१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
विचार

संविधान र स्वच्छ वातावरण

वातावरण हाम्रो पालक, रक्षक वा ईश्वर हो । यसैको छत्रछायाँमा हामी हुर्कन्छौं, बढ्छौं र जीवन यापन गछौं। वायु, जल, जमिन आदि प्राकृतिक वातावरणका प्रमुख अंग हुन । वायु जीवन हो । यति अमूल्य चिजलाई मानिसले भौतिक सुखसयलमा रम्ने आवश्यकता वा स्वार्थमा प्रदूषित बनाइरहेको छ । विशेष गरी उद्योग र सवारी साधनबाट क्लोरोफ्लोरो कार्बनको अत्यधिक उत्सर्जनले सूर्यको किरणबाट आउने हानिकारक विकिरण रोक्ने ओजोन तहको विनाश भइरहेको छ । कार्बनडाइअक्साइडको व्यापक र अनियन्त्रित उत्सर्जनले हरित गृह प्रभावित भइरहेको छ । यसबाट विश्वव्यापी उष्णता बढिरहेको छ, जलवायु मौसमको समय परिवर्तन भइरहेको छ । जसले भविष्यमा अति घातक परिणाम निम्त्याउन सक्छ।

 

नाइट्रोजनडाइअक्साइड, सल्फरडाइअक्साइड आदिको अनियन्त्रित उत्सर्जनले अम्लीय वर्षाको प्रभाव बढिरहेको छ । निर्माण स्थलहरुबाट निस्कने धुलो आदिले पनि मानिसलाई रोगी बनाइरहेको छ । विकराल वायु प्रदूषणले गर्दा थुप्रै मानिस आँखा, घाँटी, फोक्सो, मुटुलगायत विविध श्वास÷प्रश्वासका रोगहरुबाट पीडित बनिरहेका छन् । ओजोन तहको विनाशले गर्दा मानिस छालालगायतको क्यान्सरको उच्च जोखिममा छन् । वायु प्रदूषणको अवस्था हेर्दा काठमाडौं अति पीडित छ । धुलो, धुवाँ र ध्वनि प्रदूषणबाट मानिस अत्यन्त प्रताडित छन् । राजधानी मात्र होइन, देशका अन्य सहरमा पनि कष्ट छ । बाक्लो बस्तीमा भएका कलकारखानाले मानिसलाई हैरान गर्छ । त्यसैले कलकारखानाहरु निर्माण गर्दा भविष्यमा बाक्लो बस्ती बस्ने सम्भावना कम भएको ठाउँमा गरिनुपर्छ । प्रदूषण न्यून गर्न मापदण्ड कडाइका साथ लागु गरिनुपर्छ।

विचार गरौं त, अत्यन्तै प्यास लागेको बेलामा शुद्ध र शीतल जल पिउन पाइयो भने स्वर्गीय आनन्द हुन्छ। हैन त ? तर त्यही जल फोहोर वा प्रदूषित भएमा कति पीडा हुन्छ । जनसङ्ख्याको चाप बढ्नु र जनतालाई शुद्ध जल पियाउने जिम्मेवारी बोकेको निकायको आलश्यता नघट्नुले जल प्रदूषणको मात्रा विकराल छ । काठमाडौंको कुरा गर्दा राणा कालमा बनाइएका ढल र जलका पाइप एकापसमा मिलेर जनताका घरका धारामा चुहिन्छन । ढल नदीमा विसर्जित छन् । कतिपय पानीका मुहानमा शौच गरिने स्थान बनेका छन् । कीटनाशक रसायन, रासायनिक मल तथा उद्योगधन्दाबाट उत्पादित रासायनिक पदार्थ आदि मिल्न जानाले पानी अत्यन्त दूषित बन्न पुग्छ । चेतनाको अभाव र बेवास्ताले गर्दा कतिपय मानिस पानीलाई शुद्ध नगराई त्यसै पिउँछन् अनि हेपाटाइटिस, जन्डिस, हैजा, झाडापखाला, टाइफाइड जस्ता प्रकोपबाट डसिन बाध्य हुन्छन्।

वातावरण स्वच्छ भए हाम्रो जीवन पनि स्वस्थ हुन्छ तर प्रायः मानिस वातावरणीय स्वच्छता जस्तो अति संवेदनशील क्षेत्रप्रति मौन वा अनुत्तरदायी बनिदिन्छन् । प्रयोग भएका वस्तुको पुनप्र्रयोग र पुनर्निर्माण वा प्रशोधनको अवधारणा सहज र प्रभावकारी बन्न नसक्दा फोहोर व्यवस्थापन लथालिङ्ग छ । कुहिएर नजाने फोहोर तह लगाउन प्रशासन सक्रि देखिन्न ।कुहिनेलाई कम्पोस्ट मल बनाउने जस्ता विधि अपनाउन सकिएको छैन । प्लास्टिक जथाभावी फ्याँकिएका छन् । विकल्प सोचिएको छैन । सिसा, काँटी जस्ता वस्तुले पु¥याउने हानि कसैले सोचेकै छैन ।

वातावरण र मानवको सम्वन्ध नङ र मासु जस्तो हुन्छ । वातावरण प्रदूषण विश्वभरको एक अहम् मुद्दा हो । वातावरण प्रदूषित भएमा मानव जीवनमा अनेक अप्ठेरा र हानि आइलाग्छन् । मानवमात्र नभएर समस्त जीवजन्तु, वनस्पति आदिको संरक्षण अथवा जैविक विविधता रक्षाका लागि वातावरण स्वस्थ हुनु आवश्यक छ । अव्यवस्थित सहरीकरण र राज्यको उदासिनताले वातावरण अत्यन्त प्रदूषित भइरहेको छ । कतिपय ठाउँमा वनजंगल फँडानी तीव्र छ । जसका कारण पहिरो, बाढी, भूक्षय बढिरहेको छ । अक्सिजन दिने वनको हरियाली नै वातावरण जोगाउने एक प्रमुख अस्त्र हो । त्यसैले जङ्गलको भरपुर संरक्षण कुनै पनि हालतमा हुनुपर्छ । नाङ्गा पाखा र डाँडामा वृक्षरोपण तीव्र तुल्याइनुपर्छ।

प्रकाशित: २३ श्रावण २०७२ २०:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %