११ असार २०७९ शनिबार
विचार

आदर्श राजनीतिलाई नागरिक शिक्षा

आज हाम्रो मुलुकमा मात्र हैन, विश्वमै अनेक घटना र परिघटना भइरहेका छन्। विश्व राजनीतिक परिवेशमै असन्तुलित तरिकाले अगाडि बढिरहेको छ।

आर्थिक दृष्टिले चीन शक्तिराष्ट्रका रूपमा स्थापित हुने आकांक्षा लिएको छ भने भारत पनि अगाडि बढ्दैछ। विश्वमा अमेरिकी नेतृत्वले शक्ति राष्ट्रका रूपमा स्थापित लिइनै रहेका मान्यता अमेरिकाले हिन्द प्रशान्त क्षेत्रभित्रका मुलकहरूसँग पनि बलियो सहकार्य गरेर अर्थमा आफ्नो प्रभाव खोजिरहेको संकेत दिलाउँछ।

यी राष्ट्र कुनै गैरलोकतान्त्रिक विचारधाराबाट प्रभावित नहुन भन्ने चाहना राख्छ। यो परिस्थितिमा नेपाल जस्तो कम विकसित मुलुकले विगतदेखि अवलम्बन गर्दै आइरहेको असंलग्न परराष्ट्रनीति र पञ्चशीलको सिद्धान्तलाई नयाँ ढंगले सञ्चालन गर्न नसके शक्ति राष्ट्रहरूका बीच अस्तित्व कायम गर्न कठिन हुनेछ। हाम्रो जटिल एवं सवेदनशील भूराजनीतिक अवस्था भएको मुलुकका लागि राष्ट्रिय स्वार्थको प्रवद्र्धन गर्न राष्ट्रिय सुरक्षा र सार्वभौमिकताको संरक्षण देश विकासकालागि असंलग्न नीति र पञ्चशीलको सिद्धान्तलाई आत्मसात गर्न सक्ने नेतृत्वको अत्यन्त खाँचो महसुस भएको छ।

असल नेतृत्वविना कुनै पनि मुलुकको विकास संभव छैन। व्यवस्थित र नेतृत्व सुदृढ भैसकेका मुलुकहरूमा सरकारको नेतृत्व फेरिएर एक दुईपटक कमजोर नेतृत्व आए पनि खासै त्यहाँको विकास र समृद्धिमा फरक नपर्ला तर हाम्रो जस्ता विकासशील देशका लागि नयाँ पुस्तालाई समेटेर देशको भविष्य उज्यालो पार्न विकास र समृद्धिको आधार खडा गर्न कुशल नेतृत्वको अपरिहार्यता हुन्छ।

हाम्रो मुलुकमा कुशल राजनीतिक नेतृत्वको अभावमा राज्यसत्ताको शिखरमा देखिनेबेथिति, मनपरी र अराजकता, भ्रष्टाचार, दण्डहीनताको पराकाष्ठामा आजको लोकतन्त्र उभिइरहेको छ। राज्यका प्रमुख अंगहरू बीचमै बेथिति, हरेक राजनीतिक नियुक्तिमा भागबन्डा, न्यायपालिकाप्रतिको अनास्था जस्ता कुराले झनै अन्योल बनाएको छ। यसरी मुलुकको स्थिति बिग्रिँदै गएमा विगतका जनआन्दोलनहरूबाट स्थापित सबै परिवर्तनले सार्थक रूप पाउन सक्तैनन्। मुलुकभित्र फैलँदो विकृतिलाई समयमै जहाँबाट सिर्जना भएका छन् त्यहीँबाट सुधार गर्ने अभियान तत्काल थालनी नभएमा अरू विकराल रूप थपिँदै जटिल बन्नेछ।

