१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
विचार

त्रिविमा अलुम्नाइ एसोसियसन

विश्वविद्यालयमा विद्यार्थी संगठन भन्नेबित्तिकै अधिकांश मानिसको मनमा एक किसिमको बिम्ब सलबलाउँछ । राजनीतिक विद्यार्थी संगठनको बारेमा नभई भूतपूर्व विद्यार्थी अर्थात् अलुम्नाइका बारेमा चर्चा गर्ने यस आलेखको अभीष्ट हो । अंग्रेजी शब्द अलुम्नाइले विशेषतः कुनै पनि (विश्व) विद्यालयको भूतपूर्व छात्रछात्रालाई जनाउँछ । यो शब्दले साधारणतः भूतपूर्व विद्यार्थीले सञ्चालन गरेको संगठनलाई पनि इंगित गर्छ । विश्वका अधिकांश विश्वविद्यालयमा भूतपूर्व विद्याथी मिलेर विविध सिर्जनात्मक गतिविधि सञ्चालन गर्ने उद्देश्यले अलुम्नाई एसोसिएसनको गठन गर्ने गरेको पाइन्छ ।अलुम्नाइले अध्ययन–अध्यापन पूरा गरिसकेपछि पनि विविध पेसामा आवद्ध पूर्वविद्यार्थीले विश्वविद्यालयमा अध्ययनरत नयाँ पुस्ता तथा प्राध्यापक–कर्मचारीसँग सुमधुर सम्बन्ध स्थापित गर्न मद्दत गर्छ । अलुम्नाइ कुनै विभाग वा संकायमा मात्रै सीमित नरहेर जिल्ला, क्षेत्र वा मुलुकभर संगठित बन्न सक्छ । विश्वका स्थापित विश्वविद्यालयले अलुम्नाइ एसोसिएसनको सफल नमुना पेस गरेका उदाहरण छन् । यद्यपि, नेपालको त्रिभुवन विश्वविद्यालयजस्तो मुलुककै पहिलो तथा विशाल विश्वविद्यालयमा अहिलेसम्म अलुम्नाइ एसोसिएसन गठन भएको छैन ।

त्रिविको एकचालीसौँ दीक्षान्त समारोह आज दशरथ रंगशालामा सम्पन्न हुँदै छ । अर्थात् हजारौँ विद्यार्थी त्रिविको अघोषित अलुम्नाइ बन्दैछन् । दीक्षान्त समारोहको महŒव विद्यार्थीका लागि कति धेरै हुन्छ भनेर कसैले भनिरहनु पर्दैन । अध्ययन पूरा गरेपछि विशेष समारोहमा ससम्मान सर्टिफिकेट प्राप्त गर्ने हरेक विद्यार्थीको सपना हुन्छ । यही भएर विश्वभर दीक्षान्त समारोहमा आफ्ना आदरणीय बुवा–आमा, अग्रज वा अभिभावकलाई पनि सरिक गराइन्छ । विशेष पोसाकमा सजिएका विद्यार्थी, विशेषज्ञ तथा आमन्त्रित विशिष्ट व्यक्तित्वको समारोहमा जमघट हुन्छ । दीक्षान्त समारोहबाट सर्टिफिकेटसहित सम्मानित विद्यार्थी थप आत्मविश्वासका साथ विश्वविद्यालय वा क्याम्पसबाट बाहिरिन्छन् । नयाँ अध्ययन–अनुसन्धान वा पेशागत कार्यमा संलग्न हुन्छन् । व्यावसायिक ज्ञानले थप परिष्कृत बन्छन् । आर्थिक उन्नतिका साथै मानसम्मान र इजजत–प्रतिष्ठा कमाउँछन् । भूतपूर्व विद्यार्थीको विज्ञतालाई विश्वविद्यालयको दीर्घकालीन हितमा प्रयोग गर्न विश्वका प्रायः क्याम्पस वा विश्वविद्यालयले आफ्नो संस्थाबाट दीक्षित विद्यार्थीलाई अलुम्नाइ एसोसिएसनमार्फत् सम्पर्कमा राख्ने गरेको पाइन्छ ।

