१२ असार २०७९ आइतबार
विचार

छद्मयुद्धको सिलसिला

कलेज पढ्दाका दिनहरू सम्झन्छु र आजका पात्रहरूको अनुहार हेर्छु। प्रवृत्ति उस्तै छ, पात्र बदलिए पनि। हिंसा, उत्पात र अराजकताको आगो सल्काएर त्यसमा रमाउने प्रवृत्ति न्यून भएको छैन, बरु बढेको छ। आगो स्वदेशी नै हुन्छ तर त्यसमा खन्याइने पेट्रोल सधैँ विदेशी।

पाकिस्तानका प्रधानमन्त्री जुल्फिकर अली भुट्टोलाई अप्रिल ५, १९७९ अर्थात २०३५ चैत २५ गते रावलपिण्डीमा फाँसी दिइयो। त्यसको अघिल्लो दिन काठमाडौँका हजारौँ छात्रछात्राले पानीपोखरीस्थित पाकिस्तानी राजदूतावासमा विरोधपत्र दिदै फाँसी रोक्न माग गरेका थिए। शरणविक्रम मल्ल, बलबहादुर के.सी. र कैलाश कार्कीले जुलुसको नेतृत्व गरेका थिए। पाकिस्तानका सैनिक शासक जियाउलहकले भुट्टोलाई फाँसी दिए। यता नेपालमा विद्रोहको आगो सल्किँदै गयो। त्यसपछि झण्डै एक वर्षसम्म राष्ट्रिय जनमत संग्रहको ज्वरो बढ्दै गयो। दलहरू अवैध भए पनि ध्रुवीकरण झन बढ्यो।  

सत्र/अठार वर्षअघिको कुरा हो, बुरुन्डीको राजधानी बुजुम्बुरास्थित विश्वविद्यालयका एकजना प्राध्यापकले त्यहाँको प्रांगणमा घतलाग्दो कुरा भनेका थिए– अफ्रिकाका दरिद्र देशका जनताले आफ्ना मातापिता र गुरुलाई होइन, हजारौँ किलोमिटर टाढाका गोरो छाला भएका मनुवालाई आदर्श मान्छन्। नेल्सन मन्डेलाले आँखा खोलिदिएपछि बल्ल अलिक सचेत भएका छन्, अफ्रिकीहरू। तर दाताहरूले हामीलाई टुक्राटुक्रा बनाएका छन्। उनको नाम भुलेँ। अल्फ्रेड इराम्बोना हो कि जस्तो लाग्छ।

सन् २०१३ को अप्रिलमा ‘अफ्रिकन अफेयर्स’ जर्नलमा विलियम ब्राउनको लेख छापियो। अफ्रिकी राष्ट्रहरूको सार्वभौमसत्ता संकटमा पर्दैछ भन्ने निचोड रहेछ, त्यसमा। दातृ राष्ट्र र अन्तर्राष्ट्रिय परोपकारको आवरणमा साम्राज्यवाद/विस्तारवादले धेरै राष्ट्रमा जरो गाड्दैछ भनेका छन्, लेखकले। विदेशी दाना खाएर राष्ट्रको शौर्य (पराक्रम) बचाउन सक्दैन। आमाको दूध खाएर हुर्केका कालु पाँडे जस्ता जर्नेल र सिपाहीसँग जुन स्वाभिमान, तेज र आत्मबल थियो, टिनको बट्टाको विदेशी दूध खाएर हुर्केकाहरूबाट त्यस्तै आशा गर्नुहुँदैन भनेर ठट्टा गर्थे, एकजना सेवानिवृत्त जर्नेलले। राजनीति, कूटनीति, प्रशासन सबैतिर प्रदूषण छ। चालीस वर्षपहिले पशुपतिनाथ मन्दिरछेउ वाग्मती नदीको पानी अञ्जुलीमा उठाएर पिउनेहरूलाई सम्झना छ, सहरलाई विकारको सिकार बनाउनेहरू सहरबासी नै हुन। सहरका नदीहरू फोहर मात्रै नगरे पुग्थ्यो। नदी सफाइका दृश्य धेरै देखियो, फोहर गर्नेहरूलाई पाता कसेको देखिएन। नदीका दुवै किनारामा पचास पचास वटा ‘छाउपडी’ बनाएर फोहर फ्याँक्नेलाई एक रात मात्रै थुन्ने हो भने दृश्य बदलिन्छ। राष्ट्र बिगार्ने र भत्काउनेहरूलाई त्यसरी नै कार्बाही गर्ने हो भने पराधीन, परावलम्बीहरू बढ्ने थिएनन्।  

