२० पुस २०८२ आइतबार
image/svg+xml
विचार

भारतीय शिक्षा प्रणालीको असफलता

भारतका पढेलेखेका मानिसले बनाएका ‘बुल्ली बाइ एप’ र त्यसअघि ‘सुल्ली डिल्स एप’ले भारतीय युवाका केही हिस्साको नैतिक गुण कतिसम्म पतित भइसकेको छ भन्ने देखाएको छ। (सुल्ली डिल्स एप र बुल्ली बाइ एप इन्टरनेट एप हो जसमा राजनीतिक र सामाजिक विषयमा बोल्ने र लेख्ने विभिन्न क्षेत्रका महिलालाई अपमानपूर्वक ‘बिक्रीमा’ लेखिएको हुन्छ। द गितहब प्लाटफर्म नामको इन्जिनियरिङ संस्थाले बनाएका यी एपले भारतमा विशेषत: मुसलमान र अन्य अल्पसङ्ख्यक समुदायको अपमान गर्दै आएको छ।) पूर्वाग्रह, साम्प्रदायिक घृणा र झुटा कुरा पहिचान गराउन अहिलेको शिक्षा प्रणाली पूर्णत: अप्रभावकारी सिद्ध भएको छ। कस्तो खालको शिक्षण र सामाजिकीकरणले मानिसलाई घृणा फैलाउने यस्तो निच सोचाइप्रति आकर्षित गर्छ? बलात्कार र मार्ने धम्कीजस्ता विषयमा समेत हलुका टिप्पणी गर्ने सहिष्णुताको अभाव र क्रूरताले त्यस्ता विषयलाई समेत ‘हाँसो ठट्टा’ मा सीमित बनाउँछ।

मुसलमान महिलालाई अनलाइनमा ‘बिक्री’ का लागि राख्ने यस्ता एप बनाउने मानिस पक्कै सुविधाप्राप्त जातका हुनुपर्छ। उनीहरू पुरुषसत्तावादी हुनुपर्छ। जातमा आधारित आरक्षणको उनीहरू ठाडो विरोधी हुनुपर्छ। उनीहरू ‘परम्परा’मा बलियो विश्वास गर्दा हुन्। इन्टरनेट र मोबाइल फोनबाहेक उनीहरू सबैखालका आधुनिकताका विरोधी होलान्। उनीहरूमध्ये धेरैजसो ‘वैधिक–आर्यन सर्वोच्चतावाद’का समर्थक हुनुपर्छ। उनीहरू नि:संकोच अतिवादी हिन्दुत्व अधिकारका आदर्शलाई पुज्ने गर्छन्। उनीहरूका विश्वास देख्दा मूलधारका हिन्दुत्ववादी राजनीतिक नेताहरूका कुरालाई समेत हलुका सुनिने गरेको छ।  

सामाजिक सन्दर्भ, विषाक्त बहस

यस्तो उग्रवादी विचारप्रति मानिस किन आकर्षित भएका होलान्? पहिलो कारण त पक्कै पनि परिवेश हो। हामी आज यस्तो समयमा बाँचिरहेका छौँ जहाँ वयस्क हुनु भनेकै बेरोजगार, आर्थिकरूपमा असुरक्षित र भविष्य भयाबह हुनु बनेको छ। नेताहरू आफैँ आफ्ना समर्थकहरूलाई विद्युत्तीय वा सशरीर भिजिलान्ते हुल बनाउन प्रोत्साहित गर्छन्। आफ्ना परिकल्पित शत्रुमाथि हमला गर्न उनीहरू विषाक्त छलफल सिर्जना गर्छन्। यस्ता विषाक्त बहसले सामाजिक रोग र व्यक्तिगत लोभका जराको कारण उजिल्याउँछ। विडम्बना, यो विषाक्त ध्रुवीकरण अहिले घर–घर पसिसकेको छ। 

हालै मेटा पुन:नामाकरण गरिएको फेसबुकजस्ता कम्पनीहरूको भर्चुएल वास्तविकता सिर्जना गर्ने स्वार्थमा लागेर अवास्तविकताको लतमा अझ फसाइरहेका छन्। 

