८ वैशाख २०८१ शनिबार
विचार

सर्वोच्च गन्तव्यः सगरमाथा चुली

‘किनकि त्यो त्यहाँ छ’ सगरमाथा चढ्नु अघि विदेशी पर्वतारोही जर्ज म्यालोरीले तपाईं सगरमाथा किन चढ्न चाहनुहुन्छ? भन्ने पत्रकारहरूको प्रश्नको यी चार शब्दमा दिएको उत्तर आज पनि उत्तिकै चर्चित छ।  

बेलायती नागरिक म्यालोरी चर्चित पर्वतारोही हुन्। सन् १९२४ मा सगरमाथा आरोहण गर्ने क्रममा उनी बेपत्ता भएका थिए। उनको शव ७५ वर्षपछि सन् १९९९ मे १ मा हिउँमा फेला परेको थियो।  

संसारको सबैभन्दा अग्लो/उच्च बिन्दु वा गन्तव्य के होला? सायद एउटै उत्तर छ, ‘हिमाल’ र हिमालमा पनि ‘सगरमाथा’। हो, सगरमाथाको शिखरभन्दा पनि ठोस उच्च बिन्दु वा गन्तव्य कुनै छैन। त्यसैले पनि होला, धेरै मानिसहरूको सगरमाथामा आकर्षण छ। तर आकर्षित भएका सबैले सगरमाथाको उचाइको महसुस गर्न सम्भव छैन। जतिले सगरमाथाको शिखरको महसुस गरेका छन्, उनीहरूले आफ्नो बहादुरी र साहसको कथा लेखेका छन्, सफलताको कथा लेखेका छन्।  

हिमाल चढ्नु पक्कै सजिलो छैन। रहर वा इच्छाले मात्र आरोहण सम्भव छैन। यसका लागि साहस, बहादुरी र कडा परिश्रमसँगै बलियो आर्थिक पक्ष आवश्यक हुन्छ। त्यसमाथि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्नु निकै कठिन अभियान हो। डर र चुनौतीलाई सामना गरेर मात्र होइन, जितेर बढ्न सके मात्र सर्वोच्च शिखर सगरमाथा महसुस गर्न सकिने पर्वतारोही तथा फोटो पत्रकार पूर्णिमा श्रेष्ठ बताउँछिन्। उनी अन्नपूर्ण र धवलागिरि हिमालमा सबैभन्दा पहिलोपटक पाइला टेक्ने नेपाली महिला हुन् भने सगरमाथाको शिखर चुम्ने नेपाली पहिलो फोटो पत्रकार समेत हुन्।  

त्यसो त हिमाल आफैमा विश्वव्यापी क्षेत्र हो। यसको सुन्दरता र पर्यायवरणीय महत्वको दायरा समुदाय र राष्ट्रमा मात्र नभएर विश्वमै उत्तिकै लोकप्रिय छ। हिमाल यात्रा जति कठिन छ, त्यति नै यसको सफलता विश्वव्यापी छ। उनले साहस र बहादुरीलाई प्रमाणित गर्न संसारमा सगरमाथाको शिखरभन्दा अर्को कुनै स्थान नभएका कारण हिमालप्रति आकर्षण रहेको बताउँछिन्। ‘हिमाल अर्को संसार हो, शब्दको व्याख्यामा अट्दैन,’ उनी भन्छिन्, ‘उचाइ सबैलाई मन पर्छ, चाहे त्यो पदको होस् या प्रकृतिको, सगरमाथाको उचाइ आफूले आफूलाई जित हासिल गरेर विश्वमै बहादुर प्रमाणित गर्ने साहसिक यात्रा हो, सगरमाथाको आरोहणभन्दा अर्को सर्वोच्च आर्कषण केहीमा हुन सक्दैन।’  

कोरोना करहले ठप्प पारेको पर्यटन व्यवसायले पुनः गति लिइरहेको बेला छ। विशेष गरी वसन्त ऋतु सर्वाधिक हिमाल आरोहण हुने समय हो। कामिरिता शेर्पासहितको टोलीले यस वर्षको रोप फिक्सिङको काम सकेपछि यही वैशाख २५ देखि सगरमाथाको आरोहणको ढोका खुलेको हो।  

पछिल्लो समय मुलुकमा हिमालसँग ‘हाइप्रोफाइल’ पर्यटकको लोभलाग्दो माहोल छ। २०७८ वैशाख २८ गते बराइनका राजकुमार नासिर विन हामिद अल खलिफासहितको ‘बराइन एभरेस्ट एक्पेडिसन २०२१’ आरोहण टोलीले सगरमाथाको शिखर चुमेको थियो। यो टोलीले सेभेन समिट एजेन्सीमार्फत् सगरमाथा आरोहण गरेको हो। उनको टोली कामिरिता शेर्पासहितको आरोहण टोलीले सगरमाथामा आरोहणको बाटो तयारी गरेपछिको पहिलो हो।  

