७ वैशाख २०८१ शुक्रबार
विचार

स्वप्नदर्शी नछुटून्, पत्रुसहरू नदोहोरिऊन्!

मुलुक स्थानीय निकाय निर्वाचनको ढोकैमा पुगेको छ। अब अन्ठाउन्न दिन बाँकी छ। वैशाख ३० गते निर्वाचन आयोगले गर्ने चुनावको दिनगन्ती सुरु भैसकेको छ।

सावधान, ७ सय ५३ स्थानीय निकायमा हुने चुनावी माहौल अनि चहलपहललाई निर्वाचनमा गरिने फोहोरी खेलकुदले उछिन्ला! भोजभत्तेर, जाँडरक्सी मांसमदिरा, गुटवाजी, पैसा र पाखुराको बलमा हुने सलबलाहट देखिन थालिसकेको छ।

कोभिडले गर्दा लामो समय सार्वजनिक भेटघाट, छलफल र बसिवियाँलो गर्न नपाएकाहरूको खुसियालीपूर्ण सलबलाहटलाई माफिया, भ्रष्टाचारी, तस्करहरूले कुनै पनि क्षण अपहरण गरेर बिथोल्न सक्छन्! सचेत बनौं! जाँड–रक्सी, भ्रष्टाचार, क्रसर, गिट्टीबालुवा, गाडी, जग्गा दलाल, फुली, एनजिओ, बिचौलिया, घुस, बेपारी, ठेकेदारीमा लिप्त मेयर, उपमेयर/पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, वडा सदस्यसम्मले मतदातालाई पासोमा पार्लान् ! दुर्भाग्यवस उनीहरू यसमा सफल बने भने तात्नुपर्ने चुनावी माहौेल र बहसको ठाउँमा अराजकता र षडयन्त्रले जरा हाल्नेछ। अन्यौल बढ्नेछ। देश र जनता फेरि पनि अलमलिने र अस्थिर बन्ने खतरा उत्पन्न हुनेछ।

चुनावका वास्तविक हिरो र हिरोइन मतदाता हुन् ! उनीहरू वास्तवमा के चाहन्छन्? बुद्धिजीवी, विश्लेषक, दल र त्यसका नेताहरूले आधार र आकार दिन सकेको देखिँदैन। जसले जनप्रतिनिधि छान्ने हो उनीहरू कस्ता प्रतिनिधि छानियून् भन्ने चाहिरहेका छन्? जिम्मेवारहरूको ध्यान यसैमा केन्द्रित हुनु आजको आवश्यकता हो। आमजनता र तिनका प्रतिनिधि पहिला जस्तै तरिका र पहिलेकै जस्ता उम्मेदवार होइन त्यसमा ब्यापक र आमूल परिवर्तन, सुधार अनि नयाँ संभावना खोजिरहेछन्।

दुई साताअघि दुई सातासम्मै भारतका उत्तर प्रदेश, बिहार, झारखण्ड र पश्चिम बंगालको भ्रमण गर्ने अवसर जुर्यो। त्यतिबेला भारतमा प्रदेश र स्थानीय तहको चुनाव भैरहेको थियो। आफ्नो देशमा स्थानीय चुनावको घोषणा भैसकेको छ, भ्रमण भैरहेको ठाउमा चुनाव भैरहँदा त्यसले आकर्षित गर्ने नै भयो। पत्रपत्रिका, रेडियो/टिभी, छलफल जताततै चुनावबारे चर्चा सुन्ने, पढ्न र देख्न पाइयो।

पत्रकार भएकाले पनि त्यसमा झन् रुचि जाग्यो। कसरी हुने रहेछ संसारको ठूलो प्रजातन्त्र भनिने मुलुकमा चुनाव? त्यहाँ रहुन्जेल पूर्वप्रमुख निर्वाचन आयुक्त टिएन् सेसनको नाम बहुतै चर्चामा आइरह्यो। उनले भारतको निर्वाचनलाई गुण्डाराजबाट मुक्त गरेका थिए। के नेपालका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया पनि नेपाली निर्वाचनको गेम चेन्जर बन्न सक्लान्? स्थानीय विकासमा अब्बल एलडिओ र सचिवमा दरिएका थपलियाले सेसनको जस्तै क्षमता प्रदर्शन गर्न सक्लान्?

