६ जेष्ठ २०७९ शुक्रबार
विचार

एउटा पृथक तपस्वी

‘सुरुमा उद्धार गरेर ल्याइएका गाई/बाछा हामीसँग डराउँछन् तर पछि हामीलाई नै देख्दा उनीहरूले आफ्नो पीडा आँसुमार्फत पोख्छन्’–श्रीमान्–श्रीमतीको चिटिक्क परेको तस्बिर, छोराछोरी, बगैँचासहितको सुन्दर घर, महँगो कार, यस्तै हैन आफ्नो फेसबुकको भित्तोमा टाँसिने चित्र? तर यी सबै विषयभन्दा महत्त्वपूर्ण असहाय गाई/बाछा ठान्ने पनि छन् भन्ने यस्तै भित्तोमा टाँसिएको यो भनाइले पुष्टि गर्छ।

असहाय गाई/बाछा संरक्षण अभियानका अगुवा उत्तम पुडासैनीको अधिकांश समय आफैँले बटुलेर ल्याएका गाई/बाछाको स्याहारसुसारमा बित्छ अहिले। जथाभावी छाडिएका, खान नपाएर मर्न आँटेका, रोगले थलिएका, घाइते भएका गाई/बाछा १४७ वटा छन् आजको मितिमा उनीसँग। जसलाई पशुपति क्षेत्र विकास कोष स्वामित्वको जग्गामा पालन गरिरहेका छन्।

जहाँ एकजना कर्मचारी राखेका छन्। ती एक जनाले यी सबैको स्याहारसुसार गर्न भ्याउने कुरै भएन। त्यसैले उत्तम यहाँका गाईको भकारो सोहोर्नेदेखि खानपिन गराइरहेका र घाउमा मलम लगाइरहेका देखिनु सामान्य दृश्य हुने गरेको छ। जसमा उनका अन्य अभियन्ता साथीहरूले पनि सहयोग गरिरहेका भेटिन्छन्।

धेरैले सोच्छन्–यसका लागि उनले विदेशबाट पैसा ल्याउँछन्। तर वास्तविकता फरक छ। जसले जन्मदिनको शुभकामना फेसबुकमा हाल्छन्, उत्तम उनलाई शुभकामना दिन्छन् र अनुरोध गर्छन् कि ‘कृपया तपाईको यसपटकको जन्म दिन असहाय गाई/बाछासँग मनाउनुहोस् ।’ त्यसमध्ये धेरैले उनको अनुरोध स्वीकार्छन्।

यसरी त्यहाँ आएर जन्म दिन मनाउनेले पिठो, दाना लगायत खाद्यान्न व्यवस्था गरिदिन्छन्। कसैले पैसा नै सहयोग गर्छन् जसलाई एउटा कोषमा राख्ने व्यवस्था मिलाइएको छ। अनि आवश्यक परेका बेला यस कोषबाट पराल लगायत अत्यावश्यक सामग्री किनिन्छ। धान भित्र्याउने समयमा कोही कोहीले परालको कुन्यु नै दान दिने गरेका पनि छन्। प्राङ्गारिक र भर्मी मल उत्पादन यहाँको अर्को आम्दानीको स्रोत हो। अर्डर गरिएमा घरैमा पुर्‍याउने व्यवस्था छ। त्यसरी पुर्‍याउने काम स्वयं उत्तम नै गर्छन्, स्कुटरमा हालेर। ‘यसरी नै चलेको छ, अब पनि चल्छ होला’–उत्तम नाखुस छैनन्।

यतिबेला कहीँ सवारी साधनले ठक्कर दिएका गाई/बाछा हुन् वा कुनै रोगले सडकमै थलिएका, कसैले छाडा छाडेका हुन् वा प्रयोग गरिसकेर बुढेसकालमा लखेटेका, ती सबैका सहारा बनेका छन् उत्तम र उनको समूह। ‘पशु अधिकारका लागि काम गर्ने ४६ वटा जति संस्था रहेछन् तर ती सबैले खबर गर्ने हामीलाई नै हो, उनीहरू गफ मात्र लाउने रहेछन्, यहाँ गाईको बिजोग छ भनेर खबरचाहिँ गरिदिन्छन्’–उत्तमले सुनाए। विभिन्न ठाउँमा अलपत्र छाडिएका गाई/बाछाबारे खबर आउने क्रम बढेको छ। तर ल्याउन भने समस्या। अब भने यो समस्या समाधान हुने आशामा छन् उत्तम किनकि अभियानको कामबाट प्रभावित भएर कागेश्वरी मनोहरा नगरपालिकाले पशु एम्बुलेन्सका लागि रकम छुट्याएको छ।

