२ भाद्र २०७९ बिहीबार
विचार

सुशासनको मियोः पारदर्शिता

काठमाडौँ महानगरपालिकाको कार्यकारी समितिको बैठकलाई पारदर्शी गरेबाट नवनिर्वाचित मेयर बालेन साहले एक परिपक्व एवं ऐतिहासिक कामको थालनी गरेका छन्। आफ्नो यस महत्वपूर्ण कार्यकाल ‘सफा नियत’ बाट हाँक्ने मनसाय तिनले देखाएका छन्। नागरिकप्रति इमान्दारिताको झल्को प्रस्तुत गरेका छन्। अँध्यारो कोठामा राजनीति गरेर निहीत स्वार्थ साँध्नेका लागि एक बलियो झड्का दिएका छन्। जनप्रतिनिधिलाई मतदाताको प्रत्यक्ष निगरानीमा राखेका छन्। पारदर्शितालाई लोकतन्त्रको जीवनशैली बनाउने प्रयत्न गरेका छन्।

तथापि लोकतन्त्रको यस उच्चतम तथा इमान्दार अभ्यासलाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ। प्रायः सबैले उनको यस साहसिक सत्कार्यको उच्च मूल्यांकन एवं प्रशंसा गरेका छन्। तर यस निर्णयलाई गोपनीयता उल्लंघन भएको भ्रम पनि छरिएको छ। असल उद्देश्यबाट थालिएको यस प्रयासलाई निरुत्साहित गर्न कतिपयले खोजेका छन्।

‘नेपाली बृहत् शब्दकोश’ मा गोपनीयको परिभाषालाई ‘खास व्यक्ति, वर्ग वा समूहदेखि बाहिर नजाओस् भनी लुकाएर राख्न आवश्यक, छिपाउन लायक’ भनेर परिभाषा गरिएको छ। साथै नेपालको संविधानले कानुनले तोकेका संवेदनशील विषयबाहेक सार्वजनिक चासोको विषयलाई गोप्य मान्दैन। त्यसैले महानगरको बैठक सार्वजनिक चासोको विषय भएकाले गोप्य र संवेदनशील हुन सक्दैन। साथै सूचनाको हकले प्रत्येक नागरिकलाई यसको (कानुनले तोकेबाहेक) सूचना पाउने अधिकार सुनिश्चित गरेको छ।

किनभने लोकतन्त्र भनेको पारदर्शिता पनि हो। नागरिकको सूचनाको अधिकार सुनिश्चित गर्ने यो एक प्रणालीसमेत हो। जनताको विश्वास जित्ने यो एक उन्नत अभ्यास हो। यसबाट विधिको शासनलाई संस्थागत गर्ने अवसर प्राप्त हुन्छ। लोकतन्त्रलाई खोक्रो बनाउने भ्रष्टचार जस्तो गम्भीर रोगलाई न्यून गर्ने उपयुक्त धरातल बन्न सक्छ। यस अभ्यासबाट नागरिकले आफ्ना प्रतिनिधिका भूमिकाको मूल्यांकन गर्ने अवसर पाउने छन्। साथै मतदाताका मन जितेर चुनिएका जनप्रतिनिधि समेत नागरिकप्रति जवाफदेही बन्ने वातावरण बन्नेछ।

यसबाट मुलुकको लोकतान्त्रिक प्रणाली अझ सबल र दिगो बन्ने छ। कानुनले वर्जित गरेका कसैको व्यक्तिगत गोपनीयताको हक वा राष्ट्रको सुरक्षा तथा शान्तिमा असर पार्ने कार्यमा पालिका बैठकको प्रत्यक्ष प्रशारणले असर पार्दैन। त्यसैले विश्वका लोकतान्त्रिक मुलुकमा संसद्लगायत जनतासँग सरोकार रहेका महत्वपूर्ण बैठकका काम कारबाही पारदर्शी गर्ने चलन छ।

नेपालमा पनि यस अभ्यास संसद् अधिवेशन तथा राज्यका विशेष कार्यक्रमहरूमा सीमित रहे पनि यसको विस्तार अब काठमाडौँ मनपाका नियमित बैठकसम्म पुगेको छ। असल लोकतान्त्रिक अभ्यासमा यसले एक खुड्किलो थपेको छ। साथै यस कार्यलाई अन्य पालिकाले पनि अनुशरण गर्ने विश्वास लिइएको छ।

