१९ मंसिर २०७९ सोमबार
विचार

भ्यु टावरबाट नदेखिने दृश्य

बिहान सबेरै उठेर अखबारका पाना पल्टाउँदा खुसीका भन्दा विषादका खबर धेरै पढ्नुपर्छ हामीले। खबरका शीर्षक हुन्छन् महँगी बढेको। भ्रष्टाचार बढेको। गरिबी बढेको। अनि विकासचाहिँ घटेको।

खर्चिलो उपचारले बर्सेनि ५ लाख नेपाली गरिब बन्ने गरेको र भ्यु टावर निर्माण बारेका खबर हामी धेरैले पढेका पछिल्ला खबर हुन्। एक दिनको फरकमा आएका यी खबरले संवेदनशील जनतालाई अझ संवेदनशील र गम्भीर बनाएको छ। संवेदनशील र गम्भीर बन्नैपर्ने राज्यचाहिँ बेखबरझैं लाग्छ।

स्वास्थ्य क्षेत्रमा हुने कमिसनको खेल, फार्मेसीले गलत औषधि दिँदा हुने खर्च, रोग निदानका लागि दुईभन्दा बढी अस्पताल चाहार्नुपर्ने बाध्यता, अचाक्ली नै चर्को शुल्कलगायतका कारणले महँगो बन्दैछ स्वास्थ्य उपचार। स्वास्थ्य उपचारका लागि गरिब जनताले साहूबाट ऋण लिनुपर्ने अवस्था छ भने स्वास्थ्य उपचारकै लागि लागेको ऋण तिर्न जनताले घर–खेत बन्धकी राख्नुपर्ने वा बेच्नुपर्ने बाध्यता पनि छ। असाध्य रोग लागेका गरिब जनताले उपचार गर्दागर्दै लागेको ऋणलेउठिवास नै भएका घटना धेरै छन्।

कसैले उपचार गराएबापतको शुल्क तिर्न नसक्दा अस्पतालमै बन्धक हुनुपरेको छ भने कसैले बाँच्ने आशामा उपचार गराउन गएको अस्पतालको छतबाटै हामफालेर मर्नुपरेको छ। यस्तै हृदयविदारक खबर पनि हामीले बेलाबेलामा पढ्नुपरेकै छ र सुन्नपरेकै छ।

राज्यले स्वास्थ्यसेवा निःशुल्क गर्न नसक्दा अथवा स्वास्थ्यसेवालाई सर्वसलुभ र सस्तो बनाउन नसक्दा खर्चिलो स्वास्थ्य उपचारकै कारण बर्सेनि ५ लाख जनता गरिब बन्ने गरेको खबरले हामीलाई दुःखी बनाएको छ। संवेदनशील बनाएको छ। तर राज्यका जिम्मेवार निकाय दुःखी भएका छैनन्। संवेदनशील भएको छैन। तिनलाई समृद्ध नेपाल र सुखी नेपालीको नारा लाउँदैमा फुर्सद छैन।

देशको प्राथमिक आवश्यकता के हो भन्ने हेक्कासम्म नभएका शासक र प्रशासकहरूसायद अग्लाअग्ला भ्यु टावर बनाएर त्यहाँबाट गरिब नेपाली जनताको दुरवस्था नियाल्न लालायित छन्। अग्ला भ्यु टावरमा चढेर आँखामा दूरबीन लगाएर त्यहाँबाट परपरसम्म गरिब नेपाली जनताको दुरवस्था नियालेर रोमाञ्चित हुन र मनोरञ्जन गर्न चाहन्छन् हाम्रा शासक र प्रशासकहरू।

त्यसैले बाटोघाटो, पुलपुलेसा, खानेपानी, सिँचाइ, अस्पताल, स्वास्थ्यचौकी, विद्यालय र पुस्तकालय जस्ता प्राथमिक पूर्वाधार निर्माण र रोजगारी अभिवृद्धि गरी कहालीलाग्दो बेरोजगारी कम गर्नका लागि विनियोजन गर्नुपर्ने बजेट भ्यु टावर निर्माणका लागि विनियोजन गरेर देशका अग्लाअग्ला पहाड र टाकुराहरूमा अझै अग्ला भ्यु टावर बनाएर गरिब जनतालाई गिज्याउन उद्यत छन्। गरिब नेपाली जनताका भोका अनुहार र नाङ्गा आङ हेर्न र किसानका बाँझा खेत हेरेर आनन्द लिन आतुर छन् लोकतन्त्रका निरंकुश शासक र प्रशासकहरू। विडम्बना नै भएको छ– खेतमा घर, कौसीमा खेती र अग्ला डाँडामा भ्यु टावर।