यो निर्वाचन उनका लागि चुनौती र अवसर दुवै हो। निर्वाचनमा धाँधली, गुण्डागर्दी, बुथ कब्जा, राजनीतिक हस्तक्षेप र सार्वजनिक स्रोत दुरूपयोग रोक्ने, आचारसंहिता पालना गर्ने, दोषिलाई दण्ड र मतदातालाई निर्विघ्न मतदान गर्ने निष्पक्ष चुनावको माहौल बनाउने ह्याउ देखाउलान् ? देखाउन सके भने थपलिया पनि अमर बन्न सक्छन् किनभने निर्वाचन घोषणा भैसकेपछि देशको सर्वेसर्वा सरकार होइन, निर्वाचन आयोग हो।

राजनीतिका पण्डित

भारतबाट फर्किएपछि त्यहाँको निर्वाचनको परिणाम आउन थालिहाल्यो। जसले राजनीतिका पण्डितहरूको पनि आँखीभुइँ चिम्स्याइदियो। भारतीय मतदाता के चाहँदा रहेछन्? चुनाव परिणामले छर्लंग पारिदिएको छ। त्यति मात्र होइन, जनताको चाहनाले भारतीय संस्थापनका मूल्य/मान्यतालाई पुनर्परिभाषित गरिदिएको छ। भारतीय राजनीतिको नयाँ खाका मतदाताले जबर्जस्त रूपमा कोरिदिए।

पुराना नीति, व्यवहार, चालचलन र तौरतरिकालाई जनताले उल्ट्याइदिए। पुराना सोच र मान्यताले तीन बल्ड्यांग मात्र खाएन, बेहोस नै भयो। राजनीतिका मैं हुँ भन्ने हस्तीलाई भारतीय जनताले हस्तिनापुरमै उत्तानो टांग लगाउने बनाइदिए। अर्कोतिर आमआदमी पार्टीलाई पन्जाब जस्तो महत्वपूर्ण प्रदेशमा सत्तामा बिराजमान गरिदिए। कमजोर ठानिएको राजनीतिक पार्टीलाई मूलप्रवाह नै बनाइदिए। जसले गर्दा राजनीतिक पार्टीहरूअब परिवर्तन नभई सुखै छैन। भारतीय जनताको यो कोल्टो फेराइ दक्षिण एशियाको राजनीतिमा आइरहेको परिवर्तनको संकेत हो।

के भारतमा जस्तै कमालको प्रदर्शन नेपाली मतदाताले वैशाख ३० गते हुने चुनावमा गर्लान्? नगर्लान् भन्ने कुरै छैन। गर्ने नै छन्। मिति गुज्रिएका विचार, कार्यशैली र कुहिएको लाशरूपी नातावाद/कृपावादका उम्मेदवार बोकेर आउनेहरूलाई लोकतान्त्रिक गणतन्त्रका सार्वभौम नागरिकले चुन्ने होइन, थुन्नेछन्। ठेकेदार, बिचौलिया, डन, तस्कर, दलाल, अपराधी, बेपारीको बिगबिगीलाई एक्काइसौँ शताब्दीको चेत भएका जनताले स्वीकृति किमार्थ दिंने छैनन्! देशको स्रोतसाधन दुरूपयोग गर्नेहरूलाई आफ्नै जनप्रतिनिधि कसरी बनाउलान्? कुरो सिधा र स्पष्ट छ, जनताले इमान्दार, प्रतिबद्ध, पारदर्शी उम्मेदवारलाई नै आफ्नो प्रतिनिधि छान्नेछन्। कसैले यसमा विश्वास गर्दैन भने भारतीय चुनावको पछिल्लो परिणाम हेरुन्, केलाउन् र विश्लेषण गरुन्! जनता परिवर्तनलाई संस्थागत गर्ने योजनामा दृढ छन्।

उम्मेदवारका दश विशेषता

राजनीतिशास्त्रका एक अनुभवी प्राध्यापकले गंभीर हुँदै भने, आउँदो चुनावमा उम्मेदवार बन्ने व्यक्तिमा कम्तीमा दश गुण हुनुपर्छ। जसलाई तिलाञ्जली दिएर पहिला जस्तै ठेकेदार, तस्कर, बिचौलिया, डन, माफिया, जद, अपराधीलाई जुन पार्टीले उम्मेदवार बनाए पनि सार्वभौम जनताले मतपत्रको माध्यमबाट तिनलाई नारायणहरि बनाइदिने छन्। उम्मेदवारका दश विशेषता केके हुन्? उनले भने, १) इमान्दार, प्रतिबद्ध र स्वप्नदर्शी २) सकारात्मक सोच ३) सिद्धान्तनिष्ट ४) विकासको स्पष्ट दृष्टिकोण ५) पार्टी र जनताप्रति प्रतिबद्ध ६) समन्वयकारी ७) पेसा व्यवसायमा उत्कृष्ट नतिजा देखाएको ८) स्वयम्सेवी बनेर काम गर्ने ९) तस्कर, माफिया, डन, अपराधी, भ्रष्टाचारी, ठेकेदारसँग साझेदारी नगर्ने १०) समृद्ध नेपाल, सुखी नेपालीको आधारशीला बनाउने लक्ष्य भएको। यस्तै अब्बल उम्मेदवारलाई नै जनताले आफ्ना प्रतिनिधि चुन्नेछन्। किन्तु, परन्तुले यसपालि पार्टीका सदस्यहरू मात्र होइन, प्रभावित मतदाताहरूलाई पनि आकर्षित पार्नसक्ने देखिँदैन।