समाजमा असल र खराब दुबै तत्व हुन्छन्। तिनलाई पहिचान गरी असल बनाउने कोसिस हुनुपर्छ। नागरिक पनि सबै असल  हुँदैनन्। तर सबैले आफूलाई असल भनाउन भने चाहन्छन्। यसै विन्दुमा आएर आशावादी बन्न सकिन्छ। आफूलाई खराब हो भनाउन नचाहने प्रवृत्तिमा सकारात्मक चेतना जगाउन नागरिक शिक्षाको माध्यमलाई प्रयोग गर्न सकिन्छ। समाज असल नागरिक बन्नबाट विमुख हुनुको मूल कारण नै नागरिक चेतना, मानव अधिकार, मौलिक अधिकार र कर्तव्यबारे यथोचित ज्ञान नहुनु हो।

नागरिक शिक्षाको ज्ञान र सिप राज्यले मुलुकको शिक्षाको पाठ्यक्रममा समयसन्दर्भ निर्माण गरी बालकक्षादेखि नै नागरिक चेतना जगाउनेखालले पठनपाठन गराएमा असल नागरिक निर्माणमा ठूलो बल पुग्छ। सही नागरिक शिक्षाको अभावमा नै देशले कुशल नेतृत्व पाउन नसकिरहेको आफ्नो अधिकार र कर्तव्यप्रति सचेत र दायित्वप्रति इमान्दार नागरिक चुनिएका सक्षम नेतृत्वबाट नै कुशल शासन पद्धतिको आरम्भ हुने हो। ती नागरिकमा बौद्धिक सिप तथा समालोचनात्मक क्षमता, सार्वजनिक सरोकारका विषयमा सचेत र सामूहिक हितकार्य सक्रिय सहभागी हुने गर्दछन्। सचेत नागरिक अधिकारमात्र खोज्दैनन्, आफ्नो कर्तव्यप्रति पनि त्यत्तिकै जागरुक हुन्छन्।

असल नेतृत्व विकासका लागि असल नागरिक शिक्षाको सिप र ज्ञानको खाँचो पर्दछ। असल नेतृत्वको अभावमा नै देशको शासकीय असफलता, प्रमुख संवैधानिक संस्थाहरूबीचको असन्तुलन, कानुनी शासनको अभाव तथा अदालतको साख गिर्नु र जनविश्वास गुम्नेजस्ता हुन्छन्। यसर्थ राजनीतिमा परिवर्तन र दलहरूमा रूपान्तरणका लागि कुशल नेतृत्व पहिचान गरी उपयुक्त पात्रलाई नेतृत्वमा पुर्‍याउने र उसबाट आफ्नो पहिचान, विचार, कार्यसम्पादन र संगठन मजबुत पार्ने दिशातर्फ अघिबढाउने कार्य हुनुपर्छ।

राजनीतिक दल समूह, गुट र आफ्नो स्वार्थ भन्दा राष्ट्रको स्वार्थ नै ठूलो ठान्ने राजनीतिक नेता र कार्यकर्ता हुनु जरुरी छ। नेतृत्वमा समयअनुसार क्षमता, विचार सिद्धान्त र कार्यक्रम लागु गर्न सक्ने हुनुपर्छ। यस्ताहरू नै राजनीतिलाई समाज विकास, निर्माण र समृद्धिको अभियानमा समर्पित भई समाज परिवर्तनको बाहक सावित हुन सक्छन्।

हाम्रो अवस्थालाई नियालेर हेर्दा राजनीतिक दलहरूमा सदाचारको अभावले गर्दा विगत लामो समयदेखि कुशल राजनीतिक नेतृत्वको ठूलो अभाव खड्किरहेको छ। निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध जनताले आन्दोलन गरेर बहुदलीय शासन व्यवस्था स्थापना गरेपछि पनि जनआकांक्षाअनुरूप देश चल्न नसक्दा निराशाबाहेक जनताले के पाए? यस अवधिभित्र के/कस्ता सरकार बने? के/कस्ता भ्रष्टाचार भए? यस्ता सवालमा जनता अनभिज्ञ छैन। राज्यका तिनै अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सबै अव्यवस्थित छन्।

