३० श्रावण २०७९ सोमबार
विचार

नेपालीको रोजाइमा अस्ट्रेलिया किन?

लगभग ३ अरब जनसंख्याका साथ विश्वको सबभन्दा धेरै जनसंख्या भएका नेपालको उत्तरी र दक्षिणी छिमेकी चीन र भारत, अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीका सबभन्दा ठूला स्रोत मुलुक हुन। यसमा कुनै सन्देह छैन। तर जम्माजम्मी ३ करोड भन्दा कम जनसंख्या भएको हाम्रो मुलुक नेपाल २ करोड ५० लाख जनसंख्या भएको अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीका लागि तेस्रो स्रोत मुलुक हो भन्दा धेरैले नपत्याउन सक्छन् तर वास्तविकता यही हो।

गत साता मात्र अस्ट्रेलियाली सरकारले प्रकाशित गरेको प्रारम्भिक तथ्याङ्क अनुसार अस्ट्रेलियामा स्थायी बसोबास गर्ने नेपालीको संख्या १ लाख २२ हजार ५ सय ६ जना रहेको छ। यस्तै घरमा अंग्रेजीपछि नेपाली भाषा बोलिनेको संख्या १ लाख ३३ हजार ६८ रहेको छ।

यी त भए आधिकारिक तथ्याङ्क। यसमा अन्तर्राष्ट्रिय नेपाली विद्यार्थीको संख्या जोड्दा यो ३ लाख भन्दा बढी हुन आउँछ। किनभने द सिड्नी मर्निङ हेराल्डले २०१९ अक्टोबरमा नेपाली विद्यार्थीसम्बन्धी प्रकाशित एक समाचारमा ६६००० नेपाली विद्यार्थीले अस्ट्रेलियाका विभिन्न शैक्षिक संस्थानमा प्रवेश लिएको कुरा लेखेको थियो। अस्ट्रेलियाको संघीय सरकारको शिक्षा विभागले दिएको प्रतिवेदनअनुसार नेपाली विद्यार्थीले अस्ट्रेलियाको शैक्षिक अर्थव्यवस्थामा २ बिलियन डलरको योगदान दिएका छन्।

नेपाली विद्यार्थी कुन रूपमा अस्ट्रेलिया ओइरो लागिरहेका छन् भन्ने कुराको अनुभूति यस पंक्तिकारले आफ्नो हालै भएको अस्ट्रेलिया भ्रमणमा अनुभूत गरेको थियो। काठमाडौँ–सिङ्गापुर बोइङ ए ७८७–८ को वाइडबडी ठूलो जहाजको उडानमा अधिकांश यात्री १८ देखि २२ वर्षबीचका थिए। उनीहरू सबै अस्ट्रेलिया अध्ययनका लागि भनेर जाँदै थिए। यहाँनिर ‘भनेर’ भन्ने शब्द किन जोडियो भने कुनै पनि सामान्य नेपाली विद्यार्थीले अस्ट्रेलियाली शैक्षिक संस्थानहरूको चर्को शैक्षिक शुल्क तिर्न सक्दैनन्।

सामान्यतया अस्ट्रेलियाका शैक्षिक संस्थानहरूमा पूर्वस्नातक तहका लागि घटीमा वर्षको लगभग १५००० अस्ट्रेलियन डलर तिर्नुपर्छ। स्नातक/स्नातकोत्तर तहका निमित्त ४० पचास हजार डलर तिर्नुपर्छ जुन आमनेपाली विद्यार्थीको बुताले तिर्न सकिँदैन। त्यो शुल्क तिर्नका लागि कठोर श्रम गर्न आवश्यक छ। किनभने त्यो शुल्क नबुझाइकन अस्ट्रेलिया भिसा नवीकरण हुँदैन भने अर्कोतिर अस्ट्रेलिया आउँदा लागेको ऋण तिर्ने चटारो आफ्नो ठाउँमा छँदैछ। ऋण तिरेपछि घरमा खर्च पठाउनु त छँदैछ। यस्तो कठिन अवस्थामा विद्यार्थीले आफ्नो पढाइ पूरा गर्नुपर्छ। पढाइ पूरा गरेपछि विद्यार्थी अस्थायी आवासीय भिसा पाउन ग्राह्य हुन्छन् र यो भिसा प्राप्त गरेपश्चात अस्ट्रेलियामा काम गर्न सक्छन्।

