coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
विचार

निर्विकल्प बनाइएको किताबको समस्या

पुर्खाले कुन किताब पढे?

वैदिक पुर्खाले जीवन पढन सिकाए। प्रकृति पढन सिकाए। जीवन र प्रकृतिको अन्तरसम्वन्ध पढन सिकाए। आफू अंश हो अनि व्रह्म अंशी हो भन्ने कुरा पढन सिकाए। बिनाहेतु प्रकृति बन्दैन भन्ने कुरा पढन  सिकाए। संसार चक्रीय छ भनी जानकारी लिन सिकाए। हामी त्यही चक्रका अंग हौं भन्न सिकाए। यस क्रममा उनीहरूले परा बोलीमा बने बनाइएका किताब पढाए। पश्यन्ती बोलीमा बने बनाइएका किताब पढाए। मध्यमा बोलीमा बने बनाइएका किताब पढाए।

अन्त्यमा वैखरी बोलीमा बने बनाइएका किताब पढाए। कति अभ्यासी रूपमा। कति कण्ठस्थ रूपमा। कति संस्कृतिका रूपमा। कति धर्मका रूपमा। कति लौकिक नियमको रूपमा। कति दर्शनको रूपमा। कति सिद्धान्तको रूपमा।

बुद्धमार्गी पुर्खाले शून्यको अनुभव गर्न सिकाए। आफैंमा किताब खोज्न। हरकुरालाई परख गरेर मात्र स्वीकार्न। जटिल कुरालाई सहज उत्तर दिन। अलमलिने तथा अलमल्याउने विषयमा नअल्झिन। यस क्रममा बने बनाइएका कितावमा अभ्यास गर्न। किताबले भनेका कुराको अनुभव गर्न। संवाद र विवाद गर्न।

किरात पुर्खाले इतिहास सिकाए। प्रकृतिसँग जोड्ने र जोडिने संस्कार सिकाए। आफ्नो अनुभूति तथा अभ्यासमा बने बनाइएका ज्ञानलाई मुन्दुममा गुम्फन गरी जीवन्त राख्ने कला सिकाए। संस्कृतिको रूपमा। दैनिकीको रूपमा।

ती महान् पुर्खाको वसियत बोकेका हामी बैखरी बोलीमा बने बनाइएका किताबमा पुग्यौं। त्यसैले पश्यन्ती बोलीको किताबमा शंका गर्र्छाै। मध्यमा बोलीका किताबमा कल्पना देख्छौं। परा बोलीका किताबलाई अवैज्ञानिक भन्छौं। पश्चिमा शिक्षाले दिएका किताबी उपहार यति हो। यही हो। पुर्खाको क्षमता नखोज्ने। त्यसैमा जोड्नेर जोडाउने तरीका नजान्ने। यही हालत हो अहिलेको किताबी दुनियाँको। बैखरी मार्काहरूको। पश्चिमी आँखाबाट पुर्खालाई हेर्ने। आफू तथा आफ्ना कुरालाई अवैज्ञानिक भन्ने। विज्ञान प्रक्रिया हो अनि बद्लिने ज्ञान हो भन्ने तथ्य नजान्ने। अर्थात् बुद्धको परिवर्तनको सिद्धान्त नबुझेका। वैदिकको चक्रीय चिन्तन नजानेका। किरातको प्राकृतिक ज्ञान नचिनेका। कुनै बेला जमीनमा पानी परेर नदी तथा समुद्र बन्छ भन्ने वैज्ञानिकहरू नै अहिले पानीमा पो जमीन बनेछ भन्न पुग्दा पनि पत्याइएकाहरू। यस अर्थमा हामी चौखण्डी पुस्तकका शोधक हौं। चिन्तक हौं। प्रयोगकर्ता हौं। अरू तीन खण्डमा के कस्ता किताब थिए भन्न नजान्नेहरू। खोज्न नसक्नेहरू। नचाहनेहरू।

किन किताबको अभाव हुन्छ?

