केही हप्ताअगाडि मेरो यसै राष्ट्रिय दैनिकमा पाल्पालीलाई एयरपोर्ट चाहियो भन्ने लेख प्रकाशित भएको थियो। मैले आजसम्म लेखेका लेखमध्ये सबैभन्दा धेरै (२६००० को संख्यामा) सेयर भएको थियो र लोकप्रिय सामग्रीको ट्रेन्डिङमा समेत परेको थियो।
यसको सिधा अर्थ हो– मैले धेरै पाल्पालीको आवाज बोकेको रहेछु। हुन पनि छिमेकी जिल्ला स्याङ्जाबाहेकका ग्याप्सअन्तर्गत पर्ने दुईटा जिल्ला गुल्मी र अर्घाखाँचीमा एयरपोर्ट निर्माणको अन्तिम चरणमा पुगेका छन् तर पाल्पामा भने बहससमेत छैन।
यसै सिलसिलामा पूर्व उद्योग मन्त्री तथा पाल्पाका लामो समयका सांसद सोमप्रसाद पाण्डेसँग टेलिफोन सम्वाद गरेको थिएँ। बाहिरीरूपमा बहस नभए पनि एयरपोर्टको संभाव्यता अध्ययन भने प्रशस्तै भएको रहेछ। आज त्यही संवादलाई मध्यनजर गर्दै यो आलेख तयार पारेको छु।
उनै सोमप्रसाद पाण्डेको भनाइलाई आधार मान्दा एयरपोर्टका लागि संभाव्य ठाउँहरूको चर्चा गर्दा सानो १९ सिटे जहाज जसका लागि अधिकतम ५०० मिटरसम्मको धावनमार्ग भए पुग्छ, त्यसको संभाव्यता र ७२ सिटे जहाज जसका लागि धावन मार्ग १५ सय मिटर भन्दा कम र ४२ सिटे जहाजका लागि १२ सय मिटर भन्दा कमको संभाव्यता हेरिएको रहेछ।
तर उनको भनाइ मान्ने हो भने नागरिक उड्डयन प्राधिकरणबाट गएका प्राविधिकहरूले यी तीनै प्रकारका जहाजका लागि त्यति उपयुक्त ठाउँ भेटेनन्। संभाव्यता भएको ठाउँमा पनि पहाड धेरै काट्नुपर्ने वा वर्षातमा पानी तथा हिउँदमा कुहिरोका कारण एयरपोर्ट बनाउन उपयुक्त नहुने राय दिए भन्ने कुरा बताए। अब ती संभाव्य ठाउँहरूको केही चर्चा गरौँ।
१९ सिटे जहाज अवतरण गर्ने ठाउँका लागि तानसेन नपासँगै जोडिएको पूर्वको नायरमा संभाव्यता हेरिएको रहेछ तर त्यहाँ धेरै हावा चल्ने भएको हुँदा उडान र अवतरण गर्न मुस्किल पर्ने देखिएको हुँदा त्यहाँ एयरपोर्ट बनाउन उपयुक्त नहुने ठहर भएछ। त्यसपछि १२ सय मिटरसम्मको धावन मार्ग बनाउन मिल्ने तानसेन नपाबाट २५ किलोमिटरको मोटरबाटोको दूरीमा रहेको मुझुङमा राम्रै अध्ययन भएको रहेछ तर त्यहाँ डाँडाकाँडा धेरै र पहाड काट्नुपर्ने, लागत र समयावधि पनि ५–७ वर्षै लाग्ने देखिएछ।
त्यसको अतिरित्त तानसेनबाट २५ किलोमिटरको दूरीमा हुनुका साथै पहाडी घुमाउरो तथा साँघुरो बाटो हुने हुँदा तानसेन पुग्नै मोटरमा समेत लगभग १ घण्टा लाग्ने भएको हुँदा आर्थिक र व्यापारिक हिसाबले पनि धेरै महँगो पर्ने देखिएछ। काठमाडौँबाट पश्चिमतर्फ जाने प्रायः सबै जहाजको हवाई रुट सो क्षेत्रमा पर्ने तथा एयर ट्राफिक पनि धेरै हुने हुँदा त्यसलाई समायोजन गर्न पनि त्यति सहज नहुने भन्ने पनि देखिएछ।
