७ वैशाख २०८१ शुक्रबार
विचार

अंग प्रत्यारोपणमा जनावर

यसै महिना अमेरिकाको युनिभर्सिटी अफ मेरिल्यान्डको ‘स्कुल अफ मेडिसिन’ को शल्यचिकित्सकीय वैज्ञानिक समूहले सुँगुरको मुटु ५७वर्षीय डेबिड बनेटमा सफलपूर्वक प्रत्यारोपण गर्‍यो। विविध ‘कार्डिएक’ समस्याका कारण मुटु शिथिल भएकाले अन्य कुनै पनि स्थापित उपचार विधिमार्फत डेबिडलाई जीवित राख्न संभव थिएन।

आफ्नो मृत्यु अवसंभाव्य भएकाले मेडिकल साइन्सको नवीन परीक्षणकालागि उनी तयार भए। विज्ञानले जिते आफूथप बाँच्ने आशमा साविकको ‘हार्ट’ हटाएर सुँगुरको मुटु आफ्नो शरीरमा राख्न उनी राजी भएका थिए। जनावरको मुटुको बलमा डेबिड थप कति समय बाँच्लान्,वैज्ञानिक उत्खननको अर्को विषय हुन्छ नै।

वैज्ञानिक विधिमार्फत अन्य जीवमा विकास गरिएका मुटु जस्तो ‘क्रिटिकल अग्र्यान’ मानवशरीरमा ‘ट्रान्सप्लान्ट’ गर्न संभव रहेको देखियो। यसअघि कहिल्यै पनि सुँगुरको मुटु मानवमा प्रत्यारोपण नगरिएका कारण युनिभर्सिटी अफ् मेरिल्यान्डको ‘हार्ट सर्जरी’ को खबर बिजुलीको गतिमा संसारभर फैलियाे।

आयुर्विज्ञानका सकारात्मक अन्वेषणहरू रफ्तारमा फैलन्छन, छोटो समयमै त्यस्ता उपचारविधि सञ्चारको पहुँचमा पुग्छ। तर मेडिकल साइन्सका नकारात्मक प्रयोगले चिकित्सा विज्ञानलाई ठूलो क्षतिसमेत पुग्छ भन्ने यथार्थ बिर्सनुहुँदैन। १९८०को दशकमा अमेरिकाको क्यालिफोर्निया राज्यको लोमा लिन्डा युनिभर्सिटीमा गर्भमैप्राणघातक मुटुको समस्या लिएर जन्मिएकी बच्ची स्टेफनी ब्युक्लेजमा बाँदरको मुटु प्रत्यारोपण भयो।

शीघ्र केही नगरे मृत्युवरण निश्चित भएको अनि उपचारका अन्य विधि फलदायी नहुने भएपछिमात्र उनको शरीरमा जन्तुको मुटु राखिएको थियो। तर दुर्भाग्य, मुटु प्रत्यारोपणको एक महिना नबित्दै ती बच्चीको मृत्यु भयो। थप उत्खननले बच्चीको इम्युन सिस्टम (प्रतिरक्षा प्रणाली)ले प्रत्यारोपण गरिएको बाँदरको मुटुलाई बाह्य घातक वस्तुका रूपमा पहिचानगरी क्षति पुर्‍याउँदा उपचाररत रोगीको मृत्यु भएको देखियो।

उक्त घटनापछि अमेरिकी औषधि उपचार अनुगमन निकाय (एफडिए) ले अन्य जीवमा उत्पादित अंग मानवमा प्रत्यारोपण गर्दा अन्य परीक्षण विधिले बाह्य ‘अग्र्यान’ लाई शारीरिक प्रतिरक्षा प्रणालीले प्रहार गर्न नसक्ने तथ्यांक प्रस्तुत गर्नुका अतिरिक्त बिरामीको उपचार गर्ने अन्य कुनै विधि उपलब्ध नभएको एकीन गर्ने प्रावधान थप्यो। एफडिएको उक्त संहितापछि अमेरिकामा अन्य जीवमा उत्पादित मुटु प्रत्यारोपण गर्ने क्रम भंग भयो।