न्यायपालिका समेत भ्रष्टाचारको दलदलमा फसेका गुनासा सुन्नमा आएका छन्। राजनीतिक दलहरू दबाब र प्रभावमा चलेका छन्। सत्तामा रहेका नेतृत्वहरूसुशासनको अर्थ बुझ्दैनन्। सत्ता र शक्तिको आडमा विगतदेखि नै भष्टाचार मौलाउने काम मात्रै भएकाछन्। चुनाव जति खर्चिलो हुँदैछ त्यति नै भ्रष्टाचार बढ्दैछ।

दलहरू जसरी पनि सत्तामा पुग्ने, सत्तामा पुगेपछि आउँदो चुनावको खर्च असुल्ने मानसिकताले ग्रसित देखिन्छन्। यसमा डरलाग्दो भविष्य अझ नवयुवाहरू जो क्याम्पस, विश्वविद्यालयका विद्यार्थी युनियनका चुनावमा पनि भड्किलो खर्च गर्दै आएका दृष्यले निरासातर्फ धकेलिएको छ।

विद्यार्थीकालमा मितव्ययी स्वावलम्वी, अनुशासित, नैतिकवान नभए भावी नेतृत्व कमजोर हुन्छ। यसर्थ आज यस विषयमा सबैको ध्यान जानु जरुरी छ। पार्टी तहको एकाइ, वडा, पालिकाको निर्वाचनसमेत निक्कै खर्चिलो बन्दै आएको छ। निर्वाचनमा भएको खर्च उठाउन पनि कमाइधन्दा वढने नै भयो। यसर्थ भ्रष्टाचारको बिउ नियन्त्रणका लागि विद्यार्थी कालदेखि नै सदाचार, नैतिकता, स्वावलम्वी, दायित्वबोध, अनुशासन आदि ज्ञान हुनु जरुरी छ। असल भूमिका निर्वाहका लागि कलिला बालबालिकादेखि नै उपरोक्त ज्ञान र सिपको विकास गरिनुपर्छ।

हाम्रो शिक्षा व्यवस्था अव्यवस्थित भएकाले पनि हाम्रो सामाजिक धरातल अस्थिरतातर्फ उन्मुख भएको हो। यो परिस्थिति विद्यमान भइरहे अब आउने पिँढीलाई समेत गैरजिम्मेवार बनाउन सक्छ। हाम्रो शिक्षामा नागरिक शिक्षाको माध्यमलाई बाल्यकालदेखि नै समाजशास्त्रीय स्वपहिचान गराउने नयाँ विधि र प्रविधिमा सुधार अपरिहार्य छ। अधिकार र कर्तव्य एकै रथको दुईटा पांग्रा भएकाले नागरिक अधिकार र सँगै कर्तव्यको पनि नागरिक शिक्षाले अपेक्षा गरेको हुन्छ। यसले सबैलाई अधिकारप्रति सजग र सचेत गराउँछ। त्यति नै कर्तव्य निर्वाहप्रति पनि दायित्व बोध गराउँछ।

राज्यको संरचनामा सबैको अपनत्व र सहभागिता जगाउने जनजागरण ल्याउने दायित्व मुलुकका राजनीतिक दलहरूकै हो। यो किसिमबाट मुलुकप्रतिको अपनत्वभाव र सबै पक्षमा नागरिक सहभागिताले देशको विकास र समुन्नतिमा गति र मति प्रदान गर्न सक्छ। कुनै पनि जात धर्म, लिङ्ग, भाषा वा जेसुकै वा जतिसुकै किन नहुन्,तिनले यो देश मेरो हो भनेर अपनत्व महसुस गर्न पाउनुपर्छ। राज्य कुनै एउटा भाषा बोल्ने वा एउटा भूगोलमा बस्ने वा एउटा जातिको मात्र होइन। यो समग्र देशबासीको ठूलो फूलबारी हो भन्ने बुझाइ चाहिन्छ।

