१८ असार २०७९ शनिबार
विचार

स्थानीय निर्वाचन र नेताहरूका चरित्र

चारैतिरबाट खतराका घण्टी बजिरहेका छन्। संकट एकपछि अर्को गरी पैदा भइरहेका छन्। नेपाललाई सिंगापुर बनाउने सपना बेचेर सत्तामा पुगेका नेताले नेपाललाई आजको संकटबाट सिकिस्त श्रीलंकाको हालतमा पुर्‍याउने सम्भावना बलियो भइरहेको छ।

नेपाललाई सिंगापुरजस्तो बनाउन सपना देख्नेले त सिंगापुरको जस्तो सरकार गठन गरेर देखाए पत्यार हुने थियो। तर सत्ता सञ्चालन वा स्थानीय निर्वाचनमा उम्मेदवारीको टिकट भागबन्डादेखि राजदूत नियुक्तिसम्मका चरित्रमा श्रीलंकाको पारिवारिक सरकार बनाएको सिको देखापरिरहेकाले नेपाललाई वर्तमान श्रीलंकाको गतिमा घिसार्ने काम भइरहेको देख्नु बढी नहोला।

पाँच पार्टीको सत्ता–गठबन्धनपछि स्थानीय तहको निर्वाचनमा पनि ‘चुनावी गठबन्धन’ गर्नु लोकतान्त्रिक गणतन्त्रको चारीत्रिक रूपमा एउटा प्रतिबिम्ब होला जसले के प्रमाणित गर्छ भने नेताहरू सत्ता र स्वार्थका लागि सिद्धान्त र नैतिकताका सम्पूर्ण पोशाक फुकालेर दिनदहाडै हाकाहाकी अनमेल र अपवित्र गठबन्धन गर्न सरम मान्दैनन्।

वास्तवमा जनस्तरका आवश्यकता, आकांक्षा र स्थानीय विकास गतिविधिका लागि नेतृत्व निर्वाचन गर्ने कार्यमा राजनीतिक गठबन्धन गर्नु नै विवादित कुरा हो तर स्वार्थको धोको र बेइमानीको धोकाको ‘गणतन्त्रवादी राजनीति’ निर्वाध चलिरहेको छ नेपालमा। एमाले अध्यक्ष खड्गप्रसाद ओलीले सरकार र पार्टी दुवैतिरको नेतृत्व पाएका बेला स्वार्थको धोकोमा बेइमानीको धोका दिएपछि नेपालको राजनीतिक परिस्थितिले अहिलेको हालततर्फ कोल्टे फेरेको हो।

नेपालका सबैजसो ठूला र जिम्मेवार हुनुपर्ने पार्टीहरूले टुट र फुट भोगिसकेका छन्। कम्युनिस्टहरूमा सन्धिभन्दा विग्रह शक्तिशाली हुने गरेको पछिल्लो घटना हो, नेकपा–एमाले र माओवादीको ‘एकता’ तीन वर्षभन्दा बढी नटिकेर दुई फ्याकमात्र भएन, एमाले नै फुटेर नेकपा (एकीकृत समाजवादी) पार्टीको जन्म भयो। त्यसैले एमाले र माओवादीको पार्टी एकता राजनीतिक मिसावट मात्र भयो, जो सत्तामा पुग्न काम लाग्यो तर देश बनाउन काम लागेन।

अन्ततोगत्वा फुटेर तीन टुक्रा भएपछि त्यसले सत्तामा ‘देउवा–चरित्र’ लाई नियुक्त गरेको हो। ‘पार्टीको अस्तित्व र सिद्धान्तसँग प्रधानमन्त्री पद साट्ने’ कोसिसमा नेपाली कांग्रेसका सभापति देउवा पाचौँपटक प्रधानमन्त्री भए। कांग्रेसको संस्थापन देउवा गुट गठबन्धनको विषाक्त झोलमा ढुक्कसँग बगिरहेको दुर्दशा नै आज नेपाली कांग्रेस र यसले वरण गरेका शाश्वत मूल्य, मान्यता, सिद्धान्त र संस्कारको पराजय हो।