दीक्षान्त समारोहबाट प्रमाणपत्र प्राप्त गरेपछि दीक्षित क्याम्पस वा विश्वविद्यालयको विद्यार्थी भूतपूर्व बन्छन् । त्रिविको भूतपूर्व विद्यार्थी अर्थात् अलुम्नाई प्रति वर्ष हजारौँको संख्यामा बढ्दैछन् । विद्यार्थीको भारवहन तथा विशालताको हिसाबले त्रिवि विश्वकै 'उत्कृष्ट १०' विश्वविद्यालयमा पर्छ । बहुविश्वविद्यालय अस्तित्वमा आइसकेका भए पनि अझै त्रिविले झन्डै ९० प्रतिशत उच्च शिक्षाको भारवहन गरिरहेको देखिन्छ । सन् २०१४–२०१५ मा त्रिविमा ४ लाख ५ हजार ३ सय ४१ विद्यार्थी विभिन्न विषयमा भर्ना भएका छन् । त्रिविमा अहिले ७ हजार ९ सय ६६ शिक्षक र ७ हजार २ सय ३० कर्मचारी कार्यरत छन् । आफ्नो ५६ वर्षे इतिहासमा एकचालीसौँ पटक दीक्षान्त समारोहको आयोजना गरिसकेको त्रिविले आजसम्म कति लाख विद्यार्थी उत्पादन गरिसक्यो त्यसको लेखाजोखा छैन ।

हुनत विश्वविद्यालयको प्रमुख काम विद्यार्थीलाई अध्यन–अध्यापन गराउने, अनुसन्धान गर्न अभिप्रेरित गर्ने, आफ्नो क्षेत्रमा विज्ञता हासिल गराउने र अन्त्यमा सक्षम नागरिक उत्पादन गरेर मुलुक तथा विश्वलाई योगदान गर्न सक्ने जनशक्ति निर्माण गर्ने हो । विश्वविद्यालयले अध्ययन पूरा गरिसकेपछि रोजगारीको निश्चितता गर्ने होइन । सबै जनशक्तिले जागिरै खानुपर्छ भन्ने मान्यताले पनि विश्वविद्यालयले विज्ञ जनशक्ति उत्पादन गरेको हुँदैन । आफ्ना क्षमता, विज्ञता तथा चाहनाअनुरूप उद्योग, व्यवसाय र आवश्यक क्षेत्रमा विभिन्न नयाँ कुराको आविष्कार गर्ने जनशक्तिको उत्पादन कुनै पनि विश्वविद्यालयको बढी प्राथमिकताको कुरा हो । हाम्रो मुलुकमा अध्ययन पूरा गरिसकेपछि जागिरै खानुपर्छ भन्ने मान्यता छ । जागिरको खोजी गर्ने विज्ञभन्दा रोजगारी सिर्जना गर्ने अन्वेषक उद्यमीलाई बढी प्रोत्साहन गर्ने अवस्था तयार भएको छैन ।

त्रिविले आजसम्म कति लाख जनशक्ति उत्पादन गरिसक्यो र तिनको अवस्था कस्तो छ भन्ने विषयमा अब गम्भीर बहस थाल्नु आवश्यक छ । कतिपय अति आवश्यक क्षेत्रमा जनशक्ति अझै न्यून छन् । कतिपय क्षेत्रमा भने विद्यार्थी अति नै बढी छन् । कुन क्षेत्रमा कति विद्यार्थी मुलुकलाई आवश्यक छ र कुन विभागमा आवश्यकता भन्दा बढी उत्पादन भइरहेको छ भन्नेबारेमा वस्तुपरक ढंगले अनुसन्धान भइरहेको छैन । शिक्षा, वाणिज्य र मानविकी तथा समाज शास्त्रमा जति जनशक्ति उत्पादन भइरहेको छ त्यो अनुपातमा विज्ञान र प्रविधिमा किन न्युन छ भन्ने विषयमा गहन बहस भएकै छैन । विद्यार्थी संख्याका हिसाबले भारवहन धेरै हुँदैमा गुणस्तरमा ह्रास हुन्छ नै भन्ने मान्यता कति सही वा गलत हो भन्ने विषयमा पनि खासै छलफल भइरहेको छैन । विद्यार्थी संख्या बढी हुँदैमा गुणस्तरमा ह्रास आउछ भन्ने कुरा सत्य नहुन पनि सक्छ । अहिले त्रिवि केन्द्रीय विभागहरूमा सेमेस्टर प्रणाली लागु गरिएपछि अधिकांश विभागमा विद्यार्थी सिला खोज्नुपर्ने अवस्था छ । ती विभागले उच्च गुणस्तरको जनशक्ति उत्पादन गरिरहेको छ भन्ने कुराको मापन गर्ने कुनै आधार छैन । आजको समयसापेक्ष विषयमा आफ्ना भूतपूर्व विद्यार्थीको वर्तमान र भविष्य कस्तो अवस्थाबाट गुज्रिरहेको छ त्रिविलाई कुनै मतलब छैन ।