करोडौंँ खर्चेर बनाइएका अग्ला भ्यु टावरहरूले शिर ठाडो पारेर अझै अग्लो भएको देखिरहेका होलान् शासकहरूले। तर तिनै शासकका विकास र समृद्धिका फोस्रा र बेकामे नाराले लज्जित भएर स्वयम् अग्लो भ्यु टावरले पनि शिर झुकाइरहेको महसुस हुँदैछ जनतालाई। अनावश्यक र अनुत्पादक भौतिक संरचनामा अर्बौं खर्चेर शासकहरूले आफ्ना आसेपासे र अरौटेभरौटेहरूलाई भ्रष्टाचार गर्ने र राज्यकोषमा रजाइँ गर्ने सुनौलो अवसरमात्र दिएका हुन्।

ती अग्ला भ्यु टावरबाट शासकहरूले गरिब र पीडित जनताका भोक, रोग, अभाव, गरिबी, अशिक्षा, बेरोजगारीको पीडा देख्ने होइनन्। वास्तवमा शासकहरूले जनता शिक्षित होऊन्, चेतनशील होऊन्, सुखी र समृद्ध होऊन् भन्ने चाहेकै छैनन्। शिक्षित र चेतनशील जनता कहाँ शासकका बकमफुसे भाषणको रमिते बन्छन् र! अनि कहाँ शासकका पछि लाग्छन् र! जनताका दुःख र पीडा कम गर्ने भौतिक पूर्वाधारका संरचना निर्माण गर्नुभन्दा यस्तै बेकामे संरचना निर्माण गरिदिएर शासकहरू आफ्नो शासकीय गाथा जोगाइरहन चाहन्छन्। शिलामा आफ्नो नाम लेखाउन चाहन्छन्। त्यसैले अरू महत्वपूर्ण काम छाडेर उनीहरू भ्यु टावर उद्घाटनमा सप्रसन्न सरिक हुन्छन्। शासक र शक्तिका उपासकहरूले उक्साइरहेका छन् शासकहरूलाई।

दैनन्दिन जीवनमा आवश्यक आधारभूत सुविधाको पर्खाइमा रहेका लाखौँ जनताप्रतिको जिम्मेवारीलाई बेवास्ता गर्दै भ्यु टावर निर्माणमा जोड दिने स्थानीय जनप्रतिनिधिको असक्षम कार्यकुशलता र अदूरदर्शिता त्यही भ्यु टावरबाट छर्लङ्ग देखिएका छन्। आवश्यकताको पहिचान र प्राथमिकीकरणमा जनप्रतिनिधिहरू पूर्णरूपमा चुकेको प्रमाण पनि हो देशैभर निर्माण भइरहेका भ्यु टावर।देशभर दर्जनौंको संख्यामा बाटोघाटो, पुलपुलेसा, खानेपानी, सिँचाइ, अस्पताल, स्वास्थ्यचौकी, विद्यालय र पुस्तकालय बनाउन पुग्ने अर्बौंँरुपियाँ भ्यु टावर निर्माणमा खर्चेर जनप्रतिनिधिले जनताले तिरेको करको चरम दुरूपयोग गरेका छन्।

आन्तरिक पर्यटन प्रवद्र्धनको नाउँमा भ्यु टावर निर्माण गरेर अर्बौं रुपियाँ अनुत्पादक क्षेत्रमा लगानी भएको छ। जनताका आधारभूत आवश्यकता र पूर्वाधार निर्माणमा खर्च गर्नुपर्ने बजेट भ्यु टावरजस्ता अनुत्पादक क्षेत्रमा लगानी गर्दा विकासले कम महत्व पाएको सहजै अनुमान गर्न सकिन्छ।

अग्ला र सुन्दर भ्यू टावर नजिकै छन् गरिब जनताका कुरूप झुपडी र सुकुमबासी बस्तीहरू। झुपडीमा बस्ने गरिब जनता भयभीत छन्, सुन्दर र अग्ला भ्यु टावरसामुन्नेका कुरूप झुपडीले भ्यु टावरको सौन्दर्यमा दखल पार्‍यो भन्दै बस्ती नै उठाउने हुन् कि भनेर। भ्यु टावरसँगैको झुपडीमा बस्ने गरिबहरू भन्दैछन्, ‘हाम्रै दुःख हेर्न यो टावर बनाएको होला है। हेरे मात्रै त ठीकै थियो, लखेटे कहाँ जाने होला?’ राज्यलाई गरिब जनताको यो पिर र चिन्ताको वास्ता छ कि छैन होला?

