३ पुस २०८१ बुधबार
image/svg+xml
विचार

शिवको नाममा विकृति!

शिवको साकार र निराकार दुवै रूपको व्याख्या, अनुभूति र अस्तित्व छ। बुझाइमा साकार तथा निराकारलाई पृथक–पृथक तरिकाले धेरै रूप एवं भावबाट बुझिन्छ, बुझाइन्छ र साधकको चेतना–तत्वज्ञानको अवस्थानुसार अनुभूति हुन्छ। पूर्वीय सनातन वैदिक धर्म–दर्शनभित्र विभिन्न तहको चेतना स्थितिमा पुगेका मुमुक्षु तथा जिज्ञासुलाई तत्वबोध गर्न सहज होस् भन्ने अभिप्रायले कतिपय यस्ता अवस्थाको ज्ञानोपदेश गर्दा तत्वज्ञानको शिक्षालाई कथा तथा विभिन्न पात्रानुकरण गरेर उपदेश गरिएको छ। विशेषगरी पौराणिक कथाहरू बढी यस्ता छन्।कुनै पनि विषयलाई कथामा परिणत गरेर बनाइएको चलचित्रका पात्रहरूको वास्तविक जीवनको स्थिति चलचित्रमा देखाइएको पात्रगत भूमिकाको जस्तो हुँदैन र त्यसको भावले दिनखोजेको सन्देश छुट्टै हुन्छ। यसलाई अलग–अलग दर्शकले अलग–अलग ढंगले बुझ्छन्। त्यस्तै पौराणिक कथाहरूले दिनखोजेको तत्वज्ञान अलग–अलग पाठक, साधक, व्यक्तिले अलग–अलग तरिकाले छुट्टाछुट्टै भावले तथा अनुभूतिले बुझेका र महसूस गरेका हुनसक्छन्, जुन स्वाभाविकै हो।
शिव तथा शिवरात्रिको महिमा, यसको तात्विक ज्ञानको पक्ष विशाल छ। शिवरात्रिको महामहोत्सवको पावन अवसरमा यस स्तम्भमार्फत् शिवत्वको गंगाको एक किनारबाट एक अञ्जुली जल उभाउने प्रयत्नमात्र गरिएको हो। यो दिनको महिमाको मर्मबोध गरी शिवत्व प्राप्त गर्नसकिने र यस सृष्टिचक्रमा जीवले संकलन गरेको तमाम अज्ञानरूपी अन्धकारलाई क्षय गर्नसकिने यो पावन अवसरलाई सदुपयोग गर्नेदेखि विभिन्न बहानामा दुरुपयोग गर्नेसम्मका विकृति समाजमा देखिन्छ। जसरी चलचित्रहरूबाट त्यसले दिनखोजेको सही सन्देशको नभएर विकृतिको प्रभाव समाजमा बढी परेको हुन्छ। त्यस्तैगरी पौराणिक कथाको बहानामा समाजमा धर्मका नाममा कलंकस्वरूपका विभिन्न खालका विकृति बढ्ने गरेको पाइन्छ। यसकै एउटा उदाहरण हो, शिवरात्रिमा र अन्य दिनहरूमा पनि शिवबुटीको नाममा गाँजा, भाङ, धतुरो, चरेसजस्ता नशालु पदार्थको सेवन गर्ने विकृति।  
पौराणिक कथाभित्रका सन्देशहरूबाट पनि कल्पित भावनामा मात्रै रम्ने र कथाले दिनखोजेको तत्वज्ञानलाई नभएर पात्रगत भूमिकालाई नै सत्य मानेर कथाको पात्रको नक्कल गर्ने, र वास्तविकता बुझ्न नखोज्ने गर्दा आफू पनि भ्रममा रहिने र आफ्ना संसर्गीहरूलाई पनि भ्रममा पारिने हुन्छ। यसको एउटा उदाहरण हो शिव कैलाशमा बस्थे, गाँजा–भाङ तथा धतुरो खान्थे, हामी पनि शिवभक्त भएकाले उनले खाएको कुरा खान हुन्छ भन्ने सोचाई। यस्तो व्यवहार शिवरात्रिमा मात्रै नभएर अन्य समयमा पनि देख्नपाइन्छ। यस्तै बहाना तथा सोचाई र मान्यताले समाजका प्रतिष्ठित, सर्वसाधारणको बुझाइमा ज्ञानी, ध्यानी, तपस्वी, गुरु कहलाइएका, शिवभक्त हुँ भन्नेहरू, समाजका अगाडि वैराग्यभाव देखाउने, जोगीसन्यासी आदिले यस्ता नशालु वस्तको अम्मल बनाएको पाइन्छ। यसलाई विभिन्न धार्मिक भावसँग जोडेर व्याख्या गरिँदा यसको दुरूपयोगमा विस्तारै नयाँपुस्ता पनि विभिन्न बहानाबाजीमा दुर्व्यसनीमा पर्दै गएको देखिन्छ। समग्रमा समाज र राज्य यसप्रति स्पष्ट छैन, नीति देखिँदैन, अलमल छ। विभिन्नखालका व्यावहारिक समस्यामा रहेका, किंकर्तव्यविमूढ नागरिक, कठिन परिस्थितिबाट गुज्रेकाहरू, अभिभावकको निगरानीबाट पर रहेका किशोर, जीवनको अर्थ नभेट्टाएका व्यक्तिको मन चाँडो बहकिने भएकाले यसप्रकारको दुर्व्यसनीको सिकार भएको पाइन्छ।  
गाँजाभाङजन्य नशालु पदार्थको सेवनबाट अपवादमा लाखौँमा एकदुई व्यक्तिबाहेक धेरैले अन्ततोगत्वा जीवन बर्बाद गर्ने गरेको पाइन्छ। सुरुमा गाँजाभाङको सेवनबाट शारीरिक वेदना कम भएको, पाचनशक्ति बढेको, मानसिक क्षमता बढेको तथा एकाग्र हुन सहयोग पुगेको, ज्ञानविभोर भएको, ध्यान लागेको, नयाँ–नयाँ रहस्य खुलेको जस्तो महसुस गर्ने गरेको यसका पारखी बताउँछन्। गाँजाभाङको नशाको अम्मल बसेको मान्छेले प्रायः आफ्नै विचार तथा दृष्टिकोण वा तर्कलाई नै सबैले मान्नुपर्छ भन्ने मान्यता बोकेको हुन्छ। नशाको आनन्दमा फस्दै जाने क्रममा कतिपय अवस्थामा अध्यात्म आदि दार्शनिक वार्तालापमा पनि निकै कुरा बुझेको जस्तो लक्षण देखाउँछ। एक किसिमको तत्वोन्माद उसमा चढेको हुन्छ। कालान्तरमा जब यस प्रकारको नशा नभई नहुने स्थितिमा ऊ पुग्छ, उसमा विभिन्नखालका लक्षण देखिन थाल्छ। जस्तैः आफ्नो कमजोरी लुकाउन अर्कालाई दोष दिने अथवा विभिन्न बहानाबाजी गर्ने, नशाको तालमा मान्छेहरूलाई प्रभाव पार्ने शैलीमा कुरा गर्ने, क्षणक्षणमा उत्तेजनात्मक भावमा आउने, सोझासाझालाई तर्साउन खोज्ने अथवा उनीहरूको मन जित्न खोज्ने र उनीहरूबाट अनावश्यक फाइदा उठाउने जस्ता मनोवृत्ति देखिन्छ। कालान्तरमा नशा नभई रहनै नसक्ने, नशाको लागि आपराधिक कार्यसम्म गर्न पछि नपर्ने, दिमागमा नकारात्मक धारणा बढी आउने, जिम्मेवारीबाट भाग्नेजस्ता लक्षण देखिन्छन्।