साथै कांग्रेसका त्यागी, निःस्वार्थ र निष्ठावान कार्यकर्ताहरूको चिन्तापूर्ण संवेदनशीलता हो। प्रधानमन्त्री देउवा पार्टीइतरका अदृश्य र तिलश्मी दबाब र अनिवार्यताको विवश बन्दी बनेको गतिविधिद्वारा प्रष्ट भइरहेको छ। जनता, कार्यकर्ता र विद्वत् वृत्तमा हिजोको उत्साह आज निरासामा परिणत हुँदै गएको छ।कम्युनिस्ट ध्रुवीकरण र फुट भइरहेको वर्तमान अवस्थामा सिद्धान्तहीन अपवित्र चुनावी गठबन्धन बोक्दा लोकतान्त्रिक शिविर प्रतिरक्षात्मक तथा किंकर्तव्यविमुढ अवस्थामा पुग्नु दीर्घकालीन दृष्टिकोणले साह्रै दुःखद परिस्थिति हो।

कांग्रेसको निर्णायक जनाधार भएको परिस्थितिमा पनि सभापति देउवा जनमतलाई लत्याएर गठबन्धन–सत्ताकै लागि मरिहत्ते गरिरहेका छन्। त्यसैले गर्दा उनी आज आफ्नै निर्वाचन क्षेत्रको गृह जिल्ला डडेलधुरामा नै जोखिमपूर्ण र प्रतिरक्षात्मक परिस्थिति भोगिरहेका छन्। डडेलधुरामा देउवाको दुर्दशाको अन्य संस्करण विभिन्न जिल्लामा देखापरिरहेको छ र गठबन्धन र स्थानीय निर्वाचन कांग्रेसका लागि महँगो हुँदै गएको छ।

यो तीतो यथार्थलाई त्यही पार्टीका नेताहरूले गम्भीरतापूर्वक सोच्ने हो, अरूले ‘रामराम’ भनिदिएर हुँदैन। खिएर ख्याउटे भइसके पनि माओवादी पार्टी २०६३ सालदेखि नै कांग्रेसमाथि हावी भइरहेको छ। अध्यक्ष प्रचण्डका समकालीन माओवादी पार्टीका प्रायः संस्थापक नेताहरू आज उनीसँग छैनन्। कांग्रेस र एमालेसँग पालैपालो टाँसिएर हुर्मत जोगाउन उनी सत्तामा खेल्दै आएका छन्।

अठार हजार नेपालीको ज्यान खाएको कथित ‘जनयुद्ध’ मानवता विरोधी अपराध न्यायिक रूपले पनि सावित हुने खतराबाट उनी सदैव पिरोलिरहेका देखिन्छन्। चरित्र र नियत उदाङ्ग भइंसकेको छ। मञ्चमा उभिएर ठूला आदर्शका आडम्बरी गफ हाँक्ने तर व्यवहारमा त्यसको ठीक विपरीत गतिविधि अपनाउने प्रचण्ड चरित्र नेपाली राजनीतिको एउटा विशेषता भएको छ, जसलाई जनताले ‘धोकेवाज ध्वनि’ भनेर चिन्ने गरेका छन्।

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी एमालेभित्रको महाभारतमा कौरव र पाण्डवको वैमनष्य र अन्ततः कुरुक्षेत्रको युद्धमा पुगेको जस्तै महाकलहको परिणाम हो।  जसरी महाभारतमा राज्य नै कलहको बिउ बनेथ्यो, पाण्डवलाई पाँचवटा गाउँ पनि नदिने र सबै आफैँसँग राख्ने दुर्योधन प्रवृत्तिले पाण्डव पक्षलाई वनबासदेखि गुप्तबाससम्म पुर्‍याएको थियो, आजको एमाले हिजो करिब दुई तिहाइ समर्थनको सरकार हुँदाको दम्भ, अहंकार, स्वेच्छाचारिता र तानाशाही चरित्रको एउटा परिणाम हो, नेकपा (एकीकृत समाजवादी) पार्टीको जन्म। मनोवृत्तिगत अनेक कमजोरीमा माधव–झलनाथ पक्ष पनि कम छैन। आखिर तिनै दुईपक्षीय कमजोरीको भिडन्तले पार्टी दोस्रो पटक फुट्न गयो। पार्टी फुट्नु नेतृत्वमा बसेकाहरूको नैतिक असफलता र नालायकीको द्योतक हो।

एमाले अध्यक्ष खड्गप्रसाद ओली सद्बुद्धिले भन्दा खुराफाती दिमागले बनेका बोलक्कड नेता हुन्। उनका हावादारी विकास योजना, झुटो कुरालाई सत्य जस्तै बनाएर बिकाउने हिम्मत र मनोबल, उनले छरेको भ्रमबाट आनन्द मान्ने र पत्यार गर्ने एकथरि समुदायका लागि ओलीको बोली कामयावी होला। तर मुलुकको वास्तविक विकासको कसौटीमा ओलीका योजना हावादारी गफ सावित भएका छन्।

