८ वैशाख २०८१ शनिबार
विचार

ध्यान, योग र योगासन

शान्तितुल्यं तपो नास्ति,न संतोषात्परं सुखम।
न तेष्णयाः परो व्याधिर्न, च धर्मो दया पराः।।
“शान्ति जस्तै कुनै तप छैन, सन्ंतोष जस्तै कुनै सुख छैन, तृष्णा जस्तै कुनै रोग छैन र दया भन्दा ठूलो केही धर्म छैन।”

प्राचीनकालदेखि नै दुनियाँको सबै ठाउँमा राम्रो स्वास्थ्यका लागि मान्छेले धेरै उपाय गर्दै आइरहेको छन्। त्यसमध्ये ध्यान, योग र प्राणायाम एउटा महत्वपूर्ण उपाय छ। सबै मान्छेको एउटा मात्र प्रमुख कामना छ– शान्ति। शान्तिबिना जीवनको कुनै मूल्य छैन। शान्ति नै समझ र शक्तिमा वृद्धि गर्छ। यसका लागि जहिले पनि हामी प्रयास पनि गरिरहन्छौँ तर गलत बाटोले गर्दा सफल हुँदैन। यसको प्रमुख कारण छ- शान्ति उसको भित्र छ तर खोज्छ बाहिर। शान्तिका लागि स्वास्थ्य र सम्बन्ध दुईवटा राम्रो हुनुपर्छ।  

मानव जीवन धेरै नै जटिल र जोखिमले भरिएको छ। यसको रहस्य वा सत्यलाई जसले बुझ्छ त्यो आनन्दित रहन्छ। जसले बुझ्दैन त्यसको जीवन अन्धकारले व्याप्त रहन्छ। प्राचीनकालदेखि समस्त जगत्मा विभिन्न ठाउँमा जहिले पनि महापुरुषहरूको पनि जन्म भइ नै रहेको छ। उहाँहरूको जीवनको उद्देश्य सामान्यजनमा नैतिकता र आध्यात्मिकताको पाठ सिकाउनु थियो। यसै क्रममा ध्यान योगको पनि विकास भएको थियो। योगको जन्मदाता भगवान शिव हुनुहुन्थ्यो। पछि एउटा महर्षि श्री पतञ्जलिले योगका सूत्रलाई व्यवस्थित र सरल गर्नु भो। अति व्यस्तताले गर्दा मान्छे आफनो स्वास्थ्यमा ध्यान दिँदैन। जसले गर्दा थरी-थरीको मानसिक र शारीरिक रोग भई नै रहन्छ। मान्छे धन कमाउनका लागि स्वास्थ्य खराब गरिदिन्छ। फेरि त्यही धन स्वास्थ्य ठीक गर्नमा लगाउँछ।

धेरै प्राचीनकालदेखि चलिआइरहेको ध्यान, प्राणायाम र योगासनहरूको पद्धति वर्तमान समयमा धेरै नै विख्यात र वैज्ञानिक भइसकेको छ। मुख्यरूपमा ८४ देखि १०८ प्रकारको योगासन विधि छन् तर एउटा कुरा याद राख्नुपर्छ कि संख्याको बारेमा विवाद गर्न पर्दैन किनकि विभिन्न योगाचार्यको यस सम्बन्धमा छुट्टाछुट्टै मत छन्। महर्षि पतञ्जलिका अनुसार योगको आठवटा अंग हो– यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि।  

यसमा पहिलो चारवटाको सम्बन्ध भावशुद्धि, शरीरशुद्धि र व्यवस्थाशुद्धिसित छ। अन्तिम चारवटाको सम्बन्ध आत्मज्ञान, मुक्ति तथा सत्य प्राप्तिसित छ। यहाँ योगको प्रमुख तीनवटा अंग–आसन (योगासन) प्राणायाम र ध्यानको बारेमा बताउन गइरहेछु।

हुन त जीवनको अनुभवको बारेमा सबै मान्छेको आफनो (आफनो विचार छ। तर मुख्यरूपमा जीवनको दुइवटा उद्देश्य छ। पहिलो सफलता प्राप्त गर्ने। दोस्रो त्यसको मजा लिने। धेरैे कम मान्छे दोस्रो लक्ष्य प्राप्त गर्छ। किनकि बढी भन्दा बढी मान्छे जीवनभरि तयारी नै गरिरहन्छ। तयारी गर्दागर्दै अन्तिम समय आइहाल्छ। समझ नभएका कारण मानिस कम समयमा धेरै लाभको कामना गर्छ। यस क्रममा आफ्नो स्वास्थ्य खराब गरिदिन्छ। जीवनलाई अस्तव्यस्त बनाइदिन्छ। त्यसपछि सम्बन्धमा सन्तुलन र मानसिक शान्ति रहँदैन। जीवन यस्तो जटिल छ कि कुनै पनि कार्यलाई एउटा नियम अन्तर्गत गर्नु भएन भने यसको राम्रो परिणाम आउँदैन।

