coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
विचार

नयाँ वर्षको संकल्पः विवेकको विकास

भित्तेपात्रोले आफ्ना धेरै रंग र मिति फेरिसकेको छ। त्यसैलाई आधार मानेरै त हामी पनि व्यक्तिगत जीवनमा, सामाजिक सद्भावमा र राष्ट्रको समृद्धिमा नयाँ वर्षको सहारा लिने गर्छौँ। यो वर्षमा कसरी विकासलाई उच्च बनाउने। पुराना वर्षहरूले धेरै कुरा सिकाएर गए।

प्रतिकूलता, अनुकूलता, व्यापार घाटा, राष्ट्रमा आर्थिक विकासको अवस्था, व्यक्तिगत जीवनमा पदोन्नति, श्रीसम्पत्ति जे/जे पनि भए तीमार्फत विभिन्न पाठ सिकाएर विक्रम संवत् २०७८ ले हामीबाट बिदा लियो। धेरै संकल्प भए। व्यक्तिगत जीवनमा होस् या राष्ट्रको समृद्धिका लागि।

विशेषगरी, सरकार र राजनीतिक दलको धेरै आश्वासन र भ्रमले पनि अबको नयाँ वर्षमा वास्तवमै देश कता जाला त? सोचनीय छ। भारतीय टेलिभिजन च्यानलले प्रसारण सुरु गरिसकेका छन्– श्रीलंका जस्तै भैसक्यो नेपाल। अब छिट्टै नै भोकमरीमा प्रवेश गर्दैछ रे! हामी कसरी पत्याउने? हाम्रा नेतृत्व वर्गले दिएको दरिलो आश्वासन त हामीले विश्वास गरेकै छौँ। देश स्विजरल्यान्ड जस्तो बनाउने भनेका छन् हाम्रा नेतृत्व वर्गले दशकौँ अगाडिदेखि।

त्यसैले श्रीलंका जस्तो बनाउलान् भन्ने हामीलाई पत्यार छैन अझै। तर यो नयाँ वर्ष पारिवारिक जमघट, नयाँ जीवन, नयाँ सोच, नयाँ संकल्प आफ्नै लागिमात्र छैन। चिया पसलदेखि लिएर सार्वजनिक स्थल अनि सामाजिक सञ्जालसम्म नागरिकलाई देशको चिन्ता छ। नेतृत्व वर्गलाई पनि छ चिन्ता किनकि स्थानीय निर्वाचनले नयाँ वर्षलाई स्वागत गर्दैछ। देश त बनाउनै छ, अरू धेरै विकास गर्नै छ किनकि अब धमाधम घोषणापत्र पनि छाप्नुपर्नेछ।

नागरिकका चिन्तालाई घरदैलोमा मत माग्न आउने उम्मेदवारले शान्त पार्नेछन् किनकि घोषणापत्रविना विकासको आधार पनि त भेटिन्न। विडम्बना त उही हो, वर्ष फेरिन्छ, चुनाव आउँछ, उम्मेदवारले विजयी हाँसिल गर्छन् तर नेतृत्व फेरिन्न, विकास फेरिन्न, अनुहार फेरिन्न अनि संस्कार र आचरण पनि फेरिन्न। चिन्ता अर्थतन्त्रको विगतमा गणतन्त्रको चिन्ता भयो स्वतन्त्रता र अस्मिताका लागि। तर गणतन्त्रको स्वतन्त्रताले अर्थतन्त्र उकास्न मद्दत गर्ला भन्ने अपेक्षा त उल्टो भयो।

अर्थतन्त्र त धराशायी पो हुँदैछ रे। किन होला त? सबैले देशकै लागि काम गरेको भाषण दिन्छन्। कोही गलत छैनन्, कसैले भ्रष्टाचार गरेका छैनन्, स्वीकार्न कोही तयार छैनन्, आखिर यस्तो अवस्था आइलाग्यो कसरी त? नागरिक नै मूर्ख भएर? नागरिकको कमजोरीले? निर्वाचनकै मुखमा छौँ। अब त नागरिकले पनि आफूलाई सोध्नुपर्ने होला, कस्तो नेतृत्व हामीले छनोट गर्‍याैँ र परिणाम के पायौँ? अब कसलाई नेतृत्व दिने? न्यायालयदेखि बैंकिङ क्षेत्र, सरकारीदेखि निजी क्षेत्र कहीँ पनि आफ्नो निजता छैन, हस्तक्षेप मात्र देखिन्छ।

