९ मंसिर २०८१ आइतबार
image/svg+xml
विचार

जिम्मेवारीबोधको गाम्भीर्यता अपेक्षित

स्थानीय तहको दोस्रो निर्वाचनमा स्वतन्त्र उम्मेदवारप्रति मतदाताको आशा र आकर्षण बढेको देखिएको छ। कुनै राजनीतिक दलसँग आबद्ध नभएका स्वतन्त्र उम्मेदवारप्रतिको आकर्षणले दलीय राजनीतिप्रति नै जनताको वितृष्णा बढेको संकेत गरेको छ।

अब चुनाव लड्न राजनीतिक दलसँग आबद्ध हुनैपर्ने र धेरै पैसा खर्च गर्नुपर्ने बाध्यता र आवश्यकता नभएको संकेत पनि गरेको छ। जनताका मुद्दालाई उठाउने र जनताका अपेक्षा सम्बोधनमा प्रतिबद्ध नयाँ अनुहारप्रति जनता आशावान बनेको प्रमाण पनि हो यसपालिको चुनावमा देखिएको नयाँ र युवा पुस्ताप्रतिको आकर्षण।

काठमाडौँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति सबै वर्ग र उमेर समूहका मतदाताको आकर्षण, समर्थन र उनीप्रतिको आशा, अपेक्षा र भरोसाले नेपाली राजनीतिमा नेतृत्व परिवर्तनको चाहना तीव्र बनेको पुष्टि गरेको छ।

ठोस उपलब्धिका लागि परिवर्तन चाहेका छन् युवा पुस्ताले। त्यो परिवर्तनको सुरुवात राजनीतिबाटै हुनुपर्ने खाँचोलाई अहिलेको स्थानीय तहको निर्वाचनले पनि देखाएको छ। देशैभरि युवा उम्मेदवारप्रति बढेको आकर्षणले यसलाई पुष्टि गरेको छ।

राजनीतिक दलहरूले युवा उम्मेदवार चयन गर्नमा देखाएको कन्जुस्याइँले युवा मतदातामा निराशा पनि छाएको थियो। सक्रिय र क्षमतावान युवाले नै परिवर्तनको आकांक्षालाई छिटो साकार रूप दिन सक्छन् भन्ने विश्वास र राजनीतिमा युवालाई नै अग्रसर गराउनुपर्छ भन्ने मान्यताले युवा जनप्रतिनिधिको माग हरेक युवाले गरेका हुन्।

यो मागको सम्बोधन नहुँदा र राजनीतिक दलका नेता र नेताका आफन्त तथा आसेपासेलाई नै उम्मेदवार चयन गरेर राजनीतिमा परिवारवाद, नातावाद र कृपावादलाई प्रश्रय दिइएका कारण आममतदातामा बढेको निराशा केही स्वतन्त्र उम्मेदवारप्रतिको आशाको रूपमा प्रतिबिम्बित भएको छ।

काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको समर्थन र उनीप्रतिको आशा र अपेक्षामा त्यही आशा प्रतिबिम्बित भएको छ। धेरैको चासोको विषय बनेको काठमाडौँ महानगरपालिकाको चुनावको मतगणना जारी रहँदा देशका अरू धेरै पालिकाको मत परिणामको धमाधम औपचारिक घोषणा भइरहेका छन्।

मत परिणाममा नेपाली कांग्रेसले अग्रता हासिल गरिरहेको छ भने उसलाई नेकपा एमाले र माओवादी केन्द्रले पछ्याइरहेका छन्। परिणाम सँगसँगै विजयी राजनीतिक दल र उम्मेदवारहरूले विजय जुलुस पनि निकालिरहेका छन्। विजयी उम्मेदवारहरूलाई मतदाताहरूले फूलमाला र अबिर दलेर स्वागत गरिरहेका छन्।

गलामा थेगिनसक्नु फूलका माला र अबिरले राताम्मे गाला भएका उम्मेदवारहरू नमस्कार मुद्रामा जनताका घरदैलामा पुगिरहेका छन्। विजयी उम्मेदवार दंग छन्। मतदाता मक्ख छन्। चुनाव जित्नु भनेको जिम्मेवारीको भारी बोक्नु पनि हो। त्यसैले आम मतदाताको आशा, अपेक्षा र सपनाको भारी बोकेका विजयी उम्मेदवारहरू त्यो आशा, अपेक्षा र सपना पूरा गर्ने सन्दर्भमा निकै गम्भीर हुनुपर्ने हो।

तर, गम्भीर बन्नुपर्ने विजयी उम्मेदवारहरूको अनुहारमा जितको उन्माद र दम्भ मात्रै देखिएको छ। यो राम्रो लक्षण होइन। आफूलाई जनताको सेवकका रूपमा प्रस्तुत गर्नुपर्ने जनप्रतिनिधिले यसरी जितको उन्मादमा शासकको दम्भ प्रस्तुत गरेको देख्दा आम मतदातामा संशय उत्पन्न हुनु अस्वाभाविक होइन।

विगतका चुनावमा धेरै आशा, अपेक्षा र सपना बाँडेका तर आफ्नो कार्यकालमा जनताका ती आशा, अपेक्षा र सपना पूरा गर्न नसकेका जनप्रतिनिधिहरू यसपटक नराम्ररी बढारिएका छन्। यो स्थितिलाई हेरेर पनि विजयी उम्मेदवारहरूले थप जिम्मेवारीबोध गर्नुपर्ने र गम्भीर बन्नुपर्ने हो। यसो नहुनुमा विजयी जनप्रतिनिधिहरू जनताको आशा, अपेक्षा र सपनाप्रति गम्भीर छैनन् भन्ने नै हो।

