६ माघ २०८२ मंगलबार
image/svg+xml
विचार

सत्तारोहणको हतारोको नतिजा

वर्तमान सरकारलाई 'माले, मसाले मण्डले'को सरकार भनी टिप्पणी गर्न थालिएको छ। खासगरी कांग्रेस नेता–कार्यकर्ताले यो सरकारको यस्तो 'न्वारान' गरिदिएका हुन्। यो टिप्पणीलाई सबैले आआफ्ना ढंगले बुझ्छन् । आफ्नो ढंगले बुझ्ने हक उनीहरू स्वयंमा नै छ।बुझाइको सन्दर्भमा एउटा भनाइ यहाँ उल्लेख गर्नु सान्दर्भिक हुन्छ । एउटा गाउँमा धेरै मानिस भेला भएछन् । दिनभर रमाइलो गरेछन् । भेटघाट, खेल, छलफल, गाउँठाउँका साझा समस्या समाधानका योजना, निर्माणलगायत विविध विषयमा उनीहरूका बीचमा अन्तक्र्रिया भएछ । बेलुका भएपछि एकजनाले 'अब बेलुका भयो उठौँ' भनेछन् । त्यसपछि सबैका दिमागमा फरकफरक कुरा आए । कसैकोमा बेलुका भयो, घर जानुपर्छ भन्ने आयो । कसैको दिमागमा गाईवस्तुलाई घाँस–दाना दिने बेला भयो भन्ने आयो । कसैलाई सन्ध्या पाठ गर्ने बेला भयो त कसैलाई नुहाउन जाने समय भयो भन्ने लाग्यो । कसैको दिमागमा अब चोरी गर्ने समय आयो भन्ने पनि आयो । कसैलाई जंगलतिर गएर काठ काट्न हतार भयो । एउटै सन्दर्भमा उत्पन्न फरकफरक बुझाइ हो यो । यो स्वाभाविक कुरा हो । त्यसकारण अहिले कांग्रेसका नेता–कार्यकर्ताको टिप्पणी पनि स्वाभाविक हो । कसैले यसलाई सही टिप्पणी मानेका छन् त कसैले राज्यका प्रमुख पदहरू गुमाउँदाको छटपटी भनेका छन् । कसैले प्रतिपक्षीको धर्म निर्वाह गरेको बुझेका छन् । कसैले हावादारी आक्षेप भनेका छन् । यस्ता बुझाइ स्वाभाविक मान्नुपर्छ । तिनलाई अन्यथा भन्न मिल्दैन ।

नेपाली कांग्रेसको धेरै पहिलेदेखिको बुझाइ र खासगरी नेपालका कम्युनिस्टहरूसँगको एउटा गुनासो के रहने गरेको छ भने, उनीहरूले राजा र कांग्रेसको लडाईंमा वा भनाँै लोकतान्त्रिक आन्दोलनलाई उचार्इंमा पु¥याउने सन्दर्भमा कांग्रेसलाई साथ दिँदैनन् । यो इतिहासका केही तथ्यले कांग्रेसमा उब्जिएको आशंका वा गुनासो हो । यही आशंकाका आधारमा अहिले पनि लोकतन्त्रलाई संस्थागत गर्ने क्रममा उनीहरू अन्तर्मनदेखि इमानदारीपूर्वक लाग्छन् भन्ने विश्वास कांग्रेसलाई छैन । अहिलेको सरकारका सन्दर्भमा कांग्रेस पंक्तिबाट व्यक्त विचारको आधार यही आशंका र इतिहासदेखिको एउटा बुझाइ नै हो । कांग्रेसको यो बुझाइ कति ठीक वा बेठीक तथा अहिलेको आशंका उचित–अनुचित भन्ने कुरा आफ्नो ठाउँमा छदैछ । यी इतिहासका तथ्यमा हुने बहस् र भावी कदमले ठीक बुझाइ वा आशंका कि गलत बुझाइ वा आशंका भन्ने कुरालाई पुष्टि गर्दै जानेछन् ।

