२ भाद्र २०७९ बिहीबार
विचार

भारतीय परराष्ट्र नीतिका सबल र दुर्बल पक्ष

जुन महिनाको पहिलो साताका दुई घटनाले भारतको परराष्ट्र नीतिका दुई परस्पर विरोधी पक्ष उजागर भएका छन्। आन्तरिक राजनीति विषाक्त बन्दै जाँदा यस्तो स्थिति आएको हो। स्लोभाकियाका ब्राटिस्लाभामा भएको ग्लोबसेक सम्मेलनका दौरानमा एक प्रश्नको उत्तर दिने क्रममा भारतका परराष्ट्रमन्त्री सुब्रमन्यन जयशंकरले दिएको प्रतिक्रिया अत्यन्त महत्वपूर्ण रह्यो।

युक्रेन युद्धको बारेमा उनले दिएको धारणा यति धेरै शक्तिशाली थियो कि यो भारतमा मात्र होइन, युरोप र अन्य देशमा समेत तुरुन्त भाइरल बन्यो। इरान र अन्य अरब देशले जयशंकरको भिडियो क्लिपलाई आफ्नै भाषामा अनुवाद गरेर व्यापक रूपमा सेयर गरेका गरेका थिए। केही अन्तर्राष्ट्रिय विज्ञले यसलाई ‘भारतको प्रौढताका क्षण’ भनेर संज्ञासमेत दिएका थिए।

उक्त अन्तर्वार्ता भारतले युक्रेन युद्धमा कुनै पक्षलाई साथ नदिएको सम्बधमा केन्द्रित थियो। भारतले रुसी आक्रमणको निन्दा गर्न इन्कार गरेको थियो भने सँगसँगै युक्रेनलाई मानवीय सहयोग पनि उपलब्ध गराएर अमेरिकासँग रहेको द्विपक्षीय सम्बन्धलाई सुमधुर राख्न चाहेको थियो। अर्काेतिर अमेरिका, अस्ट्रेलिया, जापानसहितको सैनिक गठबन्धन क्वाडमा भारत सहभागी रहँदै आएको छ।

अन्तर्वार्तामा जयशंकरले युरोपेलीहरूले ठानेझैँ अन्य राष्ट्रको द्वन्द्वलाई हेर्ने दृष्टिकोण समान नहुने तर्क गरेका थिए। ‘युरोपका समस्या विश्वका समस्या हुन र विश्वका समस्या युरोपका होइनन् भन्ने अवधारणाबाट युरोप बाहिर आउनुपर्छ’–उनले भनेका थिए। साथै उनले विश्व विगतमा जस्तो ‘युरोप–केन्द्रित’ हुन नसक्ने बताएका थिए।

उनले भनेका थिए, ‘युरोप एसिया र विश्वमा भएका कतिपय घटनामा बोलेको छैन। यस्तो अवस्थामा एसियाका कुनै व्यक्तिले युरोपलाई कसरी विश्वास गर्न सक्छन्?’ यसैगरी उनले पश्चिमी राष्ट्रले जस्तै भारतले आफ्नो स्वार्थको हिसाबले द्वन्द्वलाई हेर्ने र वर्तमान द्वन्द्वमा भारतको धारणा सही रहेको दाबी गरेका थिए। परराष्ट्रमन्त्रीले प्रष्ट, आत्मविश्वासपूर्ण र निडर हिसाबले भारतको रणनीतिक स्वायत्ततालाई महत्व दिएका थिए।

चीन र रुससँगको बढ्दो टकरावको परिप्रेक्ष्यमा भारत पश्चिमा राष्ट्रको पक्षमा हुनुपर्छ भन्ने धारणा राख्ने केही व्यक्ति खुसी नभए पनि परराष्ट्रमन्त्रीको यो भनाइलाई अधिकांश भारतीयले समर्थन जनाएका छन्। सबैभन्दा महत्वपूर्ण के रह्यो भने जयशंकरको भनाइलाई पश्चिमा राष्ट्रको समर्थन गर्दै आएका केही मुस्लिम देशले पनि रुचाए।

विश्वका विकासोन्मुख देशमा भारतको प्रशंसा भइरहेका बेला भारतमै अर्काे घटना भयो। सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का दुई प्रवक्ताले पैगम्बर मोहम्मदका बारेमा आपत्तिजनक भनाइ राखेपछि यसको तीव्र विरोध भयो। बहुसंख्यक हिन्दुको मत निरन्तर पाउन भाजपाले मुस्लिम समुदायलाई यन्त्रणा दिने काम गर्दै आएको छ तर पैगम्बर मोहम्मदमाथिको यसपटकको आक्रमण र अपमानले सर्वस्वीकार्य सीमा नाघेको देखियो।

