२५ श्रावण २०७९ बुधबार
विचार

कोभिड १९ ले सिकाएको एउटा पाठः घरभित्रको वायु कत्तिको शुद्ध छ?

के हाम्रो घरमा आँखीझ्याल पर्याप्त छन्? तिनबाट हावा आवतजावत गर्ने राम्रो व्यवस्था छ? वैज्ञानिकहरूले पछिल्लो समय गरेको वृहत् अध्ययनले देखाएको छ–कोभिड १९ फैलिनबाट रोक्नका लागि भेन्टिलेटरको निकै राम्रो व्यवस्था हुनु आवश्यक छ। हुन त यो अध्ययन कोभिड १९ को सन्दर्भमा गरिएको वृहत् अध्ययन हो तर यस अध्ययनले आउँदा दिनमा मुख बाएर बसेका नयाँनयाँ महामारीका बेला नयाँ तरिकाले सचेत रहन झक्झक्याएको छ।

कोभिड १९ फैलँदै गर्दा वैज्ञानिकहरू आश्चर्यमा परेका थिए। यो नयाँ रोग थियो। कसरी फैलन्छ, कसैलाई थाहा थिएन। तर केही समयभित्रै थाहा भयो–कोभिड फैलने माध्यम हावा हो। तर कति नजिक वा कति टाढाका मानिसहरू यसबाट सङ्क्रमित होलान् त? कसैलाई थाहा थिएन।

पछि अध्ययनबाट थाहा भयो, यो नाक वा मुखबाट फेरिने श्वासबाट पनि सर्छ। सर्न त सर्छ तर कति टाढासम्म यसरी फेरिएको श्वासले सङ्क्रमित तुल्याउला त? यसबारे अझै अनुसन्धान बाँकी थियो। हामीले गर्ने हाछ्युँ, खोकी वा कुराकानी गर्दा निस्किएका र्‍याल वा थुकबाट पनि यो रोग सर्ने पत्ता लगाइयो। यस्तो अवस्थामा ६ फिट टाढै बस्न पनि सुझाइयो। यसका बाबजुद रोग सर्ने क्रम रोकिएन। र, अर्को मुख्य कारकचाहिँ हाम्रो घर वा कोठामा हुने हावाको शुद्धता पनि हुने तथ्य प्रकाशमा आयो।

विदेशतिर अपार्टमेन्टमा बढी बस्ने चलन छ। नेपालमा पनि यो चलन सुरु भइसकेको छ। यस्ता अपार्टमेन्टमा झ्याल र भेन्टिलेटरको उस्तो व्यवस्था नहुन सक्छ। प्रायः हामी एयरकन्डिसन्ड अपार्टमेन्ट रुचाउँछौँ तर झ्याल खोल्दैनौँ। वैज्ञानिकहरू भन्छन्–यस्तो बेला हावाको शुद्धता कमजोर हुन्छ र हामी आफू र अरूलाई पनि सङ्क्रमित पार्न सक्छौँ।

खासगरी बाहिर निस्कँदा हात धुने, सेनिटाइज गर्ने, मास्क लगाउनेजस्ता सुरक्षाका अनेक उपायहरू अवलम्बन गरे पनि घरभित्रै धेरैजना मानिसहरू सङ्क्रमित भएको पाइयो। यस्तो किनभयो भन्ने कुरा जब अध्येताले अध्ययन गरे, त्यो बेला प्रस्ट भयो कि वास्तवमा हाम्रो घरभित्र भेन्टिलेसनको व्यवस्था उति राम्रो छैन। भेन्टिलेसनको अवस्था कमजोर हुँदा हावाको शुद्धता पनि कमजोर भयो।