हाँस्यास्पद र अर्थहीन ‘सामाजिक तर्क’ व्यापकरूपमा फैलिनुको खास कारण विशेषत: उच्च शिक्षण संस्थामा विद्यार्थीले पाउने गरेको शिक्षा हो। विद्यार्थीले परीक्षामा प्राप्त गर्ने अङ्क र उपाधिमा मात्र जोड दिने पुरानो शैलीको शिक्षा प्रणालीले धेरै कुरालाई छूट दिने पाप गर्छ।  

धेरै विद्यार्थीलाई कुनै पनि कुराको परिभाषा, कानुन, घटनाक्रम, समस्या र कथित समाधान जस्ता घोकन्ते विद्या पढाइन्छ। साहित्यका विषयमा पात्रहरूको वर्णनमात्र कण्ठस्थ गराइन्छ। त्यही दौडमा विद्यार्थीलाई प्रश्न गर्न, सोच्न, विश्लेषण गर्न, आपसमा हेलमेल बढाउन र विषयवस्तुको समग्र जानकारी हासिल गर्ने पक्षलाई ओझेल पारिएको छ।  

घोकन्ते शैलीको विद्याले सामाजिक र राजनीतिक मुद्दामा राम्रो बुझाइ विकास गराउँदैन। त्यस्तो प्रकारको शिक्षाले समकालीन राजनीतिक अर्थतन्त्रको सामाजिक–आर्थिक संयन्त्रलाई बुझ्ने बनाउन सक्दैन। कतिसम्म भने त्यसरी पढेका विद्यार्थीले आफ्नै निजी जीवनमा आइपर्ने कठिनाइसमेत राम्ररी छिचोल्न सक्दैनन्। त्यसकारण उनीहरू संसारमा जातीय विभेदले कसरी काम गर्छ र कस्तो दुष्प्रभाव पारिरहेको छ अथवा शासक वर्ग समुदायले मात्र कसरी लाभ आफ्नो भागमा पार्दै आएको छ भन्ने बुझ्न सक्दैनन्। उनीहरू ‘आरक्षण दिनु प्रतिभा र क्षमताविपरीत छ’ भन्ने सोझो कुरा घोकिरहेका हुन्छन्।  

त्यस्ता मान्छे अर्थतन्त्रको अवस्था, उद्योगमा स्वचालन प्रणाली आदि कारणले बेरोजगारी बढेको हो, छिमेकमा बस्ने कुनै अर्को समुदायको कारण भएको होइन भन्ने कुरा बुझ्दैनन्। उनीहरू सामाजिक वा व्यक्तिगत असन्तोष पोख्नेलाई विवेकहीनरूपमा कोपभाजनमा पार्छन्।  

‘अपमानित हुने अधिकार’

सभ्य समाजमा सिकाइने ‘अभिव्यक्ति स्वतन्त्रता’ जस्ता आधारभूत विचारलाई घोकन्ते शिक्षा लिएका विद्यार्थीले सतहीरूपमा बुझेका हुन्छन्। वाक्स्वतन्त्रतालाई उनीहरूले ‘मलाई जे मन लाग्छ, त्यो बोल्न म स्वतन्त्र छु’ भन्ने अर्थमा बुझ्छन्। इन्टरनेट र सामाजिक सञ्जालले उनीहरूलाई त्यो काम गर्न सहज बनाएको हुन्छ।  

यस्तो ‘स्वतन्त्रता’ लाई उनीहरू अरूलाई धम्क्याउन वा तर्साउन प्रयोग गर्छन्। उनीहरू आफ्नो भनाइमा असहमत हुने सबैलाई ‘झुट’ भन्छन्। आफूसँग सहमत नहुनेलाई उनीहरू देशघाती भनी प्रचार गरेर वाक्स्वतन्त्रताको अधिकार खोस्नुपर्ने जिद्दी गर्छन्।  