विद्यालयहरूको भौतिक पूर्वाधार तथा सुव्यवस्थापन होइन, भ्युटावर निर्माण, गाउँगाउँमा अस्पताल होइन, व्यक्ति छानी उपचार खर्च वितरण वा महँगा गेट निर्माण, सडक सुव्यवस्थापन होइन, रेल र पानीजहाजका गफ, विद्युत् उत्पादन होइन, सहरीकरणका निराधार गुड्डीमा उनी मतदातालाई उराल्न खप्पिस छन्। अरू तीन प्रमुख नेताहरू त उनले गरेको भ्रमको खेतीलाई असत्य सावित गर्ने क्षमता पनि देखाउँदैनन्। यसको नाजायज लाभ एमालेको खातामा गइरहेको देखिन्छ।

प्रधानमन्त्री देउवा जनतासमक्ष आफ्ना कुरा प्रभावकारी तरिकाले राख्नै सक्दैनन् र बोलेका कुरा जनताले बुझ्न पनि सक्दैनन्। उनको विशेषता भन्नु नै देश र आफ्नो पार्टी (कांग्रेस) को स्वाभिमान र मर्यादालाई तिलाञ्जली दिएर कुर्सीमा टिकिरहनु हो। हालै नेपालका लागि भारतीय राजदूतको कार्यकाल समाप्तिपछि बिदाइका लागि भारतीय दूतावासको बिदाइ समारोहमा उनको उपस्थिति, अन्य दुई पूर्वप्रधानमन्त्रीसँगै उनलाई एउटै सोफामा राखेर देशकै बेइज्जति गरेको धृष्टतालाई सहज रूपमा लिएको दृश्य यो सन्दर्भको ज्वलन्त उदाहरण हो।

धेरैवटा गल्ती गरे पनि गिरिजाप्रसाद कोइराला यसरी कहिल्यै प्रस्तुत भएनन्। एमाले अध्यक्ष ओली पनि सस्तो र बेइज्जतिपूर्ण तरिकाले उपस्थित नभएर देशको स्वाभिमानप्रति सचेत देखिए।लोकतन्त्रको विगत १६ वर्षको अवधिमा मुलुकको कायापलट भइसक्नुपर्नेमा चुनावी गठबन्धन पक्ष वा प्रतिपक्ष उपरोक्त प्रवृत्तिका कुनै नेताले पनि जनताको समृद्धि र स्थानीय विकासका लागि आफ्ना संकल्प र प्रतिबद्धता व्यक्त गरेका छैनन्।

सत्तारुढ गठबन्धनको बैठक भागबन्डा र नेता वा निजको नातागोताको व्यवस्थापनमा र नेताहरूको भाषण आरोप–प्रत्यारोप र गालीगलौजमा समय बित्ने गरेको देखिन्छ। यसरी पार्टी चलाउन खोज्नु आफैंमा निरीहता र विडम्बनाको द्योतक हो। निर्वाचनको बेलामा मतदाताले यसको एकएक हिसाब–किताब खोज्नुपर्ने हो। मुलुकलाई जोगाउने हो भने राजनीतिक दलहरूले आफ्ना धारणालाई सच्याएर देश र जनताले भोगिरहेका वास्तविकताबारे इमानदारीपूर्वक नयाँ समीक्षा र नयाँ मूल्याङ्कन गर्दै अनुकूलता र एकताको स्वस्थ वातावरण निर्माण गर्नु जरुरी भइसकेको छ।

देशको अन्योल र संकटपूर्ण परिस्थिति, राजनीतिक दल र नेताहरूका स्वार्थी गतिविधि तथा दूषित राजनीतिक अभ्यासका बाबजुद सञ्चार जगत्मा निष्पक्षताको हैसियत र परिचय बनाएका सञ्चार माध्यम र सञ्चारकर्मीहरू सराहनाका पात्र छन्। यस क्रममा हालै आफ्नो चौधौँ वार्षिक दिवस मनाएको नागरिक दैनिकले राष्ट्रप्रति अनवरतरूपमा निर्वाह गरेको योगदानका लागि हार्दिक शुभकामना छ।  

प्रकाशित: १५ वैशाख २०७९ ०७:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App