भेन्टिलेसन राम्रो नभएको घरमा भाइरस भएका पार्टिकलहरू यत्रतत्र अड्किने र कतिपय अवस्थामा स्वस्थ मानिस ती पार्टिकलको सम्पर्कमा रहेका खण्डमा उनीहरू सङ्क्रमित हुने गरेको पाइयो। हार्वर्ड विश्वविद्यालयको हेल्दी बिल्डिङ प्रोग्रामका निर्देशक जोसेफ एलेनले गरेको अध्ययन–निष्कर्ष निकाल्दै भनेका छन्, ‘जब हामी चुरोट खान्छौँ, हावा त उडेर कताकता पुगेको हुन्छ तर सबै भाग सफा हुँदैनन् र खरानी, ठुटा, धुँवाकै कतिपय भाग यत्रतत्र रङमगिइरहेका हुन्छन्। र, कुनै कोठामा राम्रो भेन्टिलेसन छैन भने कोठैभरि धुँवा हुने सम्भावना बढी हुन्छ। त्यसैगरी भेन्टिलेसन राम्रो नभएको सफा घरभित्र पनि भाइरसहरू यत्तिकै कोठाभित्रै डुलिरहेका हुनसक्छन्।’

एलेनको भनाइ छ, ‘घरबाहिर तपाईं र म भेट भएका छौँ, दुवै पर्याप्त दुरीमा छौँ भने तपाईं सङ्क्रमित भए पनि मलाई सर्ने सम्भावना कम हुन्छ किनभने त्यहाँ हावाको आवातजावतले हामीबीच सिधासिधा सङ्क्रमित हुने सम्भावना कम हुन्छ। तर हावा वहने क्रमचाहिँ सङ्क्रमितबाट आफूतिर हुनु हुँदैन।’

कोरोना भाइरस एक व्यक्तिबाट अर्कोसम्म कसरी पुग्छ भन्नेबारेमा सुरुवाती चरणमा निकै विवाद थियो। अहिले त्यसको छिनोफानो भइसकेको छ। जसै हामी श्वास छोड्छौँ, फोक्सोमा भएको कार्बनडाइअक्साइड निकाल्छौँ। यो हावा केही ओसिलो हुन्छ। यो ओसिलो हावामा भाइरसहरू टाँसिएका हुन्छन्। हामी ठूलो स्वरमा चिच्याउँदा होस्, खोक्दा निस्केको खकार होस्, ती सबैमा भाइरस हुन्छन्।

कहिलेकाहीँ ती मानिसका कपडा वा कपाल आदिमा टाँसिन्छन्। यो त कहिलेकाहीँको कुरा भयो तर नियमित हुने चाहिँ के हो भने जब हामी श्वास फेर्छौं र ओसिलो हावा निकाल्छौँ, त्यसमा हजारौँ ससाना थोपा ओसिला थोपा निकाल्छौँ। त्यो हामीले नाङ्गा आँखाले देख्न सक्तैनौँ। यस्ता ओसिला थोपाहरू भिडभाडयुक्त र खराब भेन्टिलेसन भएका, हावा राम्रोसँग आवतजावत नहुने ठाउँमा अर्कोले त्यही श्वास लिने खतरा हुन्छ। वैज्ञानिकहरूका अनुसार, फेरिएका श्वासमध्ये चार प्रतिशत श्वासचाहिँ अर्को व्यक्तिले लिने सम्भावना हुन्छ।

अमेरिकाको ओरेगन विश्वविद्यालयका शोधकर्ताहरूले कमजोर भेन्टिलेसन भएका ठाउँमा हामीले जतिसुकै दुरी बनाएको भए पनि ती व्यक्तिहरू सङ्क्रमित हुने सम्भावना बढी हुन्छ। सामान्यतः चारदेखि ११ फिट टाढा बस्नू भन्ने चिकित्सकहरूले सुझाएको नियम पनि यसमा लागू हुँदैन। भाइरस सर्न ओसिलोपनले सघाउँछ। बरोबर सफा गरेर भुइँ वा टेबुल चिसै राख्ने रेस्टुरा वा कार्यालयहरूमा यस्ता भाइरस लामो समयसम्म जीवित रहने सम्भावना हुन्छ।