माले–मसाले–मण्डले एकै हुन् भन्ने शब्दाबलीको प्रयोग सबैभन्दा पहिले गिरिजाप्रसाद कोइरालाले गरेका हुन् । २०४६ सालको आन्दोलको सफलतासँगै देश दौडाहामा हिँडेका कांग्रेसका तत्कालीन महामन्त्री कोइरालाले आफ्नो हरेक भाषणमा यसो भन्ने गर्थे । ०७ सालको क्रान्तिलाई जनक्रान्ति हैन, त्यो बुर्जुवा क्रान्ति हो भनी प्रशिक्षण चलाउने, ०१७ सालको 'कु'मा कांग्रेसलाई दोषी देखाउँदै प्रचार गर्ने, ०३ सालको जनमत संग्रह बहिस्कार गर्ने र बीपी कोइराला तथा कांग्रेसबिरुद्ध मोर्चाबन्दी गर्ने कम्युनिस्ट नै थिए । ०४२ सालमा कांग्रेस सत्याग्रहमा रहँदा सिंहदरवारमा बम हानी हिंसा मच्चाएर सत्याग्रह फिर्ता गराउन बाध्य पार्ने पात्रको कम्युनिस्टसँगको संलग्नता पहिलो राष्ट्रपतिको निर्वाचनमा खुलस्त भयो । ०४६ सालको आन्दोलनको अन्तिममा (चैत २४ मा मात्र) सबै कम्युनिस्ट आन्दोलनको पक्षमा उभिनु, युद्धमा रहेको माओवादी र राजाबीच 'अघोषित कार्यगत एकता' भएको कुरा बाहिर आउनु, राजासँग संवाद गरी मूलधारका दललाई भित्तामा पु¥याउने गृहकार्यसमेत हुनु कांग्रेसको गुनासोका आधार हुन् । यीबाहेक अन्य सानातिना कुरा धेरै छन् । पञ्चायतका सरकारी गुप्तचरहरूको सूचीमा त्यसबखत थुप्रै 'भूमिगत' कम्युनिस्टको नाम रहेको दाबी कांग्रेस पंक्तिको रहन गएको छ । उनीहरू पार्टीको उच्च तहसम्म पुगेको आशंका कांग्रेसमा अझै पनि छ । यी कुराले गर्दा नै लोकतान्त्रिक आन्दोलन वा लोकतन्त्रको संस्थागत विकासमा कम्युनिस्टहरूको भूमिका रहने कुरामा आशंका गर्नु स्वाभाविक हो । बीपीले कम्युनिस्टहरूलाई कहिल्यै विश्वास गरेनन् । दरवारले कांग्रेसलाई कमजोर बनाउन कम्युनिस्ट उचालेको उनको बुझाइ थियो । केशरजंग रायमाझी प्रवृत्तिलाई उनले धेरै पहिले नै आकलन गरिसकेका थिए । त्यसैले उनले 'राजनीतिक कार्यक्रम आफूले बनाउने र त्यसमा सहमति जनाएमात्र कार्यगत एकता हुन सक्ने' प्रस्ताव पुष्पलाललाई गरेका थिए । पुष्पलाल यो कुरामा सहमतिमा आउन नसक्नु वा उनलाई यो कदम चाल्न नदिइनुलाई पनि बीपीले त्यसै रूपमा बुझेका थिए ।

०४६ सालमा बाममोर्चाको भूमिका र ०६२÷०६३ मा माओवादीसमेतको भूमिकापछि उनीहरू अब वैकल्पिक शक्तिका रूपमा उपस्थित हुन चाहेको हो भन्ने बुझाइ कांग्रेसभित्र देखिँदै गएको छ । तर पनि लोकतन्त्रको संस्थागत विकास उनीहरूको अन्तर्मनको प्रतिबद्धता हो कि हैन भन्ने आशंका अझै पनि कायम छ । यो आशंकालाई मलजल हुनेगरी वर्तमान सत्ता समीकरण निर्माण भएका कारण कांग्रेसको मनमा रहेको आशंका र बुझाइ फाटफुट प्रकट भएको हो 'माले, मसाले र मण्डलेको ऐतिहासिक सम्बन्ध फेरि देखियो' भनेर । कम्युनिस्टका 'क्रान्तिकारी गाथा'हरूले यो कुराको खण्डन होला, तर बुझाइ सबैको आआफ्नै हुन्छन् । आशंकाका साथ सबैले सबैलाई हेरेका हुन्छन् । यस्ता विषयहरू तर्कले खण्डन हुन पनि सक्दैनन् । यी त व्यवहारले सत्य वा गलत पुष्टि हुँदै जाने हुन् ।