त्यसैले बैठकको पारदर्शितालाई लिएर ‘सपथ ग्रहण’ को गोपनीयता विपरित भएको मान्न मिल्दैन। गोपनीयताको सपथ लिनु भनेको अनुशासनमा बस्नु हो। पदीय मर्यादाको उल्लंघन नगर्नु हो। कानुनी शासन पालना गर्नु हो। राष्ट्र तथा जनताप्रति इमान्दार एवं जवाफदेही बन्नु हो। लोकतन्त्रप्रति प्रतिबद्ध हुनु हो। सार्वजनिक सरोकार र चासोको विषय लुकाउनु होइन।

हालसालै महानगरको दोस्रो बैठक पनि सम्पन्न भएको छ। यसको सकारात्मक परिणाम देख्न थालिएको छ। किनभने पालिकाको पहिलो भन्दा दोस्रो बैठक निकै संयमित तथा भद्र शैलीमा सम्पन्न भयो। पहिलो बैठकमा मेयर तथा उपमेयर भन्दा पाका रहेका वडा अध्यक्षहरूले आफ्नो प्रभाव जमाउन खोजेका थिए। मेयरको कार्यशैलीको अवमूल्यन गरेर कतिपय सदस्यले दलीय प्रभाव बैठकमा प्रदर्शन गरेका थिए। तर त्यस व्यवहारको सर्वत्र आलोचना भएको छ। बैठकमा भएका तिनका अमर्यादित ब्यवहार प्रत्युत्पादक भएका छन्। मेयर बालेनलाई अप्ठ्यारो पार्न खोज्दा तिनी आफैँ उदाङ्गिएका छन्।

प्रत्यक्ष प्रशारण भएको उक्त बैठक मेयर बालेनका लागि भने फलदायी सावित भएको छ। तिनले आफ्नो इमान्दार तथा जवाफदेही सोचलाई व्यवहारमा उतार्न सफल भएका छन्। लोकतन्त्रका सिद्धान्त भाषणमा मात्र नभएर कार्यशैलीमा कसरी ढाल्ने भनेर देखाएका छन्। सिसडोल तथा बन्चरे डाँडाका बासिन्दाप्रति उनको मानवीय संवेदनशीलताले सबैको मन छोएको छ। काठमाडौँ उपत्यकाको फोहर थुपारिएबाट त्यस क्षेत्रका केही बासिन्दाको मृत्युसमेत भई स्वास्थ्यमा परेका असरलाई आत्मासात गरेका छन्। यसबाट उनी एक संवेदनशील तथा व्यावहारिक नेता भएको देखाएका छन्।

उक्त दुवै बैठकमा उपमेयर सुनिता डंगोलको सहयोगी व्यवहारलाई धेरैले मन पराए। पालिकाका बैठकदेखि फोहर व्यवस्थापनका लागि मेयर बालेनलाई बलियो साथ दिइन्। समाधानका उपाय खोज्ने प्रयत्न गरेकी छन्। एक असल, इमान्दार र उत्साही युवा जनप्रतिधिको भूमिका निर्वाह गरेकी छन्। राजनीतिक पूर्वाग्रह नराखी उनले गरेको समन्वयकारी भूमिका प्रशंसनीय छ।

काठमाडौं उपत्यकाभित्रको स्थायी फोहर व्यवस्थापनलाई बालेनले एक प्रमुख ‘अजेन्डा’ बनाएका छन्। सिसडोल तथा बन्चरेडाँडाबासी, संघीय सरकार तथा प्रमुख राजनीतिक दलका प्रतिनिधिसँग विभिन्न चरणमा पारदर्शी ढंगबाट भएका छलफलले समस्याको जड पैलाएको छ। सरोकारवालासँग बारम्बार सम्झौता गर्ने तर कार्यान्वयनप्रति उदासीन हुने यस समस्याको मूल जड पाइएको छ।

यी बैठकबाट सिसडोल तथा बन्चरेडाँडाका बासिन्दामाथि भएका अन्यायको पहिचान भएको छ। यसबाट स्थायी समाधानको बाटो खोलिदिएको छ। तर यसको स्थायी समाधान इमान्दार नेतृत्वमा निर्भर रहने देखिएको छ। बालेनको सफल कार्यकाल यसैको सरोफेरोमा निर्भर छ।

उनका यी खुला व्यवहारलाई नागरिकसँग प्रत्यक्ष जोडिने एक औजार बनाएका छन्। यसबाट निर्वाचन पश्चात पनि मतदातासँग सम्बन्ध कायम राख्ने उपाय खोजेका छन्। बालेनको यस कार्यशैलीले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको खुलापनको झझल्को दिएको छ। उनका हरेक सार्वजनिक गतिविधि सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारणबाट जनतासँग जोडिने गरेका छन्।

केजरीवालले आफ्नो दलको नाम ‘आम आद्मी पार्टी’ राखेर नामअनुसारको काम गरेका छन्। उनले आफ्नो व्यक्तिगत आचरण तथा जीवनशैली त्यसैमा ढालेका छन्।