अभाव हुने बैखरी बोलीका किताब हुन्। भाषापिच्छेका। आवश्यकतापिच्छेका। किनकि तिनले प्रक्रिया माग्छन्। हाम्रो प्रक्रिया झन्झटिलो छ। पाठ्यक्रम विकास केन्द्रले सिआसी कपी दिने। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थीको संख्या दिने। जनक शिक्षा सामग्री केन्द्रले शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्यांकलाई नपत्याउने। त्यसैले गत सालको विद्यार्थी संख्यामा दश प्रतिशत बढाई किताव छाप्ने। छापेको किताब पनि वितरण गर्न साझा प्रकाशनलाई दिनुपर्ने।

यसरी नैं स्रष्टा पाल्ने खर्च उठाउनुपर्ने। थोरै संख्यामा छापिएका किताब मात्र जनक शिक्षा सामग्री केन्द्रले आफ्नो डिपोबाट बेच्न पाउने।  किताव छाप्न चाहिने कागज आदि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिनुपर्ने। छपाइ मेसिन मर्मत गर्न संघीय सरकारले रकम खर्चिनुपर्ने। यो अल्झोले किताबै छापिंदैन। छापिंदा पनि ढिलाइ हुन्छ। वितरणमा पनि ढिलाइ हुन्छ।

यसरी नैं स्रष्टा पाल्ने खर्च उठाउनुपर्ने। थोरै संख्यामा छापिएका किताब मात्र जनक शिक्षा सामग्री केन्द्रले आफ्नो डिपोबाट बेच्न पाउने।  किताव छाप्न चाहिने कागज आदि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिनुपर्ने। छपाइ मेसिन मर्मत गर्न संघीय सरकारले रकम खर्चिनुपर्ने। यो अल्झोले किताबै छापिंदैन। छापिंदा पनि ढिलाइ हुन्छ। वितरणमा पनि ढिलाइ हुन्छ।

निजी प्रकाशकले छापेका किताबमा माथिको अल्झो छैन। हुँदैन तर उनीहरूका किताबमा गुणस्तरको प्रश्नचाहिं उठेको छ। जनक शिक्षा सामग्री केन्द्रको जस्तो अल्झो नभएकाले निजी प्रकाशकका किताबहरू सापेक्षित रूपमा सस्तोमा छापिन्छन्। त्यसैले उनीहरूले किताब किन्नेहरूलाई कमिसन दिन्छन् साझाको भन्दा बढी। मेरो जानकारीले भन्छ–साझाले ५ प्रतिशत मात्र कमिसन दिन्छ। निजीले २० देखि ३० प्रतिशत दिन्छन्। साझाले त्यही रकमबाट स्रष्टालाई सघाउनुपर्ने हुनाले ५ प्रतिशतभन्दा बढी कमिसन दिन नसकिएको हो। अर्थात् बढ्ता कमिसन पाउने लोभले कतिपय स्कूलले साझाको किताब उठाउन्नन। निजीका किताब कुर्छन्। यी दुवै वितरकको गतिगत भिन्नताले पनि किताबको अभाव हुन्छ।

यो वर्षमा भने रुस युक्रेन युद्ध तथा नेपालको स्थानीय तहको निर्वाचनले पनि किताब छपाइ ढिला भयो। जनक शिक्षा सामग्री केन्द्रको भनाइ यही हो। तर, यी दुवै बहाना हुन्। विकल्प थिएन र? जनक शिक्षा सामग्री केन्द्रले नै निजी प्रेसलाई काममा लगाउने सोच किन बनेन? बनाइएन? यही सोचहीन स्थितिले पनि किताबको अभाव भयो।

कमीकमजोरीहरू केके हुन्?

जनक शिक्षा सामग्री केन्द्रले दायित्वबोध नगर्नु पहिलो कमजोरी हो। बोध भएपछि पनि विकल्प नखोज्नु वा नदेख्नु दोस्रो कमजोरी हो। प्रतिवर्ष किताब छाप्नुपर्छ भन्ने थोत्रे बुद्धि बोक्ने र बोकाउने पाठ्यक्रम तथा पाठ्यपुस्तक परिषदको सोच तेस्रो कमजोरी हो। मन्त्रदाता पश्चिमा गुरुहरूले बदलिंदो परिस्थितिमा यसो गर्नुपर्छ भन्ने ज्ञान नदिनु चौथो कमजोरी हो। किताब नआए यसरी पढाऊँ भन्ने सोच नदिने शिक्षक महासंघले पेशागत धर्म नबुझ्ने तथा नबुझाउने नेतृत्व पाउनु पाँचौं कमजोरी हो।

वर्षाैं त्यही पाठ्यपुस्तक पढाउँदा पनि किताबै खोज्ने भेडे बुद्धि भएका शिक्षकहरूको उपस्थिति हुनु छैटौं कमजोरी हो।