पछिल्ला केही सन्दर्भ छन् जसले कांग्रेसी आशंकालाई पुट दिएका छन् । संविधान जारीपछि नयाँ सरकार बनाउने र त्यो एमालेको नेतृत्वमा हुने भन्ने विवादास्पद बनेको 'भद्र सहमति'लाई आधार बनाउँदै जसरी कांग्रेसबाहेकका दलहरू सत्तामा जान हतारिए, त्यसले धेरै क्षति पु¥याएको छ । त्यो हतारका कारण आन्दोलनमा रहेको मधेसी मोर्चासँग वार्ता नै हुन पाएन भने सँगै रहेको फोरम लोकतान्त्रिकलाई पनि बाहिर (केही समय) धकेलियो । यसो गर्दाको क्षति अझै पूर्ति हुन सकेको छैन । तीन वटा कुरामा संविधान संशोधन गरी मधेसलाई मिलाउने प्रस्ताव संसद्मा दर्ता भयो, तर त्यही हतारका कारण त्यसलाई अलपत्र पारियो । अब एक सयभन्दा बढी मुद्दामा संशोधन गर्ने कुरा आउन थालेको छ । पुनर्निर्माण प्राधिकरण ऐन अलपत्र पारियो, भूकम्पपीडितको हालतप्रतिको संवेदनशीलता पनि त्यही 'सत्ताको हतार'ले देख्न दिएन । यस्ता एजेन्डालाई सम्बोधन गरी नयाँ प्रधान मन्त्री चुनौँ भन्दा पनि त्यही हतारोले कान थुनिदियो । प्रधान मन्त्रीमा निर्विरोध हुने परिस्थिति नबनेपछि अरु सबै पदमा कांग्रेसलाई एक्ल्याउने मोर्चाबन्दी बन्यो । यसले संविधान संशोधनको सहजतालाई जटिलतातर्फ धकेलिदियो । सभामुखमा उम्मेदवारी नदिने कांग्रेसको निर्णयलाई अन्य पदमा सहमति गर्ने प्रस्तावका रूपमा लिनै सकिएन । यसले प्रतिपक्षीलाई रचनात्मक बनाउनेभन्दा पनि आक्रोशित बनायो । त्यसले निम्त्याउने जटिलताका बारेमा कहीँ विश्लेषण भएको सुनिएन । यी सन्दर्भहरूले कांग्रेस पंक्तिलाई 'इतिहासदेखिको कांग्रेसबिरुद्धको मोर्चाबन्दी हो' भन्ने प्रतिक्रिया दिने ठाउँ दिएका छन् ।

त्यसैगरी, लोकतन्त्रलाई बलियो बनाउने भनेको लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने नै हो । लोकतन्त्रको सबैभन्दा धेरै अभ्यास हुने, अभ्यासका क्रममा आएको जटिलतालाई सहज बनाउने र लोकतान्त्रिकीकरणको निरन्तरता र जीवन्ततालाई कायम राख्ने संस्था भनेको संसद् नै हो । सभामुख छान्ने क्रममा एमाओवादीमा जुन समस्या देखियो, त्यसले संसद्लाई बलियो बनाउने सन्दर्भमा नेतृत्व गम्भीर नभएको देखियो । ओनसरी घर्ती यो भूमिका खेल्न सफल हुनुस्, उहाँको भूमिकाले लोकतान्त्रिकीकरणलाई बलियो बनाउने विश्वास गरौँ । तर, एमाओवादीका ठूला नेताहरूमा शक्तिको उच्चतम प्रयोग गर्ने, पैसाको चलखेल गर्न सकिने मन्त्री पदहरूमा आँखा लगाउने, तर लोकतान्त्रिकीकरणको अभियानलाई बलियो बनाउने महŒवपूर्ण पदमा आँखा नलगाउने प्रवृत्ति देखियो । यसले के संकेत गर्छ ? मनन् गर्न जरुरी छ । मन्त्रीभन्दा मानका हिसाबले र लोकतन्त्रलाई बलियो बनाउने हिसाबले सभामुख नै 'ठूलो पद' हो । तर, त्यस पदप्रतिको अनाकर्षणले लोकतान्त्रिकीकरणमा साथ दिने, लोकतन्त्रलाई बलियो बनाउने भन्दा पनि शक्ति र पैसामा 'मस्ती' गर्ने सोच बोक्ने नेतृत्वबाट केकति आशा गर्ने ? यसले पनि वर्तमान सत्ता समीकरणको प्राथमिकता लोकतन्त्रलाई मजबुत गराउने र अहिलेका जल्दाबल्दा समस्याको समाधान खोज्ने होइन रहेछ भन्ने बुझाइ कांग्रेस पंक्तिमा आएको हो ।