लामो समयको अन्तरालपछि मात्र युनिभर्सिटी अफ् मेरिल्यान्डको ‘स्कुल अफ् मेडिसिन’ को वैज्ञानिक समूहले सुँगुरको मुटु ५७वर्षीय डेबिड बनेटमा प्रत्यारोपण गरे। उपलब्ध सबै तथ्यांकलाई विश्लेषण गरी जोखिमको तुलनामा डेबिडलाई लाभ हुने संभाव्यता अधिक देखिएपछि मात्र एफडिएले हार्ट ट्रान्सप्लान्टका लागि अनुमति दिएको भन्छन् युनिभर्सिटी अफ् मेरिल्यान्ड सर्जरी टिमको नेतृत्वकर्ता डा. ब्राट्ली ग्रिफिथ।

मान्छेबाहेकका कुनै पनि जीवका अंग (अर्गेन), कोस (सेल), तन्तुलगायतका वस्तु स्वास्थ्य लाभकालागि प्रत्यारोपणलगायतका जुनसुकै विधिमार्फत मानवशरीरमा हाल्ने कामलाई ‘जिनोट्रान्सप्लान्टेसन’ भनिन्छ। मुटु,मिर्गाैला जस्ता अत्यावश्यक अंगको आपूर्ति मानिसबाट संभव नहुने यथार्थलाई मध्यनजर राख्दै दशकौँअघि नै जिनोट्रान्सप्लान्टेसनको अध्ययन/अन्वेषण सुरु भयो। धेरै वर्षको श्रम र धन लगानीपछि यो क्षेत्र प्रतिफल दिने चरणमा पुग्यो।

प्रत्येक प्राणीका कोस फरक फरक हुन्छन्। मानिस, बाँदर, सुँगुरलगायत सबै प्राणीका कोस फरक फरक हुन्छन्। त्यतिमात्र होइन, एउटा मानिसको कोससमेत अर्को व्यक्ति भन्दा पृथक हुन्छ। त्यसैले कोसहरूले बनेका अंगहरू पनि जन्तुनै पिच्छे भिन्न हुनु अस्वाभाविक भएन।

प्रतिरक्षा प्रणालीको दायित्व बाह्य संक्रमणबाट आफूलाई जोगाउनुमात्र भएकाले शरीरमा बाह्य कोसहरू पहिचान गर्नेबित्तिकै इम्युन सिस्टमले त्यसको नास गर्छ। पोसाक तथा रूपरोगनबाट सत्रु सैन्य पहिचान गरी विनाश गरेझैँहाम्रो प्रतिरक्षा प्रणालीले अन्य जीवका भाइटल अर्गेनहरू‘ट्रान्सप्लान्ट’ पछि सजिलै चिन्छन्, अनि नास गर्छन्। त्यसैले विगतमा गरिएका ‘जिनोट्रान्सप्लान्टेसन’ का प्रयोगहरू असफल भए।

हालै सुँगुरको मुटु प्रत्यारोपण गरेका डेबिड बनेट कति समय बाँच्छन्होला अनिवर्तमान नवीन प्रयोगका संबन्धमा के/कस्ता अनुसन्धान पर्दापछाडि भए, त्यसको चर्चा सान्दर्भिक होला। प्रतिरक्षा प्रणालीका कोसहरू अतिनै चलाख र संवेदनशील हुन्छन्। अन्य जीवका कोस तथा तन्तुहरूमात्र होइन, अरू मानिसका अंगहरूसमेत हाम्रा प्रतिरक्षा प्रणालीले सहजै पहिल्याउँछ।