समाचार झुटा हुन् कि प्रक्रिया र अभ्यास? नीति निर्माता र योजनाले बनाएको आर्थिक नीति, सहायता, लगानी कार्यक्रम, परियोजनाहरू, उद्देश्य, बजेट खर्च, रेमिटेन्स, उत्पादकत्व, विदेशी रणनीति आदि आदि, जे चिज अर्थतन्त्रलाई उकास्ने मापन थिए तिनलाई कसरी अभ्यासमा ल्याइयो? कमजोरी कहाँ के कारणले भयो? के कुरामा अनुत्पादक खर्च भयो? राष्ट्रिय बजेट, विकास बजेट कसरी उत्पादकत्वमा खर्च हुन सकेन? मुद्रास्फीति एक्कासि त घटेन होला ? कहिलेदेखि यो संकेत देखिन थालेको थियो? कृषिजन्य उत्पादकत्व भूमि बाँझो छ।

ऊर्वरशील युवा शक्ति बर्सेनि पलायन हुँदैछ। बजार, माग, आपूर्ति उत्पादन, मूल्य शृंखला, आयात, निर्यात यो आजको समस्या हो र? आज पनि यसलाई गहनरूपमा सोचिएन भने भविष्य के होला? दीर्घकालीन सोच शब्द र उच्चारणले मात्र व्यावहारिकतामा कुनै काम आउन सकेन। सामान्य भुइँ तहका नागरिकले बुझ्ने र बुझाउन सकिने हाम्रो अभ्यास, परम्परा र संस्कार कसरी सुध्रिएला? फेरि पनि जनताको विश्वास जित्न कसरी सकिएला? कहिलेसम्म नागरिकलाई मूर्ख बनाइराख्ने ? कसरी घोषणा गर्ने, तिमीहरूको मेहनत र करले अब तिमीहरू छिट्टै संकटमा जाँदैछौ भनेर।

शिक्षा र संस्कारको परिणाम

आजको शिक्षा प्रणालीले बुद्धिको विकास त गरेको छ र बाहिरी डिग्रीको हिसाबमा सुशिक्षित बनाएको छ तर हृदयको तलबाट व्यक्ति शीलवान बन्नुपर्छ भन्ने शिक्षा प्राप्त गर्न सकेको छैन। यथार्थमा भन्नुपर्दा एउटा असल नागरिक बनाउने शिक्षा प्रणालीको अझै विकास हुन सकेको छैन। विद्यालयमा सबै प्रथम हुनुपर्ने शिक्षा दिइन्छ। घरमा अरूलाई जितेर पनि प्रथम आउनुपर्ने, अरूले भन्दा धेरै अंक ल्याउनुपर्ने शिक्षा दिइन्छ।

नजिकको मित्र होस् या परको जसरी पनि उसलाई उछिनेर आफू अगाडि जाने शिक्षा दिइन्छ। यसले गर्दा मान्छेलाई शिक्षित, अनुशासित र मर्यादित नबनाएर प्रतिस्पर्धी बन्न सिकाएको छ। प्रतिस्पर्धामा उत्रने, अरूलाई हराउने शिक्षा र सभ्यताको विकास हुँदै जानुले नै आज समाजमा हिंसा र अराजकता बढ्दै गएको छ भन्दा फरक पर्दैन।

महत्वाकांक्षा र प्रतिस्पर्धाको संस्कारले व्यक्तिमा अनुशासन, इमान्दारिता, शीलवान, धैर्य र प्रेम जस्ता गुणहरू विकास हुन पाउँदैनन्। महत्वाकांक्षाले चलाख होला व्यक्ति तर प्रेमपूर्ण हुँदैन। प्रेम, भाइचारा, नैतिकता विकास हुने शिक्षा कुनै पाठशालामा दिइँदैन। अनि जब समाजमा अराजकता र हिंसा फैलिँदै जान्छ हामी सजाय र कानुन माग गर्न बाध्य हुन्छौँ। हिंसा मुक्त समाजका लागि आवश्यक कुरा के हो त्यसको खोजी गरेकै छैनौँ।