केजरीवालले पार्टीको निर्माणमा सामानता र न्यायलाई मुख्य आदर्श बनाएका थिए। नयाँ भारतको ठूलो सपना बाँडेका थिएनन्। उनले केवल ‘सफा नियत’ राखेर अघि बढेका थिए। गान्धीवादी नेता अन्ना हजारेको भ्रष्टाचारविरुद्ध सत्याग्रहबाट ‘भष्टाचार विरोधी’ पहिचान उनले बनाएका थिए। उनी हजारेका एक प्रमुख सहयोगी थिए। लोकपाल कानुन (भ्रष्टाचारविरुद्धको कानुन) जारी गर्न माग राखेर दिल्लीमा थालेको यस अभियान आमनागरिकसँग जोडिन पुग्यो। व्यापक जनसमर्थन जुटाउन यो सफल भयो।

यसै सन्दर्भमा सत्ताधारी दलले हजारे समूहले राखेको माग सम्बोधन गरेन। बरु चुनाव जितेर कानुन बनाउन चुनौती दिए। केजरीवालले त्यस चुनौतीलाई स्वीकारे। राजनीतिक दल खोल्ने हजारेको समर्थन नरहे पनि ‘आम आद्मी पार्टी’ को स्थापना उनले गरे। भ्रष्टाचार मुक्त भारतका पक्षमा रहेका इमान्दार तथा परिवर्तनवादी युवा वर्ग यस राजनीतिक लडाइँमा जोडिए।

सत्तरी वर्षदेखि एकछत्र राज गरेका भारतीय काँग्रेस तथा बिजेपीलाई बलियो झट्का दिँदै लगातार तीन पटक दिल्लीको मुख्य मन्त्री केजरीवाल बने। लोकपाल कानुन पारित गरे। पार्टी गठन भएको दश वर्षको छोटो अवधिमा पंजाब राज्यमा पनि अत्यधिक बहुमतका साथ सरकार बनाउन सफल भए।

काँग्रेस तथा बिजेपीको वैकल्पिक शक्तिका रूपमा देखिएको यो पार्टीको नजर अब दक्षिण भरतको केरला राज्यमा परेको छ। भारतको भावी प्रधानमन्त्रीका रूपमा हेरिएका केजरीवालको सफलता उनको सामान्य जीवन शैली, सफा नियत, कुशल व्यवस्थापन र व्यावहारिक राजनीतिबाट प्राप्त भएको हो।

कसरी जोडिए केजरीवाल नागरिकसँग?

सर्वप्रथम बन्दकोठा र भिआइपीबीच हुने गरेका सपथ ग्रहणलाई दिल्लीको रामलीला मैदानमा उतारेर विशाल जनसमूहसामु सपथ लिए। सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारणबाट जनतासँग जोडिन थाले। स्रोतालाई प्रश्न गर्न तथा सुझाव दिन प्रोत्साहित गरे। यसबाट सर्वसाधारण (आमआद्मी) का स्वास्थ्य, शिक्षा तथा दैनिकी समस्या पहिचान गरे। असम्भव जस्तो देखिने बिजुली तथा पानी जस्ता अत्यावश्यक उपभोग्य वस्तु विपन्न वर्गलाई निःशुल्क गरिदिए। गुणस्तरीय सुलभ स्वास्थ्य सेवा तथा शिक्षा सुनिश्चित गरे। सुशासन र कुसल ब्यवस्थापनको परिभाषा तिनले रचे।

चुनावी अभियानमा मुख्यमन्त्री कसलाई बनाउने भनेर पन्जाबका जनताका मतबाट भावी मुख्यमन्त्रीको घोषणा केजरीवालले गरे। अन्य पार्टीका नेतालाई हिलो छ्यापेर मतदाताको मन जित्ने परम्परा उनले तोडे। आफ्ना नीति, कार्यक्रम एवं सफलताका कथा सबैले बुझ्ने गरी बताउँदै गए। यसबाट जनताको विश्वास उनले आर्जन गरे।

आफ्नो र पार्टीको लोकप्रियता बढाए। एक साधारण ब्यक्ति कुसल राजनीतिज्ञ बन्न सक्ने अद्भूत उदाहरण प्रस्तुत गरे। निष्ठा तथा इमान्दारिताको राजनीति पुरस्कृत हुने परिस्थिति सिर्जना गरे। तथापि शासन प्रणालीमा अपारदर्शी अभ्यास कति घातक हुन्छ भन्ने दृष्टान्त नेपालको ‘एसपिपी’ प्रकरणले यतिखेर सबैलाई झस्काएको छ।

प्रकाशित: ५ असार २०७९ ०७:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App