इन्टरनेटको विकासका कारण भारतको राजनीतिक घटनाक्रम सीमाभित्र मात्र सीमित छैनन्। यो विषयलाई लिएर मुस्लिम देशहरूले तत्काल प्रतिक्रिया दिए। खाडी मुलुकसहित कतिपय मुस्लिम देशले भारतीय राजदूतलाई बोलाएर उक्त भनाइप्रति आपत्ति जनाए र त्यस्तो भनाइ राख्नेलाई कारबाहीसमेत माग गरे। यो क्रममा कतारले आफ्नो देशको भ्रमणमा रहेका भारतीय उपराष्ट्रपतिसँग आयोजना गर्न लागिएको दिवाभोजसमेत रद्द गर्‍यो।

भारतको मित्र नरहेको अर्गनाइजेसन अफ इस्लामिक कोपरेसनले विकसित परिस्थितिको फाइदा उठाउँदै संयुक्त राष्ट्र संघले यो विषयमा हस्तक्षेप गर्नुपर्ने माग गर्‍यो। कतिपय मुस्लिम देशमा भारतीय उत्पादन बहिष्कार गर्ने अभियान चल्यो भने खाडी राष्ट्रमा काम गरिरहेका कतिपय भारतीयले रोजगारी गुमाउनुपर्‍यो। यो नोक्सानी कम गर्न भारतीय अधिकारीले उक्त भनाइ केही सीमित व्यक्तिको रहेको र भारत सरकारको नभएको बारम्बार दोहोर्‍याए।

भाजपाका दुवै प्रवक्तालाई पदबाट हटाइयो। एकजनालाई पार्टीबाट निष्काशन गरियो भने अर्कालाई निलम्बन गरियो। तर यो घटनाले प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले गर्दै आएको इस्लाम धर्मावलम्बीविरुद्धको ‘इस्लामोफोबिया’ लाई मुखरित गरेको छ भने मुस्लिम विश्वले भारतलाई हेर्ने दृष्टिकोणलाई नराम्ररी प्रभावित पारेको छ।

मुस्लिम राष्ट्रले गरेको आलोचना र भारतले गरेको तत्काल प्रतिक्रियाले के प्रष्ट पार्छ भने भारतीय स्वार्थका लागि खाडी क्षेत्र अत्यन्त महत्वपूर्ण छ। यो क्षेत्र भारतको खास व्यापारिक मित्र हो भने यसले भारतको ऊर्जा सुरक्षाका लागि ठूलो योगदान दिँदै आएको छ। यसैगरी भारतका ८० लाखले यो क्षेत्रमा काम गर्दै आएका छन् भने आतंकवादविरुद्धको लडाइँ पनि यो क्षेत्रको भूमिका महत्वपूर्ण छ।

आफ्नो स्वार्थ पूरा गर्न भाजपाको मुस्लिम विरोधी अवधारणा अत्यन्त अनुत्तरदायी छ। चाखलाग्लो कुरा के छ भने मोदी सरकारले मुस्लिम देशसँग सम्बन्ध सुधार गर्न ठूलो लगानी गरेको छ। विशेषगरी खाडी क्षेत्रका देशसँग गरिएको यो प्रयासले केही परिणाम पनि दिएको छ।

मुस्लिम स्वार्थ रक्षाका लागि काम गरेर भारतले धेरै अघिदेखि प्रतिष्ठा कमाउँदै आएको छ। भारतले विविधताको सम्मान गरेको छ भने आफ्नो देशमा रहेका मुस्लिम जनसंख्यालाई गर्वका साथ आत्मसात गर्दै आएको छ। सिनेमा स्टार, व्यापारी, खेलाडी, राष्ट्रपति, विदेश मन्त्री तथा राजदूतका रूपमा मुस्लिम समुदायका प्रतिनिधिले काम गरेका छन्।

उनीहरू गौरवपूर्ण हिसाबले मुस्लिम र भारतीय दुवै छन्। सहअस्तित्वको परम्परा स्थापित भारतीय परम्परा हो। यही कारण पाकिस्तानसँग भारतको शत्रुता रहँदारहँदै पनि मुस्लिम देशले भारतसँगको सम्बन्धलाई महत्व दिँदै आएका छन्। यो सत्यलाई राम्रोसँग बुझ्नुपर्ने सरकारले भाजपालाई चर्काे कट्टरवादी धारणा राख्न अनुमति दिएको छ।

राजनीतिक स्वार्थभन्दा राष्ट्रिय स्वार्थ महत्वपूर्ण हुन्छ। अन्तर्राष्ट्रिय क्षेत्रमा उनले गरेको कामलाई देशभित्रकै सहकर्मीले नोक्सान पुर्‍याउनुअघि स्पष्ट भनाइ राख्न सक्ने परराष्ट्र मन्त्री जयशंकरले आफ्ना अवधारणा आफ्नै राजनीतिक नेतृत्वप्रति लक्षित गर्नुपर्ने देखिएको छ।

(थरुर भारतका पूर्वपरराष्ट्र राज्यमन्त्री हुन। प्रोजेक्ट सिन्डिकेटबाट)

प्रकाशित: १ असार २०७९ ०६:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App