त्यसैले, कहिलेकाहीँ बिरामीमा मानिसकै मिर्गाैला प्रत्यारोपण गर्दासमेत ‘अर्गेन रिजेक्सन’ को समस्या देखिन्छ। त्यसैले अंग प्रत्यारोपणअघि अर्गेन मिल्ने/नमिल्ने, प्रतिरक्षा प्रणालीलाई कसरी मैत्री बनाउने जस्ता कुरा एकिन गर्न विविध बायोलोजिकल परीक्षण गरिन्छ।

एउटा मानिसका कोस त अर्को व्यक्तिको सेल भन्दा पृथक हुन्छ भने मानव र जनावरका अंग कति फरक होलान्? त्यसैले जनावरको अंग मानिसमा प्रत्यारोपण गर्दा धेरै सावधानी आवश्यक पर्छ।

डेबिड बनेटको शरीरमा प्रत्यारोपण गरिएको मुटु बजारमा पाइने सुँगुरमा उत्पादन गरिएको हुँदै होइन। बरु प्रयोगशालामा रहेको उक्त सुँगुरको विभिन्न १० ठाउँमा अणुवांशिक उत्परिवर्तन (जेनेटिक मोडिफिकेसन) गरिएको थियो। त्यति धेरै उत्परिवर्तन गरिनुको मुख्य कारण ‘ट्रान्सप्लान्टेसन’ पछि मानिसका प्रतिरक्षा प्रणालीले बाह्य अंगलाई सजिलै नचिनोस् भन्नका लागि नै हो।

कुनै पनि जीवका अंग मानिसमा प्रत्यारोपण गर्नुअघि त्यसको बहुआयामिक अध्ययन अनि सकारात्मक नतिजा आवश्यक पर्छ। पूर्वाधारस्वरूप सन् २०१८ मा वैज्ञानिकहरूले प्रयोगशालाका सुँगुरमा उत्पादित मुटु बाँदरको प्रजाति ‘बबुन्स’ मा प्रत्यारोपण गरे। अनि त्यसको परिणाम हेर्दा सकारात्मक नतिजा आयो।

प्रत्यारोपण गरिएका बाँदरहरू ६ महिना भन्दा बढी बाँचेको आँकडा आयो। यसरी ट्रान्सप्लान्टपछि बाँदरको प्रतिरक्षा प्रणालीले सुँगुरको मुटुलाई बाह्य वस्तुका रूपमा नचिनेको बरु सहजै स्वीकार गरेको नतिजापछि ‘जिनोट्रान्सप्लान्टेसन’ का लागि वैज्ञानिकहरू उत्साहित थिए।

अनि बाँदर र मानव पुर्खौली हिसाबमा नजिकका जीव भएका कारण ‘मंकी एक्स्पेरिमेन्ट’ मानिसमा रूपान्तरित गर्न सहजै सकिने वैज्ञानिक दावा आयो। सुँगुरको मुटु मानिसमा राख्ने योजना बन्यो। नभन्दै बाँदरमा गरिएको परीक्षण प्रकाशित भएको ४ वर्षभित्रै सुँगुरकाे मुटु मानिसमा सफलपूर्वक प्रत्यारोपण भएको खबर आयो।

अन्य जीवका अंग मानिसमा प्रत्यारोपण गर्ने विधि आयुर्विज्ञानकालागि एउटा ठूलो फड्कोमात्र होइन, बरु मृत्युवरणको पर्खाइमा बसेका लाखौँ मानिसकालागि वरदान सावित हुने देखियो। एउटा प्रक्षेपणले सन् २०३०सम्ममा विश्वका झण्डै १० करोड मानिस ‘क्रोनिक कार्डिएक फेलिएर’ का कारण मुटु प्रत्यारोपणको पर्खाइमा बस्ने देखायो।

अत्यावश्यक अंग भएका कारण ‘हार्ट डोनेसन’ करिब करिब असंभव बन्छ। तसर्थ, युनिभर्सिटी अफ् मेरिल्यान्डको मुटु प्रत्यारोपणको सफलतापछि फार्ममा उत्पादित ‘ट्रान्सजेनिक’ सुगुरका मुटुहरूचिकित्सकीय प्रयोगकालागि संसारभर उपलब्ध हुने देखियो।

