१७ मंसिर २०७९ शनिबार
विचार

गठबन्धन गथासो

हाम्रो मुलुकमा विषयवस्तुको खडेरी कहिल्यै परेन। प्रत्येक साताजस्तो केही न केही भइरहन्छ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) प्रतिनिधिसभाबाट पारित हुनुअघिसम्म देशको सबैभन्दा जल्दोबल्दो समस्या त्यहीजस्तो रहेको हो। अहिले फेरि नयाँ विषय प्रवेश गरेको छ–गठबन्धन।

जसरी होस् अब गठबन्धन जोगाउने एक सूत्रीय चाहना दैनिकजसो प्रकट भइरहेको छ। अहिलेको पाँच दलीय गठबन्धनका दुःख यसलाई कसरी आगामी तीनै तहका निर्वाचनसम्म लैजाने भन्ने छ। त्यही भएर यसलाई जोगाउने विशेष ध्यान नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को रहेको छ। गठबन्धन गाथाबारे माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले दैनिकजसो अभिव्यक्ति दिइरहेका छन्।

दाहालले शुक्रबार वीरेन्द्रनगरमा पुगेर संवाददाताहरूसँग भनेछन्– ‘एमसिसीबाट गठबन्धन झन् बलियो भएको छ।’ यसबाट बुझिन्छ, गठबन्धन टुट्ने स्थिति आएका कारण मात्र एमसिसी पारित भएको रहेछ। अर्थात् एमसिसी अहिलेको सत्ता गठबन्धनका निम्ति सुपर ग्लु बन्ने मौका पाएको रहेछ। एमसिसीले सत्ता गठबन्धन बलियो बनाउने स्थिति नदेखेका भए दाहालले यसलाई डाँडा कटाइसक्ने रहेछन्। धन्य, एमसिसीले सत्ता गठबन्धनलाई बलियो बनाइदियो।

यस्तो महत्त्वपूर्ण पक्षलाई किन बेवास्ता गर्दै सडकमा टाउका फुटाउने स्थितिमा युवालाई पुर्‍याइरहेको रहेछ भन्नेचाहिँ अझै प्रष्ट भएको छैन। यता गठबन्धन झन् बलियो भएपछि उता प्रमृुख विपक्षी नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पनि उत्तिकै छट्पटाएका छन्। केही दिनयता उनले सत्ता गठबन्धनविरुद्ध आगो ओकलिरहेका छन्। खासगरी उनले बालुवाटारमा दाहाल र नेपाल गेटमै बस्ने गरेकाले भित्र जान सहज नभएका लाक्षणिक अभिव्यक्तिबाट बुझ्न सकिन्छ उनी यसलाई जसरी पनि तोड्न चाहन्छन्। एमसिसी पारित गर्न दाहाल र नेपालले अस्वीकार गरेका भए गठबन्धन तोड्न ओलीलाई सहज हुने थियो। त्यो स्थितिमा आगामी निर्वाचनमा गठबन्धन दललाई सँगै यात्रा गर्ने अवसर प्राप्त हुने थिएन।

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका अभिव्यक्तिलाई नियाल्दा अहिलेको गठबन्धन आगामी तीनै तहका निर्वाचनसम्म निरन्तर हुने दृढता देखिन्छ। आफू प्रधानमन्त्री हुनै नसक्ने स्थितिमा यही गठबन्धनले आफूलाई त्यहाँ पुर्‍याएकोप्रति उनी गुणग्राही देखिएका छन्। वास्तवमा देउवाको यही भावनाका आधारमा पनि अहिलेको गठबन्धन बलियो भएको देखिन्छ। भलै, कांग्रेसभित्र अहिलेको गठबन्धनलाई लिएर निर्वाचनमा जानुहुँदैन भन्ने आवाज छ तर त्यसले मात्र निर्णायक भूमिका खेल्दैन। खासमा यसपटक देउवाले धेरै प्रतिक्रिया नगरी निर्णायक कदम चाल्दै आएका छन्।

