coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

‘जनयुद्ध दिवस’ केका लागि?

नेकपाका ‘एकीकृत’ लगायत विभाजित सबै घटकका माओवादीले फागुन १ गते ‘२७ औँ जनयुद्ध दिवस’ मनाए। यसका मुख्य कमान्डरका रूपमा हिंसा हाँकेका ‘बादल’, टोपबहादुर, प्रभु, मणिलगायतका १४ नवएमाले नेताहरू भने यो दिवस मनाउन कतै गएका देखिएन।

यो कसरी ‘जनयुद्ध’ भयो, त्यो पनि यसका आयोजकलाई नै आजसम्म थाहा भएजस्तो लागेन। राजनीतिक दलविशेषको कारण र आह्वानमा नेपालको इतिहासमै सबभन्दा धेरै नरसंहार भएको कारणले हो कि, यसको लक्ष प्राप्तिका लागि जनतालाई बली चढाएकाले ‘जनयुद्ध’ भनिएको हो?

लक्ष्य प्राप्तिका लागि भनुँ भने डेढ दशकदेखि माओवादी सत्तामा जसरी विराजमान भएको छ, त्यसका परिणाम र प्रभावलाई लक्ष्य प्राप्ति भनिएको हो ? गणतन्त्रलाई उपलब्धि भनिएको हो भने त्यस्तो ‘उपलब्धि’ बाट देश र जनताको कति भलाइ भयो? लक्ष्य प्राप्त हुन बाँकी छ भने जनतालाई बली चढाइसकेर खुला राजनीतिमा आएपछि माओवादी हर्ताकर्ताहरू पार्टी फुटाएर वा फेरेर किन चार दिशातिर लागे? माओवादी नेताहरूमा अलिकति जिम्मेवारी र जनउत्तरदायित्व छ भने समाज र इतिहासले यी प्रश्नको जवाफ खोजिरहेको यथार्थ आत्मसात गर्नुपर्छ।

नेपाल एकीकरण (वि.सं.१८०१–१८७३) को ७२ वर्षमा ज्यान गुमाएका नेपालीको संख्या करिब आठ हजारमात्र थियो। २००७ सालको जनक्रान्तिमा जम्मा सवा दुई सय नेपालीले ज्यान गुमाए। मुलुकका लागि त्यो अभियान वा क्रान्ति उपलब्धिपूर्ण थियो। माओवादीले एक दशकसम्म चलाएको हिंसात्मक द्वन्द्वमा १७ हजार नेपालीले ज्यान गुमाए।

आजसम्म बेपत्ता भएका १०३० नेपालीलाई पनि मृत्युसरह मान्दा ज्यान गुमाउनेको संख्या १८०३० हुन्छ। ९,८२० नागरिक अङ्गभङ्ग भएर जीवनभरि पराश्रितरूपमा बाँच्नुपर्ने अवस्थामा पुगे। ८०,२२२ नेपाली आन्तरिकरूपमा विस्थापित र शरणार्थी हुन पुगे। ३,१४२ बालबालिका आमाबाबु गुमाएर टुहुरा भए। १७,९६९ परिवारको सर्वस्व गयो। दशवर्षे हिंसात्मक द्वन्द्वबाट १ लाख ३६ हजार २०५ नेपाली प्रत्यक्ष पीडित भए।

माओवादीले जनताको आवश्यकताका रूपमा र क्रान्तिको एउटा कडीका रूपमा उसको ‘जनयुद्ध’ लाई कहिल्यै लगाएन। जनतालाई यातना दिने र गरिबी बढाउने ‘आन्दोलन’ गरेर क्रान्तिको उचाइमा पुग्न किमार्थ सकिन्नथ्यो, पतन र जनविश्वास गुमाउने खतरामा पुगिन्छ भन्ने शाश्वत सत्यप्रति माओवादी नेतृत्वले कहिल्यै हेक्का राखेन। सानातिना भिडन्तको त गिन्ती नै भएन, ६७ वटा ठूला र मझौलाखालका फौजी आक्रमण भए। ५ हजार ५६० विकास र सेवाका संरचना ध्वस्त गरियो।