चिन्ता नदी र हिमालको पनि

‘वाग्मती सफाइको ४३५ हप्ता। वैशाख १७ गते शनिबार बिहान ७ बजे गोठाटार पुलमा सबैमा निमन्त्रणा। परिवर्तन सम्भव छ, आफैँबाट सुरु गरौँ’–गएको वैशाख १६ गते उनले फेसबुकको भित्तोमा टाँसेका अर्को अनुरोध हो। हरेक शुक्रबार बेलुका यसैगरी उदाउँछ उनको अनुरोध, हप्ताको सङ्ख्या परिवर्तनसँगै। आउने आउँछन्, नआउने आउँदैनन्, तर उनलाई को आउँछ र को आउँदैनसँग मतलव छैन। निरन्तर लागिरहेका छन् वाग्मती सफाइ अभियानमा। आफूलाई यो अभियानमा साथ दिने थुप्रै साथीभाइ भए पनि कहिले त एक्लै पनि पर्दारहेछन्। भन्छन्–एक्लै भए पनि गर्छु। अभियान छाड्दिन।

वाग्मती सफाइको कुरा आउँदासाथ धेरैले यसको नेतृत्वकर्ता सरकारका पूर्वमुख्य सचिव लीलामणि पौडेललाई ठान्छन्। तर वाग्मती वरपरका बासिन्दाले उत्तमको नेतृत्वमा यस्तो अभियान थालेका पौडेल भन्दा निकै अघि हो भन्नेचाहिँ धेरै कमलाई मात्र जानकारी छ। पौडेलले सेना, प्रहरी तथा निजामती कर्मचारी प्रयोग गरे वाग्मती सफाइमा तर उत्तमहरू स्थानीयलाई नै प्रयोग गर्दा दिगो हुने अडानमा छन्। ‘जसले फोहोर गर्छ उसैले सफा गर्नुपर्छ’ भन्ने मान्यता राख्ने उत्तम र उनको समूह त्यही कारण पनि आफूहरूको अभियानले निरन्तरता पाइरहेको सुनाउँछन्।

राजधानीस्थित गोकर्णेश्वर नगरपालिकाको जोरपाटी नयाँबस्ती बसोबास भएका उत्तम आफ्नै घर नजिकको वाग्मती र गाई/बाछा पालनमा मात्र सक्रिय छैनन्। उनी कहिले हिमालय बचाउ अभियानमा भेटिन्छन् त कहिले अन्यत्रका तलाउ र नदी स्वच्छ पार्ने अभियानमा डटिरहेका। मानव अधिकार तथा शान्ति समाजका पूर्वसभापति तथा वर्तमान सल्लाहकार समेत रहेका उनी कहिले धादिङको मलेखुमा सडक प्रदर्शनमा भेटिन्छन् त कहिले चितवनको मुग्लिनमा पर्चा बाँड्दै गरेका। गोरखा, तनहुँ, कास्की, पर्वत, बाग्लुङ तथा म्याग्दीमा पनि यस्तै अभियानमा सामेल भइसकेका छन्।

फोहोर व्यवस्थापनको आफ्नै शैली

‘मेरो फोहोर: मेरो जिम्मेवारी’ उनको अर्को अभियान हो। उनी होटलमा खाजा खाँदा दिइने प्लास्टिकको ग्लास हो वा सुप तान्ने पाइप, टि ब्याग होस् वा नेप्किनका टुक्रा, उठेर हिँड्ने बेलामा आफ्नै झोलामा हाल्न थालेका केही वर्ष भयो। जसलाई घरमा ल्याउँछन् कोसेलीका रूपमा। कुहिनेलाई मलमा परिणत गर्छन्। नकुहिनेलाई प्लास्टिकका इको ब्रिक लगायतका सामान बनाउँछन्। आफू मात्र बनाउँदैनन्, विभिन्न समूहका सदस्यलाई फोहोर व्यवस्थापनको यो नयाँ शैलीबारे प्रशिक्षण पनि दिन्छन्। ‘म सफाइ अभियन्ता हुँ, मेरो फोहोर यो धर्तीका लागि अब बोझ बन्ने छैन। मेरो फोहोरको व्यवस्थापन मेरो नैतिक जिम्मेवारी हो। म सक्षम छु, त्यसैले मेरो फोहोरको व्यवस्थापन म आफैँ गर्छु’–उनको दृढ सङ्कल्प छ।