अहिले भइरहेका नेतामध्ये सबैभन्दा परिपक्व उनै देखिएका छन्। ओली सरकारविरुद्धका गतिविधिलाई पनि उनले धेरै उत्ताउलो नभई सहजीकरण गरिरहे। त्यतिमात्र होइन, ओलीसँगको सम्बन्धलाई धेरै बिग्रन नदिने र ओली विरोधी गठबन्धनलाई पनि साथमा लिने उनको रणनीति देखिएको हो। र, देउवाको त्यही रणनीतिको प्रतिफलस्वरूप अहिले सरकार बनेको छ।

देउवा र ओलीमा यही फरक छ। ओली आफू सरकारको नेतृत्वमा पुगिसकेपछि जसलाई निकट राख्नुपथ्र्यो, त्यसमा असफल रहे। खासगरी माओवादी केन्द्रलाई एमालेमा समाहित गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि ओलीलाई आफ्नो राजनीतिक सुझबुझप्रति बढ्तै विश्वास भएको हो। त्यही भएर उनले आफ्नो दलभित्र सुषुप्त अवस्थामा रहेको तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपाललाई टाढा पुर्‍याए। सँगै उनलाई दुईतिहाइको बहुमतको प्रधानमन्त्री बनाउन मद्दत गर्ने पुष्पकमल दाहाललाई पनि उनले हेप्दै लगे।

वास्तवमा हामीकहाँ गठबन्धन संस्कृति बलियो देखिँदैन। भारतको उदाहरण हेर्ने हो भने भारतीय जनता पार्टीका अध्यक्ष अमित शाह अहिले गृहमन्त्री बनेर बस्न तयार छन्। उनले नरेन्द्र मोदीलाई हटाएर आफू त्यसमा पुग्न कोसिस गरेनन्। भारतमा गठबन्धनको संस्कृति लामो भइसकेको छ। त्यतिमात्र होइन, त्यहाँका दलहरूले आपसमा मिलेर शासन सञ्चालन पनि गर्दै आएका छन्। हामीकहाँ भने अविश्वासको वातावरण बनाइरहेको देखिन्छ। कुनै एउटा गठबन्धन बन्यो भने पनि त्यसलाई निरन्तरता दिन क्षमता देखिँदैन। कतिपय नेताहरूलाई या अहंकारले सकेको छ या त तिनमा रहेको साखको कमीले।

राजनीतिमा बोलीको ठेगान हुनु निकै महत्त्वपूर्ण हुन्छ। एकपटक बोलिसकेपछि त्यसको असर लामो समयसम्म हुन्छ। घोचपेचयुक्त बोलीवचनका निम्ति ओली अहिले निकै माहिर देखिन्छन्। उनले आफ्नै सहयात्री नेताहरूविरुद्ध प्रयोग गरेका अभिव्यक्तिले उनलाई भोलिको गठबन्धनका निमित पनि निकै टाढा पुर्‍याइरहेको देखिन्छ। यस मामिलामा देउवाले कसैलाई पनि त्यसरी भित्तो पुर्‍याएर बोलेको देखिँदैन। त्यही भएर ओलीका भागको प्रधानमन्त्री अहिले ल्याएर दाहाल र नेपालले देउवालाई दिएका छन्। अन्यथा अहिले देउवा प्रधानमन्त्री हुने कुनै परिकल्पना पनि थिएन।

यो स्थितिलाई देउवाले राम्रोसँग बुझेका छन्। त्यही भएर उनी प्रत्येक भाषण र बैठकमा गठबन्धन नेताको चित्त दुख्ने कुरा नगर्न आफ्नो दलका नेताहरूलाई आग्रह गरिरहन्छन्। यसरी उनले मात्रै पनि गठबन्धनका नेताहरूलाई सहज स्थिति दिइरहे भने आगामी निर्वाचनसम्मको गठबन्धन मात्र होइन, त्यसपछि पनि सहज वातावरणमा सरकार सञ्चालन हुन सक्ने देखिन्छ। देउवाले भोलिको सम्भावनालाई समेत अहिले स्वीकार गरेर हिँड्ने क्षमता राखेका छन्।