यस्तो अवस्थामा हामीले चिस्यानयुक्त वा भेन्टिलेटरको अवस्था कमजोर भएको ठाउँ जतिसुकै कम व्यक्ति आउजाउ हुने भए पनि त्यहाँ यस्ता भाइरस सर्ने सम्भावना बढी हुने अध्ययनले देखाएको छ। आश्चर्यको कुराचाहिँ, हजारौँ मानिसहरू आउजाउ हुने वा बसेर हल्ला गर्ने रङ्गशालामा भने सङ्क्रमणका घटना निकै कम भएका छन्। यसमा हावाको आवातजावत सहज हुनु पनि एक कारक रहेको अनुसन्धाताहरूको तर्क छ।

सन् २०२० को मार्च महिनामा अमेरिकाको वासिङ्टनमा रहेको एउटा चर्चको सामूहिक गान कार्यक्रम अभ्यासका क्रममा रहेको देखिएको थियो। त्यहाँ सामाजिक दुरी निकै कम भएको र भेन्टिलेसन पनि कम देखियो। यस घटनामा ६१ जना सहभागीमध्ये ५२ जना पोजिटिभ देखिए भने दुई क्वायर गायकको निधनसमेत भयो। कोही सङ्क्रमितले फ्याँकेको भाइरसयुक्त अदृश्य बादलका कारण अरूको ज्यान जोखिममा पर्‍यो। त्यो बादल उड्ने पर्याप्त ठाउँ भएको भए त्यस्तो दुःखद् अवस्था आउँदैनथ्यो भन्ने शोधकर्ताहरूको भनाइ छ।

उसो भए भेन्टिलेसनले कसरी सहयोग गर्छ त? पर्याप्त भेन्टिलेसन भएका ठाउँमा ताजा हावा भित्र छिर्ने र प्रयोग भइसकेका हावालाई फ्याँक्ने गर्दछ। यसले विषाक्त वा प्रयोग भइसकेका श्वास कोठाभित्रै रङ्मगिने अवस्था रहँदैन। यसले अन्य व्यक्तिमा रुघा लाग्ने सम्भावना हुँदैन। हावाका माध्यमले रुघाखोकीजस्ता सामान्य कुरा पनि सर्ने गर्छन्, भेन्टिलेटरले त्यसबाट जोगाउँछ।

इटालीमा १० हजारभन्दा बढी कक्षाकोठा अध्ययन गर्दा राम्रोसँग हावा आवतजावत गर्ने र भेन्टिलेसन राम्रो भएका कक्षामा ८२.५ प्रतिशतले कोभिड १९ सर्ने सम्भावना कम देखियो। भेन्टिलेसनको सबैभन्दा राम्रो उदाहरण हवाई जहाज पनि एक हो। यहाँ मानिसको भिडभाड हुन्छ। रुघाखोकीका बिरामी पनि हुन्छन् तर भेन्टिलेसनको राम्रो व्यवस्था हुने हुनाले प्रायःलाई यो सर्दैन।

हवाई जहाजमा हुने हाई इफिसेन्सी पार्टिकुलेट एयर (एचइपिए) फिल्टरका कारण प्रायः हावाको शुद्धीकरण ९९.९७ हुन्छ भनी दाबी गरिन्छ। यो चाहिँ कुनै पनि ठूला बिल्डिङहरूमा हावाको शुद्धताभन्दा बढी हो। तर के चाहिँ भ्रममा पर्नु हुन्न भने, तपाईं कोभिड १९ का रोगी छेउमा हुनुहुन्छ भने यो सर्ने सम्भावना त हुन्छ नै।

रोचक त के छ भने हावाको शुद्धीकरणबारे पछिल्लो समय यति जागरण छ कि केही मानिसहरू बोक्न मिल्ने एचइपिए भाँडो सँगै लिएर हिँड्न थालेका छन्। अचेल आफ्नो घरको भेन्टिलेसनको अवस्था कत्तिको उच्च छ भन्ने जँचाउने क्रम पनि विदेशतिर सुरु भएको छ। धेरैजसो कार्यालयहरूले अचेल कतिपय ठाउँमा कर्मचारीहरू र सेवाग्राहीबीच भाइरस आदानप्रदान नहोस् भनेर पारदर्शी प्लास्टिक वा सिसाको पर्खाल उभ्याइने गरेको छ।

हावाको गुणस्तरको महत्त्व कति छ भन्ने कुरा गएको मार्चमा अमेरिकाको राष्ट्रपतीय कार्यालय ह्वाइट हाउसले एक विज्ञप्ति नै जारी गर्‍यो। जसमा पछिल्लो समय ऊर्जामैत्री भवन बनाउनेजस्ता कार्यसँगै हावाको गुणस्तर कायम राख्न पनि इन्जिनियरहरूलाई ध्यान दिन आग्रह गरिएको छ।

अर्को महत्त्वपूर्ण पक्षचाहिँ, भेन्टिलेटरबाट भित्र आउने ताजा हावासमेत फिल्टर गर्ने, त्यसमा रहेका इन्फेक्सनयुक्त हावालाई फिल्टर गर्ने वा निश्चित तापक्रम दिई सङ्क्रमणमुक्त गर्नेजस्ता उपायहरू अवलम्बन गर्ने मुद्दा उठाइएको छ। तर सङ्क्रमणयुक्त वायुलाई सङ्क्रमणमुक्त गर्न निकै खर्च लाग्ने पनि देखिन्छ। तसर्थ, हाललाई यस्तो उपाय काम नलाग्ने भए पनि भविष्यमा निर्माण गरिने ठूला भवनहरूमा यस्तो उपायलाई अवलम्बन गर्ने बाटोचाहिँ यस्ता अनुसन्धान काम लाग्दा हुनसक्छन्।

अमेरिकाको भर्जिनिया टेककी इन्जिनियरिङकी प्राध्यापक लिन्डसे मार भन्छिन्, ‘अहिलेदेखि यस्ता भवननिर्माणमा जोड दिने हो भने पनि साराका सारा भवनलाई त्यो गुणस्तरको बनाउन वर्षाैं लाग्छ।’

अमेरिकामा गरिएको एउटा अध्ययनले त्यहाँका सरकारी स्कुलहरू ४५ वर्षभन्दा पुराना छन्। ती पुराना भवनमा न त वायु गुणस्तरलाई ख्याल गरिएको थियो न त अन्य कुरा नै। गएका तीन वर्षमा कोभिडको महामारीमा चर्चराउँदो ठिहीयुक्त जाडो याममा पनि झ्यालढोका खुला राखेरै त्यहाँ पढाइ भएको थियो। यो देखेर सरकारले नै सार्वजनिक विद्यालयको वायु गुणस्तर बढाउन ४.४ अर्ब डलर छुट्याउनुपर्ने देखिएको थियो।

जर्जिया राज्यका स्कुलहरूमा भेन्टिलेसनको गुणस्तर बढाउँदा कोभिड घटना अन्यत्रभन्दा कम देखिएको थियो। यही अवसरमा केहीले भने वायु शुद्धीकरण गर्ने कयौँ मेसिनहरू किनेर पढाइ जारी राखेका थिए। यतिबेला जब संसारको एउटा कुनाबाट कोभिड हराउने र अर्को कुनामा पुनः देखिने परिपाटीले कुन बेला यो पुनः संसारभर फैलिन्छ भन्न सकिन्न। यस्तो अवस्थामा ठूला भवन, स्कुल तथा भिडभाड जम्मा हुने भवनहरूमा भेन्टिलेसनको अवस्था सुधार्नु भनेको अर्को महामारीबाट ज्यान जोगाउने बाटो पनि हो।

(विभिन्न सन्दर्भ स्रोतमा आधारित।)

प्रकाशित: ७ जेष्ठ २०७९ ०८:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App