नेकपा (माओवादी) अर्थात् अहिलेको माओवादी केन्द्रले मुलुकमा सशस्त्र गतिविधि थालेको दिन अर्थात् २०५२ फागुन १ मा जन्मेका बालबालिका यतिबेला २७ वर्षका भइसकेका छन्।
ती बालबालिकाले पहिलो १० वर्ष माओवादीका गतिविधिबारे पुस्तक वा तत्कालीन समयमा छापिएका सामग्री अध्ययन गर्ने वा त्यो समय भोगेकालाई सोध्नुपर्ने हुन्छ। त्यसयताको समय विद्यार्थी जीवन भोग्दै वयस्क भइसकेको अहिलेको समयसम्म तिनका स्मृतिमा ताजा छ।
मुलुकका निम्ति तीन दशकको अर्थ छ। चीनले अर्थतन्त्र सुधारको अभियान थालेको डिसेम्बर १८, १९७८ पछिका १५ वर्षमै कायापलट भयो। क्रिस प्याटनले भर्खरै लेखेको निक्सन माओ वार्ताको ५० वर्षसम्बन्धी एक आलेख अनुसार सन् १९९० ताकाको १५ वर्ष अवधिमा चीनबाट अमेरिकामा निर्यात हुने सामग्री १६ सय प्रतिशतले वृद्धि भएको थियो। यो एउटा मानक हो। सही नेतृत्व मुलुकले पायो भने समृद्धिका अनेकन आधार तयार हुन्छन्। आमनागरिकको जीवनमा आमूल परिवर्तन हुन थाल्छन्।
नेपालमा माओवादीले पनि बितेका २७ वर्षमा अनेकन आयाममा प्रभाव पारेको छ। पहिलो, मुलुकमा २०४६ सालको जनआन्दोलनबाट प्राप्त प्रजातन्त्रको अन्त्य भएको छ। दोस्रो, माओवादीसहितको सहभागितामा देश संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको छ।
मुलुक गणतन्त्रमा प्रवेश गर्ने बेलासम्म मुलुकको समृद्धिको बाधक राजतन्त्रलाई मानिएको हो। त्यसपछि माओवादीसहितको संलग्नतामा मुलुक हाँक्ने जिम्मा प्रमुख दलहरूलाई २०६३ सालदेखि हरदम प्राप्त छ। अहिले आफ्ना कमजोरीको दोष कसलाई लगाउने भन्ने खोजी भइरहेको छ। तेस्रो, अहिलेसम्म आइपुग्दा मुलुक अन्तर्राष्ट्रिय भूराजनीतिको खेल मैदान बन्ने ठाउँमा आइपुगेको छ।
२०५२ देखि २०६२ सालसम्म माओवादी भूमिगतरूपमा सक्रिय भएको हो। २०६३ यता मुलुकको राजनीतिलाई माओवादीले घुमाइरहेको छ। खासगरी यसका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चाहनाअनुसार देशको राजनीतिलाई प्रभावित गरिरहेका छन्।
दाहालको दल नेकपा (माओवादी केन्द्र) को शक्ति क्षय भइरहेको छ। तैपनि उनी जता लाग्छन्, त्यता शक्ति आर्जन हुन्छ। आफूअनुकूल मुद्दालाई अगाडि बढाउने र प्रभावित गर्ने काम उनले निरन्तर गरिरहेका छन्।
दाहाललाई हदैसम्म लचिलो नेताका रूपमा चिनिन्छ। उनी छिनमै हाँस्छन्। छिनमै रुन सक्छन्। अतः उनलाई भावुक नेताका रूपमा समेत मानिसले बुझ्छन्। आज एउटासँग सँगै हिँडेका हुन्छन्, भोलि त्यसलाई छाडेर अर्कोतिर लाग्छन्। भुक्तभोगी नेताहरू उनका बारेमा भन्छन्, उनी दुईजना व्यक्तिका बीचमा बसे भने अन्तिममा तिनलाई बझाएर वा मिलाएर जसरी पनि आफ्नो प्रभाव छाडेर हिँड्छन्।
अहिलेको राजनीतिमै हेरौँ, उनी अहिले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर सरकार चलाइरहेका छन्। कुनै बेला दाहाललगायत माओवादी नेताका टाउकाको मोल तोक्ने निर्णय देउवा नेतृत्वकै सरकारले गरेको हो। त्यसैगरी अहिलेको सरकारमा दाहालका अत्यन्त निकट नेता नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल छन्।