प्रेम, सद्भाव, इमान्दारिता, करुणा र नैतिकता हृदयबाट प्रष्फुट्न हुनुपर्छ। हाम्रो शिक्षा, सभ्यता र संस्कारले मस्तिष्कमात्र सक्रिय बनाउने अनि महत्वाकांक्षी र प्रतिस्पर्धास्वरूप बाहिरी सम्पन्नता पाउनुपर्ने शिक्षा दिइरहेको छ। हृदयलाई प्रयोग गर्नेखालका सिकाइ खोइ? ध्यान, योग, मौन, सुमिरन र आफैँमा डुब्ने कला खोइ? कहाँ कतिले सिकेका छन् र समाज हिंसा मुक्त हुन्छ? हामीले घर–घरमा आफ्ना सन्तान र परिवारका सदस्यमा प्रेम फैलाउने शिक्षा दिएका छौँ कि धन कमाउने? असल मानिस बन्ने शिक्षा दिएका छौँ कि ठूलो मान्छे बन्ने ? हामीले जे चाहेका छौँ त्यही भएको छ।

स्वार्थीपनको नतिजाः अराजकता र अस्थिरता

एकजना सन्तले आफ्नो प्रवचनमा उल्लेख गर्नुभएको थियो– केही वर्षअगाडि भारतको मुम्बईस्थित ताज होटेलमा बम बिष्फोट हुँदा त्यहाँ होटेलमा काम गर्ने कर्मचारीले होटेलमा बस्ने आफ्ना पाहुनालाई हदैसम्मको प्रयास गरेर धेरै व्यक्तिलाई बचाए, बचाउने कोसिस गरे।

होटलका सबै कर्मचारीको कारुणिक भाव देखेर मनोवैज्ञानिकहरू प्रभावित भई अनुसन्धान गर्न थाले। आफ्नो ज्यानलाई समेत खतरामा राखेर कसरी अरूको ज्यान बचाउन उत्प्रेरित भए होटलका कर्मचारी ? उनीहरूको मानवीयता देखेर आश्चर्यचकित भएका मनोवैज्ञानिकहरूले निष्कर्ष निकालेका थिए कि होटलले धेरै पढेलेखेका शिक्षित व्यक्तिलाई कर्मचारीका रूपमा नलिने नीति लिएको थियो। यसबाट प्रष्ट हुन्छ कि शिक्षाले होइन भावनाले व्यक्ति असल मान्छे बनेर निस्कन्छ।

असल व्यक्ति उच्च शिक्षाले होइन, असल मन र हृदयबाट थाहा लाग्छ। असल मान्छे बनेर समाजमा केही गर्न सक्ने व्यक्तिले सफलताको अनुभूति गर्छ अन्यथा अरूलाई जित्ने कोसिस होस् या हिंसाद्वारा अरूबाट फाइदा लिने कोसिस गरोस् उसलाई दीर्घकालीनरूपमा सफलता प्राप्त गरेको अनुभूति हुनै सक्दैन। मैले के दिन सक्छु भन्ने भन्दा पनि मैले अरूबाट के फाइदा लिन सक्छु भन्ने संस्कार विकास हुँदै गएको देखिन्छ।

लोभ, अपराध, हिंसा, अराजकता मानिसको स्वभाव होइन। सृष्टिका सबै सिर्जनालाई सम्मान गर्दै सबैप्रति मंगल कामना गर्नु मानिसको स्वभाव हो। आफ्नो स्वभाव जान्न ध्यानको अभ्यास प्रत्येक व्यक्तिमा जरुरी छ। शान्त, धैर्य, चित्त शुद्धि र हरपल आत्मबोधमा रहने कोसिस गर्नुपर्छ। कुनैपनि कुरा प्राप्त हुनासाथ उत्तेजित हुने र कुनै कुरा आफूले सोचेअनुसार नहुँदैमा दुःखी बन्ने स्वभावले सधैँ अपूर्णतामा लैजान्छ। अभाव र प्रभाव अस्थायी स्वभाव हुन्।

आफूमा स्थिर रहनु र साक्षीपूर्ण भएर हेर्नु आफ्नो स्वभावमा जिउनु हो। आजका मानिस सफलताको सूत्र होस् या नतिजा तुरुन्तै सर्टकटरूपमा पाउन चाहन्छन्। एउटा बिरुवा रोपेर त्यसको फल खान वर्षौँ लाग्छ भने हाम्रो हरेक कर्म विधिलाई पनि एक–एक पलमा मेहनत र महत्व दिनुपर्छ तब न त्यसको महत्व हुन्छ। नयाँ वर्षले मानिसलाई विवेक प्रदान गरोस्– हामी सबैले कामना गर्ने कि?

प्रकाशित: ३० चैत्र २०७८ ००:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App