अर्को सन्दर्भ हेरौँ, नयाँ संविधान कार्यान्वयन गर्ने यो पहिलो सरकार पनि हो । त्यसैले यो सरकारले बसालेको परम्परा एउटा राष्ट्रिय संस्कृति हुन सक्छ । संविधानको मर्म पछ्याउने कि त्यहाँका चिसा अक्षरमा आफ्नो अनुकूलता खोज्ने ? संविधानको भाग–७ को धारा ७६ को उपधारा ९ मा 'राष्ट्रपतिले प्रधान मन्त्रीको सिफारिसमा संघीय संसद्का सदस्यमध्येबाट समावेशी सिद्धान्तबमोजिम प्रधान मन्त्रीसहित बढीमा २५ जनाको मन्त्रिपरिषद् गठन गर्नेछ' भनिएको छ । त्यसको स्पष्टीकरणमा 'यस भागको प्रयोजनका लागि 'मन्त्री' भन्नाले उपप्रधान मन्त्री, मन्त्री, राज्य मन्त्री र सहायक मन्त्री सम्झनुपर्छ' समेत भनिएको छ । तर, मर्मका रूपमा रहेको यो व्यवस्थालाई सरकारले बेवास्ता ग¥यो र संक्रमणकालीन महलमा राखिएको प्रावधानमा टेकेर अगाडि बढ्यो । त्यो धाराको मर्ममा पनि यतिविधि छुट दिइएको मान्न सकिँदैन । भाग–३३ को संक्रमणकालीन व्यवस्थाअन्तर्गतको धाराको २९८को उपधारा ५ मा 'यस धाराबमोजिम गठन हुने मन्त्रिपरिषद्मा आवश्यकताअनुसार उपप्रधान मन्त्री र अन्य मन्त्रीहरू रहनेछन्' भनिएको छ । नयाँ संविधानको कार्यान्वयनसँगै एउटा परिवर्तनको अनुभूति दिलाउने र जनताको लामो समयदेखिको गुनासोलाई सम्बोधन गर्दै नयाँ संस्कृति बसाल्ने दायित्व बोकेको सरकारका प्रमुखले उल्लिखितमध्ये कुन धाराको प्रयोग गर्नुपथ्र्यो ? संक्रमणकालीन धाराकै प्रयोग गरिए पनि के अहिलेको आवश्यकता हो ६ जना उपप्रधान मन्त्री ? आवश्यकता भन्ने संविधानमा उल्लेख गरिएको व्यवस्थाको मर्म बुझ्ने कि आफूखुसी व्याख्या गर्ने ?

वर्तमान गठबन्धनमा देखिएको सत्तारोहणको हतारोले निम्त्याउने क्षतितर्फको उदासीनता र संविधानको कार्यान्वयनसँगै देखाउनुपर्ने नयाँ संस्कृति र नवीनपनको ठाडो उपेक्षाले लोकतान्त्रिकीकरणको प्रतिबद्धतामा शंका गर्ने ठाउँ दिएको छ । प्रतिपक्षमा यस्तो शंका जाग्दै जानु भनेको सरकार कमजोर बन्दै जानु हो । सरकार सञ्चालनका लागि सुझाव दिन गठन भएको 'उच्च स्तरीय संयन्त्र'ले सक्रियता देखाउन थालेमा त्यो सरकारका लागि झनै प्रत्युत्पादक हुनेछ । त्यसले पनि प्रतिपक्षलाई नै थप प्रभावकारी हुन प्रेरित गर्ने हो । संसद्मा प्रधान मन्त्रीको चुनावका क्रममा सुशील कोइरालालाई समर्थन गरेको जानकारी दिँदै कांग्रेस उपसभापति रामचन्द्र पौडेलले 'सहमति भनेको भागशान्ति जयनेपाल हो' भनेझैँ उच्च स्तरीय संयन्त्र पनि त्यही भागशान्ति हुनेछ । बलियो प्रतिपक्षी रहेको अवस्थामा भागशान्तिको अभ्यास हुँदा त्यो प्रत्युत्पादक नै हुने हो । सरकारी मोर्चाले यति कुरा बुझोस् ।

प्रकाशित: २१ कार्तिक २०७२ २१:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App