नेपालजस्तो भौगोलिक विविधता भएको देशमा दृश्यावलोकन र मनोरञ्जनकै लागि अग्ला भ्यु टावरको आवश्यकता नै पर्दैन। अग्ला डाँडा, टाकुरा र पहाडले घेरिएको मुलुकमा डाँडा, पाखा र टाकुरा जहाँबाट पनि देखिन्छन् सुन्दर र मनोरम दृश्यहरू। जनताले आफू भोकै बसेर राज्यलाई तिरेको करबाट बनाइएका अग्ला भ्यु टावर चढिरहनै पर्दैन मनोरम दृश्य नियाल्न र मनोरञ्जन प्राप्त गर्न। तैपनि किन देशका शासकहरू भ्यु टावर निर्माणमा यति धेरै लालायित छन्? किन देशैभर भ्यु टावर निर्माणको प्रतिस्पर्धा चलिरहेछ? किन स्वागतद्वार निर्माणको प्रतिस्पर्धा चलिरहेछ? गरिब जनताले बुझ्न सकेका छैनन्।

बर्सेनि तुइनबाट खसेर दर्जनौं मानिस मर्ने र नदीमा बेपत्ता हुने गरिरहेका छन्। तुइनबाट महाकाली तर्ने क्रममा बेपत्ता भएका जयसिंह धामी अझै बेपत्तै छन्। अझै पनि स्कुले विद्यार्थीहरू निकै कठिनले तुइनबाट नदी वारपार गर्दै विद्यालय गइरहेका छन्। त्यो दुःख नेदेख्ने राज्यले के हेर्नका लागि भ्यु टावर निर्माणमा बजेट विनियोजन गर्न जोड दिइरहेको छ?

वन र हरियाली जोगाउन किसानलाई राहत दिनुपर्ने राज्यले त्यही वन र हरियाली मासेर भ्यु टावर निर्माण गर्नुको उद्देश्य के हो? पर्यटन प्रवद्र्धनकै लागि हो भने भ्यु टावरसम्म पुग्ने र भ्यु टावरवरिपरि अरू पर्यटन पूर्वाधारको विकास गरिएको खोइ? खालि भ्यु टावरमा चढेर टाढाटाढासम्मका गरिबका झुपडी, बाँझो खेत, नाङ्गो डाँडो र सेता हिमाल हेर्नमात्रै पर्यटक धाइधाई भ्यु टावरसम्म पुग्लान् भन्ने के ग्यारेन्टी छ? भ्यु टावरबाट हुने आम्दानीभन्दा गरिब नेपाली जनताको उत्थानका कार्यले प्राथमिकता पाउनुपर्नेमा किन त्यसो हुन सकिरहेको छैन ? ताज्जुब मान्नुपनै अवस्था छ।

भ्यु टावरबाट देखिने सुन्दर दृश्यहरू थोरै छन्, जसले हेर्नेलाई आनन्द दिन्छ। तर भ्यु टावरबाट नदेखिने कुरूपदृश्यहरू धेरै छन्, जसलाई हेर्नैपर्ने खाँचो छ, तर राज्यले हेर्ने चासो देखाएको छैन। भ्यु टावरबाट नदेखिने दृश्य हुन् भोक, रोग, गरिबी, अभाव, अशिक्षा, असमानता, अविकास, बेरोजगारी आदिआदि। भ्यु टावरबाट नदेखिने यी कुरूपदृश्यहरूलाई राज्यको नीति, योजना र कार्यक्रमले हेर्नुपर्ने हो। बजेटले हेर्नुपर्ने हो। भ्यु टावरबाट गरिबीको पीडाले छटपटाइरहेका जनता देखिँदैनन्।

विद्यालय जान नपाएर भविष्य अन्धकार बनाइरहेका बालबालिका देखिँदैनन्। सिँचाइको अभावमा खेत बाँझै परेर रोइरहेका किसानको आँसु देखिँदैन बेरोजगारीले रन्थनिएर हिँडेका निराश युवाका अँध्यारा अनुहार देखिँंदैनन्। तुइनमा झुन्डिएको जिन्दगी देखिंँदैन। सुत्केरी बेथाले च्यापेर छट्पटाइरहेका आमाहरू देखिंँदैनन्। रोगले थलिएर छट्पटाइरहेका गरिब जनताको चित्कार सुनिँदैन भ्यु टावरमा। भोकले रोइरहेका केटाकेटीका क्रन्दन सुनिँदैनन्। अनि किन चाहियो यति धेरै भ्यु टावर?

भ्यु टावर बनाउने पैसाले बाटोघाटो, पुलपुलेसा, खानेपानी, सिँचाइ, अस्पताल, स्वास्थ्यचौकी, विद्यालय र पुस्तकालय बनाऔं। रोजगारी सिर्जना गरौं र उत्पादन बढाऔं। यसले समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार पार्न र देशलाई विकासशील बनाउन मद्दत गर्नेछ।

प्रकाशित: २१ चैत्र २०७८ ०८:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App