लगत्तै कतारी राजकुमारी आस्मा विन्ता थानीसहितको आरोहण टोलीले पनि जेठमै सगरमाथाको आरोहण गरेको थियो। सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अरबी महिलासमेत भइन्। उनले सगरमाथाको सफल आरोहण गरेपछि आफ्नो सामाजिक सञ्जालबाट हिमाल चढ्ने आफ्नो सपना पूरा भएको बताइन्। उनलाई सगरमाथा चढ्ने सपनाले जहिल्यै पछ्याएको बताउँदै सपना देख्न कहिल्यै पनि सङ्कोच मान्न नहुने प्रतिक्रिया दिएकी छन्।  

यस्तै २०७९ जेठ २ गते गायक राजु लामासहितको ‘मंगोलियन हार्ट एभरेस्ट एक्पेडिसन २०२२’ टोलीले सगरमाथाको सफल आरोहण गरेको थियो। इमेजिङ नेपाल ट्रेकिङ एजेन्सीमार्फत् गएका गायक लामाले जलवायु परिवर्तन र त्यसले उत्पन्न विश्वव्यापी प्रभावलाई ध्यानाकर्षण गर्न सगरमाथाको ६ हजार ५ सय ७४ मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रमसमेत गरेका थिए। कार्यक्रमले निकै चर्चा पाएको थियो।  

हिमाल आरोहणअघि पत्रकारहरूसँग कुरा गर्दै गायक लामाले वातावरणलाई सफा राखी जलवायु परिवर्तनका लागि केही गरौँ, पर्यटन र विश्वलाई बचाऔँ भन्ने सन्देश दिनका लागि आरोहण गरेको बताएका थिए।

‘सबै कठिनाइहरूको बाबजुत तपार्इंले मेरा आँखामा हेर्नुहुन्छ भने, म हिमाल चढ्नुको आनन्द महसुुस गर्नुहुनेछ’ नायिका दिया पुनले सामाजिक सञ्जालबाट सगरमाथाको सफल आरोहण गरेको केही समयपछि आफ्नो अनुभव साटेकी थिइन्। एउटा हिरोइनका लागि अभिनय त सबैभन्दा अत्यावश्यक पक्ष भइहाल्यो। तर सुन्दर अनुहार पनि उत्तिकै महत्वपूर्ण हुने कुरालाई नकार्न सकिँदैन्। उनले डढेर कालो भएको आफ्नो अनुहारलाई इङ्गित गर्दै अनिँदोका कारण भएको रातो आखा, डिहाइड्रेसन, घाम र हावाका कारण डढेको छाला, ननुहाएका दिनहरू र चिपिक्क परेका कपालहरूलगायतका कठिनाइहरू उल्लेख गर्दै हिमाल चढेपश्चात् प्राप्त हुने आनन्दको अनुभव साटेकी छन्।  

नायिका दिया पुनले २०७९ जेठ १३ गते सगरमाथाको सफल आरोहण गरेका थिइन्। उनी विश्व कीर्तिमानधारी निर्मल पुर्जाको एलिट एक्सपिडिसन आरोही टोलीसँगै सगरमाथाको शिखर पुगेकी थिइन्। आफ्नै निजी खर्चमा बेलायतको स्वास्थ्य सेवा एनएचएस टुगेदर, कोलचेस्टर अस्पताल र नेपालको चिल्ड्रेन एन्ड युथ फस्टको च्यारेटी उद्देश्यका साथ उनी सगरमाथा चढेकी हुन्।  

च्यारेटीको उद्देश्यबाहेक हिमाल आरोहण गर्नुअघि गायक लामासँगै पत्रकार भेटघाटमा उनले हिमालहरू भएका कारण पर्यटन बढिरहेकोमा जलवायु परिवर्तनले हिमाल र तीसँग सम्बन्धित पेसामा आबद्ध व्यक्तिहरूमा परिरहेको असरलाई सम्बोधन गर्न सगरमाथा चढेको बताएकी थिइन्। उनी नायिका निशा अधिकारीपछि सगरमाथाको सफल आरोहण गर्ने दोस्रो नायिका भएकी छन्। यसअघि नायिका निशा अधिकारीले २०७० जेठ ७ गते सगरमाथाको सफल आरोहण गरेकी थिइन्।  