यतिका लागि पटकपटक आन्दोलन भए र सातवटा संविधान फेरिए। आज राजनीतिक ठूलो परिवर्तन भैसकेको छ। यसर्थ आजको आवश्यकता व्यवस्था परिवर्तनको नभएर हरेक राजनीतिक नेता तथा कार्यकर्ताको प्रवृत्तिमा परिवर्तनको खाँचो हो। हाम्रा नेताहरू भने प्रणाली र व्यवस्थालाई दोष दिएर आफू वच्न खोजिरहेकाछन्।

राजनीतिक दलहरूले आफ्नो अक्षमता र कमजोरी बुझ्नुपर्‍यो। संविधान वा कानुन साध्य होइन, साधनमात्र हो। यसलाई समयसापेक्ष बनाउन संशोधन गर्दै लग्न सकिन्छ। संसारको शक्तिशाली देश अमेरिकामा २०० वर्षअघि बनेको संविधान आवश्यकताअनुसार संशोधन हुँदै अगाडि वढिरहेकै छ।

भारतमा पनि सन् १९५० कै संविधान संशोधनसहित अगाडि वढिरहेकै छ। यसर्थ राजनीतिक दलका नेता र कार्यकर्ता देश र संविधानप्रति प्रतिबद्ध हुनु जरुरी छ। जबसम्म नागरिकमा आफ्नो अधिकार र कर्तव्यको ख्याल हुँदैन तबसम्म राजनीतिक दलहरूले आफ्नो मनोमानी तरिकाले चल्ने छूट पाउँछन्।

मुलुकको संविधान, राजनीतिक प्रणाली, राज्यका प्रमुख अंगहरू राज्यको शक्ति सन्तुलन आदिबारे हरेक सर्वसाधारण नागरिकसमेतले यथोचित ज्ञान पाउनु जरुरी छ। यस्ता कुरा विद्यार्थीकालदेखि नै सचेतना दिँदै शासन, सुशासनबारे जानकारी दिन सकेमा भविष्यमा असल नेतृत्व गर्न वा छनोट गर्न सक्षम हुनेछन्। यस्ता गहन विषयको ज्ञान र सिप प्रदान गर्ने शिक्षा नै नागरिक शिक्षा भएकाले राज्यले पाठयक्रममै आवश्यक विषयवस्तु समावेश गरी विद्यालय शिक्षादेखि नै प्रभावकारीरूपले लागु गर्न सक्नुपर्छ।

आजको विश्वमा सबभन्दा डरलाग्दो स्थिति भनेको नै राजनीतिक उद्देश्यका लागि होस् वा आफ्नो निकृष्ट स्वार्थ पूर्तिका लागि किन नहोस्, विभिन्न आतंककारी संगठनहरू जैविक र रासायनिक हतियारसहितका अनेक हत्कण्ठा प्रयोग गरेर हिंसात्मक गतिविधिहरू तीव्र रूपले वृद्धि हुँदै आएकाछन्। राजनीति नीतिहरूमा उच्च र आदर्श नीति हो। तर आफ्नो स्वार्थका लागि भाँडभैलो मच्चाउँदै अनेकन ताण्डव नृत्य देखाउने काम भइरहेको छ।

यसमा कतिपय मनोवैज्ञानिक पक्ष छ भने कतिपय राजनीतिक महत्वाकांक्षी र बदलालको भावना त्यत्तिकै जिम्मेवार छ। दूषित राजनीतिक वातावरण बन्नुमा शिक्षानीति पनि केही हदसम्म जिम्मेवार छ भन्नुपर्छ। यस्तो अवस्थामा नागरिक शिक्षाले शान्ति र समझदारीका साथ एकले अर्कालाई सम्मान गर्न सिकाउँछ। यसैले नागरिक शिक्षा आजको अपरिहार्य आवश्यकता हो।

प्रकाशित: २ वैशाख २०७९ ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App