त्यसकारणले गर्दा नबनाइ नहुने स्थितिमा त बनाउन सकिने तर एयरपोर्ट बनाइसकेपछि कमसेकम तानसेनसम्मको बाटो चौडा तथा स्तरीकरण गर्नुपर्ने हुँदा एयरपोर्ट भन्दा बाटोमा धेरै लगानी गर्नुपर्ने अवस्था देखिँदा मुझुङको संभावना टरेको रहेछ।
अर्को संभावित ठाउँ भनेको कालीगण्डकीको किनारमा रहेको रामपुर फाँट हो। त्यहाँ सबै हिसाबले एयरपोर्ट बनाउन सकिने देखिएको रहेछ तर सो ठाउँ तानसेन नपाबाट मोटर बाटोको दूरीको हिसाबले ५ घण्टासम्म लाग्ने भएको र अहिले तानसेनबाट सबै भन्दा नजिकको दूरीमा भएको भैरहवाबाट तानसेनसम्मको मोटर बाटो बढीमा ३ घण्टा भएको हुँदा पायक पर्ने हिसाबले त्यो त्यति उपयुक्त देखिएन।
तर त्यहाँ एयरपोर्ट बनेमा पूर्वी पाल्पा तथा रामपुरपारिपट्टि स्याङ्जाको चापाकोटलगायतका बस्तीलाई भने अत्यन्त पायक पर्ने देखिन्छ। तर रामपुर र सो क्षेत्र पर्यटकीय हिसाबले खासै महत्वको नभएको हुँदा सो भेगका जनताले मात्रै उपयोग गर्ने हिसाबले एयरपोर्ट जस्तो ठूलो लगानी गर्नु उपयुक्त देखिएनछ।
हाल लुम्विनी मेडिकल कलेज रहेको तानसेन नपाकै प्रवास र नयाँपाटीको खोँचमा पनि एयरपोर्टको संभाव्यता हेरिएको रहेछ तर त्यहाँ खोँच र धावनमार्गलाई चाहिने चौँडा फाँट नभएको हुँदा मुस्किलले १९ सिटे जहाजको धावनमार्ग बनाउन सकिने देखिए पनि अन्य हिसाबले उपयुक्त नदेखिएको रहेछ। त्यस्तै सो क्षेत्रको मदनपोखरासँग जोडिएको दमकडा भन्ने ठाउँ पनि रहेको त्यहाँ सीमसार र संरक्षित घना जंगल भएको र धावनमार्ग पर्याप्त नहुने भएको हुँदा त्यसलाई पनि छोडिएको रहेछ।
७२ सिटे जहाजका लागि मात्रै नभइकन पोखरामा बनिरहेको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलसमेत पनि बनाउन सकिने भनेको पाल्पाको माणी फाँट नै हो। त्यहाँ एयरपोर्ट बन्यो भने तानसेनसम्मको दूरी १२ देखि १५ किलोमिटर मात्रै छ र सिद्धार्थ राजमार्ग अहिले चालु अवस्थामा रहेको र माणी फाँटबाट त्यहाँसम्मको दूरी ५–६ किलोमिटर भन्दा बढी नपर्ने हु्ँदा सदरमुकामसम्मको कनेक्टिभिटी पनि उपयुक्त देखिन्छ।
तर त्यहाँ सर्बे गर्ने प्राविधिकहरूले वर्षात र हिउँदको प्राकृतिक कारणले गर्दा तथा धेरै माटोले पुर्नुपर्ने भएको हुँदा लागत पनि धेरै लाग्ने भएको हुँदा त्यहाँ उपयुक्त नहुने ठहर गरेका रहेछन्। अब ती प्राकृतिक कारणहरूबारे चर्चा गरौँ।
