्नुपर्ने अवस्था छ । ती विभागले उच्च गुणस्तरको जनशक्ति उत्पादन गरिरहेको छ भन्ने कुराको मापन गर्ने कुनै आधार छैन । आजको समयसापेक्ष विषयमा आफ्ना भूतपूर्व विद्यार्थीको वर्तमान र भविष्य कस्तो अवस्थाबाट गुज्रिरहेको छ त्रिविलाई कुनै मतलब छैन ।
विश्वद्यालयका लागि दीक्षान्त समारोह एउटा विशेष दिन हो । दीक्षान्त समारोह दीक्षित विद्यार्थीले औपचारिक समारोहबाट ससम्मान सर्टिफिकेट प्राप्त गर्ने दिनमात्रै होइन, वस्तुतः सबैभन्दा विशाल विश्वविद्यालयको दीक्षान्त समारोह मुलुककै लागि विशेष दिन हो । आमप्राध्यापक, शिक्षक, विद्यार्थी र बौद्धिक वर्गका लागि महŒवपूर्ण दिन हो । दीक्षान्त समारोहमा प्रस्तुत प्रवचन विश्वप्रसिद्ध भएका उदाहरण छन् । कतिपय विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रस्तुत कमेन्समेन्ट प्रवचनलाई विश्वका विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरेर अध्ययन–अध्यापन गरिँदै आएका छन् । त्रिविका अघोषित अनगिन्ती अलुम्नाई विश्वमा सम्मानित भएर बसेका छन् । त्रिविले तिनलाई ससम्मान सम्झन सकेको छैन ।
त्रिविले व्यहोरेको भूकम्पीय क्षतिको परिपूर्ति र पुनर्निर्माण आफ्नो नियमित बजेटबाट सम्भव नदेखिएपछि त्रिवि अलुम्नाई एसोसिएसन निर्माणको पहल थालेको थियो । त्रिविका पदाधिकारीले पूर्व उपकुलपति केदारभक्त माथेमालाई संयोजकको भूमिका निर्वाह गर्न अनुरोध गरी २५ सदस्यीय त्रिवि अलुम्नाई एसोसिएसन र ७ सदस्यीय अलुम्नाइ एसोसिएसन स्थायी समिति प्रारम्भिक चरणमा गठन गरेको थियो । त्यो अभियानले अहिलेसम्म ठोसरूपले अस्तित्व ग्रहण गरेको देखिएको छैन । माथेमाकै संयोजकत्वमा पूर्व उपकुलपतिको अलुम्नाइ त अस्तित्वमा छ, तर त्यो पनि एउटा लुज फोरमका रूपमा मात्रै क्रियाशील देखिन्छ ।
विश्वविद्यालयलाई सिर्जनात्मक सहयोग र बौद्धिक गतिविधि सहजै सगौरव सञ्चालन गर्न यथाशक्य विशुद्ध सेवामूलक उद्देश्यले त्रिवि अलुम्नाइ एसोसिएसन गठन हुन जरुरी छ । शैक्षिक संस्था भनेको पवित्र साझा चौतारी हो । यो कुनै सीमित व्यक्तिको स्वार्थसिद्ध गर्ने स्थल होइन । विश्वविद्यालय स्थानीयतादेखि विश्वजगत्सम्म फैलिएको व्यापक बौद्धिक स्पेस हो । अहिले सहकार्यमा आधारित शैक्षिक अभियानअनुरूप त्रिविले १ सय ५० भन्दा बढी विश्वका प्रख्यात विश्वविद्यालयसँग सहकार्य गर्ने सहमतिपत्र (एमओयु) मा हस्ताक्षर गरी बाहिरी जगत्सँग सम्बन्ध विस्तार गरिसकेको छ । यस्तो अवस्थामा त्रिविका लाखौँ अलुम्नाइ आमा विश्वविद्यालय त्रिविमा आवद्ध नहुनु लज्जाको विषय हो । दशरथ रंगशालाबाट यस वर्ष दीक्षित त्रिविका विद्यार्थीले ५५ वर्षअघिदेखिका आफ्ना अग्रजहरूसँग घोषितरूपमा सम्बन्ध विस्तार गर्ने वातावरण बनाउन सकिएमा सबैलाई फाइदा पुग्नसक्छ । यसबाट मुलुककै शैक्षिक अवस्थाको सुधारमा सकारात्मक प्रभाव पर्नसक्छ ।
प्रकाशित: १५ मंसिर २०७२ २०:०२ मंगलबार