सामान्यतया अस्ट्रेलियाली शैक्षिक उपाधि गरेको ३ देखि ५ वर्षभित्र स्थायी आवासीय भिसा प्राप्त गर्छन्। तर यो भिसा प्राप्त गर्न शैक्षिक योग्यताअनुसार कसैलाई ७ वर्ष पनि लाग्न सक्छ। यो भिसा प्राप्त गरेपछि अस्ट्रेलियाली नागरिकसरह रोजगार, स्वास्थ्य र अन्य सबै सेव/सुविधा पाउने हकदार हुन्छन्। अस्ट्रेलिया जाने नेपाली विद्यार्थीको अन्तिम उद्देश्य पनि यही हो।

कोभिड–१९ पश्चात अहिले अस्ट्रेलियाको अर्थव्यवस्था चलायमान भएको छ र यस अवस्थामा कामदारको अभाव भएको छ। यिनै अन्तर्राष्ट्रिय विद्यार्थीद्वारा कामदारको आपूर्ति भएको छ भने शैक्षिक संस्थहरू पनि चलायमान भएका छन्। यसले अस्ट्रेलियाली अर्थव्यवस्थामा ठूलो योगदान पुगेको छ।

लगभग साढे ५५ हजार अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी अस्ट्रेलियन नागरिकको छ भने २७ सय अमेरिकी डलर प्रतिव्यक्ति आम्दानी नेपाली नागरिकको छ। यस्तोमा नेपालीको अस्ट्रेलियामा आकर्षण स्वाभाविक हो। यहाँ प्रतिघण्टा न्यूनतम ज्याला २५ अस्ट्रेलियन डलर छ। गर्न सक्नेले दिनको १८ घण्टासम्म पनि काम गर्छन्।

नेपाली डाक्टर इन्जिनियर लगायत उच्च व्यावसायिक दक्षता भएको काममा पनि संलग्न छन्। उनीहरूको न्यूनतम वार्षिक तलब १ लाख डलर भन्दा माथि पनि छ। यस्तै घर जग्गा, रेस्टुरेन्ट, किराना पसल, शैक्षिक व्यवसायका साथै अन्य व्यवसायमा लागेर उनीहरूले राम्रै आर्जन गरेका छन्। अस्ट्रेलियाली आकर्षक रहन–सहन र विश्वका अन्य मुलुकको दाँजोमा श्रमको उच्च प्रतिफल प्राप्त हुने हुनाले नेपालीको पहिलो रोजाइ अस्ट्रेलिया बनेको छ।

नेपाल–अस्ट्रेलिया सम्बन्ध

भौगौलिक रूपमा ८००० किलोमिटर सिधा दूरी रहेको प्यासिफिक समुद्रले घेरिएको मुलुक अस्ट्रेलियासँग नेपालले कूटनीतिक सम्बन्ध स्थापना भएको ६२ वर्ष नाघेको छ। नेपाल–अस्ट्रेलियाबीच राजा महेन्द्र र प्रधानमन्त्री बिपी कोइरालाको पालामा कूटनीतिक सम्बन्ध स्थापना भएको हो। सन् १९६० फेब्रुअरी १५ तारिखमा कूटनीतिक सम्बन्ध गाँसिएको भए पनि अस्ट्रेलियाले २४ वर्षपछि सन् १९८४ मा मात्र काठमाडौँमा आवासीय राजदूतावास स्थापना गरेको थियो। नेपालले भने सन् २००७ मा मात्रै क्यानबेरामा दूतावास स्थापना गरेको हो। शैक्षिक उद्योगमार्फत अर्बौँ नेपाली रुपियाँ अस्ट्रेलिया भित्रिनै रहेको छ तर अस्ट्रेलियाबाट नेपालले खासै सहयोग पाएको छैन।

अस्ट्रेलिया–नेपालबीचको सम्बन्ध केलाउँदा सन् १९१५ मा प्रथम विश्वयुद्धको समयमा बेलायती सेनाको गोर्खा रेजिमेन्टमार्फत टर्कीको गलिपोलीमा गोर्खाली सिपाहीले अस्ट्रेलिया र न्युजिल्यान्डका पक्षमा लडाइँ लडेका थिए। २ देशबीचको आपसी सम्बन्धको साइनो त्यतिबेलादेखि नै जोडिएको इतिहास छ। अहिले पनि गलिपोली युद्धको सम्झनामा अस्ट्रेलियाले मुलुकभर मनाइने परेडमा गोर्खा सैनिकलाई विशेष महत्व दिँदै आएको छ। अर्थात पहिलो विश्वयुद्धमा नेपाली बहादुर गोर्खा सेनालाई अहिलेसम्म पनि सम्झन अस्ट्रेलियाले छाडेको छैन।