उम्मेदवार उठाउनेहरूले बेलैमा सोचविचार गरुन्। समय छँदै तिनको बुद्धि फिरोस्। हैन भने भीरबाट खसेको गोरुलाई जनताले रामराम मात्र भन्छन्, कदापि काँध थाप्ने छैनन्। कस्तो उम्मेदवार लिएर मत माग्न जाँदा जनताले मनपराउलान्? जनताको धुकधुकी सुनेर निर्णय गर। लोकतान्त्रिक मूल्य/मान्यता पालना गर।

सावधान! नेता र वरिपरिकालाई किनेर, पार्टीका हर्ताकर्तालाई मोटर गाडी घरखेत चन्दा दिएर, स्पोनसरसिप गराउन लगाएर टिकट हत्याउलान्! छलछाम गरेर टिकट उछिट्याए पनि तिनलाई मतदाताले लोप्पा खुवाउने छन् किनभने लोकतन्त्रमा जनता भनेका जनार्दन हुन्। आफ्नै छोराछोरी, श्रीमती, ज्वाइँ, भाइभतिजा, सालासाली, गर्लफ्रेन्ड ब्वाइफ्रेन्ड, भूमिगत व्यापारी पार्टनरलाई टिकट बाँड्ने बेइमान, कपटी र जनविरोधी प्रथा निर्मुल गर्न जो चुक्छ, त्यसको हविगत भारतीय चुनावमा सत्तरी वर्षदेखि एकलौटी गरिरहेकाहरूको जस्तै हुनेछ। त्यहाँकाले जसरी बल्ड्याङ खाए, यहाँकाको नियति त्यसभन्दा पनि दर्दनाक हुनेछ।

टिकट बाँड्ने नेताहरूले लोकपद्धतिअनुसार स्थानीय तहबाट कुन उम्मेदवार, किन टिकटको हकदार छ? उसले चुनाव जितेर के गर्छ भन्ने सार्वजनिक प्रतिबद्धता जाहेर गर्नुपर्छ।उम्मेदवारको ल्याकत नहेरिकन विगतमा टिकट दिएको हुनाले ७ सय ५३ स्थानीय निकायमध्ये ५३ वटा पनि पद सुहाउँदो प्रतिनिधि जनताले गणना गर्न नपाएका हुन्।

देश र जनताको पक्षमा काम नगर्नेहरूलाई नदोहोरयाउने हो भने फेरि अर्का डन, अपराधी, माफिया, तस्कर, भ्रष्टाचारी आउने हुन् कि भन्ने शंका कसैले नगरे हुन्छ। वास्तविक समाजसेवी र जनसेवीलाई टिकट दियो भने त्यस्तो हुँदैन। जनप्रतिनिधि हुन लायक कार्यकर्तालाई टिकट दिएर पार्टीहरू विगतको गल्तीबाट सच्चिनुपर्छ।

यो स्थानीय निर्वाचनमा जनाधार भएका इमान्दार, आफ्नो पेसा व्यवसायमा विशेषज्ञता हासिल गरेका, जनसेवा र विकासप्रति लगाव र स्पष्ट धारणा भएका क्षमतावान व्यक्तिहरू पार्टी सदस्य नभए पनि उनीहरूलाई निर्वाचनमा उम्मेदवार बनाइदियो भने जनताले वास्तविक लोकतन्त्रमा सही प्रतिनिधि छान्ने अवसर प्राप्त गर्नेछन्, जसरी भारतीय मतदाताले छानेर देखाइदिए।

राजनीतिशास्त्रका मूर्धन्य प्राध्यापक भन्छन्, राजनीतिक दल भनेका जनताका सार्वजनिक संपत्ति हुन्। त्यहाँ जोकोही स्वतन्त्र नागरिक पस्न र निस्कन पाउँछ। तर हाम्रा अहिलेका दल भनेका प्राइभेट लिमिटेड कम्पनी जस्ता देखिए। कर्तव्यनिष्ट, पार्टी र जनताप्रति प्रतिबद्ध, स्वच्छ छवि भएका व्यक्ति उम्मेदवार बने भने मात्र आउँदो संसदीय तथा प्रदेशहरूको चुनावमा पनि त्यसको राम्रो सन्देश प्रवाहित हुनसक्छ।