त्यति मात्र होइन, देउवाप्रति अन्य दलहरूमात्र होइन, मुलुकको लोकतन्त्र र संविधानप्रति आश्वस्त हुन चाहने व्यक्तिहरूका निम्ति पनि उनी सहज छन्। सरकार धेरै बलियो भएर सबैलाई अत्याउन थाल्यो भने त्यसको विकल्पबारे सबैले सोच्न थाल्छन्। सामान्य स्थितिमा रहेर विस्तारै काम गर्न थाल्यो भने त्यस्तो सरकार टिकाउ भएर अगाडि बढ्न सक्छ। इतिहासका विभिन्न सरकारहरूलाई हेर्दा पनि यो स्थिति अहिले आएर बुझ्न सहज भएको देखिन्छ।

गठबन्धनको राजनीतिका निम्ति नेपालमा सिद्धान्त भने बाधक हुन सक्दैन। अहिले आएर सत्ता गठबन्धनदेखि प्रमृुख विपक्षी नेकपा (एमाले) सम्म एउटै सिद्धान्त मान्ने दल हुन्। तिनीहरू उत्तिकै वामपन्थी, दक्षिणपन्थी र उदारवादी छन्। आफू कमजोर भएका बेला उदार र बलियो भएका बेला कठोर बन्न सक्ने तिनको क्षमता देखिन्छ। सबैजसो सरकारले ल्याउने कानुन र आदेश हेर्दा पनि चरित्र उस्तै देखिन्छ। यसकारण पनि यी दलहरू आपसमा मिलेर अगाडि बढ्न चाहे र तिनमा राजनीतिक साख भयो भने अगाडि बढ्न सक्ने देखिन्छ।

हिजो टाउकाको मूल्य तोक्ने देउवा र टाउकाको मूल्य बोक्ने दाहाल सँगै यात्रा गरिरहेका छन्। हिजो जसरी पनि प्रधानमन्त्रीबाट हटाउन काठमाडौँ ठप्प पार्ने दाहाल नै अहिले नेपालको निकट भएका छन्। त्यसैले हामीकहाँ गठबन्धन बन्ने आवश्यकताका आधारमा हो। अर्थात् यो सहमतिको राजनीति हो। सहमति हुने बेलामा सिद्धान्त एउटा कुनामा थन्किनु कुनै अनौठो होइन।

तैपनि अब हुन लागेका स्थानीय, प्रादेशिक र संघीय निर्वाचनमा यी गठबन्धन दललाई मिलेर अगाडि बढ्न भने सजिलो छैन। अहिलेसम्म रुखमा मत हालिरहेकाले निर्वाचनमा माओवादी वा एकीकृत समाजवादीलाई कसरी मतदान गर्लान्? त्यसैगरी वाम दलका तर्फबाट कसरी कांग्रेसलाई मतदान होला? द्वन्द्वकालका बेला त्यही माओवादीबाट विस्थापित भएका वा मारिएका व्यक्तिका परिवारले निर्वाचनलाई कसरी सहज रूपमा लिने? वास्तवमा यो समस्या सर्वसाधारणका निम्तिमात्र हो। राजनीतिक दलका हिसाबले जसले जसलाई पनि समर्थन गर्न सक्ने स्थिति देखिन्छ। राष्ट्रियसभाको निर्वाचनमा एकअर्कालाई सहयोग गरेको र विश्वासका आधारमा अगाडि बढेको देख्दा भने गठबन्धनलाई निर्वाचनमा सहयात्रा गर्न कठिनाइ हुँदैन।

सत्ता गठबन्धनलाई निर्वाचन र त्यसपछिको सरकारसम्म सँगै यात्रा गर्न अलि ठूलो चित्त भने आवश्यक हुन्छ। एकले अर्काका अप्ठ्यारा बुझेर अगाडि बढ्न सक्ने स्थिति भयो भने यो टिकाउ हुन्छ। ओली जति आक्रामक हुँदै जान्छन्, गठबन्धनलाई झनै सँगै हुनुपर्ने बाध्यता आउन सक्छ। गठबन्धन सहमतिका आधारमा मात्र होइन, भोलिको अप्ठ्यारो महसुस गरेका आधारमा पनि हो। त्यही भएर यो झन्झन् बलियो भइरहेको छ भन्दै अगाडि बढ्नुको विकल्प छैन। 

प्रकाशित: २९ फाल्गुन २०७८ ०६:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App