किताब पुगेन भनेर काकोहोलो गर्ने तर विकल्पबारे सोच्न नलगाउने विद्, पत्रकार, अभिभावक महासंघको चिन्तन सातौं कमजोरी हो। बहुपाठ्यपुस्तकको चिन्तन बोक्ता पनि आफैंले छापे छपाएका किताब मात्रै पढाउनुपर्छ भन्ने बानी लागेका संघीय शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री तथा तिनका कर्मचारीको बिरालो बाँध्ने चिन्तन आठौं कमजोरी हो।

वेभसाइटमा पाठ्यपुस्तक राखिदिंदा पनि त्यसको उपयोग नगर्ने शिक्षकहरूको सोच नवौं कमजोरी हो। पुस्तकालयको व्यवस्था हुँदा पनि त्यहा केही सेट पुस्तक राखेर काम गर्ने र गराउने सोच नबोक्ने प्रधानाध्यापकको नेतृत्व नवौं कमजोरी हो। कसैको नियुक्ति तथा वर्खास्तीमा चासो लिने केन्द्रीय नेताहरूको विधागत मौनता दशौं कमजोरी हो। किताब छैनन् भने यसरी पढौं वा पढ्छौं भन्ने सोच नभएका विद्यार्थीका संघसंगठनहरूको अवस्था एघारौं कमजोरी हो। खोजी पसे अरू पनि कमजोरी भेटिएलान्।

वास्तविक समस्या के हो?

एउटा पुस्तकले धेरैलाई पढाउने पुर्खा बिर्सनु वास्तविक समस्या हो। श्रवण, मनन तथा निदिध्यासनको चक्रीय मर्म नबुझनु। वैदिक, बुद्धकालीन,मुन्धुमकालीन शिक्षा घोकन्ते थियो भन्ने र भनाउनेहरूलाई त्यसमा त सुनन्ते, गुनन्ते तथा गरन्ते कुरा एकसाथ जोडिएका छन भन्ने कुराका जानकारी नहुनु। पाउलो फ्रेरेको प्राक्टिसभन्दा बलियो चिन्तन श्रवण, मनन तथा निदिध्यासनमा छ भन्ने सोच नहुनु। २०२८ सालभन्दा अघिका शिक्षकले पढाउँदा आफैंले कुन किताव पढ्ने तथा पढाउने कुराको निर्णय गर्थे भन्ने कुराको हेक्का नहुनु अनि हरकुरामा विकल्प छन्। तिनको प्रयोग गर्न सकिन्छ भन्ने चिन्तन भएका मानिसहरूको खडेरी हुनु अर्काे समस्या हो।

सिद्धान्तगत कुरा गर्दा बुद्धको दुःख छ। कारण छ। असर छ। समाधान छ भन्ने कुरालाई व्यवहारमा उतार्ने चेत नभएकाहरू निर्णायक हुनु वास्तविक समस्या हो। त्यही समस्यामा खेल्ने खेलाउनेहरूको विगविगी हुनुलाई वास्तविक समस्या मान्नुपर्छ।

जिम्मेवार को हो?

जिम्मेवारहरू तरेलीमा छौं। पहिलो तरेलीमा किताब छैन,केमा पढने? कसरी पढने? कसरी पढाउने भन्ने र भनाउनेहरू पर्छाैं।

दोस्रो तरेलीमा विकल्प नसोच्ने तथा नसोचाउने बुद्धिजीवी भनिनेहरू छौं। तेस्रो तरेलीमा प्रतिवर्ष नयाँ पाठ्यपुस्तक दिनुपर्छ भनी राज्यको ढुकुटी खर्च गर्ने गराउनेहरू छौं। चौथो तरेलीमा किताब छाप्ने तथा वितरण गर्ने स्थायी व्यावसाय पाएकाहरू छौं। पाँचौं तरेलीमा परिवेश अनुसार निर्णय दिन नसक्ने तथा नजान्ने परिषदका सदस्यहरू छौं। छैटौं तरेलीमा बहुपाठ्यपुस्तकको नीति हुँदा पनि एकल पाठ्यपुस्तक पुगेन भनी अलाप्नेहरू छौं।

पुस्तक अभाव हुन नदिन के गर्ने?