यो ‘अधिकार’ मलाई मन नपरेका कुराबाट ‘अरूको अपमान गर्ने हक’ मा सहजै विस्तार हुन सक्छ। यस्तो कुरा पोशाक, खाना, पुस्तक, चलचित्र, भाषण, ब्लग, पोस्ट र अनुसन्धानमूलक लेखनसम्म पनि बिस्तार हुन सक्छ। मानहानिको उजुरी दर्ता गरी बारम्बार ‘हेकलर्स विशेषाधिकार’ प्रयोग हुने गरेका हुन्छन्। (हेकलर्स विशेषाधिकार कानुनी शब्दावली हो जहाँ राज्यले सम्भावित खराब परिणामलाई ध्यानमा राखेर संविधान र कानुनले दिएको अधिकार निलम्बन गर्ने गर्छ।)  

कानुनी र शान्ति सुव्यवस्थामा कुनै समस्या आउने देखिँदा जब कुनै संवाद कार्यक्रम रोकिन्छ अथवा पुस्तकमाथि प्रतिबन्ध लगाइन्छ तब राज्यले संवैधानिक जिम्मेवारी निलम्बन गर्छ। अहिले ‘स्वतन्त्रता’ को नाममा व्यापकरूपमा यस्ता गलत कुरालाई सही ठहर्‍याइएको छ। यो कोणबाट हेर्दा ‘शत्रु’लाई कुटीकुटी मार्नु अथवा कोही बालिकाको बलात्कारलाई ‘अधिकार’ मानिन्छ। तर विरोधीहरूको शान्तिपूर्ण विरोध प्रदर्शन दबाउनुलाई सही ठहर्‍याइन्छ। ‘अरू’ समुदायमाथि नरसंहारका लागि आह्वान गर्नु जायज मानिन्छ। कुनै पनि विमतिलाई देशद्रोह मानिन्छ।  

यस्तो सोचाइले अनौठो समानान्तर बनाएको हुन्छ : कुनै एउटा समूहले प्रेम र शान्तिको उपदेश दिन्छ भने विरोधी समूहले घृणा र हिंसाको उपदेश दिनुलाई अधिकार मान्छ। यस्तो अवस्था गलत भएको कसैले औल्याए उसलाई असहिष्णु भनी खेदो खनिन्छ। उनीहरूलाई घृणामूलक अभिव्यक्तिको मूल मर्म बुझ्न फलामको चिउरा चपाउनुसरह हुन्छ।  

तयारी न्याय  

सबैले मान्ने गरेको अर्को कुरा न्याय भनेको तत्कालै दिइनुपर्छ भन्ने कुरालाई शाब्दिकरूपमा मात्र बुझिएको छ। अपराधी पत्ता लगाउन सबैलाई स्वस्थ अनुसन्धान प्रक्रियामा सामेल गर्ने भावनामा आधारित ‘अपराध पुष्टि नहुन्जेल सबै निर्दोष हुन्’ भन्ने सिद्धान्तलाई अहिले अनावश्यक झमेलाका रूपमा लिइएको छ। सोचविचार नगर्ने मान्छेका लागि ‘मेरो विचारमा’ भन्ने मान्छे गलत छ। ‘त्यसकारण उसलाई सजाय गर्नुपर्छ’ नै आफ्नो काम गर्ने सिद्धान्त हो। शक्तिशाली वर्ग, अझ प्राय: राज्य आफैँको कोपभाजनबाट निर्दोष मान्छेको रक्षा गर्न यस्ता कानुनी सिद्धान्त बनाइएको हुन्छ। तर अहिले ती सिद्धान्त नाममात्रका भएका छन्। त्यस्तै कसैलाई कोही गलत लागेकै भरमा कसैमाथि सजाय गर्न नहुने चेतनाको पनि कमी छ। झुटा समाचारको बिगबिगी भएको संसारमा अवस्था अझ विकराल छ। तब त ‘गोली मारो सालो को’ जस्ता नारा सजिलै लाग्ने गर्छ। अनि भीडले गर्ने हिंसालाई पनि सजिलै सही ठहर्‍याइन्छ।  

