जीवनभर आदर्शलाई महत्व दिएर बाँचेको व्यक्तिभन्दा भ्रष्टाचारबाटै भए पनि पैसा कमाएको व्यक्तिलाई नेपाली समाजले मानसम्मान दिन्छ। यहाँ व्यक्तिको सामाजिक सम्मान धनसम्पत्तिको आधारमा नापिन्छ। आदर्शलाई भन्दा पैसालाई महत्व दिने यस किसिमका सामाजिक मूल्यमान्यताका कारण समाजमा भ्रष्टाचार, अनियमितताले जरो गाडेको छ। विद्वान एसएस गिल हिन्दु सभ्यतादेखि नै सुरु भएको पैसा र सम्पत्तिलाई महत्व दिने सामाजिक मूल्यमान्यता र संस्कृति रहेकाले समाजमा भ्रष्टाचार थप संस्थागत भएको धारणा राख्छन्। उनका अनुसार सामाजिक संस्कार र रितीरिवाजको रूपमा मनाइने चाडपर्वले पनि पैसालाई थप महत्व दिएको छ। मान्यजनले आफूभन्दा सानालाई चाडपर्वमा वा अन्य समयमा टीका लगाइदिँदा धेरै पैसा कमाएस्, ठूलो घर बनाएस् भनेर दिने आशिर्वादबाट भ्रष्टाचारको संस्कृति प्रारम्भ भएको छ। यस किसिमको मूल्यमान्यताले समाजमा जरो गाड्दै जाँदा बालबालिका ठूलो भएपछि जसरी पनि पैसा कमाउनेबाहेक अरु कुरा सोच्दैनन्। यसले व्यक्तिलाई विस्तारै ‘अनियमितताप्रेमी' बनाउँदै लैजान्छ।
समाज विज्ञानका अर्का अध्येता जोन डिवे पनि व्यक्तिले गर्ने आचरण, व्यवहार र प्रवृत्तिमा ऊ जन्मे–हुर्केको समाज तथा संस्कृतिको प्रभाव पर्नेमा विश्वास गर्छन्। नेपाली समाजले व्यक्तिलाई उसको वाल्यकालदेखि नै पैसा कमाउन प्रेरित गरिरहेको हुन्छ। यस्तो सामाजिक संरचनामा हुर्किएको व्यक्तिले पैसालाई अत्यन्त महत्व दिने र जसरी भए पनि धनसम्पत्ति जोड्नेतर्फ क्रियाशील रहन्छ।
राजनीति तथा कर्मचारीतन्त्रमा रहेका व्यक्ति पनि यही समाजका उत्पादन हुन्। उनीहरूमा पनि सामाजिक, साँस्कृतिक मूल्यमान्यताको बलियो छाप परेको छ। आदर्शमा अडेका कर्मचारी तथा राजनीतिकर्मी पनि समाजले अपनाउँदै आएको मूल्यमान्यताका कारण विस्तारै पैसालाई महत्व दिनथाल्छन्। भ्रष्टाचार गरेर सम्पत्ति कमाउने राजनीतिकर्मी तथा कर्मचारी समाजमा सम्मानित छन्, पैसा नकमाउने उपहासको पात्र बन्छन्! भ्रष्टाचार गरेर अर्को व्यक्तिले आफ्नै अघिल्तिर ठूलो महल बनाएको सबैले देख्छन्। सो व्यक्तिले कसरी कमाएको छ भन्नेबारे सबैलाई थाहा हुन्छ, तर कसैले पनि त्यसबिरुद्ध उजुरी गर्दैनन्, बरु मानसम्मान गर्छन्! समस्याको मूल यहीँबाट सुरु हुन्छ।
राणा शासनका बखत काम छिटो गरिदिएबापत डाली, पानसुपारी, कोटलगायतका वस्तु उपहार दिने चलन थियो। यस्तो उपहारलाई घुस मानिँदैनथ्यो, त्यो जायज मानिन्थ्यो। त्यसैले तल्लो तहका कर्मचारीदेखि सिँहदरबारसम्म, पियनदेखि प्रधान मन्त्रीसम्म ‘उपाहार' नपाई कामै नगर्ने अवस्था सृजना भयो। राणाशासनमा सुरु भएको काम छिटो गरिदिएबापत दिने उपहार नै कर्मचारीतन्त्रमा भ्रष्टाचार बढ्ने एक कारण रहेको इतिहासविद् भीमबहादुर पाँडेको दाबी छ।
समाजको आधुनिकीकरणसँगै पैसाको महत्व झनै बढेर गएको छ। पुँजीवादी उत्पादन प्रणालीले उपभोक्तावादी सामाजिक मूल्यमान्यता दह्रो बनाइदिएको छ। जसले बिनापरिश्रम छिटो पैसा कमाउने दौडमा लाग्न नागरिकलाई प्रेरित गरिदिएको छ। विद्वान गिल भन्छन्, ‘पँुजीवादी उत्पादन प्रणालीमा पैसाको महत्व बढेर गएको छ। जति समाज पुँजीवादी उत्पादन प्रणालीमा समाहित हुँदै जान्छ र त्यसका मूल्यमान्यतालाई आत्मसात गर्दै जान्छ, भ्रष्टाचार पनि उत्ति नै बढ्दै जान्छ। पुँजीवादी उत्पादन प्रणालीको जगमा निर्माण भएको व्यक्तिवादी तथा उपभोक्तावादी मूल्यमान्यताको कारण समाजमा भ्रष्टाचार बढिरहेको छ।'
बृहत्रूपमा अध्ययन गर्दा ४ किसिमका सामाजिक मूल्यमान्यताले भ्रष्टाचारलाई बढाइरहेको देखिन्छ। पहिलो, धर्मको आडमा बनेका सामाजिक मूल्यमान्यता। जस्तो कुवेर धनका देवता भएका कारण सम्पूर्ण देवीदेवता आर्थिक अभाव हुनेबित्तिकै उनलाई भेट्न जाने, उनको तारिफ गर्ने गरेका धार्मिक कथन छ। यसैगरी, धनकी देवी लक्ष्मीलाई विशेष चाडको रूपमा दीपावली मनाएर खुसी पार्ने प्रयास गरिन्छ। यस किसिमका धार्मिक मान्यतालाई भोगेर हुर्किएकोे व्यक्तिले पैसालाई विशेष महत्व दिन्छ नै। धनी बन्ने दौडमा जस्तोसुकै काम गर्न पनि पछि पर्दैन।
दोस्रो, संस्कार र संस्कृतिको जगमा निर्माण भएका सामाजिक मूल्यमान्यता। यसअन्तर्गत समाजले अवलम्बन गर्दौं आएका संस्कार, संस्कृति तथा रितीरिवाजले बनाएका मूल्यमान्यतालाई राख्नसकिन्छ। विजया दशमीमा मान्यजनबाट टीका ग्रहण गर्दा धेरै पैसा कमाएस्, गाडी किनेस्, सहरमा घर बनाएस्जस्ता आशिर्वाद दिइन्छ। नैतिकता र आदर्शलाई भन्दा धनसम्पत्तिलाई महत्व दिने संस्कारको दबदबा बढ्दै गएका कारण व्यक्ति पैसाको पछि दौडिरहेका छन्।
तेस्रो, उत्पादन प्रणालीले स्थापित गरेका मूल्यमान्यता। खासगरी, पुँजीवादी उत्पादन प्रणालीले स्थापित गरेका उपभोक्तावादी मूल्यमान्यताका कारण समाजमा पैसाको महत्व बढ्दै गएको छ। यसबाट एकआपसमा सरसहयोगको भावना हराउँदै गएको छ। हरेक काम गर्न पैसा भए सम्भव हुने नत्र नसकिने अवस्था बनेको छ। यस किसिमका सामाजिक संरचनाको जगमा उभिएका व्यक्ति कस्ता होलान्!
चौथो, इतिहासको जगमा स्थापित भएका मूल्यमान्यता। अघिल्लो शासनव्यवस्थाका प्रतिनिधिले गरेको भ्रष्टाचारलाई देखाएर पछिल्ला शासकले समेत खुल्लेआम अनियमितता गरिरहेको पाइन्छ। शाहकालमा भ्रष्टाचार गरी अकूत सम्पत्ति जोडेको इतिहास देखाउँदै राणा शासकले सोहीअनुसार आफूले पनि सम्पत्ति जोडेको बताए। प्रजातान्त्रिक, पञ्चायती तथा गणतान्त्रिक शासनकालमा अघिल्लो शासन व्यवस्थामा भएको भ्रष्टाचारलाई देखाएर आफूले अलिकति कमाउनु ठीकै हो भन्ने राजनीतिकर्मी तथा प्रशासकको कमी छैन। २०३८ सालमा स्वतन्त्र व्यक्तिले पनि आमनिर्वाचनमा भाग लिन पाउने गरी पञ्चायती संविधान संशोधन गरियो। त्यसपछि सरकार बनाउने नाममा सांसद किनबेच सुरु भयो। सांसदहरूलाई भन्सार छुटमा गाडी ल्याउने सुविधा दिइयो। २०५२ सालमा देउवा सरकारले पनि यही शैली अपनायो। पञ्चायतकालमा सुन तस्करी गर्न छुट दिएर राजनीतिक भ्रष्टाचार बढेको थियो। २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको सरकारले त्यही बाटो रोज्यो। २०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली कांग्रेस तथा नेकपा एमालेका नेता तथा कार्यकर्ताले जुन तरिका र शैलीका साथ भ्रष्टाचारमा संलग्न भए, त्यसकै जगमा टेकेर र थप अघि बढेर एनेकपा माओवादीले भ्रष्टाचार गर्योय। यसरी इतिहासमा स्थापित भएका भ्रष्टाचारका शैली र प्रकृतिको जगमा थप भ्रष्टाचार हुँदै गए।
समाजशास्त्रले सामाजिक मूल्यमान्यतालाई बृहत् सामाजिक संरचनाको रूपमा लिन्छ। यस संरचनाकै जगमा व्यक्तिको आचरण निर्माण हुन्छ। जोन डिवे भन्छन्, ‘हामी अहिले जे र जस्तो छौँ त्योे सबै समाज, संस्कार र संस्कृतिको उपज हो।' यही भनाइलाई आधार मान्दा पनि भ्रष्टाचार तथा भ्रष्ट प्रवृत्ति समाज, संस्कृति रितीरिवाजकै उत्पादन हो। त्यसैले भ्रष्टाचार नियन्त्रण गर्नका निम्ति सामाजिक मूल्यमान्यतालाई परिवर्तन गर्ने गतिविधिलाई पनि सँगसँगै सञ्चालन गर्नु आवश्यक छ।
प्रकाशित: १७ चैत्र २०७१ २१:५९ मंगलबार