त्यसैले विजय जुलुसमा मुस्कुराउँदै आएका विजयी उम्मेदवारहरूको अनुहारमा जिम्मेवारीबोधको गाम्भीर्यताभन्दा जितको दम्भ र उन्माद बढी देखिएको हो। भोटका लागि आउने–जाने बस सेवा र अन्य सुविधाहरूको प्रलोभन दिएर कार्यक्षेत्रबाट बटुलेर गाउँगाउँ पुर्‍याइएका मतदाताहरू मतदानपछि कार्यक्षेत्रमा फर्कन नपाएर बसपार्कहरूमा अलपत्र परेको समाचारले राजनीतिक दल अथवा उम्मेदवारहरूको गैरजिम्मेवारी देखाएको छ।

चुनावको दुई दिनमै यस्तो व्यवहार देखाएका उम्मेदवारहरूबाट पाँच वर्षसम्म के अपेक्षा गर्ने? मतदाताहरूको मनमा प्रश्न उठिरहेको छ र विजयी जनप्रतिनिधिहरूप्रति संशय उत्पन्न गरिरहेको छ। चुनावमा भएको जित र हारबाट उम्मेदवारमा उत्पन्न उन्माद र कुण्ठाले राजनीतिक दलहरूबीच द्वैष र द्वन्द्व उत्पन्न गर्छ। आमजनताको अपेक्षा भनेको विजयी जनप्रतिनिधिले प्रतिद्वन्द्वीलाई पनि साथमै लिएर अघि बढून्।

प्रतिद्वन्द्वी राजनीतिक दलप्रति पनि सकारात्मक धारणा र सकारात्मक दृष्टिकोण राखेर गाउँ, नगर अथवा महानगरको अर्थात् आफ्नो ठाउँको विकासमा सहयात्रा र सहकार्य गरुन् भन्ने हो। जनप्रतिनिधिको लक्ष्य र उद्देश्य पनि यस्तै नै हुनुपर्छ। जसरी प्युठानको झिमरुक गाउँपालिका–१ का एमालेका विजयी उम्मेदवार धु्रवराज खनाल र पराजय भोगेका अर्का उम्मेदवार रामबहादुर जिसी सँगै विजय जुलुसमा सहभागी भए, यसैगरी पछिसम्म आफ्नो गाउँ र आफ्नो ठाउँको विकासमा सबै सँगसँगै लागिपरुन् भन्ने जनताको अपेक्षा हो।

सधैँ प्रतिद्वन्द्वी र द्वेषको भावनाले आफ्नो गाउँ र आफ्नो ठाउँको विकासमा मद्दत गर्दैन। हामीले माने पनि नमाने पनि पछिल्लो समय जनताको मन र विश्वास जितेर भन्दा पैसाले भोट किनेर चुनाव जित्ने प्रवृत्ति बढेको छ। यो कटु सत्य नै हो। अघिल्लो संसदीय निर्वाचनमा छ करोड रुपियाँसम्म खर्च गरेको स्वयं उम्मेदवारले नै बोलेका छन्।

यसरी पैसा खर्च गरेर चुनाव जितेका जनप्रतिनिधिले जनताको ढाडमा टेकेर त्यो पैसा असुल गर्छु भन्ने कुविचार मनमा लिएका हुन्छन्। यस्तो भयो भने आफूले मत दिएर विजयी भएका जनप्रतिनिधिबाटै जनता प्रताडित हुनुपर्नेछ। सुशासनको ठाउँमा कुशासनले प्रश्रय पाउनेछ। भ्रष्टाचार बढ्नेछ। विकास र निर्माणको काममा छिटोछरितोपन र गुणस्तरको अभाव हुनेछ।

अन्ततः जनतालाई आफ्नो अमूल्य मतको उपलब्धिका रूपमा फेरि पनि उही निराशा मात्रै हात लाग्नेछ। मतदाता मात्रै होइन, आमजनताले विजयी जनप्रतिनिधिबाट जितको उन्माद र दम्भ होइन जिम्मेवारीबोधको गाम्भीर्यताको अपेक्षा गरिरहेका छन्। यो कुरा विजयी जनप्रतिनिधि र विजय जुलुसमा उत्सव मनाइरहेका कार्यकर्ताले पनि मनन गर्नु आवश्यक छ।

विजयी उम्मेदवारहरू शासक होइन, सेवक बन्नुपर्छ र जनताका प्रिय बन्न सक्नुपर्छ। पराजित उम्मेदवारमा पनि पराजयको कुण्ठा हुनु हुँदैन। आफ्नो गाउँ र आफ्नो ठाउँको विकासमा जित्ने–हार्ने सबै मिलेर सहयात्रा र सहकार्य गर्नुपर्छ।

विजयी जनप्रतिनिधिले जितको उन्माद र दम्भले विवेक गुमाए र जनताको विश्वास गुमाए भने अहिले तिनका गालामा अबिर दल्ने हातहरू नै भोलि मोसो दल्न उद्यत हुनेछन्। विजयी जनप्रतिनिधिहरूले यो सत्य मनन गर्नु जरुरी छ।

प्रकाशित: ८ जेष्ठ २०७९ ००:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App