अष्टांग योगको सबैभन्दा महत्वपूर्ण अंग आसन, प्राणायाम र ध्यान हो। यहाँ एउटा कुरा विशेषरूपमा याद राख्नुपर्छ कि योग र योगासनमा धेरै फरक हुन्छ। आसन भनेको योगासन हुन्छ। सामान्य अर्थमा शारीरिक व्यायाम भन्न सकिन्छ। मानवरूपी जीवात्मा र विश्वात्माको संयोगको बोधलाई योग भनिन्छ। योगासनबाट शरीरलाई बलियो बनाउन सकिन्छ, प्राणायामबाट सेन्टल नर्वस सिस्टमको कार्यक्षमतालाई बढाउन मद्दत मिल्छ र ध्यान मस्तिष्क र मनलाई स्वस्थ, शान्त र सक्रिय बनाउँछ।  

दैनिक जीवनमा योग, प्राणायाम र ध्यान गर्‍यो भने स्वास्थ्यबाहेक धैर्य, आत्मविश्वास र आध्यात्मिक बौद्धिकतामा वृद्धि हुन्छ। यहाँसम्म कि मोक्ष वा मुक्ति पनि ध्यानबाट हुन सक्छ। किनकि सांसारिक जगत्मा सुख, शान्ति, आध्यात्मिक ज्ञान र सफलताका लागि यसबाहेक कुनै पनि उपाय छैन। यो शुद्ध विज्ञान हो। कुनै पनि धर्मसित सम्बन्ध छैन।

१.आसन– आसनको मतलब हुन्छ योगासन। भन्दाखेरि बस्ने तरिका। यसमा कुनै क्रिया बसेर, कुनै क्रिया उभेर र कुनै क्रिया सुतेर गर्नुपर्छ। यसमा लयबद्ध तरिकाले शरीरलाई देब्रे र दाहिना, अगाडि र पछाडि, मोड्ने र सीधा गर्नुपर्छ। सामान्य अर्थमा यसलाई शारीरिक व्यायाम पनि भन्न सकिन्छ। दैनिकरूपमा योगासन गर्नाले सेन्ट्रल नर्वस सिस्टम सन्तुलित रहन्छ। शरीरको समस्त आन्तरिक कार्यप्रणाली सुचारुरूपमा चल्छ। जसले गर्दा रगत, अक्सिजन र थरि-थरिका हार्मोनको आपूर्ति सन्तुलितरूपमा चलिरहन्छ। यसका साथ–साथ कार्यक्षमता, रोगमुक्ति तथा आत्मशक्तिमा वृद्धि गर्छ।  

जीवन असन्तुलित भएको कारणले हाम्रो खानपिन, सुताइ र आराम कुनै पनि कुरा ठीकसित हुँदैन। यस कारण हाम्रो शरीरमा लचिलोपन समाप्त भइहाल्छ। शरीरमा लचिलोपन नभएका कारणले शरीरको प्रमुख स्नायु प्रणालीमा रगत, हार्मोन र अक्सिजनको संचरण राम्रो तरिकाले हुँदैन। राम्रो तरिकाले योगासन गर्नाले शरीरको स्नायुहरू लचिला भएर राम्रो तरिकाले काम गर्छ। राम्रो स्वास्थ्यका लागि यो सात आठवटा योगासन गर्न सकिन्छ– वज्रासन, पृथ्वी नमस्कार, सर्पासन, पवन मुक्तासन, हलासन, चक्रासन, ताडासन।

२. प्राणायाम– यसलाई सामान्य अर्थमा ब्रिदिङ एक्सरसाइज (श्वास–प्रश्वास को क्रिया) भनिन्छ। यौगिक भाषामा श्वास–प्रश्वासको गतिलाई सन्तुलित गर्ने पद्धतिलाई प्राणायाम भनिन्छ। प्राणायाम मानसिक क्षमतामा वृद्धि गर्छ, रगत संचरणलाई सुचारु गर्छ। यसबाहेक शरीरमा अक्सिजनको अतिरिक्त आपूर्ति गर्छ। जसले गर्दा समस्त ग्लैंडहरू राम्रो तरिकाले काम गर्छ। लगभग सातवटा प्रमुख प्राणायाम छन्। जसमध्ये कुनै दुईवटा गरेर यसको लाभ लिन सक्छ– अंर्तकुंभक, बाहयकुंभक, दवैतकुंभक, अनुलोम विलोम, कपालभाति, भस्त्रिका, नाडीशोधन।

एउटा सरल प्राणायाम पनि छ। यसका लागि खास केही गर्न पर्दैन। यो एउटा प्राणायाम गरेमा हामीलाई धेरै उपयोगी हुन्छ। बिहान-बिहान खुलामा पलेटी कसेर बस्ने विस्तारै-विस्तारै सय पटक लामो र गहिरो सास नाकबाट लिने र छोडिदिने। यो गर्नको लागि मात्र छदेखि सात मिनट लाग्छ तर अल्छीले गर्दा मान्छे यो पनि गर्न चाहँदैन।