साम, दान, दण्ड, भेद गरेर भए पनि चुनाव जित्नैपर्छ भन्ने मानसिकताबाट पार्टी र तिनका नेताहरू मुक्त हुनैपर्छ। अहिले नभए कहिले हुने ? यो तिनका लागि अन्तिम अवसर हो। अब दादागिरी, बुथकब्जा, पैसाको खोलो बगाएर जित्नखोज्नुको अर्थ छैन किनभने त्यसका लागि गुण्डा प्रयोग गर्नुपर्छ। भाँडभैलो मच्चाउनुपर्छ। विगतको गल्तीको सुधार अहिल्यै र यही विन्दुबाट हुनुपर्छ। यो सुनौलो मात्र होइन, विरलै प्राप्त हुने अवसर हो। बिदा हुने संघारमा रहेको बूढो नेतृत्वले बदनामीबाट सच्चिने सुवर्ण मौका हो यसपालिको चुनाव।

जगजाहेर छ – दलाल, भ्रष्टाचारी, माफिया, डन, तस्कर, बिचौलियाहरूले स्थानीय निकायलाई कमाउधन्दाको अखाडा बनाए। हावादारी योजना बनाए। बाँडिचुँडी खाए। सर्वदलीय उपभोक्ता समिति बनाएर खाने सिन्डिकेट नै खडा गरे। कमाउधन्दाको साम्राज्य नै ठड्याए। त्यसैले अहिले पनि केहीकेही त्यही सपनामा बर्बराउने गर्छन्। तिनलाई मतदानका बेला जनताले चिसो पानी खन्याइदिनेछन्।

नीति, कार्यक्रम र योजना लिएर जनतामाथि अटुट विश्वासकासाथ जिम्मेवार दल चुनावमा जानुपर्छ। वञ्चित वर्गका लागि विकास र सेवा प्रवाह गर्ने योजना बनाएर चुनावमा जानुको विकल्प छैन। कोरा नारा लगाएर माखो मर्नेवाला छैन। नामका वामपन्थी र कामका दक्षिणपन्थीहरू चुनावमै नारायणहरि हुन्छन्।

व्यावहारिक, करनी र कथनी मिल्ने लोकप्रिय व्यक्ति नै चुनावमा जनआकर्षणको केन्द्र बन्छ, जडसूत्रवादी होइन। उद्योगीको नाउँमा पैसा लिएर टिकट बेच्ने, दलितको नाउमा उपरीले टिकट हत्याउने, महिलाको नाउँमा टाठाबाठाले उम्मेदवारी उछिट्याउने, अल्पसंख्यक, निजी, उद्यमी, साझेदारी, सहकारीका नाउमा मजदूर ठग, कर नतिर्नेबाट पार्टी जोगाउने निर्णय कांग्रेस र प्रमुख प्रतिपक्ष एमालेका नेताहरूले गर्न सक्नुपर्छ किनभने देश दुई पार्टी सिस्टममा गैरहेको छ। विश्व यही दुई धारमा ध्रुवीकृत भैरहेछ। जगजाहेर नै छ, कांग्रेसले दक्षिणपन्थी प्रजातन्त्रवादी धार र एमालेले वामपन्थी प्रगतिशील धारलाई प्रतिनिधित्व गर्छन्। अरू भनेका यिनैका सहायक हुन्।

अबको उम्मेदवार को हुनुपर्छ ?ऊ किन उम्मेदवार बनेको हो? उसले के काम गरेको छ? दलहरू रेकर्डसहित प्रत्येक वडा र गाउँ/नगरपालिकाहरूको चुनावमा प्रस्तुत हुनुपर्छ। शिक्षा, स्वास्थ्य, रोजगारी, विकासको स्पष्ट खाका भएको, दृष्टिकोण र सपना देख्ने स्वप्नदर्शी उम्मेदवार नै अहिलेको आवश्यकता हो। यसो गरेमा मात्र जेलमा थुनिनुपर्ने व्यक्ति राष्ट्रिय झण्डा हालेर सरकारी गाडीमा हिँड्ने अवस्थाको अन्त्य हुनेछ। स्थानीय निर्वाचनमा स्वप्नदर्शीहरू नछुटून्, पत्रुसहरू नदोहोरिउन्!

प्रकाशित: २ चैत्र २०७८ ०३:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App