यस्तो लत लागेपछि सोचविचार असन्तुलित हुँदै जान्छ। क्रमशः पाचनशक्ति कमजोर भएर जान्छ, विस्मृति हुनथाल्छ। विस्तारै इन्द्रियले काम गर्न छाड्छन्। शारीरिक ऊर्जा निस्तेज हुँदै जान्छ, निस्त्रि्कयता आउँछ, भएका प्रतिभा तथा सम्भावना हराउन थाल्छन्। र, अर्थहीन अवस्थामा पुग्दछ, सबैतिरबाट मानसिक, शारीरिक, सामाजिक निष्त्रि्कयता हुन्छ भने उसमा नशाले धेरै नकारात्मक स्थितिको विकास गरिसकेको हुन्छ। फलस्वरूप ऊ अस्वस्थ तथा ‘एब्नर्मल' हुनपुग्छ। गृहस्थ–दाम्पत्यजीवनको व्यक्ति र अविवाहित तर साधनात्मक अभ्यास नभएको व्यक्तिमा यसप्रकारका लक्षण देखिन्छ। साधनाको अभ्यास पनि नभएको र गृहस्थ–दाम्पत्यजीवन भन्दा बाहिरको व्यक्ति झन् बढी दुर्व्यसनी बन्नपुग्छ।
वास्तवमा नेपाल शिव–शक्ति सभ्यताको भूमि हो। यस भूमिले तप–साधनासँग सम्बन्ध गाँसेको छ। शिवतत्व ज्ञानको अन्तिम स्थिति हो जहाँ थप ज्ञानको आवश्यकता नै हुँदैन। शिवतत्व द्वेत र अद्वेतवादभन्दा पनि माथिको परमस्थिति हो। यही दिव्य ज्ञानलाई बोध गराउने सुअवसर हो महाशिवरात्रि। महाशिवरात्रिमा शिवको आराधना, श्रद्धा, भक्ति, स्तुति तथा साधनालगायत कार्यबाट शिवकृपा प्राप्त गरेर कालारात्रिस्वरूप मिथ्या जगत्को प्रपञ्चमा भुलिरहेको जो कोहीले पनि मोक्षगति प्राप्तिका लागि मार्गदर्शन प्राप्त गर्नसक्छन्। शिवरात्रिको वास्तविकता नै यही हो।
धतुरोको विनाशोधनको प्रयोग निकै घातक हुन्छ। मात्रामा केही बढी हुन गयो भने एकपटकको सेवनले नै विचेत गराउने, लामो समयसम्म नै मस्तिष्कलाई क्षति पुर्या उने गर्दछ। शोधन गरेर औषधिका रूपमा उचित मात्रामा विधिभित्र रहेर प्रयोग गर्नु एउटा कुरा होला। तर ईश्वर–धर्मका नाममा हुने गरेका यस्ता नकारात्मक कार्यलाई धार्मिक पात्र, समाज, समूह आदिले रोक्नुपर्छ। शिवरात्रिजस्तो परम्पवित्र पर्वलाई गाँजा, भाङ, धतुरो, चरेसजस्ता नशालु पदार्थसँग जोडेर बुझिनु र बुझ्न बाध्य पारिनु तथा बुझाइनु कदापि धार्मिक कार्य हुन सक्तैन। धर्मको सिद्धान्त तथा धर्मको सन्देशमा यस्तो प्रकारको दुर्व्यसनीमूलक कार्य पर्दैन। धार्मिक कार्य क्षेत्रमा यस्ता विकृतिलाई कुनै पनि हालतमा प्रोत्साहन गर्नुहुन्न। दिनप्रतिदिन लागुऔषधको दुरूपयोग तथा यस्ता दुर्व्यसनीहरू बढ्दै गइरहेको जताततै देखिँदै आएको छ। यस्तो अवस्थामा कुनै पनि सच्चा नागरिक, सम्बन्धित क्षेत्र मूकदर्शक भएर बस्नुहुन्न। यस्ता प्रकारको नकारात्मक तत्वले जोकोहीलाई पनि कुनै समयमा नकारात्मक असर अथवा क्षति पुर्यापउनसक्छ भन्ने ख्याल राख्नुपर्छ। कर्तव्यबोध गरी परम्पवित्र शिवरात्रिको पावन अवसरमा शिवतत्वको बोध गरौँ, अथवा बोध गर्न उत्सुक होऔँ यसमै सबैको कल्याण छ।

प्रकाशित: ४ फाल्गुन २०७१ २३:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App