३ हजार ६४७ वटा भौतिक संरचना ध्वस्त पारियो। शान्ति तथा पुनर्निर्माण मन्त्रालयको आधिकारिक तथ्याङ्क यस्तै बोल्छ। ऐतिहासिक दरबार, प्रशासनिक भवन, गाविस भवन, प्रहरी चौकी, अतिरिक्त हुलाक भवन, शिक्षण संस्था, खानेपानी आयोजना, स्थानीय विद्युत् केन्द्र, पुल, बैँंक, निजी घर आदि स्थानीय जनजीवनसँग सम्बन्धित सयौँ संरचना भत्काइयो। मुलुकको विकास र सामाजिक पद्धतिलाई ५ दशक पछाडि धकेल्ने काम माओवादीले गर्‍यो।

२०५२ माघ २२ गते तत्कालीन देउबा सरकारसमक्ष बुझाएको ४० सूत्रीय मागमा सातवटा सूत्र नेपाल–भारत सम्बन्धमा गर्नुपर्ने आमूल हेरफेरका बारेमा थियो। त्यो बेला बाबुरामले आफूलाई भारत विरोधी व्यक्तिको छद्म रूप धारण गरेका थिए ताकि माओवादीको विध्वंसमा भारत मुछिएको नदेखियोस् र भारतलाई अनाहकमा मुछेर उसलाई चिढाउने काम पनि आपूmहरूबाट नहोस्।

धरातलीय वास्तविकता जतिसुकै लुकाएर ‘जनयुद्ध’ भनिए पनि, यो जनतालाई लडाउने द्वन्द्व, जसमा विदेशी स्वार्थ सवार थियो। दोषारोपण होइन यो, किनकि यसो भन्ने आधार छन्। मिहीनरूपमा हेर्दा ‘जनयुद्ध’ का नाममा नेपाललाई भुटानीकरण गर्ने षड्यन्त्रको खेल थियो, जसले नेपाललाई ‘अधिराज्य’ बाट झारेर ‘अर्धराज्य’ बनाउने ध्येय राखेको थियो। नेपाल टेलिभिजनका रिपिटर टावरमाथि धेरैपटक आक्रमण गर्‍यो।

त्यो बेला भुटानमा जस्तै नेपालमा रेडियो, टिभी च्यानलहरू सञ्चालित नहुन् भन्ने बाह्य चाहना प्रकट भएको हो। रेडियो तथा टेलिभिजनको क्षेत्रमा भारतको सहायता शून्य नै थियो, जबकि नेपालको दूरसञ्चार (टेलिफोन) सेवाका लागि भारतीय सहयोग नियोग (आइसिएम) मार्फत पूर्वाधार निर्माण गरिएको हो। नेपालभित्र सञ्चालित गैरभारतीय विदेशी आयोजनाहरूमा पनि माओवादीले यस्तै व्यवहार अपनायो।

भारतले नेपालभित्र नरुचाएका आयोजनाको विध्वंसमा माओवादी संलग्न भएको थियो। भारतले लगाएकाले माओवादीले त्यसो गरेको भनेर किटानी दाबी गर्ने आधार मसँग छैन। तर घटनाको प्रकृति हेर्दा यस्तै देखिन्छ। जस्तो कि बनेपा–बर्दिवास राजमार्ग नबनाउन २०१६ सालमै भारतको आग्रहअनुरूप सोको निर्माण स्थगित गरिएको थियो।

२०१६ सालमा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाले यो राजमार्ग बनाउने इच्छा गरेर प्रारम्भिक सर्वेक्षण थाल्दा भारतले असन्तुष्टि देखाएको थियो। माओवादीले त्यही राजमार्ग निर्माणको सुरक्षार्थ खटिएका सेना र प्रहरीमाथि तीनपटक ठूलो हमला गर्‍यो र तीनैपटक जापानीहरूले काम छोडेर हिँडिसकेका थिए। सरकारले सुरक्षाको ग्यारेन्टी दिएपछिमात्र उनीहरू काममा फर्के।

यतिखेर भोटको राजनीति लोकतन्त्रवादी पार्टीहरूलाई जति लागेको छ, त्योभन्दा बढी नै माओवादीलाई लागेको छ। चुनाव, विकासलाई गति दिने, असल पद्धति बसाल्ने र राजनीतिक शुद्धीकरणको उद्देश्यले होइन, फगत सत्तामा जाने नियतले निर्देशित देखिन्छ। नेपालमा तीनवटा ठूला कम्युनिस्ट पार्टी भएको अवस्थामा मूलधारको कम्युनिस्ट पार्टी कुन हो भन्ने प्रश्न जरुरै उठेको छ। त्यसैले यस प्रश्नको सही उत्तर तीनै कम्युनिस्ट पार्टीबाट आउँदैन। स्वतन्त्र हैसियतमा यसको जवाफ दिन सक्नेबाट लिनु मनासिब हुन्छ।