बहुआयामिक सिकाइ

आधुनिक प्रजातन्त्रले सबभन्दा बढी कुनै कुरालाई जोड दिएको छ भने त्यो बहुआयामिक सिकाइमा हो। आजको प्रजातन्त्रले त्यस्तो शिक्षालाई जोड दिएको छ जसले चिन्तन र विश्लेषण गर्न सक्ने क्षमता प्रदान गर्छ। साहित्य, सङ्गीत, कला र मानविकीका विभिन्न विषयमा संलग्नता हुनुले विद्यार्थीलाई आफ्नो र अरू संस्कृतिका कुराप्रति सचेत बनाउँछ। त्यस्तो बुझाइले मानव भावनालाई कदर गर्ने ठाउँमा पुर्‍याउँछ।  

इतिहासको अध्ययनले हामीलाई कुन भौतिक अवस्थामा लडाइँ भएको थियो, राष्ट्र र शासन प्रणाली कसरी बनेको थियो र कसरी कुनै पनि सामाजिक–सांस्कृतिक आस्थाको विकास भयो भन्ने कुरा बुझ्न सक्षम बनाउँछ।  

नागरिक शिक्षा, कानुन र राजनीतिशास्त्रजस्ता विषयले मानव अधिकारको व्यापकता, प्रतिनिधि मूलक प्रजातान्त्रिक संस्थाको कार्यप्रणाली र न्यायपूर्ण, तर्कसंगत र स्वच्छ कानुनका आधारबारे विचार प्रवाह गर्छ। विज्ञान र प्रविधिसँग सम्बन्धित विषयले हामीलाई तर्कपूर्ण कारण दिन र प्रमाण खोज्न सिकाउँछ। यस्तो शिक्षाले हामीलाई सही र झुटा कुराबीच अन्तर पहिल्याउन आवश्यक आधारभूत क्षमता विकास गर्न मद्दत गरेको हुन्छ।  

केही प्रतिष्ठित शिक्षण संस्थालाई अपवाद मान्ने हो भने यस्ता विषयलाई पहिलो प्राथमिकतामा राखेर पढाइ हुने संस्थामा समेत यी विषयको सतही अध्ययन हुने गरेको छ। अन्तरविषय अध्ययन र अध्यापन अहिलेका शैक्षिक पाठ्यक्रममा या त छँदै छैन, भए पनि झारा टार्ने खालको मात्र छ।  

उदाहरणका लागि अधिकांश विज्ञान र इन्जिनियरिङ संस्थामा कला वा सामाजिक विज्ञानलाई ‘समयको बर्बादी’ का रूपमा लिने गरिएको छ। त्यस्तै सामाजिक विज्ञान पढाइने कलेजहरूमा विज्ञान, इन्जिनियरिङ वा चिकित्साशास्त्रको अध्ययन अध्यापनलाई ‘सामान्य’ अथवा ‘बौद्धिकरूपमा न्यून’ ठान्ने गरिएको छ। मानविकी र बहुआयामिक शिक्षा तथा समग्र, गहन दृष्टिकोणको अभावमा कस्तोखालको परिणाम आउँछ भन्ने कुरा बुझ्न केही उदाहरण चर्चा गरौँ।

दोस्रो विश्वयुद्धको पूर्वसन्ध्यामा नाजीवादको उदयबारे सतही व्याख्या गर्नेहरूले हिटलरको खराब चरित्र नै यसको मूल कारण भएको बताउँछन्। नाजीहरूलाई जर्मनीकै औद्योगिक र भूमिपतिहरूको ठूलो हिस्साले समर्थन गरेको र आर्थिक मन्दीको कोपभाजनमा परेका धेरै जर्मनीले दोषको भारी यहुदीहरूमाथि थोपरेको कुरा थाहा नपाएका मानिस यसरी हिटलरको चरित्रमाथि दोष लगाउने गर्छन्। त्यस्तो व्याख्या गर्नेहरूले हिजोआजका अधिनायकवादी–लोकरिझ्याइँ मार्का नेताहरू पनि उस्तै गरिरहेको बुझ्दैनन्।  