नेपालका विरुद्ध दाहालले काठमाडौँ ठप्प पार्ने गरी आन्दोलन पनि गरेका हुन्। नयाँ बानेश्वरमा भाषण गर्दै उनले ‘नोकर होइन मालिकसँग वार्ता’ गर्ने भनेका हुन्। राति नेपालसँगै बसेर रात्रिभोज मात्र खाएनन् भोलिपल्ट उनको छुटेको चश्मा नेपालले संसद्मा हात लगाइदिएको घटना धेरैले बिर्सेका छैनन्।
एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीका विरुद्धमा आगो ओकल्ने गरेका थिए। तिनै ओलीसँग मिलेर दाहालले झण्डै दुईतिहाइको सरकार बनाउन योगदान गरे। फेरि ओलीको सरकारविरुद्ध उनी सडकदेखि सर्वोच्च अदालतसम्म पुगेपछि स्थिति फेरिएर देउवाको नेतृत्वमा सरकार बनेको छ। दाहाल निरन्तर सक्रिय छन्।
सबैभन्दा पछिल्लो पटक फेरि दाहालकै दैलोमा राजनीति आइपुगेको छ। एकातिर उनी कार्यकर्तालाई ‘साम्राज्यवादी अमेरिका’ विरुद्ध जुरुक्क उचाल्न सक्षम छन्। अर्कोतिर, त्यही अमेरिकालाई मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अनुदानसम्बन्धी करिब ६० अर्ब रुपियाँको सम्झौता संसद्बाट अनुमोदन गर्ने आश्वासन पनि दिन्छन्।
हुँदाहुँदा उनकै सक्रियताका कारण शुक्रबार चीन र अमेरिका नेपालका विषयमा पहिलो पटक आमनेसामने भएका छन्। दुई मित्र मुलुकबीचको हाम्रो कारणले सुरु भएको यो दन्तबझानका निम्ति योगदान गर्ने नेतामध्ये अग्रणी रहेका छन् दाहाल।
नेपाल र अन्य देशको राजनीतिमा एउटा खास भिन्नता छ– बोली। नेपालमा जे बोले पनि हुन्छ। यहाँ बोलेको कुरा पूरा हुँदैन भन्ने मान्यता छ। एकथोक बोल्ने र अर्को गर्नेलाई पनि खासै गल्ती मान्ने चलन छैन। अन्यत्र मुलुकमा बोली र व्यवहार फरक भएका व्यक्तिलाई ‘झुटा’ भनेर राजनीतिमा उठ्न दिइँदैन। हामीकहाँ ‘जति झुट उति माथि उठ’ भनेजस्तो छ।
आन्तरिक राजनीतिक प्रतिस्पर्धामा कूटनीतिक सम्बन्धलाई प्रयोग गर्दा मुलुकलाई पर्न सक्ने असरबारे केही दिनयता धेरैलाई जानकारी भइरहेको छ। आफू सरकारमा नभएका बेला अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद भन्दै कार्यकर्ता उचाल्न र आमनागरिकलाई उद्वेलित तुल्याउन जति सजिलो हुन्छ, आफूले व्यवहार गर्ने बेलामा त्यो गलपासो हुन्छ।
यतिखेर मुलुक यसअघि कहिल्यै नभोगेको स्थितितर्फ तीव्र गतिले अगाडि बढिरहेको छ। अहिलेकै जस्तो स्थिति रहेको भए न हिजोजस्तो पूर्व–पश्चिम राजमार्ग बन्ने रहेछ न त अरू पूर्वाधार नै। हाम्रा लागि सबै मित्र मुलुक बराबरी रहेका छन् र तिनले हामीलाई गरेको सहयोगलाई स्वीकार गर्दै आएका हौँ।
अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)ले नेपाललाई दिने करिब ७० अर्ब रुपियाँको अनुदान सहायतासम्बन्धी विषयले मुलुकको राजनीति गम्भीर रूपले यतिबेला ध्रुवीकरण भइरहेको छ। बोली र व्यवहार एक नहुँदा अहिलेको स्थिति आएको हो। अन्तर्राष्ट्रिय कूटनीतिलाई आन्तरिक राजनीतिको विषय बनाएपछि जे स्थिति आउँछ, त्यही नै अहिले मुलुकले भोगिरहेको छ।