विश्वद्यालयका लागि दीक्षान्त समारोह एउटा विशेष दिन हो । दीक्षान्त समारोह दीक्षित विद्यार्थीले औपचारिक समारोहबाट ससम्मान सर्टिफिकेट प्राप्त गर्ने दिनमात्रै होइन, वस्तुतः सबैभन्दा विशाल विश्वविद्यालयको दीक्षान्त समारोह मुलुककै लागि विशेष दिन हो । आमप्राध्यापक, शिक्षक, विद्यार्थी र बौद्धिक वर्गका लागि महŒवपूर्ण दिन हो । दीक्षान्त समारोहमा प्रस्तुत प्रवचन विश्वप्रसिद्ध भएका उदाहरण छन् । कतिपय विश्वविद्यालयको दीक्षान्त समारोहमा प्रस्तुत कमेन्समेन्ट प्रवचनलाई विश्वका विभिन्न विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरेर अध्ययन–अध्यापन गरिँदै आएका छन् । त्रिविका अघोषित अनगिन्ती अलुम्नाई विश्वमा सम्मानित भएर बसेका छन् । त्रिविले तिनलाई ससम्मान सम्झन सकेको छैन ।

त्रिविले व्यहोरेको भूकम्पीय क्षतिको परिपूर्ति र पुनर्निर्माण आफ्नो नियमित बजेटबाट सम्भव नदेखिएपछि त्रिवि अलुम्नाई एसोसिएसन निर्माणको पहल थालेको थियो । त्रिविका पदाधिकारीले पूर्व उपकुलपति केदारभक्त माथेमालाई संयोजकको भूमिका निर्वाह गर्न अनुरोध गरी २५ सदस्यीय त्रिवि अलुम्नाई एसोसिएसन र ७ सदस्यीय अलुम्नाइ एसोसिएसन स्थायी समिति प्रारम्भिक चरणमा गठन गरेको थियो । त्यो अभियानले अहिलेसम्म ठोसरूपले अस्तित्व ग्रहण गरेको देखिएको छैन । माथेमाकै संयोजकत्वमा पूर्व उपकुलपतिको अलुम्नाइ त अस्तित्वमा छ, तर त्यो पनि एउटा लुज फोरमका रूपमा मात्रै क्रियाशील देखिन्छ ।

विश्वविद्यालयलाई सिर्जनात्मक सहयोग र बौद्धिक गतिविधि सहजै सगौरव सञ्चालन गर्न यथाशक्य विशुद्ध सेवामूलक उद्देश्यले त्रिवि अलुम्नाइ एसोसिएसन गठन हुन जरुरी छ । शैक्षिक संस्था भनेको पवित्र साझा चौतारी हो । यो कुनै सीमित व्यक्तिको स्वार्थसिद्ध गर्ने स्थल होइन । विश्वविद्यालय स्थानीयतादेखि विश्वजगत्सम्म फैलिएको व्यापक बौद्धिक स्पेस हो । अहिले सहकार्यमा आधारित शैक्षिक अभियानअनुरूप त्रिविले १ सय ५० भन्दा बढी विश्वका प्रख्यात विश्वविद्यालयसँग सहकार्य गर्ने सहमतिपत्र (एमओयु) मा हस्ताक्षर गरी बाहिरी जगत्सँग सम्बन्ध विस्तार गरिसकेको छ । यस्तो अवस्थामा त्रिविका लाखौँ अलुम्नाइ आमा विश्वविद्यालय त्रिविमा आवद्ध नहुनु लज्जाको विषय हो । दशरथ रंगशालाबाट यस वर्ष दीक्षित त्रिविका विद्यार्थीले ५५ वर्षअघिदेखिका आफ्ना अग्रजहरूसँग घोषितरूपमा सम्बन्ध विस्तार गर्ने वातावरण बनाउन सकिएमा सबैलाई फाइदा पुग्नसक्छ । यसबाट मुलुककै शैक्षिक अवस्थाको सुधारमा सकारात्मक प्रभाव पर्नसक्छ ।

प्रकाशित: १५ मंसिर २०७२ २०:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %