६ वैशाख २०८१ बिहीबार
विचार

हिजाब आन्दोलनको हिसाब

भारतीय जनता पार्टीको सरकार बनेयता भारतीय समाजमा सामाजिक विभाजनको खाडल गहिरो बन्दै गएको छ। धार्मिक कट्टरता उग्र बन्दै गएको छ।

अल्पसङ्ख्यक समुदायमाथि हमला र उत्पीडन बढेको छ। विडम्बना समाजमा यसरी विभाजन निम्त्याउने र अल्पसङ्ख्यक समुदायमाथि दमन गर्ने काम राज्यकै संरक्षणमा भइरहेको छ। हिन्दु अतिवादी समूहले अल्पसङ्ख्यक समुदाय, विशेषतः मुसलमानमाथिको दमन राज्य स्वयम्को प्रोत्साहन र संरक्षणमा भइरहेको छ।

मोदी सरकारका मन्त्री र सत्तारुढ भाजपाका जिम्मेवार पदाधिकारीले दिने सार्वजनिक अभिव्यक्तिले भारतमा धार्मिक कट्टरता र साम्प्रदायिकता फैलाउन टेवा पुर्‍याइरहेको छ। फलतः सामाजिक अपराधलाई धर्म र राजनीतिको रंग दिएर दोषी र अपराधीलाई संरक्षण दिने घटना बढ्दैछन्। भारतीय पत्रकार राणा आयुब राज्य स्वयम् आफ्ना अल्पसङ्ख्यक समुदायमाथि पूर्वाग्रहवश भौतिक र नीतिगत दमनमा उत्रनुलाई फासीवादको संज्ञा दिन्छन्।

नागरिकताको अधिकारबाट मुसलमान समुदायलाई वञ्चित गर्नेदेखि विश्वविद्यालयहरूमा मुसलमान छात्र–छात्रामाथि विभेद र कुटपिटको सिलसिला अझै रोकिएको छैन। दक्षिण–पश्चिम भारतको कर्णाटक राज्यमा फेब्रुअरीको आरम्भसँगै चर्चामा रहेको हिजाब आन्दोलनलाई यसैको सिलसिला मान्न सकिन्छ। कर्णाटकको उडुपी जिल्लाको सरकारी छात्रा उच्च माध्यमिक विद्यालयबाट सुरु भएको यो आन्दोलन अहिले त्यहाँका अधिकांश जिल्ला हुँदै दिल्लीसम्म विस्तार भइसकेको छ।

उडुपीको छात्रा उच्च माविका ६ जना छात्रालाई हिजाब लगाएर कक्षाकोठामा बस्न नदिएपछि उनीहरूले हिजाबसहित कक्षामा बस्न पाउने अधिकारका लागि सङ्घर्ष थालेका थिए। सामाजिक सञ्जालमा सार्वजनिक श्रव्यदृश्यमा ती छात्रा हिजाब लगाएर आफ्नो विद्यालय पस्न खोज्दा त्यहाँका अधिकारीले गेट बन्द गरेका देखिन्छ। विद्यालय प्रवेशमा लगाइएको निषेधको विरोधमा उनीहरू धर्ना बसेका थिए।

मुसलमान छात्रालाई हिजाब लगाएर विद्यालय र कलेजमा बस्न नपाउने सरकारी शिक्षालयको निर्णयलाई वैधता दिँदै कर्णाटक सरकारले पनि ‘समानता, सद्भाव र सार्वजनिक कानुन र व्यवस्था बिथोल्ने पहिरन लगाउन नपाइने’ भनी सार्वजनिक सूचना जारी गर्‍यो।

भारतीय जनता पार्टी नेतृत्वको कर्णाटक राज्य सरकारले गरेको यो निर्णयले हिजाबलाई निषेध गर्ने केही कलेजको प्रयासलाई थप टेवा र शक्तिशाली बनायो। कर्णाटकको शिक्षा ऐन सन् १९८३ को धारा १३३ (२) लाई उद्धृत गर्दै राज्य सरकारको सूचनामा विद्यालय र उच्च माविमा विद्यार्थीले युनिफर्म लगाउन अनिवार्य भएको उल्लेख छ। सूचनाले हिजाब ‘युनिफर्म’ नभएकाले कलेज वा विद्यालयमा लगाउन नपाइने बताइएको छ। त्यसमा हिजाबमाथिको निषेध भारतीय संविधानको मौलिक तथा धार्मिक स्वतन्त्रताको उल्लंघन नभएको दाबी गरिएको छ।

तर, मुसलमान समुदायमा छोरी–चेलीले हिजाब लगाउनुलाई आफ्नो परम्परा र संस्कृतिका रूपमा लिने गरेका छन्। हिजाब लगाउनुलाई उनीहरू भारतीय संविधानले प्रदान गरेको धार्मिक स्वतन्त्रताको हिस्सा मान्छन्। त्यसकारण हिजाबमाथिको निषेध धार्मिक स्वतन्त्रताको हनन र अल्पसङ्ख्यकमाथि दमनको सिलसिला हो।

मुसलमान समुदायका छोरी–चेलीले हिजाब लगाउने परम्परा हालसाल सुरु भएको होइन। यो युगौँदेखि चल्दै आएको सांस्कृतिक परम्परा हो। त्यसो त अन्तर्राष्ट्रिय महिला आन्दोलनमा मुसलमान समुदायका महिलाले लगाउने हिजाब, बुर्का, चादर, खिमार, अल–अमिरा, सेला जस्ता पहिरनलाई ‘महिलाविरुद्ध दमनको औजार’ को अर्थमा पनि व्याख्या गर्ने गरिएको छ। मध्यपूर्वका केही देशमा महिलाले बुर्का नलगाउने आन्दोलन चलाएर ‘महिला मुक्तिका लागि सङ्घर्ष’ गरेका थिए। यस्ता आन्दोलनलाई मुसलमान समुदायले इस्लाम परम्परामाथि हमला र अनावश्यक पश्चिमा प्रचारबाजीका रूपमा प्रतिरोध गर्ने गरेको छ। यो लेखको मूल विषयवस्तु त्यो होइन।

मुसलमान छात्राहरूले हिजाब लगाएर कक्षाकोठामा बस्न पाउनुपर्ने भन्दै धर्ना दिँदै गर्दा र हिजाब लगाएर कलेज र विद्यालयभित्र प्रवेश गर्न खोज्दा हिन्दु छात्र–छात्राले उनीहरूमाथि हमला र अपमान गरेपछि कर्णाटकमा हिजाब आन्दोलन थप उग्र भयो। हिन्दु धर्म मान्ने विद्यार्थीहरूले गेरु रङको कपडा र पगरी लगाएर मुसलमान छात्राविरुद्ध नाराबाजी गर्ने र घेराबन्दी गरे।

सामाजिक सञ्जालमा व्यापकता पाएको एउटा श्रव्यदृश्यमा हिजाब लगाएकी एक जना छात्रालाई गेरु रङको स्कार्फ लगाएर सयौँ छात्रले घेराबन्दी गर्दै थिए। छात्रहरू ‘जय श्रीराम’ को नारा लगाउँदै थिए भने एक्ली छात्र ‘अल्लाह हो अकबर’ को नारा लगाइरहेकी थिइन्। कर्णाटकका सहरमा हिन्दुवादी छात्राहरूले गेरु रङको स्कार्फ लगाएर प्रदर्शन पनि गरेका थिए। द्वन्द्व चर्किएपछि कर्णाटक सरकारले तीन दिनका लागि सबै शैक्षिक निकाय बन्दसमेत गर्नुपर्‍यो।  

आन्दोलन सुरु गर्ने उडुपी जिल्लास्थित छात्रा उच्च माविका ६ जना छात्राको सम्पर्क मोबाइल नम्बर र आमाबुवाको नाम र ठेगानासमेत ह्वाट्सएपमार्फत अन्जान मानिसहरूले सार्वजनिक गर्दा उनीहरूविरुद्ध फोनमार्फत गालीगलौज र धम्की आउन थाले। हैरान भएर उनीहरूले प्रहरीसमक्ष उजुरी गरे। अनुसन्धानका क्रममा उनीहरूका ती व्यक्तिगत सूचना कलेज प्रशासनबाट नै बाहिरिएको पत्ता लाग्यो।  

कर्णाटकमा हिजाब लगाएका छात्रामाथि राज्य स्वयम्को संलग्नतामा भएको यस्तो अपमान र दमनलाई स्क्रोल डट आइएनमा रघु केशवनले ६० वर्षअघि अमेरिकामा भएको रुबी बिज्रेज, दोरोथी काउन्ट्स र लिटिल रक नाइनमा एलिजावेथ इकफोर्डको अपमानको घटनासँग तुलना गरेका छन्।

काला समुदायप्रति अनुदार अमेरिकाका दक्षिणी राज्यहरूमा काला समुदायका छात्राहरू कलेज र विद्यालयमा पढ्न जाँदा गोरा विद्यार्थीले गरेको अपमानसँग ती घटना सम्बन्धित छन्। घटना हुँदा रुबी बिज्रेज ६ वर्षकी कालो वर्णकी छात्रा थिइन्। विद्यालयमा पढ्न गएको भन्दै उनलाई विष खुवाएर मार्नेसम्मका धम्कीको वर्षाको भएको थियो। गोराहरू मात्र पढ्ने गरेका विद्यालय र कलेजमा पढ्न जाँदा उनीहरूले असहिष्णुता र घृणाभावले भरिएको अपमान भोग्नुपरेको थियो।

कर्णाटकमा हिजाब लगाएका छात्राहरूलाई जसरी घेराबन्दी गरेर हिन्दु युवकहरूले अपमान र गालीगलोज गरिरहेका छन्, त्यत्तिबेला अमेरिकाका विभिन्न राज्यमा काला विद्यार्थीमाथि उस्तै अपमानका घटना भएका थिए।

अमेरिकी समाजमा अरू (अदर) समुदायप्रति मूलधार वा संस्थापनको यस्तो घृणा र द्वैषभावनाको विष अझै पनि निमिट्यान्न हुन सकेको छैन। सन् २०२० मा जर्ज फ्लोएडको निर्मम हत्या यसको एउटा उदाहरणमात्र हुन सक्छ।

कर्णाटकमा अहिले हिजाब लगाउने वा लगाउन नदिने विषयमा चालु रस्साकस्सीले भारतीय समाजमा असहिष्णुता कुन गहिराइसम्म फैलिसकेको छ भन्ने कुराको छनक दिएको छ। विश्वविद्यालय र समुदायमा झाङ्गिसकेको साम्प्रदायिकता र असहिष्णुताको विष अहिले नयाँ पुस्तासम्म फैलिएको मूर्त प्रमाण कर्णाटक घटना हो। संसारकै सबभन्दा ठूलो प्रजातन्त्र भारतमा यतिबेला फरक धर्म र संस्कृतिप्रति सहभावना कम, बहिष्करणको भावना बढ्दै गएको छ।  

युगौँदेखि चल्दै आएको हिजाबको परम्परालाई आज सत्ताको आडमा हिन्दु अतिवादीहरूले निषेध गर्न खोज्नु भारतीय समाजलाई हिन्दुअतिवाद अथवा हिन्दु राष्ट्रवादतिर डोर्‍याउने प्रयास हो। बहुधर्म, बहुसंस्कृति, बहुभाषा र बहुलतामा चलेको भारतीय समाजमा सत्ताको आडमा कुनै एउटा समुदायको संस्कृतिमाथि दमनको चाबुक चलाउनुले भारतीय समाज कुनै ठूलो दुर्घटना उन्मुख भएको प्रष्ट सङ्केत गरेको छ।

यतिबेला यो मुद्दा उठ्नुको प्रष्ट कारण भारतको राजनीतिक नेतृत्वले नै धार्मिक कट्टरतालाई प्रश्रय र संरक्षण दिइरहनु हो। राज्यका सुरक्षा निकाय आफैँ सत्तारुढ दलका नेताहरूसँग मिलेर कुनै निश्चित समुदायमाथि उसको धर्म र आस्थाकै कारण दमनमा उत्र्नुलाई वास्तवमै भारतीय संस्करणको फासीवादको प्रयोग भन्नुपर्छ। हिन्दु अतिवादलाई राज्य स्वयम्ले संरक्षण गर्दा भारतीय संविधानको धर्म निरपेक्षताको प्रावधान आफैँ अपमानित अनुभव गरिरहेको हुँदो हो।  

कुनै पनि आधुनिक प्रजातान्त्रिक र धर्म निरपेक्ष देशमा धर्म नितान्त नागरिकको निजी छनोट र आस्थाको विषय हो। नागरिकले कुनै धर्मप्रति आस्था राख्न सक्छ वा नराख्न पनि। त्यसमा राज्यले हस्तक्षेप गर्नु धर्म निरपेक्षताको मूल मर्म विपरीत हो। अझ राज्य आफैँले कुनै एउटा धर्मलाई प्रधानता दिएर अर्को धर्म, संस्कृति र आस्थामाथि राज्य संयन्त्र प्रयोग गरी दमनमा उत्रन्छ भने त्यो फासीवाद हो। भारत आज त्यही बाटोमा अघि बढ्दै गरेको छनक कर्णाटकको पछिल्ला घटनाक्रमले देखाएको छ।

साम्प्रदायिकता, धार्मिक कट्टरता र असहिष्णुताको दुर्भावना नयाँ पुस्तासम्म विस्तार भइसकेको प्रस्ट तस्बिर कर्णाटकका कलेज र उच्च माविमा फैलिएको द्वन्द्वले देखाएको छ। नयाँ पुस्ताको दिमागमा बिजारोपण भएको यो विभाजनको विषवृक्षले भारतलाई लामो समयसम्म विभाजन र असहिष्णुताको दावानलमा अलमलाउने देखिन्छ।

प्रकाशित: ४ फाल्गुन २०७८ ०२:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App