मित्र मुलुकसँग जे व्यवहार गरिएको हो, त्यसलाई जस्ताको तस्तै कार्यकर्ता तहमा व्यक्त गरेको भए अहिलेको अवस्था आउने थिएन। अहिले सार्वजनिकरूपमा जे भनिँदैछ, त्यही कुरा अमेरिकी अधिकारीहरूसँग पनि गरेको भए अहिले आएर सबैले यसलाई प्रतिष्ठाको विषय बनाउने अवस्था आउँदैनथ्यो।
हुँदाहुँदा यो विषय राष्ट्रिय राजनीतिको मात्र होइन, अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको समेत विषय बन्न पुुगेको छ। नेपालका दुई मित्र मुलुक अमेरिका र चीन यसैकारण मुठभेडको आमनेसामने भएका छन्। एमसिसी अनुमोदन गर्न अमेरिकाले दिएको सम्बन्ध पुनरवलोकनसम्मको चेतावनीका विरुद्धमा चीनले समेत प्रतिक्रिया व्यक्त गरेको छ। नेपालले एमसिसी अनुमोदन गर्ने वा नगर्ने विषयलाई गिजोल्दै राजनीति बढाउन खोजेपछि यो अन्तर्राष्ट्रिय प्रतिष्ठाको विषय बन्न पुगेको छ। यो स्थितिमा पुर्याउन समेत दाहालको भूमिका छ।
नेपालले हिजो व्यवहार गर्दै आएको कूटनीतिलाई मात्र निरन्तर गरेको भए पनि आज यो अवस्था आउने थिएन। हामीभन्दा साना र पछि जन्मिएका मुलुकले समेत आफूलाई निकै चलाखीपूर्वक अगाडि बढाइरहेका छन्। आज हामीले भुटानको कूटनीति देखेर समेत आश्चर्य मान्नुपर्ने अवस्था छ। भारतको चाहना नहुँदा पनि नेपालले कोदारी राजमार्ग खोलेर चीनसम्म आफ्नो पहुँच बनाएको हो। हाम्रो मुलुकको आजको जस्तो राजनीति हुँदो हो त कोदारी राजमार्ग खुल्ने नै थिएन। अन्तर्राष्ट्रिय सम्बन्धलाई देशको हितमा उपयोग गर्ने हो, आफ्नो दलको फाइदाका निम्ति प्रयोग गर्ने होइन।
आज देशभित्र एकअर्काबीच अविश्वासको वातावरण मात्र बनाइएको छैन, विश्व समुदायले समेत हामीलाई नपत्याउने अवस्थामा पुर्याइँदैछ। यसका निम्ति मुलुकको राजनीतिमा पछिल्ला तीन दशकमा भूमिका खेल्दै आएका प्रमुख नेताहरूले जिम्मेवारी लिनुपर्छ। त्यसमा पनि सबैभन्दा बढी भूमिका नेकपा (माओवादी केन्द्र) अध्यक्ष दाहालकै छ।देशलाई यस्तो अविश्वासको खाडलमा हाल्ने काम उनले गरेका छन्।
प्रमुख दलहरू अहिलेसम्म माओवादीकै अजेन्डामा हिँडेका छन्। मुलुकका वाम दलमात्र होइन, नेपाली कांग्रेससमेत तिनकै अजेन्डामा छ। विशेषगरी कांग्रेसले अहिलेसम्म माओवादीले भनेजसरी आफूलाई अगाडि बढाएका कारण समस्या भएको छ। अब बाटो बदल्ने बेला भएको छ।
कांग्रेस सभामपति शेरबहादुर देउवाले यो बेलामा आफूलाई सच्याउँदै अगाडि बढाएनन् भने यो मुलुकमा लोकतन्त्र अब बाँकी रहँदैन। उदार लोकतान्त्रिक बाटोबाट देश अब अर्को कठिन परिस्थितितर्फ उन्मुख हुँदैछ। राजनीतिलाई यसरी कचल्ट्याउँदै जाने हो भने मुलुकमा समृद्धि होइन, भागाभागको स्थिति आउने निश्चित छ।
माओवादी केन्द्र अध्यक्ष दाहालले पनि आफ्नो भूमिकाबारे सोच्ने बेला भएको छ। बितेका तीन दशक हाम्रा खेर गएका छन्। एकपछि अर्को प्रयोगको थलोमात्र भएको छ देश। यो स्थितिबाट देशलाई बाहिर निकाल्न सकिएन भने अहिलेको राजनीतिक नेतृत्व आममानिसले धिक्कार्ने स्थितिमा पुग्ने निश्चित छ।
प्रकाशित: ८ फाल्गुन २०७८ ०२:०४ आइतबार