सोच बदल्नु नै समाधान हो। जनक शिक्षा सामग्री केन्द्र प्रालि हो। सरकारले पालेको निजी स्वरूपको कम्पनी। यही कम्पनीलाई नै पुस्तक छाप्ने जिम्मेवारी दिने चिन्तनमा फेरबदल ल्याउनु संरचनागत समाधान हो।

हतारको बेलामा जो कोही प्रकाशकलाई किताव छाप्न दिने व्यवस्था गर्नु सांस्कृतिक समाधान हो। मौकामा हिरा फोर्ने समाधान। साझा तथा जनक शिक्षा सामग्री केन्द्रको अमिल्दो जोडी फुटाउनु नीतिगत समाधान हो। पढाउने किताब आफैं छान भनी शिक्षकलाई स्वतन्त्रता दिनु कार्यगत समाधान हो। किताब नहुँदा यसरी पढौं। यसरी पढाऔं भन्ने सोच शिक्षकको दिमागमा घुसाउनु शैक्षणिक समाधान हो। विद्यार्थी, शिक्षक, अभिभावकलाई बिनाकिताब पढाउने कागजहीन अभ्यासबारे पुनर्अभिमुखीकरण गर्नु /गराउनु व्यवस्थापकीय समाधान हो। प्रश्न हो–कुन विधि छान्ने? यही प्रश्नको उत्तर खोजेको भए हामीले समाधान भेट्ने थियौं। प्रतिवर्ष यही समस्या उठने उठाउने पीडाबाट मुक्ति पाउँथ्यौं।

विकल्प के हुन सक्छन्?

कहाँ विकल्प खोज्ने? प्रश्न यत्ति हो। विद्यार्थीमा विकल्प खोज्ने हो भने विद्यार्थीका पुराना किताब संकलन गर्ने संस्कार बनाए हुन्छ। किताब खोज्नेहरूलाई संकलित किताब दिए हुन्छ। कोरोनाको बेलामा निजी तथा सरकारी स्कूलले यो अभ्यास गरेका थिए। नेपालभित्रै।

पुर्खामा विकल्प खोजे श्रवण, मनन तथा निदिध्यासनको चक्र परिचालन गर्ने/गराउने संस्कार बनाऔं। अनुभव तथा अनुभूतिबाट सिक्न र सिकाउन थालौं। ती परम्परागत हुन्। आधुनिक विकल्प असल छन् भन्ने मेकाले तथा ह्यूग वि उडका भरिया बन्ने हो भने पाउलो फ्रेरेको जेनरेटिभ थिममा पढाउन थालौं। संवाद गर्ने। त्यहीं विषयवस्तु निकाल्ने। त्यही कुरा पढाउने। प्राक्टिस शैलीमा पढाउन थालौं। पढेको कुरालाई व्यवहारमा जोड्ने। अभ्यास गर्ने। माथिका तरीकाले किताब माग्दैन।

शिक्षकमा विकल्प खोजे तपाईहरूमा बिनाकिताब पढाउने क्षमता छ प्रयोग गरौं भनौं। क्षमता छैन भन्नुहुन्छ भने हामी सिकाउँछौं भनौं। पालिकाका विकल्पवाला शिक्षकबाट। शोधकर्ताबाट। स्थानीय विज्ञबाट। कृत्रिम बुद्धिवाला भाइवरबाट। मेसेन्जरबाट। ह्वाटसएपबाट। बुकलेटबाट। संचारका अन्य साधनबाट।

शिक्षकमा विकल्प खोजे तपाईहरूमा बिनाकिताब पढाउने क्षमता छ प्रयोग गरौं भनौं। क्षमता छैन भन्नुहुन्छ भने हामी सिकाउँछौं भनौं। पालिकाका विकल्पवाला शिक्षकबाट। शोधकर्ताबाट। स्थानीय विज्ञबाट। कृत्रिम बुद्धिवाला भाइवरबाट। मेसेन्जरबाट। ह्वाटसएपबाट। बुकलेटबाट। संचारका अन्य साधनबाट।

प्रविधिमा विकल्प खोजे वेभसाइटका पुस्तकहरू डाउनलोड गर्ने तरीका सिकाऔं। वाइफाइ सुविधा भएका ठाउँमा आफैंले। नभएका ठाउँमा पालिकाले। बत्ती तथा प्रविधिको सुविधा नभएको ठाउँमा पालिकाका कर्मचारीको सहयोगले। आधुनिक प्रविधि नभएको ठाउँमा पुराना प्रविधिमा पढ्ने र पढाउने तरीका सिकाऔं। ज्यावलमा गणित। खेतमा विज्ञान। घरमा सामाजिक। छिमेकमा भाषा। प्रविधिमा संसार।