आगो, दण्ड, प्रदर्शन वा सामूहिक विद्रोहको दुरूपयोग भएमा त्यसले अपुरणीय क्षति गर्छ। राष्ट्र बचाउन इतिहासमा हाम्रा पुर्खाले अहोरात्र योगदान गरेका अनेक प्रसंग छन्। जनता जगाउन र शत्रु भगाउन आगो बालेका उपमाहरू छन्। तर शत्रुलाई मात्र होइन, आगोले घर पनि जलाउँछ।

७८७ पृष्ठको एउटा ग्रन्थ छ– “नेपालमा राजनीतिक व्यवस्थाको विश्लेषण।” २०४३ सालमा प्रकाशित सो ग्रन्थका लेखक हुन, दीर्घराज प्रसाई। २०२५ सालमै एमए उत्तीर्ण गरेका प्रसाई स्टाफ कलेजका प्राध्यापक र सांसद पनि भए। उनले चीनसँग नेपालले युद्ध गरेको प्रसंगको सविस्तार व्याख्या गरेका छन्। प्रसाई लेख्छन्– “चिनियाँहरू पाँचमाने भञ्ज्याङसम्म आइपुगे। काठमाडौँमा जम्मा दुई सय जवान सिपाहीभन्दा अधिक नभएकाले सरकारी ढुकुटीका बहुमूल्य पदार्थहरू पहिले नै मकवानपुर पठाइसकिएका थिए। शीघ्र नै काठमाडौँ दुश्मनको हात पर्ने भइसकेको थियो। परन्तु नेपालीहरूले त्यसबखत अद्भूत चतुरता देखाएको हुनाले चिनियाँ फौजको बाढी एक्कासि रोकियो। दुस्मन भञ्ज्याङ नाघेर जीतपुर फेदीसम्म पुगिसकेको थियो। ई.सं. १७९२ सेप्टेम्वर १६ को रात, नेपालीहरूले चिनियाँ फौजका तीनतिर जंगली रुख, बुट्यान र घरेलु जन्तुका सिङहरूमा राँकाहरू बालिदिए। तीनतिरबाट अगणित शत्रुद्वारा घेरिएको सम्झी चिनियाँहरू भागाभाग गर्दै पछि हटे। यस अनायास विजयको सम्झनामा उक्त फेदी जीतपुर फेदीका नामले विख्यात भएको हो भन्ने जनश्रुति छ।” (पृष्ठ ६४९)

नेपोलियन बोनापार्ट जस्ता फ्रान्सका शक्तिशाली राष्ट्रनायक र उनको सेनालाई परास्त गरेर नेपाल निल्न आएका ब्रिटिस फौजसँग गोर्खाली सेनाले नालापानी युद्धमा बहादुरीपूर्वक सामना गरे पनि नेपाल पराजित भयो। यस्तै कप्तान किनलकको नेतृत्वमा सिन्धुलीसम्म आइपुगेको ब्रिटिस फौजलाई नेपालले १८२४ कात्तिक २४ गते (सन् १७६७) परास्त नगरेको भए अंग्रेजले चीन कब्जा गर्न सक्थे भनेर अमेरिकी कूटनीतिज्ञ तथा राजा वीरेन्द्रलाई पढाउने गुरु हेनरी किसिन्जरले ‘अन चाइना’ ग्रन्थमा लेखेका छन्। पचासपल्ट चीन भ्रमण गरेका किसिन्जरले चीनको भूराजनीतिबारे माओ र चाउ–एनलाइसँग सम्वाद गर्दा नेपाल–चीन सम्बन्धको पनि चर्चा गरेका पुराना कूटनीतिज्ञहरू बताउँछन्। सन् १९४९ मा कम्युनिस्ट शासन सुरु भएपछिका कथा मात्रै पढेका नेपालका कतिपय व्यक्ति ‘सुनी/जान्ने साक्षी’ मात्र भए।  

भारतबाट तिब्बत जान नेपाल छोटो बाटो भएको हुँदा रणनीतिक, सामरिक, कूटनीतिक यावत दृष्टिले नेपाल महत्वपूर्ण भएको अंग्रेजले बुझेका थिए। गीर्वाणयुद्धविक्रम शाह राजा र भीमसेन थापा प्रधानमन्त्री छँदा नेपोलियन बोनापार्टलाई जितेर फुर्सदमा रहेको अंग्रेज फौजले नेपालसँग अनावश्यक विवाद गरेर युद्ध घोषणा गरेको इतिहासकारहरूले लेखेका छन्। सन् १८१६ मा सुगौली सन्धि गरेर नेपालले मेचीपूर्व र महाकाली नदी पश्चिमको ठूलो भूभाग गुमाउनुका धेरै कारणमध्ये राजदरवार र सेनाको उच्च तहमा व्याप्त गुटबन्दी पनि प्रमुख थिए।