बुटवल भएर बग्ने तिनाउ खोलाको मुख्य जलाधार क्षेत्र त्यही माणी फाँट हो जहाँबाट सो खोलाले निकास पाएको छ त्यो ठाउँ अलि साँघुरो रहेको र वर्षातको समयमा अलि धेरै पानी प¥यो भने माणी फाँटको धेरै हिस्सा डुबानमा पर्ने रहेछ।
अतः डुबानमा परेको क्षेत्रमा एयरपोर्ट बनिहाल्यो भने पनि वर्षातको तीन महिना सञ्चालन अयोग्य हुन सक्छ। त्यस्तै माणी फाँट उपत्यका भएको हुँदा हिउँदको समयमा बाक्लो हुस्सु लाग्छ र सो हुस्सु ११–१२ नबजिकन खुल्दैन। यो पनि हिउँदको तीन महिना जारी रहन्छ। यसरी वर्षको छ महिना जस्तो एयरपोर्ट सञ्चालनयोग्य नहुने हो भने सो बनाउनुको के औचित्य भन्ने कुरा भएको रहेछ।
म कुनै प्राविधिक त होइन तर भएको सामान्य ज्ञान प्रयोग गर्दा पनि यहाँ दिइएको तर्क त्यति युक्तिसंगत लाग्दैन। जहाँसम्म वर्षातको समयमा डुबानको कुरा छ नदीको प्राकृतिक बहावलाई खलबल नपुर्याइकन त्यसलाई रोक्न तिनाउ नदीको सिरानतिर तटबन्ध निर्माण गरेर पानी रोक्न सकिन्छ र त्यस्तो पानीलाई हिउँदको समयमा सिँचाइमा प्रयोग गर्न सकिन्छ।
त्यस्तै नदी निकास हुने ठाउँलाई पनि डोजर र स्काभेटर लगाएर चौडा पार्न सकिन्छ। त्यसले गर्दा पानी जम्ने संभावना कम हुन्छ। सबै भन्दा ठूलो कुरा चाहे त्यो सडक निर्माणमा होस् वा चाहे हवाई मैदान, भएको जमिन सतह भन्दा त धेरै नै माथि ल्याउनुपर्छ, त्यसका लागि ढुंगा माटोले पुर्नुपर्छ, त्यस्तो पानी जम्ने ठाउँमा सामान्य भन्दा अलि बढी ढुंगा माटोले पुर्नुपर्ला।
फेरि विराटनगरको एयरपोर्टको कथा त हामीले देखि नै रहेका छौँ। अलि ठूलो वर्षात भयो भने सो डुब्छ र ३–४ दिनका लागि पूरै एयरपोर्ट ठप्प हुन्छ। जहाँसम्म हिउँदको कुरा छ, त्यो त चाहे त्यो तराईका धावन मार्ग हुन् वा पहाडका, चाहिने भन्दा कम भिजिबिलिटी भएपछि दिनभरका लागि पनि बन्द भएकै छन् भने ११–१२ सम्म हुस्सु हट्ने माणी फाँटमा दिनको सुरुवाती दिनहरूमा एउटा उडान र पछि यात्रुको चाप बढेपछि ३–४ उडानसम्म हुने संभावना भएको ठाउँमा यो तर्क पनि युक्तिसंगत छैन भन्ने लाग्छ।
पाण्डेले देश धेरै ऋणमा डुबिसकेको अवस्थामा यस्तो पूर्वाधारमा लगानी गर्दा थप ऋणको भार देशले बोक्नुपर्ने हुन सक्छ भन्ने तर्क राखे। तर पाल्पालीहरूको यत्रो उपस्थिति नेपालको राजनीति तथा निजामती क्षेत्रमा हुँदा के पाल्पाको कारणले देशले ठूला ऋणको भार बोक्नुपरेको छ र? आफ्नो जीवनकालमा पाल्पामा अरबौँ लागतको एउटा पनि योजना आएको मलाई थाहा छैन। त्यसकारण हाम्रा नीति निर्माताले पाल्पामा एयरपोर्ट बनाउने कुरामा गंभीर भएर सोचून्।
प्रकाशित: ५ माघ २०७८ ०१:५७ बुधबार