आर्थिक र सांस्कृतिक चेतनाको मिश्रित अवस्था बुझ्न इतिहास र राजनीति बुझ्न अत्यावश्यक छ। आफ्नै सभ्यतालाई मात्र असली ठान्ने मानिस धेरै छन्। असली भएकाले उनीहरू आफ्नो सभ्यतालाई महान् ठान्ने गर्छन्। अरू सभ्यताको इतिहास नबुझ्दा र प्राग ऐतिहासिक कालमा एउटा महादेशबाट अर्को महादेशमा बसाइँ सर्ने गरेको तथ्य थाहा नहुँदा यस्तो दृष्टिकोणको विकास हुने गर्छ। विभिन्न मानव समूहका डिएनए खोज्दै पहिल्याउँदै जाँदा बसाइँ सराइ गरेको बाटो पत्ता लाग्ने गरेको छ। त्यसकारण एकजना सर्वसाधारणलाई अनुवांशिक विषयको पनि ज्ञान हुनुपर्छ भन्ने यसले देखाएको छ।  

एउटा विषयका धेरै ज्ञान र जानकारी मिसिएको हुने जटिलताको सन्दर्भ, मूल सार र तत्वबोध नहुँदा विभिन्नखालका अहंकारले तर्कपूर्ण दृष्टिकोणलाई छोप्ने गरेको छ। ‘मेरो संस्कृति र मेरो मान्यता’ नै उत्कृष्ट हो किनभने मैले त्यसप्रति ‘आस्था’ राख्छु भन्ने सोच विकास हुन्छ। त्यस्तो सोच राख्ने मानिसले आफूभन्दा फरक विचारलाई षड्यन्त्रका रूपमा हेर्छ। त्यस्तो सोच बहुलठ्ठीपनासम्म फैलिन सक्छ। ‘सांस्कृतिक’ अब्बलताको होडमा मानिसले जीव विकासक्रमको सिद्धान्तलगायत वैज्ञानिक सिद्धान्तलाई नै हल्लाबाजीका रूपमा लिने गरेका छन्।  

खराब, झन् खराब  

आगामी दिन अवस्था अझ खराब बन्दै जानेछ। तीनवटा पक्षले यसमा भूमिका खेल्न सक्छ:

पहिलो, रोजगार हुने सम्भावना बढाउने नाममा पाठ्यक्रममा सिप वा व्यावसायिकतामा अहिले जसरी जोड दिइएको छ, यसले बहुआयामिकताको विचारलाई ओझेलमा पारेको छ किनभने ‘काम नलाग्ने’ विषय किन पढाउनुपर्‍यो र? भन्ने सोच फैलिँदो छ। दोस्रो, अनलाइन शिक्षाको व्यापकता र भौतिक कक्षा क्रमश: कम हुँदै जानुले आफ्ना साथी र शिक्षकहरूसँग प्रत्यक्ष सामाजिकीकरण हुने सम्भावना ओझेलमा पार्छ। यसले मानिसलाई पढ्ने सम्भावना भने अवसरलाई पातलो बनाइदिएको हुन्छ। अन्तिममा, हालै मेटा पुन:नामाकरण गरिएको फेसबुकजस्ता कम्पनीहरूको भर्चुएल वास्तविकता सिर्जना गर्ने स्वार्थमा लागेर अवास्तविकताको लतमा अझ फसाइरहेका छन्। खासमा उनीहरूको यो कामले वास्तविकताबाट विच्छेद गर्दै लान्छ।  

आजका ‘संसार’ मा सामाजिक–आर्थिक असमानता, जलवायु परिवर्तनको खतरा, रोजगारको क्षयीकरण र जताततैको आर्थिक जोखिमजस्ता विषय न अस्तित्वमा रहनेछन् न त तिनलाई बुझ्नुपर्ने कुनै कारण रहनेछ। मानविकी र बहुआयामिक शिक्षा पद्धतिलाई हरेक तहको शिक्षामा मिलाउने प्रतिबद्धता व्यक्त गरेको ‘नयाँ शिक्षा प्रणाली’ ले सिकाइ र चिन्तनको गहिरो तरिका हामीलाई दिन सक्ला?

आइआइटी बम्बेका इन्जिनियरिङ तथा नीति विषयका शिक्षक। उनी विशेषत: प्रविधि, संस्कृति र राजनीतिबीचको सम्बन्धबारे लेख्छन्। स्रोत: स्क्रोल डट आइएन। नेपाली अनुवाद: नीरज लवजू

प्रकाशित: २९ चैत्र २०७८ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App