अंग्रेज कमान्डर अक्टरलोनीले अकुत सम्पत्तिको प्रलोभन देखाउँदा ठाडो चुनौती दिने अमरसिंह थापा पश्चिम क्षेत्रका कमान्डर थिए तर अंग्रेजसँग युद्ध गर्दा धेरै सोचविचार गर्नुपर्छ भन्ने उनको सुझावबारे कसैले गम्भीर भएर सोचेनन्। राजधानी काठमाडौँबाट धेरै टाढा पर्ने देहरादुनसम्म रसदपानी, खर्च र हातहतियार पुर्‍याउनेदेखि अनेक समस्या छँदै थियो। झण्डै तीन हजार पाँच सय जना अंग्रेज सैनिकसँग ५/६ सयको संख्यामा रहेका नेपालीले लडाइँ गरे पनि नालापानी किल्लासम्म लगिएको पानीको मुहान नै अंग्रेजले भत्काइदिएपछि किल्ला परित्याग गर्न सेना बाध्य भयो। षडयन्त्रको सिकार भएर नेपाल परास्त भएपछि दिक्क मान्दै अमरसिंहले गोसाइँ–कुण्डमा गएर आत्महत्या गरे।

रसुवा, नुवाकोट हुँदै जीतपुफेदीमै आएर चिनियाँ सेनाले हमला गरेझैँ वा देहरादुनमा अंग्रेज सेनाले घेरेझैँ शशरीर उपस्थित भएर युद्ध गर्ने अवस्था क्रमशः हराएको छ। नेपालका केही दल, मिडिया, बौद्धिक समुदाय, मानव अधिकार र डेमोक्रेसीका दुकान थापेर बसेका छन्, विदेशीको सेवा गर्ने छद्मभेषीहरू। हामी त्यही छद्मयुद्धको सिकार भइरहेका छौ। लड्ने/लडाउने मार्गचित्र विदेशमै बन्छ। हामी नेपाली आपसमा लडिरहेका छौँ।  

अमेरिकी राजनीतिज्ञ रिचर्ड डालीको तर्क छ– “असल राजनीति भनेको असल शासन, असल सरकार र असल मार्ग हो।” नेपालमा धेरै उल्टो छ। मिठाइ बनाउन चाहिने आवश्यक पदार्थहरू चिनी, घ्यु, खुवा सबै सडेको भेला गरिन्छ र स्वादिष्ट मिठाइको कल्पना गर्छौँ हामी। राष्ट्रिय सुरक्षा विदेशीलाई जिम्मा दिन खोज्ने, विकास अरूले नै गरिदिए हुन्थ्यो भन्ने, शौचालय बनाउन पनि विदेशी दान चाहिने र मलमूत्र त्याग्न पनि विदेशी अन्न खानुपर्ने देश भयो, नेपाल। यो भन्दा लज्जा, अपमान र आत्मग्लानिको विषय के होला?  

२००७ सालपछि बहत्तर वर्षसम्म क्रान्ति, विद्रोह, रक्तपात र असन्तुष्टिको धुवाँमा रुमलिएको छ राजनीति। राजा वीरेन्द्रले शान्ति क्षेत्रको प्रस्ताव अघि सार्दा विरोध गर्नेहरू हिजोआज त्यो प्रस्ताव त दूरदर्शी रहेछ भन्न थालेका छन्। राजाहरू नै राष्ट्रवादी र जनहितैषी रहेछन् भन्न थालेका छन्। इतिहास गलत रहेनछ भन्ने स्वीकार्न थालेका छन्। राष्ट्रमा झन बेथिति, अराजकता, संकीर्णता, बाह्य हस्तक्षेप र कूटनीतिका नाममा अनेक प्रपञ्च भइरहेको धेरैले स्वीकार गरेका छन्। तसर्थ यसबाट राष्ट्रले मुक्ति पाउने स्थायी उपाय खोजिएन भने नेपालमा कालान्तरसम्म पनि छद्मयुद्ध चलिरहन्छ र ननिभ्ने आगो सल्किने सम्भावना टड्कारो देखिन्छ।  

इतिहास भन्छ, यस्तै तरल, जटिल र सन्देहको वातावरणमा धेरै राष्ट्रले प्रोक्सीवार (छद्मयुद्ध) का कारण कष्ट भोगिरहेका छन्। हामी त्यतैतिर अभिमुख भइरहेका छौँ। यो कठोर सत्य उनीहरूलाई अप्रिय लाग्छ, जसले राज्यकोषबाट सुख/सुविधा पाइरहेका छन्। सीमित व्यक्तिको खुसी हेरेर अधिकांश जनता सन्तुष्ट हुँदैनन्। तसर्थ पुनः र पटक–पटक आगो बल्ने सम्भावना हाम्रा लागि ‘स्थायी सत्य’ बनेको छ।

प्रकाशित: १० असार २०७९ ०६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App