विश्वमा हिमालको देश भनेर चिनिने नेपालमा ४ सय ४१ वटा उच्च टाकुरामा आरोहण अनुमति छ। जसमा ६७ सय मिटरभन्दा मुनिका ३३ वटा हिमालको अनुमति भने नेपाल पर्वातरोही संघले दिने गरेको छ। पर्यटन विभागका अनुसार हालसम्म यस मौसमको हिमाल आरोहणको ढोका खुलेयता १ सय ३१ आरोहण दल सहित २ सय १३ महिला, ७ सय ७३ पुरुष गरी जम्मा ९ सय ८६ जनाले आरोहण अनुमति लिइसकेको पर्यटन विभागले जनाएको छ। २६ मे २०२२ सम्म ४४ दलसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय गरी ७४ महिला, २ सय ५१ पुरुष गरी कुल ३ सय २५ जनाले सगरमाथा आरोहण अनुमति लिइसकेका छन्।

यसरी वर्षेनी हजारौँको सङ्ख्यामा मानिसहरू हिमाल आरोहण गरिरहेका हुन्छन्। तीमध्ये सेलिब्रेटी तथा हाइप्रोफाइल व्यक्तिहरूले पनि हिमाल आरोहण गरेका छन्। हिमाल चढिसकेपछि राज्यको आम्दानी बढ्छ नै। सँगै आरोहीले विश्वव्यापीरूपमै हिमाल तथा हिमयात्राको चासो र चर्चा गर्छन्।  

कीर्तिमानी आरोही निर्मल पूर्जाले ७ महिनामा सगरमाथासहित विश्वको १४ हिमालको सफल आरोहण गरेको डकुमेन्ट्री ‘फोर्टिन पिक्सः नथिङ इज इम्पोसिबल’ ले यो वर्ष विश्वव्यापी चर्चा पाएको छ। यस डकुमेन्ट्रीले नेपालका हिमालहरू र हिमयात्रालाई विश्वव्यापी रूपमा चिनाउन पनि उत्तिकै योगदान गरेको छ। हिमाललाई चिनाइरहनु पर्दैन, तर रोमाञ्चक यात्राका निम्ति अरू धेरैलाई प्रेरित गर्ने माध्यम अवश्य भएको छ।

यससँगै विभिन्न अन्तर्राष्ट्रिय सिनेमाहरूमा पनि सगरमाथालगायतका नेपाली हिमालले राम्रो स्थान पाएका छन्। जसअन्तर्गत सत्य घटनामा आधारित एभरेस्ट, द क्लाइम्ब, द हिमालयज, द कनक्वेस्ट अफ एभरेस्ट, द इपिक अफ एभरेस्ट, इन टु थिन एयरः द डेथ अफ एभरेस्टलगायतका थुप्रै सिनेमा सगरमाथा र अन्य नेपाली हिमालहरूसँग सम्बन्धित भएर निमार्ण भएका छन्। जसले अन्तर्राष्ट्रिय जगत्मा नेपालको हिमाल र हिमालयात्रालाई प्रोत्साहन र प्रवद्र्धन गरेको छ।  

हिमाल यात्रा जति गाह्रो र चुनौतीपूर्ण छ, यात्राको सफलताको कथा उत्तिकै साहसिक र रोमाञ्चक हुने गर्छ। सफलताको खुसी र सन्तुष्टि, राष्ट्रिय गौरव तथा अन्तर्राष्ट्रिय पहिचानलगायतका धेरै उपलब्धी एकैसाथ आउँछन्। त्यसैले पनि हिमालप्रतिको आकर्षण उल्लेख्य हुने गरेको छ।  

‘हामीले हिमाललाई जितेको होइन, आफैलाई हो’ भनी हिमालको सर्वोच्चतालार्ई स्वीकार गर्दै संसारकै सबैभन्दा पहिला सगरमाथाको शिखरमा पाइला टेक्ने तेन्जिङ नोर्गे शेर्पासँगै सगरमाथा आरोहण गर्ने विश्व चर्चित पर्वातारोही एडमन्ड हिलारीले भनेको थिए। हिमालसँग मृत्यु, प्रकृति, भोक, साहसलगायत सबै कुराको चुनौती हुने भएकाले नै होला, यसको सर्वोच्चताको आर्कषण यसको उचाइभन्दा अग्लो छ। त्यसैले ‘मानिसहरू असाधारण बन्ने निर्णय गर्दैनन्, तिनीहरूले असाधारण कुरा पूरा गर्ने निर्णय गर्छन्,’ भनी हिलारीले हिमालको असाधारण आकर्षणको व्याख्या गरेका छन्।  

हिमाल र हिमाल यात्राप्रतिको प्रसिद्ध मानिसहरूको आकर्षणले अरू प्रसिद्धि बढाएको छ। पर्यटन विकास, विस्तार र प्रवद्र्धनमा यस्ता व्यक्तिको प्रभाव सकारात्मक हुन्छ।

प्रकाशित: ११ असार २०७९ ०३:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App