नेपाल सरकारले पुरातात्विक महत्वका विश्व सम्पदाको संरक्षणमा उदासीनता र हेलचेक्य्राइँ गर्दैआएको पृष्ठभूमिमा खतराको सूचीमा नराख्नका लागि युनेस्कोलाई मनाउन सजिलो भने पक्कै हुँदैन। विगतमा धेरै पटक नेपाल सरकारले बाचा तोडेको छ। पशुपति क्षेत्रबाट नयाँ बाटो खोलेर संस्कृति र प्रकृतिको संरक्षणप्रति समर्पित विश्व समुदायलाई बिच्क्याएको छ। जीर्ण सम्पदाको बेलैमा मर्मतसम्भार नगरेर वा मर्मतसम्भार गर्दा पनि आवश्यक गम्भीरता नदेखाएर देश र विदेशका पुरातत्वप्रेमीलाई खिन्न बनाएको छ। आफ्नै सम्पदाको संरक्षणमा गरेको हेलचेक्य्राइँका कारण भूकम्पअघि नै युनेस्कोले नेपाल सरकारलाई चेतावनी दिँदै आएको थियो। भूकम्पपछि पनि सरकारले क्षतिग्रस्त दुर्लभ सम्पदाको पुनर्निर्माण र संरक्षणका लागि आवश्यक अग्रसरता देखाएन। यतिमात्र हैन जनस्तरबाट पनि सम्पदा संरक्षणमा पर्याप्त चासो, चिन्ता र अग्रसरता देखिएन। सम्भवतः यिनै कारणले युनेस्कोका पदाधिकारी नेपालका क्षतिग्रस्त सम्पदालाई खतराको सूचीमा राख्न अग्रसर भए। तर, आफ्नो मुलुकमा रहेका विश्व सम्पदा खतराको सूचीमा राखिनु सरकारमात्र हैन नागरिकका लागि पनि लाजमर्दो र आत्मग्लानिको विषय हो। यसैले नेपाल र नेपालीले त्यस्तो अवस्था आउन दिनु हुँदैन।
खतराको सूचीमा राख्दैमा विश्व सम्पदाको संरक्षण भइहाल्ने पनि होइन। यस्तो सूचीमा राख्दा क्षतिग्रस्त सम्पदाप्रति विश्वको ध्यानाकर्षण हुन त सक्छ, तर त्यसपछिको जटिलताले सरकारलाई पुनर्निर्माण र पुनर्स्थापना कार्य अगाडि बढाउन अपेक्षाकृत कठिन हुन्छ। यसले स्थानीय समुदायलाई पनि सम्पदाको संरक्षणबाट उदासीन गराउन सक्छ। यसैले नेपालले उच्च कूटनीतिक माध्यमको प्रयोग गरेर पनि भूकम्पबाट क्षतिग्रस्त सम्पदालाई खतराको सूचीमा राख्न नदिन प्रयत्न गर्नुपर्छ। खतराको सूचीमा राख्न सके प्रत्यक्ष हस्तक्षेप गर्न पाइने लोभ युनेस्कोका अधिकारीले गरेका हुनसक्छन्, तर नेपालका सम्पदाको अस्तित्व स्थानीय जनजीवनसँग अभिन्नरूपमा जोडिएका कारण त्यसो गर्न सहज हुनेछैन। यसैले सम्पदा संरक्षणकै चिन्ता हो भने युनेस्कोले पनि खतराको सूचीमा राखेर नेपालीको चित्त दुखाउनुभन्दा संरक्षणका लागि घचघच्याउने र सघाउन प्राथमिकता दिनुपर्छ।
साथै, अबको पुनर्निर्माणमा क्षतिग्रस्त सम्पदाको महत्वअनुसार वर्गीकरण गरी प्राथमिकता निर्धारण गर्नु उचित हुनेछ। उदाहरणका लागि, काष्ठमण्डप त्यस क्षेत्रको सम्भवतः सबैभन्दा पुरानो र महत्वपूर्ण सम्पदा हो। संसारमा त्यस प्रकारको संरचना एउटैमात्र छ र त्यो नेपालमा मात्रै छ। यो कुनै व्यक्ति विशेषको स्मारक नभएर नगर र प्रकारान्तरले मुलुककै गौरव बुझाउने स्मारक हो। राजाको दरबारभन्दा त पक्कै पनि काष्ठमण्डप महत्वपूर्ण स्मारक हो। तर, विश्वसम्पदा सूचीमा त्यसलाई हनुमान ढोका दरबारअर्न्तगत राखिएको छ। प्रचीन नगरी काष्ठमण्डपको पहिचानका रूपमा रहेको स्मारक काष्ठमण्डपभित्र यस क्षेत्रका अरू सम्पदासहित हनुमानढोका दरबारलाई राख्नु स्वाभाविक देखिन्छ। यसैले अब सम्पदा संरक्षणलाई प्राथमिकता दिएर यस्ता विसंगति पनि हटाउँदै तत्काल सक्रिय हुनु आवश्यक छ। नेपालीले छाक काटेरै पनि आफ्ना पुरातात्विक सम्पदाको संरक्षण गर्न सक्छन्। यसैले विदेशी सहयोग आउने लोभमा सरकारले राष्ट्रिय मनोबल गिर्ने र मानमर्दन हुने गरी कसैसँग पनि सम्झौता वा सहमति नगरोस्। बरु, सम्पदा संरक्षणका लागि आवश्यक भए जनतासँग सहयोग मागोस्।
प्रकाशित: १३ असार २०७२ १९:४३ आइतबार

