यति बेला धेरै मित्रहरू जनआन्दोलनका ती अविस्मरणीय दिनहरूलाई सम्भि्कंदै हुनुहोला। त्यसबेला सामाजिक उत्तरदायित्वबोधले लछप्प भिजेका, असाध्यै असल मन भएका धेरै साथीहरू निकै दिनसम्म राजनीतिक बन्दीका रूपमा सँगै थुनिएका थिए।बन्दीकै रूपमा थुनिएका भए पनि आपसमा 'सत्संग' गर्ने अनुपम अवसर जुरेको थियो र सबैको मनोबल उच्च थियो। जेलका पर्खालहरूभित्र एकापसमा कुराकानी गरिरहँदा होस् वा नारा लगाइरहँदा, खाना खाइरहँदा होस् वा ठट्टा नै गरिरहँदा पनि देशको भविष्यको खाका कोरिरहेका हुन्थे ती आन्दोलनकारी। बन्दी त बन्दी नै भइहाले, केही समय बितेपछि त कतिपय ठाउँमा त्यहीँका युवा अधिकृतले पनि देशको भविष्यका बारेमा तिनैसँग मित्रवत गम्भीर छलफल गर्न थालिसकेका थिए। र त्यसको सोझो अर्थ थियो – कसैले रोक्न खोज्दैमा नरोकिने एउटा ऐतिहासिक परिवर्तन अपरिहार्य भइसकेको थियो।
बैशाख ११, २०६३ का दिन विजयोल्लासका साथ बन्दीगृहबाट होस् वा घरबाट बाहिर सडकमा निस्कने धेरैलाई लागेको थियो होला – अब दुःख र पीरका दिन गए। नयाँ संविधान बन्न यति लामो समय लाग्ला भन्ने कसैले सोचेको थिएन होला। मानिसमा यथास्थितिप्रति जहिले पनि असन्तुष्टि हुन्छ र ऊ अघि बढ्न चाहन्छ भन्ने त त्यसबेला पनि सबैले बुझेकै हो। तर त्यो जीवनमुखी, प्रगतिमुखी र मानिसको निसर्गजन्य असन्तुष्टिमा द्वेष र हिंसाभावको विष घोलेर अस्वाभाविक आक्रोशको विष्फोट गराउन फेरि पनि कोही लाग्लान् भनेर भने कसैले सोचेको थिएन होला। ददस वर्ष लामो हिंसात्मक द्वन्द्व र विध्वंशपछि शान्तिको आकांक्षा अत्यन्त प्रबल भएको थियो। तर त्यसपछि पनि द्वेष फल्ने विषवृक्षका बिउहरू रोपिएलान् जनताका बीचमा र एकदिन ती विषवृक्ष यसरी बढ्लान् भन्ने कसैलाई लागेको थिएन होला। जनताकै पंक्तिमा पनि यति चर्को मनोवैज्ञानिक विभाजन देख्नुपर्ला भन्ने त कल्पनाभन्दा धेरै बाहिरको कुरा हुँदो हो। तर सोचेको जस्तोमात्र हुँदैन रहेछ जीवन र घटनाक्रम। इतिहास सरल रेखामा बढ्दैन भन्ने कुरा बारम्बार भनिने सुनिने गरेको भए पनि यो सत्य अहिले जति चर्कोरूपमा अनुभूत भइरहेको छ, त्यति बेला भइरहेको थिएन होला।
पहिलो संविधान सभाको निर्वाचन हुन नै ढीला भएको थियो। र पनि, एकचोटी बनेपछि त संविधान बनिहाल्ला नि जस्तो लाग्थ्यो। त्यहीताका एकपटक मेरा मित्र रघुजी पन्तसँग भेट हुँदा म निकै उत्साहित थिएँ। नयाँ संविधान निर्माणमा आफ्नो आशा र विश्वासको कुरा गरेको थिएँ। तर उनले भनेका थिए –'त्यति आशावादी नहुनोस्! कम्तीमा ६ वर्ष लाग्छ, हेरी राख्नुस्। कहाँ त्यति सजिलै बन्छ र नयाँ संविधान!' अनेक प्राविधिक, राजनीतिक, संस्कारजन्य, स्वार्थजन्य मनोवैज्ञानिक कारणहरू देखाएका थिए उनले। उनका कुरा सुनेपछि मेरो मन त्यतिबेला खिसि्रक्क भएको थियो। राजनीतिमा मजैले लागेका र पत्रकारिताको लामो पृष्ठभूमि भएका उनको विश्लेषण ठीकै होला भन्ने मैले बु‰नुपर्ने हो। तर उमेरले पाको भए पनि मेरो मन भने अझै कलिलो किशोरकै रहेछ। उनका कुरा मान्न पटक्कै राजी थिएन त्यो मन। तर आखिरमा उनले भनेभन्दा पनि ढीलो बन्यो संविधान।