क्यानबेरामा आवासीय राजदूतावास स्थापना भएको १४ बर्ष बितिसक्दा पनि दुई देशबीच एउटा पनि उच्चस्तरीय वार्ता हुन सकेको छैन। सन् १९७१ को अप्रिलमा राजा महेन्द्रले अस्ट्रेलियाको राजकीय भ्रमण गरेर २ देशबीचको सम्बन्ध प्रगाढ बनाउने काम गरेका थिए। 

त्यतिबेला अस्ट्रेलियाले २ वटा साना विमान नेपाललाई सहयोगस्वरूप प्रदान गरेको थियो। जुन भ्रमणको उपलब्धि थियो। यस्तै सन् १९८५ को सेप्टेम्बरको पहिलो साता राजा वीरेन्द्रले पनि अस्ट्रेलियाको राजकीय भ्रमण गरे। ठूलो दलबल र ध्वजाबाहक विमानमा आएका उनले अस्ट्रेलियामा रहँदा क्यानबेरा, ब्रिस्बेन र मेलबर्नलगायत क्षेत्रको भ्रमण गरेका थिए।

नेपाली विद्यार्थीका लागि आकर्षणको केन्द्र बनेको लाखौँ नेपाली बसोबास गर्दै आएको अस्ट्रेलियामा हाम्रो कूटनीतिक सम्बन्ध आपसी सहयोगभन्दा राजनीतिक खिचातानीमै अलमलिएको छ। कृषि कामदार, वर्किङ होलिडे भिसा र अन्य आपसी सहयोगका कैयौँ सम्भावनाका पाटा केलाउन नसक्दा हाम्रो कूटनीति दूतावासको भवन र आफ्ना मान्छेको चयनमै अड्किएको छ। नियुक्त भएका राजदूत पनि राजनीतिक भागबन्डाको सिकार हुँदा बीचमै फिर्ता बोलाउने जस्ता कामले हाम्रो परराष्ट्र नीतिको कमजोरी छर्लङ्ग पारेको छ।

लाखौँ नेपाली भएको नेपाल र अस्ट्रेलियाबीच सोझो विमान सेवा नभएका कारण नेपालीलाई अप्ठ्यारो छ भने नेपालले आफ्नो आम्दानी गुमाएको अवस्था छ। लेखकले यस विषयमा क्यानबेरास्थित नेपाली राजदूतावासका तत्कालीन कार्यबाहक राजदूत दुरापदा सापकोटासँग जिज्ञासा राख्दा अस्ट्रेलिया सरकार यस विषयमा अत्यन्त सकारात्मक छ भन्नुभयो। तर उहाँले के पनि भन्न छुटाउनुभएन भने नेपाल वायुसेवा निगमसँग काठमाडौँ–सिड्नी उडान भर्न सक्ने हवाईजहाज नै छैन। जबकि हाम्रा पर्यटन मन्त्रीहरू उपयुक्त जहाज नै नभइकन आजको भोलि नै सिड्नी उडान हुने कुरा गर्छन्। २ देशबीच एअर सर्भिस एग्रिमेन्ट हुँदाबित्तिकै जहाज सेवा प्रारम्भ हुँदैन।

एक शताब्दीभन्दा लामो ऐतिहासिक सम्बन्ध भएको र लाखौँ नेपाली बसोबास रहेको अस्ट्रेलियाको आवासीय राजदूतावास काठमाडौँमा छ। तर त्यसले कन्सुलर सेवा अर्थात भिसा दिने काम गर्दैन। यसमा नेपाल सरकारको कमजोरी छर्लङ्ग छ। यसमा नेपाली जनताको हितमा नेपाल सरकारको ध्यान पुगोस्। के काठमाडौँ र क्यानबेरामा रहेको राजदूतावासको काम कूटनीतिक सुविधाको उपभोग गर्नु मात्र हो?

सक्षम युवा जनशक्तिको विदेश पलायनले मुलुक खोक्रो हुँदै गएको छ। के राजनीतिक नेतृत्वको यसतर्फ ध्यान पुगेको छ? अवश्य पनि पुगेको छैन। मुलकमै रोजगारीको अवसर प्राप्त हुन सके देशका कर्णधार युवालाई विदेश जानुपर्दैन। राजनीतिक नेतृत्व त सत्ताको लुँछाचुँडीमै व्यस्त भएको अवस्थामा उनीहरूबाट आशा गर्ने ठाउँ शायदै छ।

(सिड्नीबाट फर्केर)

प्रकाशित: २० असार २०७९ ०६:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App