नाङ्गो आँखाले देखिने राजनीतिक परिदृश्य के हो भने एमाले मोटायो भने नेकपा (एकीकृत समाजवादी) दुब्लाउँछ, नेकपा (एकीकृत समाजवादी) मोटायो भने एमाले दुब्लाउँछ। यतिबेला एमालेबाट बाहिरिने र नेकपा (एकीकृत समाजवादी) मा भित्रने क्रम चलिरहेको देखिन्छ, कारण के हो, थाहा भएन। यस्तो विपरित सम्बन्ध हुनाको कारण यी दुवैको ‘भोट बैंक’ एउटै हुनु हो। तर माओवादी यो भोट बैंकबाट निरन्तर टाढा भइरहेको छ।

बारम्बार झुक्किरहने नेपाली कांग्रेस यसपालि पनि ‘चुनावी गठबन्धन’ को नाममा माओवादीको तिकडममा फस्न बेर छैन। त्यसो भयो भने त्यो पनि अर्को विडम्बना हुनेछ। माओवादीसँगका बारम्बारका सहमति र सम्झौताहरूको परिणतिले लोकतन्त्रका कर्णधार भनिएका राजनीतिक दलहरूलाई कमजोर बनाएको छ। यी कमजोर भएर सम्झौता गरेका होइनन् तर जथाभावी सहमतिको ल्याप्चे लगाउँदै हिँडेकाले शक्तिहीन बन्दै गएका हुन्। तर अझै चेत पलाएको छैन। कुर्सीको नसाले अन्धो बनाएका नेताहरू लोकतन्त्रको मूल्यमा सत्तामा पुग्ने ब्यूह रचनामा लागेका छन्।

जनताका बीचमा माओवादी पनि दिगो शक्तिका रूपमा टिक्ने हो भने उसले आफूमा आमूल परिवर्तन ल्याउनुपर्छ। नेपाल फेर्ने होइन, आफ्नो सोच, चरित्र र कार्यशैली फेर्नुपर्छ। देशमा परिवर्तन ल्याउन नारा दिने नेता र पार्टीले सर्वप्रथम आफ्ना स्वभाव र कार्यशैलीमा परिवर्तन भएको पुष्टि गरेनन् भने बाह्य परिवर्तन निरर्थक हुन्छ।

नेपाली जनता पूर्वाग्रही छैनन्, क्षमाशील छन्। नेपाली समाज रामायणका शिक्षा र सन्देशबाट ओतप्रोत भएको समाज हो जुन रामायण रत्नाकर नामक डाकुले आफ्नो चरित्र परिवर्तन गरी वाल्मीकि नामक ऋषिका रूपमा विकसित भएपछि तिनै पूर्व रत्नाकर वाल्मीकिले कालजयी ग्रन्थ रामायण लेखे। माओवादी पनि हिजोको हिंसाचारीबाट आजको लोकतन्त्रवादी हुन सक्छ भने जनताले स्वीकार्छन्। 

२०६४ को संविधान सभा/संसद् निर्वाचनमा सबभन्दा ठूलो पार्टीका रूपमा स्थापित गरिदिएकै थिए। तर मुलुकले थेग्नै नसक्ने परिवर्तन लाद्ने, आफ्नै बोली–वचनलाई भरोसायोग्य नबनाउने, मुलुकको सुशासन, विकास र प्रणालीको विकास नगर्ने, अराजकता मच्चाएर संकटमा भाग्यमानी हुन खोज्ने हो भने माओवादीले बुझे हुन्छ, आगामी दिनहरू अझ प्रतिकूल र खराब भएर जान सक्छन्। ‘जनयुद्ध दिवस मनाउने माओवादीले अझै पनि हिंसाप्रतिको मोह र हिंसालाई स्तुति गर्ने मानसिकता नत्यागेको सन्देश जनताले पाउँछन्।

हिंसाको स्तुति गरेर शान्ति र विकासको लागि जनतासँग मत माग्ने कार्य भूतको मन्त्र जपेर देवीको तथास्तु खोजेजस्तै हो भन्ने तीतो सत्य माओवादीले कहिले बुझ्ने?

badrimeena@hotmail.com

प्रकाशित: ५ फाल्गुन २०७८ ०१:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App