कुनै ठुलो बाधा बिघ्न नहुने हो भने अब चाहिँ यो संविधान औपचारिकरूपमै जारी हुनेछ आजभोलि नै। तर केही सातादेखि भइरहेका घटनाक्रमले देखाएका छन् – अगाडिको बाटो पनि त्यति सहज भने छैन। देश, जनता, राज्य र आन्दोलनकारी – कसैका निम्ति पनि सहज छैन यो यात्रा।
यथास्थितिप्रतिको असन्तुष्टि मानिसको नैसर्गिक गुण हो। यसमा कुनै शंकै छैन। परिवर्तनको आकांक्षा सबैलाई हुन्छ र त्यो परिवर्तनको आकांक्षाभित्र वर्तमानभन्दा सुन्दर भविष्यको चाहना लुकेको हुन्छ। त्यसमा पनि कुनै शंकै छैन। तर के प्राप्तिका निम्ति कस्तो परिवर्तन चाहिएको हो भन्ने भने अधिकांश मानिसलाई थाहा हुँदैन रहेछ। जनता भनेका तिनै 'अधिकांश' हुन्। जनतामा रहेको यथास्थितिप्रतिको असन्तुष्टिलाई – जहिले पनि प्राप्त हुने त्यो अक्षय ऊर्जालाई – जसले आफ्ना स्वार्थमा उपयोग गर्न सक्छ, परम्परागत राजनीतिमा उसैले 'बाजी' मार्दोरहेछ। कति दीर्घजीवी हुन्छ उसको त्यो विजय र प्राप्ति, त्यो अर्कै कुरा हो। तर यस्ता 'बाजिगरहरू' नै राजनीतिज्ञ कहलिन्छन्, नेता कहलिन्छन्, सत्तामा रहेर शासन गर्छन् वा सत्ताबाहिर रहेर विध्वंश मच्चाउँछन्। सत्ताधारी भएर होस् वा सत्ताकांक्षी भएर होस्, 'राजनीतिक सफलता' प्राप्त गर्न यिनीहरू जनतामा रहेको असन्तुष्टिलाई खेलाउनेमात्र हैन, स्वाभाविकरूपमा हुने विविधतालाई भिन्नतामा रूपान्तरण गर्छन् र त्यो भिन्नतालाई सकेसम्म बढाइचढाई गर्छन्। भिन्नतालाई फराकिलो पारेर प्राप्त भएको स्थानमा – त्यो 'स्पेस'मा आफ्ना नीहित स्वार्थको खेती गर्न थाल्छन्। ईश्वरलाई समेत 'तेरो ईश्वर' र 'मेरो ईश्वर' भनेर जनता फुटाउनेहरूको जगजगी भएको समाजमा 'तेरो पार्टी –मेरो पार्टी', 'तेरो नेता–मेरो नेता', 'तेरो भाषा–मेरो भाषा', 'तेरो जाति–मेरो जाति' भन्न केही गाह्रो छैन। शाह र राणा शासकका हिंसा र षड्यन्त्रले पारेको घाउका कुरूप खतहरूलाई पातल्याउनुको सट्टामा झनै गहिरो र झनै कुरुप बनाउन लागेकाछन् कोही। अन्य कोही भने त्यही निहुँमा थप नयाँ घाउ र नयाँ खत बनाउनमात्रै हैन, राष्ट्रको अंगभंगनै गराउन उद्यत देखिइरहेका छन्।
यसपाली संविधान बन्नै पर्ने थियो, बन्यो। गगन थापाले भनेजस्तै प्रदेश सीमांकनका विषयमा विभिन्न समूहका जनताको असन्तुष्टि बाँकि रहनुबाहेक अधिकांश पक्षमा यो संविधान धेरै हदसम्म प्रगतिशील, लोकतान्त्रिक, र सामाजिक न्यायको पक्षधर देखिन्छ। परिपूर्ण त कहिले के पो हुन्छ र? यसलाई पनि अझै परिमार्जान गर्ने आवश्यकता त भई नै रहन्छ। परिवर्तन र परिमार्जनको त्यो सिलसिला कहिल्यै टुट्नु पनि हुँदैन। समयको प्रवाहले नै त्यो माग गरिरहन्छ। तर समयको यही बिन्दुमा जे जति प्राप्त भएको छ, त्यसप्रति किन यति चर्को, यति असंयमित, यति अतिशयोक्तिपूर्ण, यति अस्वाभाविक प्रतिक्रिया भइरहेको छ अहिले? 