३.ध्यान– यो एक प्रकारको मानसिक क्रिया हो। यसमा भाव गरेर, मन्त्र जप वा एकाग्रताको शक्तिबाट मनलाई विचार शून्य गरिन्छ। क्रियाबाट सुरु भएर अक्रियाको स्थितिसम्मको यात्राको नाम हो ध्यान। सामान्यरूपमा प्रत्येक मानवको मनमा २४ घन्टामा ६० हजार विचार आउँछ। यसमा अधिकतम विचार नकारात्मक हुन्छ। जसले गर्दा मानसिक असन्तुलन, रोग–व्याधि, निराशा, तनाव, असन्तुष्टिको स्थिति सिर्जना हुन्छ। ध्यान गर्नाले मनमा सकारात्मक विचारको प्रभाव हुन्छ। यस कारण आत्मविश्वास, धैर्य, आनन्द तथा समझमा वृद्धि हुन्छ। जुन अज्ञानताको कारणले हाम्रो सम्बन्धमा कलह भइरहन्छ वा दैनिक जीवनमा दुःखको सामना गर्न परिरहन्छ। यो सबै समस्याबाट मुक्तिका लागि ध्यान गर्न आवश्यक छ।

सामान्य स्थितिमा हाम्रो मस्तिष्कले कास्मिक र दिव्य ऊर्जा ग्रहण गर्न सक्दैन। कुनै कुनै बेला जब हामी गहिरो निद्रामा वा आनन्दमा हुन्छौँ त्यो बेला अलिकति दिव्य ऊर्जा प्राप्त हुन्छ। यो दिव्य ऊर्जा प्राप्त गर्नका लागि ध्यान धेरै लाभकारी उपाय हो। जब तपाईँ ध्यान प्रारम्भ गर्नुहुन्छ त्यो बेला विचार धेरै आउन सक्छ। तर यसको चिन्ता गर्नुपर्दैन। किनकि विस्तारै विस्तारै विचार हराएर जान्छ। लगभग बाउन्न घन्टा ध्यानको अभ्यास पूरा भएपछि हाम्रो चेतनामा धेरै विकास भएको महसुस हुन्छ। दिव्य आनन्द र प्रफुल्लताको पनि अनुभव हुन्छ।

योगासनको सिद्धान्त

१. जाडोमा ४० मिनट, वर्षामा ३५ र गर्मीमा ३० मिनट भन्दा बढी आसन गर्नु हुँदैन।

२. योगासन प्रातःकाल खाली पेट भएको बेला गर्नुपर्छ। बेलुकी गर्ने हो भने खाना खाएको तीन–चार घन्टापछि मात्र गर्न सकिन्छ। योगासन गरेकोे २० मिनेटपछि खाना खान सकिन्छ।

३.कुनै पनि मानिसलाई सबै आसन गर्न पर्दैन। आवश्यकताअनुसार १० देखि १२ आसन दुईवटा प्राणायाम र एउटा ध्यान गरे पुग्छ।

४.सबै भन्दा पहिला योगासन, त्यसपछि प्राणायाम र अन्तमा ध्यान गर्नुपर्छ।

५.मासिक धर्म, जिउ दुखाइ तथा सामान्य रोग भएको बेलामा योगासन गर्न मिल्दैन।

६. गर्भावस्थाको बेला विशेषरूपमा लेडी डाक्टर र योग्य योगाचार्यसित प्रशिक्षण लिएर मात्र गर्न सकिन्छ।

७.कुनै पनि प्रकारको ठूलो अपरेसन भएपछि ६ महिनापछि मात्र योगासन गर्न सकिन्छ।

८. शरीरमा खुकलो लुगा लगाएर खुला वातावरण र एकान्तमा योगासन गर्न राम्रो हुन्छ।

९. हतार–हतारमा र बढी शक्ति लगाएर तथा प्रथम दिनदेखि नै धेरै क्रिया गर्न हुँदैन।

१०.टेलिभिजन हेरेर, किताबको लेख पढेर तथा नयाँ प्रशिक्षकबाट योगासन सिक्न हुँदैन।

योगाचार्यहरूका लागि

१. अज्ञानता र अहंकारवश कुनै गलत सुझाव दिन हुँदैन।

२.सबै व्यक्तिको रहन–सहन, शारीरिक बनावट र समस्या छुट्टै हुन्छ। यस कारण सबै आसन सब जनाले गर्न सक्दैन।

३. कुनै–कुनै आसनको नाम बेग्लै हुन सक्छ। यस कारण नामको कारण पनि विवाद गर्नु हुँदैन।

४.उमेर, समस्या र आवश्यकतानुसार मात्र योगासन सिकाउन पर्छ।  

५.योगासनको मात्राको ख्याल राख्नुपर्छ। भन्दाखेरि कुन आसन कति पटक गर्नुपर्छ भन्ने जानकारी दिनुपर्छ।

६.समूहमा गराउँदा योग्य प्रशिक्षकको टोली राख्नुपर्छ।

(योगा फाँर माइन्ड मैनेजमेन्ट तथा सृष्टि साधना केन्द्र, नेपालको संस्थापक)

प्रकाशित: ७ असार २०७९ ००:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App