एउटामात्र मुटु भएका कारण कुनै पनि स्वस्थ मानिसले हार्ट दान गर्ने अवस्था हुँदैन। तर मिर्गाैलाको हकमा परिस्थिति फरक हुन्छ। दुईवटा मिर्गाैला भएका कारण मानिसले एउटा ‘किड्नी डोनेट’ गरेर पनि आफ्नो जीवन सहजै व्यतीत गर्न सक्छ। त्यसैले ‘किड्नी डोनेसन’मुटु दान भन्दा तुलनात्मकरूपले सहज हुन्छ। झण्डै दुई वर्षअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपण भयो।

दोस्रो प्रत्यारोपणका क्रममा ओलीकी नातेदार समीक्षा संग्रौलाले मिर्गाैला दिएकी थिइन् मुलुकको प्रधानमन्त्रीलाई बचाउन। एक दशकअघि प्रत्यारोपण गरिएको मिर्गाैलाले काम गर्न छाडेपछि दोस्रो अंग दान अपरिहार्य बनेको थियो ओलीलाई जीवित राख्न। ओलीको ठाउँमा अन्य कुनै नागरिक भएको भए के दोस्रो अंग प्रत्यारोपणमार्फत जीवन दान संभव थियो त?

सन् २००८मा जारी स्टानबुल डिक्लेरेसनले के/कस्तो अवस्थामा जीवित तथा मृत व्यक्तिको शरीरबाट ‘अर्गेन’ निकाली अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ भन्ने संहिता जारी गर्‍यो। उक्त संहिता जारी भएपछि ललाइफकाई तथा आर्थिक प्रलोभनमा पारी कसैले पनि अर्गेनको कारोबार गर्न नपाउने भयो। अंग दानकालागि नाता तथा स्वेच्छा आवश्यक भयो।

गरिब मुलुकमा पैसाका लागि कानुनी छिद्रको सहारामा अंग कारोबार भएका घटना नौला होइनन्। विश्व स्वास्थ्य संगठनका १०० सदस्य देशले जारी गरेका तथ्यांकअनुसार सन् २०१४मा ८० हजार मानिसमा मिर्गाैला प्रत्यारोपण भएको देखियो। संसारमा लाखौँ मानिस ‘किड्नी ट्रान्सप्लान्ट’ को पर्खाइमा छन् भने मिर्गाैला अभावका कारण प्रतिमहिना हजारौँ रोगी मृत्यु वरणकालागि बाध्य छन्।

स्टानबुल डिक्लेरेसनका कारण मिर्गाैला दानलाई नियन्त्रित गरिनु, बायोलोजिकल कारणले सबैको किड्नी शरीरले धान्न सक्ने अवस्था नहुने अनि व्यक्तिले एउटामात्र मिर्गाैला दिन सक्ने भएपछि मिर्गाैला अभावका कारण मानिस मर्ने अवस्था आउनु अस्वाभाविक भएन। मिर्गाैलाको व्यथा अन्य ‘भाइटल अर्गेन डोनेसन’ र ‘ट्रान्सप्लान्ट’ को हकमा समेत लागु हुने भएकाले जनावरका अंगहरू मानिसमा प्रत्यारोपण गर्न सके अत्यावश्यक अंगमा खराबी आइ मृत्यु हुने तथ्यांक कम गर्न सकिन्थ्यो।

सुँगुरको मुटु मानिसमा सफलतापूर्वक प्रत्यारोपण भएको घटना नियाल्दा संसारमा देखिने अर्गेन अभावको समस्या जनावरले पूरा गर्ने कुरामा आशावादी देखियो। खानाकालागि मात्र पालिने बंगुर ‘अर्गेन फेलिएर’ बिरामीका लागि वरदान हुने भयाे।

प्रकाशित: ११ माघ २०७८ ०५:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App