पुस्तकालयमा विकल्प खोजे आठ–दश सेट पुस्तक राखौं। निजीका। सरकारीका। तिनैं किताबलाई घुमाए हुन्छ। विद्यार्थीलाई बुक लोनको अभ्यास गराए हुन्छ। अन्य सन्दर्भ सामग्री प्रयोग गर्ने गराउँने अभ्यास गराए हुन्छ।

शिक्षण कलामा विकल्प खोजे शोधमा आधारित पठन कलाको थालनी गरौं।  समस्यामा आधारित भएर। जिज्ञासामा आधारित भएर। रहरमा आधारित भएर। बाध्यतामा आधारित भएर। स्थलगत अध्ययनमा आधारित भएर। पुस्तकालयमा आधारित भएर। आआफ्ना घरको प्रत्याभूतिमा आधारित भएर। मिश्रित तरीका अपनाई ज्ञान, सीप, प्रविधि आदिमा चिन्तन गर्ने र गराउने उपाय अपनाएर।

अभिभावकमा विकल्प खोजे घरबारी तथा खेत खलियानमा जे छ त्यसैमा पढ्ने र पढाउने तरीका सिकाएर। विज्ञ अभिभावकमार्फत। स्रोत व्यक्ति बन्न बनाउन सकिने अभिभावकमार्फत। प्रविधिमा पारंगत अभिभावकमार्फत। परिवर्तन खोज्ने अभिभावकमार्फत। शिक्षक तथा अभिभावकको दोहोरो दायित्व बोकेका व्यक्तित्वमार्फत।

विज्ञले किताब बनाउने चिन्तनको विकल्प खोजे बिगबुक बनाउने अभियान थालौं। विद्यार्थीले तत्स्थानमै बनाउने किताब। शिक्षक तथा विद्यार्थी मिलेर बनाउने सहकार्यका किताब। चित्रात्मक। वर्णनात्मक। व्याख्यात्मक। देखेसुनेका विषयमा स्टिम खोज्ने खोजाउने किताब। अर्थात् एउटै वस्तुमा विज्ञान खोजाउने। प्रविधि खोजाउने। इञ्जिनियरिङ खोजाउने। कलाकारिता खोजाउने। गणित खोजाउने। यस्ता किताब बनाउन पालिकको सहयोग लिए पनि हुन्छ। स्कूलले खर्चिए पनि हुन्छ। शिक्षक स्वयंले लगानी गरेर पछि बजारमा लाने खाले किताब बनाए पनि हुन्छ।

एक्काइसौं शताब्दीको शिक्षा भन्ने रट लगाउनेहरूमा विकल्प खोजे किताब नपढाउने अभियान चलाऔं। संवादमा विद्यार्थी तथा शिक्षकलाई होमेर।  शोधमा होमेर। संकथनमा होमेर। अनुसन्धानलाई संस्कृति बनाएर।

निचोड के त?

लेखको निचोड हो-किताब छैन भनेर हल्ला गर्ने बानी बन्द गरौं। विकल्प खोजौं। हल्ला गर्ने बानीले पढाइमा असर पर्‍यो। विद्यार्थी पढन नचाहने। शिक्षक पढाउन नचाहने। त्यस्तै किताब छपाइको बानी पनि सुध्रिएन। सरकारले बनाएको नीति थियो-पढाइ शुरू भएको १५ दिनभित्र किताब पुर्‍याउने। त्यो नीति पनि उल्लंघन भयो। तर, तिनमा पीडाबोध कहीं पनि देखिएन। यस अर्थमा हाम्रो हल्लाहरू अरण्यरोदन बने। बनाइए। कति अरण्यरोदनमा रमाउने? कति थारो गाई दुहुने? यी सबैको उत्तर हो-विकल्प खोजौं। विकल्प खोजाऔं। कसमा विकल्प खोज्ने भन्ने कुरा पालिकामा छोडौं। शिक्षकमा छोडौं। स्थानीय विज्ञमा छोडौं। चौखण्डी शिक्षामा अरू खण्डहरू जोडौं। चारै बोलीका कुरामा किताब बनाऔं। कागजी किताब। सुन्ने किताब। हेर्ने किताब। अन्य खाले किताब। यसो गरे दीर्घकालीन समाधान हुन्छ। नत्र अल्पकालीन कुरामा नैं रोइलो गर्ने संस्कृतिले निरन्तरता पाउँछ। सोचौं।  

प्रकाशित: ८ असार २०७९ १५:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App