'परिवर्तनबाट प्राप्त उपलब्धि पनि हेरौँ न त' भनी कसैले भन्ने बित्तिकै उसलाई थरीथरीका विशेषणसहितको 'ट्याग' लगाउने र अन्धकारको चित्र कोर्नुमै आफ्नो महानता र क्रान्तिकारिता देख्ने केही बुद्धिजीवी र कलमजीवीहरू किन यति कर्मशील देखिइरहेका छन् यतिबेला? हो, के कुरामा शंका छैन भने अहिले सत्तामा रहेका वा सत्ता वरपर छुनुमुनु गर्नेहरूमा नियत खराब भएका, ढोंगी, अक्षम, अदूरदर्शी, भ्रष्ट, र अत्यन्त आत्मकेन्›ित स्वार्थी प्राणीहरूकै बोलबाला छ। तर अर्कोतिर जनताले भोगेको, अनुभूत गरेको दुःख, पीडा र असन्तुष्टिलाई दुरुपयोग गरेर 'आन्दोलन'को नेतृत्वको दावी गरिरहेकाहरूको जमातमा चाहिँ को छन् त्यस्ता आदरणीय, स्वच्छ, पारदर्शी, दूरदर्शी महापुरुषहरू? भिडमा हिंसाभावको विष्फोट गराउन सक्नेहरू त धेरै हुन्छन्। भडि्कएको भिडभित्र कहिल्यै तर्क, विवेक र सत्य–संवादले प्रवेश पाउँदैन। अनि त्यो विष्फोटलाई 'जनताको शक्ति' भनेर मुसुमुसु हाँस्दै कोठाभित्रबाट रिमोट चलाइरहनु नेतृत्व हैन। फेसन र क्रान्तिकारिता पनि एउटै कुरा हैन होला। आफ्ना कलमबाट निस्केका शब्दहरूले, मुखबाट निस्केको वाणीले, आफ्नो भावभंगिमाले समेत के प्रभाव पार्छन् अन्य मानिसमा, र त्यस्तो प्रभावले अन्ततोगत्वा जनताको, समाजको भलो गर्छ कि कुभलो गर्छ भनि पटक्कै नसोच्ने र 'पोलिटिकल्ली करेक्ट' देखिनकै निम्ति अभिव्यक्ति दिने नवअभिजात्य प्रवृत्तिलाई पनि क्रान्तिकारी, प्रगतिशील, इमानदार बुद्धिजीवी भन्न सकिन्न।
यतिबेला देशले नयाँ किसिमका नेताहरू खोजिरहेको छ। यस्ता नेता जो जनतामा रहेको विविधताका बीचमा समानता खोज्दै, देश र समाजलाई अघि बढाउन सकुन्। यस्ता नेता जो जनतामा रहेको असन्तुष्टिको ऊर्जालाई अघि बढ्नको निम्ति सकारात्मक ऊर्जाका रूपमा रूपान्तरण गर्न सकुन्। भिडमा उभिएर 'के बोल्दा ताली पाइन्छ' भनेर आक्रोशको आगोमा घिउ थप्ने हैन, भिडको ऊर्जालाई कसरी सृजनात्मक शक्तिमा परिणत गर्न सकिएला भनेर बोल्न जानुन्। असल अभिभावकको धर्म निर्वाह गर्नसक्ने नेताहरू खोजिरहेको छ देशले। साँच्चैको गुरु र पथप्रदर्शक बन्नसक्ने नेता खोजिरहेको छ देशले। अल्पदृष्टिका आत्मकेन्›ित सत्तामुखी स्वार्थी हैन, दूरदृष्टि भएका भविष्य›ष्टालाई नेताका रूपमा खोजिरहेकोछ देशले। दुःखको कुरा, पुरानो पुस्ताका यस्ता मानिस यो परम्परागत राजनीतिमा हत्पति भेटिँंदैनन्। अहिले सत्तामा भएका पार्टीहरूमा आबद्ध युवा नेताहरू समेत धमाधम वैचारिक 'शिघ्र बार्धक्य' (प्रोजेरिया) नामको रोगको सिकार हुँदैछन्।
समयले माग गरेकै रहेछ भने नयाँ पुस्ताबाट पक्कै त्यस्तो साँच्चिकै नेतृत्वको उदय हुनेछ। कामना गरौँ, त्यतिन्जेल यो देश सिंगो राष्ट्रकै रूपमा रहिरहनेछ ।
प्रकाशित: १ आश्विन २०७२ ००:५८ शुक्रबार