थालनी अलग अभियानको

हरित लाइब्रेरी यी अभियन्ताको नयाँ अभियानका रूपमा फस्टाउँदैछ। प्रत्येक घरलाई हरितगृहका रूपमा रूपान्तरण गर्ने परिकल्पना छ यो अभियानको। व्यक्ति/परिवारसँग जगेडा रहेका बिरुवा सङ्कलन गर्ने र जसलाई आवश्यक छ, उसैसमक्ष पुर्‍याउने लक्ष्य यो लाइब्रेरीको हो। ‘बिरुवाले वातावरण शुद्धतामा ठूलो टेवा पुर्‍याउँछ, बिरुवा औषधिमूलोका रूपमा प्रयोग हुन्छन, बिरुवा व्यक्तिको दैनिकी गुजाराका लागि महत्त्वपूर्ण वस्तु हो।

बिरुवाले अक्सिजन उपलब्ध गराउँछ। त्यसैले जगत् जोगाउने अभियानमा रुख बिरुवाको महत्त्वपूर्ण भूमिका रहन्छ’–हरित लाइब्रेरीप्रतिको यो मोह किन ? को उत्तर यस्तो हुने गरेको छ उनको। हरित लाइब्रेरीको मुख्य लक्ष्य भनेकै बिरुवा रोप्ने र बिरुवालाई माया गर्ने जमात निर्माण गर्नु भएको उनको भनाइ छ।

तपस्वीतर्फको यात्रा

१० वर्ष अमेरिका बसे। कमाइ राम्रो मात्र हैन, निकै राम्रो थियो। जब देशमै केही गर्नुपर्छ भन्ने भावनाले नेपाल फर्कायो तब अमेरिका र यहाँको फोहोरबीचको तुलनाले दिमागै रन्थनायो। त्यसपछि आफैँ पौडी खेलेको, आफ्नै खेतमा सिँचाइ हुने, आफैँले पानी पिएको वाग्मतीबाट सफाइ अभियान थाल्ने प्रण गरे। साथीभाइको एउटा जमातले होस्टेमा हैँसे गर्‍यो।

यतिका वर्ष लागे पनि वाग्मती अझै शुद्ध हुन सकेको छैन। कतिपयले उनीसमक्ष यही विषय उठाउँदा पनि रहेछन्। तर उनको जवाफ हुने गरेको छ– ‘हामीले प्रत्येक हप्ता सफाइ गर्दा त यस्तो छ, गर्दै नगरेको भए झन् कस्तो हुन्थ्यो होला, सोच्नूस् त ।’ प्रतिकूलतामा अनुकूलता सिर्जना गर्ने क्षमता पुष्टि हुन्छ उनको यो उत्तरबाट।

भएको केही जमिन श्रीमतीको नाममा गरिदिएका छन्। आफू बसेको घर बुबाको स्वामित्वमा छ। अमेरिकामा कमाएर ल्याएको पैसा सेयरमा हालेका थिए। अहिले आफूलाई खर्च चाहिँदा यही सेयर बेच्दै काम चलाउँदै गर्छन् उत्तम। भन्छन्–गाई/बाछा संरक्षणलगायत अभियानका कार्यहरूमा लाग्दा २२ लाख रुपियाँ जति खर्च भयो होला। जुन सेयर बिक्रीबाट जुटाउँदै आएको छु।

अन्त्यमा,

उनी जोडिएका थुप्रै अभियानलाई माया गर्ने भन्दा शङ्का गर्ने बढी छन् रे। तर पनि उनी अभियानबाट पछि हट्नेवाला छैनन्। अरूले उनको कामलाई समाजसेवा भन्छन् तर उनी भने यो शब्द नै ठीक छैन भन्छन्। किन ? ‘यो समाजसेवा हैन, स्वकर्म हो। हामी सबैले गर्नैपर्छ।’ कुरा काट्ने र ‘विदेशी पैसा खानका लागि यस्तो काममा पल्केको’ आरोप लगाउनेहरू टन्नै छन्। तर पनि उत्तमलाई कुनै गुनासो छैन।

उनी आफ्ना कामबाट सन्तुष्ट छन् जुन करोडौँ खर्च गर्दा पनि मिल्न गाह्रो हुन्छ। पछिल्लो समय उनलाई थप सन्तुष्टि मिलेको अर्को कारण यस्तो छ–गोकर्णेश्वर नगरपालिकाका कङ्ग्रेस, एमाले, समाजवादी तीनै दलले आफ्नो घोषणापत्रमा वाग्मती सफाइ र गाई/वाछा संरक्षणका लागि पहल गर्ने उल्लेख गरेका छन्। आफू सधैँ लागेको क्षेत्रलाई स्थानीय सरकारले अपनत्व ग्रहण गर्नु भन्दा ठूलो सन्तुष्टि अरू के हुन सक्छ एउटा तपस्वीका लागि? उत्तम अपवाद पक्कै छैनन्। 

प्रकाशित: २२ वैशाख २०७९ ०७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App